२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

कोरियामा सीप, नेपाल फर्केर उद्यम

पार्क थेयङ

म नेपाल आएको वर्ष दिन पुग्न केही महिना मात्रै बाँकी छ । नेपालमा रहँदा, यहाँका मानिससँग भेटघाट गर्दा स्वयंलाई नेपाली भएको महसुस हुन्छ । भौतिक दूरीका हिसाबले नेपाल र कोरिया टाढा रहेका मुलुक भए पनि रहनसहन, खानपान, बोलीचालीमा शिष्टता, परिवारलाई उच्च महत्त्व दिने संस्कारमा दुई देशबीच समानता रहेका छन् ।

कोरियामा सीप, नेपाल फर्केर उद्यम

विगतमा विभिन्न चरणको युद्ध, गरिबी, वैदेशिक रोजगारी झेलेको कोरिया आज विकसित देशको रूपमा परिचय दिन सफल भएको छ । कोरियाको विकासलाई नियाल्दा स–साना व्यवसाय, मझौला उद्योग र कालान्तरमा ठूला उपकरण निर्माण गर्ने कम्पनी, पानीजहाज, केमिकल व्यवसायले स्थान लिँदै हाल आईटी क्षेत्रले ठूलो स्थान बनाएको छ । रोजगारी सिर्जना गर्न सफल हुनु नै देश विकासको जग हो भन्ने मेरो बुझाइ छ ।

नेपालले पनि कोरियाको विगतजस्तै स–साना उद्योग स्थापना गरेर रोजगारी सिर्जना गर्दै अगाडि बढ्न सके यहाँको विकास, समृद्धिमा टेवा पुग्छ भन्ने लाग्छ । नेपाल र कोरियाबीच आपसी हितका विभिन्न विकास साझेदारी कार्यक्रम सञ्चालनमा छन् । कोरिया र नेपालबीच जनस्तरको सम्बन्ध विस्तारमा रोजगार अनुमति प्रणाली (ईपीएस) ले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गराउन चाहन्छु । साथै कोरियामा कामको अनुभवपश्चात् नेपाल फर्किएर विभिन्न व्यवसायमा आबद्ध धेरै व्यवसायीले यहीँ रोजगारी सिर्जना गरेको सुखद अनुभव साट्न हाम्रो दूतावासले हालै प्रकाशनमा ल्याएको पुस्तकबारे संक्षिप्त परिचय अलि तल गर्नेछु ।

ईपीएसमार्फत नेपाली युवालाई रोजगारका लागि दक्षिण कोरिया लैजान २००७ जुलाई २३ मा सरकारीस्तरमा सम्झौता भएको थियो । जसमा गणतन्त्र कोरियाको श्रम तथा रोजगार मन्त्रालय र नेपालको श्रम तथा रोजगार मन्त्रालयले सम्झौता गरेका थिए । सरकारी पक्षबाट आधिकारिक रूपमा कामदार लैजान थालेयता २०२४ जनवरी १५ सम्म नेपालबाट १ लाख ६६७ जनालाई कोरियामा रोजगारको अवसर प्राप्त भएको छ । हाल कोरियामा रोजगारीमा रहेका नेपाली कामदारको संख्या ४५ हजार ६९६ छ । गत वर्ष यस प्रणालीमा समावेश भएका १६ देशमध्ये नेपालबाट सबैभन्दा बढी १९ हजार ७३९ जनाले कोरियामा रोजगारीको अवसर प्राप्त गरेका छन् । सन् २०२४ मा पनि रोजगार अनुमति प्रणाली लागू भएका १६ मुलुकमध्ये नेपालले फेरि प्रथम स्थान हासिल गरोस् भन्ने मेरो अपेक्षा छ । नेपाली युवालाई रोजगारी मात्रै दिने कोरिया सरकारको उद्देश्य होइन । कोरियाको अनुभव, सीप र पुँजीमार्फत उनीहरूले नेपालको अर्थतन्त्रमा पनि योगदान सकून् भनेर सरकारी तवरबाट विभिन्न योजना कार्यान्वयन चरणमा छन् ।

रोजगारीको अनुभवपश्चात् स्वदेश फर्किएका व्यक्तिलाई विभिन्न व्यवसाय गर्ने आधार तय गर्न कोरिया सरकारले व्यावसायिक प्रशिक्षण, आवश्यक पुँजी व्यवस्थापनलगायत पुन: एकीकरण कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममार्फत कोरियाबाट फर्केका कामदारले आवश्यक परामर्श लिन सक्नेछन् । नेपालको सामाजिक, आर्थिक क्षेत्रमा टेवा पुग्ने कार्यक्रमलाई निरन्तरता दिँदै जाने कोरिया सरकारको योजना छ । पुन: एकीकरण कार्यक्रमको उद्देश्य कोरियामा काम गरेको अनुभव भएका नेपाली युवालाई स्वदेशमा विभिन्न व्यवसायमा आबद्ध गराएर रोजगारी सिर्जना गरी देश विकासमा टेवा पुगोस् भन्ने रहेको छ ।

हाम्रो दूतावासले कोरियामा रोजगारको अनुभवपश्चात् नेपाल फर्किएर सफल व्यवसायीको खोजी गर्ने क्रममा धेरै व्यक्ति विभिन्न व्यवसायमा आबद्ध भई नेपालको अर्थतन्त्रमा सकारात्मक भूमिका खेलेको तथा रोजगारी सिर्जना गरी समाजमा उदाहरणीय पहिचान दिन सफल भएको पायौं । झन्डै ६ महिनाको प्रयासमा न्यूनतम १५ जनालाई रोजगारी सिर्जना गरी सफल व्यवसायीमध्ये कागजबाट बक्स उत्पादन गर्ने, साबुन उल्पादन गर्ने, लत्ता कपडा उत्पादनलगायत क्षेत्रमा रहेका व्यक्तिको पहिचान गर्‍यौं । त्यसैगरी व्यवस्थित रूपमा कृषि फार्म, कफी फार्म खोलेर नेपालको कृषि क्षेत्रमा उदाहरणीय कार्य गरेको पायौं । पर्यटन क्षेत्र, भोजनालय, होटल, अस्पताल लगायतका सेवामूलक व्यवसाय सञ्चालन गरी धेरै व्यक्तिलाई रोजगारी दिएको पत्ता लगायौं । कोरिया अनुभव भएका केही व्यक्तिले व्यावसायिक रूपमा शिक्षा क्षेत्र सञ्चालन गरी धेरै व्यक्तिलाई रोजगारी दिएको पायौं ।

हाम्रो दूतावासले कोरियामा कामको अनुभव गरी नेपाल फर्किएका २६ व्यवसायीको सफलताका वास्तविक कथाको सँगालो ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ पुस्तक प्रकाशन गरेको छ । पुस्तक प्रकाशनका क्रममा सक्रिय सहभागिता जनाएका सफल व्यवसायीलाई धन्यवाद दिन चाहन्छु । पुस्तकमा समावेश व्यवसायीहरूले आफ्नो कोरिया अनुभवका आधारमा नेपालमा व्यवसाय सञ्चालन गरेको सकारात्मक प्रतिक्रिया पायौं । उनीहरूका अनुसार सफलताको सूत्र नै व्यवसाय गर्ने अठोट, पुँजीको सदुपयोग, अनुशासन, धैर्य, कामको सम्मान, धेरै व्यक्तिसँग छलफल, मिलनसार व्यवहार, समयको पालना, परिवारको सकारात्मक सहयोग हो ।

पुस्तकमा कोरियाको रोजगार अनुभवले काम ठूलो–सानो हुँदैन भन्ने सिकाइ छ । मालिक बन्नका लागि साथमा रहेका सबै सहकर्मीको समान भूमिका रहन्छ भन्ने भोगाइ छ । आफूले सुरु गरेको व्यवसायमा मात्र ध्यान केन्द्रित गरी प्रतिफलका लागि बारम्बार प्रयास गर्नुपर्छ भन्ने सोचाइ छ । व्यवसायमार्फत धेरै व्यक्तिलाई रोजगारीको अवसर दिने योजना, भाषिक ज्ञानको फाइदालगायतका विषयवस्तु पुस्तकमा समावेश छ । सकारात्मक सोचले मात्रै सफलताको सम्भावना देख्न सकिन्छ र उत्साहले सफलताको गोरेटो तय हुन्छ भन्ने अनुभव साट्न चाहन्छु ।

कोरिया र नेपालबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भई सन् २०२४ मा ५०औं वर्षगाँठ मनाउने चरणमा छौं । यसै सिलसिलामा २०२४ जनवरी ३० मा ५०औं वर्षगाँठको अवसरमा प्रयोग गर्ने आधिकारिक लोगो र स्लोगन शुभारम्भ तथा कोरियामा रोजगारीको अनुभवमा आधारित सफलताका कथा समावेश पुस्तक सार्वजनिक गर्ने कार्यक्रम भयो । कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र गणतन्त्र कोरियाबीच १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गराउँदै दुई देशबीच सम्बन्ध प्रगाढ बन्दै गएको उल्लेख गर्नुभयो । गणतन्त्र कोरियाले छोटो समयमा हासिल गरेको प्रगति र समृद्धिका सफलताका कथाबाट नेपालले धेरै कुरा सिक्ने बताउँदै पारस्परिक रूपमा लाभदायक क्षेत्रमा नेपालले साझेदारी बढाउन चाहेको उहाँले विचार राख्नुभयो ।

हाम्रो दूतावासले ५० औं वर्षगाँठको विशेष अवसरमा यस वर्षभरि नै के–पप कार्यक्रम, कोरियाली परिकार परिचयात्मक कार्यक्रम, तेक्वान्दो, कोरियाली भाषा वक्तृत्वकलालगायत विभिन्न सांस्कृतिक कार्यक्रम गर्नेछ । कोरियाली विकास अनुभव साट्नका लागि विभिन्न सेमिनार आयोजना हुनेछन् । अन्य अर्थपूर्ण कार्यक्रम गर्दै, विगत ५० वर्षको सुमधुर सम्बन्धलाई महत्त्व दिँदै, आगामी ५० वर्ष थप प्रगाढ सम्बन्ध विस्तारका लागि गोरेटो निर्माण गर्ने लक्ष्य लिएका छौं । आगामी दिनमा पनि कोरिया–नेपाल सम्बन्धले नयाँ उचाइ चुम्दै जानेछ भन्ने विश्वास लिएको छु ।

पार्क नेपालका लागि दक्षिण कोरियाली राजदूत हुन् ।

प्रकाशित : फाल्गुन २, २०८० ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?