कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भ्रष्टाचार निको नहुने रोग

जबसम्म मौका पर्दैन, हामी सबै संस्कारी देखिन्छौं, तर आफ्नो पालो आयो कि चान्समा डान्स गर्न ढिलो गर्दैनौं । यस्तै प्रवृत्तिले गर्दा भ्रष्टाचार कहिल्यै निको नहुने सामाजिक रोग बनेको छ ।
गायत्री लम्साल

हामीलाई भ्रष्टाचार मन पर्दैन तर काम नगरीकन एकै पटक धनी बन्न मन पर्छ । रातारात धनी बन्नेलाई सबैले सम्मान गर्छौं । उसकै सामाजिक प्रतिष्ठा उच्च हुन्छ । श्रम गर्नेलाई सम्मान गर्न सिकेका छैनौं हामीले । जसले परिश्रम गर्दछ, दस नङ्ग्रा खियाएर जीवन धानेको हुन्छ, उसलाई ‘हजुर/तपाईं’ भन्न लाज लाग्छ हामीलाई । 

भ्रष्टाचार निको नहुने रोग

सम्बन्धहरू जोड्ने औषधि मान्न थालिएको छ पैसालाई । श्रीमान्–श्रीमतीको सम्बन्ध, अभिभावक–सन्तानको सम्बन्ध, साथीभाइको सम्बन्ध पैसामै टिकेको हुँदा हाम्रो समग्र चेतनाले नै भ्रष्टाचारलाई पूजा गरिरहेको छ । जबसम्म हामी श्रम नगरीकन कमाइएको पैसालाई सम्मान गरिरहन्छौं तबसम्म भ्रष्टाचारको जालो टुट्दैन ।

हामीसँग धेरै कुरा भ्रष्टाचारविरोधी छन् । संविधान भ्रष्टाचारविरोधी छ । भ्रष्टाचारविरुद्ध नियमनकारी निकायहरू छन् । कानुनहरू छन्, विधि–विधान छन् । सरकारी नारा नै, सरकारी शपथ नै छ— ‘म आफूले भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि भ्रष्टाचार गर्न दिन्नँ ।’ भ्रष्टाचारको विरोधमा मीठो र चर्को भाषण गर्न कोही नेता कम छैनन् । हाम्रा सबै सार्वजनिक खरिद प्रक्रियाहरू, खरिद कानुन भ्रष्टाचारविरोधी छन् । यति हुँदा पनि नेपाल भ्रष्ट मुलुकको प्रायः अग्रस्थानमै पर्छ । हाम्रो संस्कार, हाम्रो चेतना, हाम्रो बुझाइ, हाम्रो कार्यशैली अनि हाम्रो सिंगो संस्कृति नै भ्रष्टाचारमैत्री भइदिनाले यस्तो भएको हो । काम केही नगर्ने तर कुरा ठूला गर्नुपर्ने, खाना मीठो चाहिने, घर ठूलो र गाडी सानदार चाहिने भएको छ हामीलाई । ‘अल्छी तिघ्रो, स्वादे जिब्रो’ उखान वास्तवमा हाम्रै लागि बनेको हो ।

कानुन, शपथ, संघसंस्था आदि भ्रष्टाचारीविरोधी हुँदैमा भ्रष्टाचार घट्ने भए नेपाल अहिले सबैभन्दा कम भ्रष्टाचार गर्ने मुलुकमा हुन्थ्यो । तर भ्रष्टाचार न्यूनीकरण कानुनमा लेखेर, चर्का भाषण गरेर हुने होइन । यसका लागि त हरेक नागरिकमा श्रम गर्ने र श्रमको सम्मान गर्ने संस्कारको विकास हुनु जरुरी छ । त्यस्तो नभएसम्म मुखले जतिसुकै ‘भ्रष्टाचार गर्दिनँ’ भने पनि मौका मिल्नासाथ भ्रष्टाचार गर्नका लागि साम, दाम, दण्ड, भेद सबै अस्त्रको प्रयोग गरिन्छ । त्यस्तै, ‘आफ्नाले गरे चमत्कार, अर्काले गरे भ्रष्टाचार’ भन्ने कुसंस्कृतिको अन्त्य हुनु आवश्यक छ ।

मुलुकमा अहिले नीतिगत भ्रष्टाचारले व्यापकता पाएको छ । संघीयतासँगै सिंहदरबारको भ्रष्टाचार विकेन्द्रीकरण भएर गाउँगाउँ पुगेको छ । तीनै तहका सरकारमा मुलुकको विकासका लागि प्रतिस्पर्धा हुनुपर्नेमा उल्टै भ्रष्टाचार गर्नमा नै तँछाडमछाड चलिरहेको छ । जुनसुकै तन्त्र आए पनि ‘बेमौसमी बाजा बजाएर जनताका आँखामा छारो हाल्ने’ काम मात्रै भएको छ ।

हाम्रा कतिपय चाडपर्व, रीतिरिवाज, प्रथा, परम्पराहरू नै भ्रष्टाचारमैत्री छन् । उदाहरणका लागि, दाइजो प्रथा एक त राम्रो होइन, यसलाई घटाउँदै र हटाउँदै लानुपर्छ, अर्को यदि दाइजो नै दिनैपर्ने भए कमजोर आर्थिक अवस्था भएकाले पाउनुपर्छ, ताकि आफ्नो छोरी–ज्वाइँको सुरुआती जीवन धान्न सजिलो होस् । तर, व्यवहारमा यस्तो गरिँदैन । जो सम्पन्न छ, जो धनी छ, उसैलाई थुप्रै दाइजो दिने गरिन्छ । आफन्त–इष्टमित्रमा जसको आर्थिक अवस्था कमजोर छ, उसलाई सहयोग गर्नुपर्ने हो तर गरिँदैन । उल्टै हेला गरिन्छ । दक्षिणाको सवालमा सम्पन्नलाई नै धेरै र विपन्नलाई थोरै दिइन्छ । धनी पाहुना आउँदा ऋण खोजेरै भए पनि मीठो खाना पकाइन्छ भने, गरिब अतिथि आउँदा मिष्टान्नको मात्रा कम हुन्छ । यहींनेर हामी चुकिरहेका छौं । हाम्रो सोच नै भ्रष्ट छ । सोचमै खोट छ । पद र पावर हुनेले कानुन किन्ने, नीति किन्ने, विधि किन्ने, पद्धति किन्ने, संस्कार किन्ने, न्याय किन्ने अनि सिंगो संस्कृति नै किन्ने अभ्यास रहुन्जेल भ्रष्टाचार घट्न सक्दैन ।

अचेल सदाचार र नैतिकता सर्वत्र हराउँदै गएको छ । सरकार, निजी क्षेत्र, नागरिक समाज, संघसंस्था, सहकारी, राजनीतिक दललगायत समग्र पक्षमै भ्रष्ट सोच छ, शैली छ, व्यवहार छ । मुखले एक थोक भनेर अर्को थोक गर्नमा हामी खप्पिस छौं । हामी सबैमा इमानको खडेरी छ । जबसम्म हाम्रा आनीबानी, व्यवहार र संस्कारमा सदाचार र नैतिकताले प्रवेश पाउँदैनन्, तबसम्म भ्रष्टाचारविरोधी संस्कृति निर्माण हुन सक्दैन ।

मुलुकको शासन चलाउने प्रमुख पात्र राजनीतिक दलहरू र तिनका सहयोगी कर्मचारीहरूलाई न सुशासन चाहिएको छ न त भ्रष्टाचारमैत्री वातावरण । दुवैको अभीष्ट ‘मौकामा चौका हान्न’ पाए हुन्थ्यो भन्ने नै रहँदै आएको छ । यस्तो प्रवृत्ति बढ्दै गए भोलि ‘न रहे बाँस न बजे मुरली’ जस्तो अवस्था नआउला भन्न सकिन्न ।

असल आचरण खासमा त परिवारभित्रबाटै हराउँदै गएको छ । परिवारमै जुन सन्तानले बढी पैसा कमाउँछ, उसैले मायाममता बढी पाउँछ । उसले छिट्टै कसरी पैसा कमायो भनेर सोधखोज गर्नुको सट्टा जसरी हुन्छ छिट्टै पैसा कमाएस् भन्दै आशीर्वाद दिइन्छ । जबसम्म मौका पर्दैन, हामी सबै संस्कारी देखिन्छौं, तर आफ्नो पालो आयो कि चान्समा डान्स गर्न ढिलो गर्दैनौं । यस्तै प्रवृत्तिले गर्दा भ्रष्टाचार कहिल्यै निको नहुने सामाजिक रोग बनेको छ । के उचित, के अनुचित, लेखाजोखा गर्ने प्रवृत्ति नै छैन । ‘फलानोले गर्‍यो भने मैले गर्न किन नहुने ?’ भने जस्तो अवस्था छ ।

अन्त्यमा, अब तीनै तहका सरकारको जिम्मेवारी भ्रष्टाचारविहीन संस्कृति र समाजको निर्माण हुनुपर्छ । यसका लागि सम्पूर्ण नागरिकले हातेमालो गर्दै अगाडि बढ्नु जरुरी छ । जब हामी भ्रष्टाचाररहित मन, वचन र कर्ममा रमाउन थाल्छौं तब मात्र भ्रष्टाचार न्यूनीकरणले गति लिन थाल्छ ।

प्रकाशित : पुस ९, २०८० ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×