कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७
प्रस्थानविन्दु-विचार शृंखला

सूचना प्रविधिबाट असीमित लाभको अवसर

अमृता शर्मा

सीमा नाकाको कुनै बारबन्देजले नछेक्ने र भन्सार महसुल पनि तिर्नु नपर्ने वस्तु तथा सेवाको प्रवर्द्धन नेपालका लागि महत्त्वपूर्ण छ । तर, त्यस्ता वस्तु तथा सेवा के होलान् ? सिमाना र तौलको प्रश्न नै नउठ्ने एक क्षेत्र हो– सूचना प्रविधि सेवा ।

सूचना प्रविधिबाट असीमित लाभको अवसर

विश्व डिजिटल अर्थतन्त्र र मूल्य शृंखलामा जोडिएर नेपालले सूचना प्रविधि जगत्बाट प्राप्त हुन सक्ने असीमित लाभमार्फत क्रमशः आर्थिक रूपान्तरणको यात्रा तय गर्न सक्छ । पछिल्लो समय विभिन्न अध्ययनले देखाउँदै आएको यस क्षेत्रको अपार सम्भावना र प्रगतिले सूचना प्रविधि सेवा निर्यातका चुनौती हटाई यसबाट मनग्य लाभ उठाउन हामीले ढिला गर्न नहुने संकेत गरेका छन् ।

हरेक क्षेत्रको डिजिटाइजेसन प्रक्रियाले नेपालको रोजगारी बजारमा अहिले सानोतिनो नै भए पनि एउटा लहर ल्याइदिएको छ । फिनटेक, ई–कमर्स र एड–टेक क्षेत्रमा उल्लेख्य आकर्षण देखिन्छ । सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले गरेको सूचना प्रविधि सेवा निर्यातसम्बन्धी लेखक स्वयं संलग्न एक अध्ययनअनुसार प्रत्येक वर्ष करिब ९ हजार स्नातक उत्तीर्ण जनशक्ति सूचना प्रविधि (आईटी) क्षेत्रको रोजगारी बजारमा प्रवेश गर्छन् । तीमध्ये सूचना प्रविधि नै अध्ययन गरेका जनशक्तिको संख्या ७ हजार ८५ रहेको देखिन्छ । योसँगै अन्य क्षेत्रका ३५.५ प्रतिशत जनशक्ति पनि वार्षिक रूपमा आईटी क्षेत्रमा जोडिने गरेका छन् । यसले आईटीतर्फको आकर्षण र रोजगारीको अवसर वृद्धिको सम्भावना झल्काउँछ ।

डिजिटल प्रविधिको विकास एवं बढ्दो प्रयोगले मान्छेको काम गर्ने तौरतरिकामा व्यापक फेरबदल ल्याइदिएको छ । देशबाहिर नगईकन घरमै बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ग्राहकहरूलाई आईटीसम्बन्धी सेवा दिन सकिने भएको छ । यसले भौगोलिक अवरोध र ९ बजेदेखि ५ बजेसम्म कार्यालयमा हाजिर भई काम गर्नुपर्ने परम्परागत जागिरमुखी प्रवृत्तिलाई कम गर्दै लगेको छ । विशेषतः कोभिड–१९ महामारीपछि कार्यालय नगई जहाँसुकै बसेर काम गर्न मिल्ने ‘रिमोट वर्किङ’ र स्वतन्त्र रूपमा छोटो अवधिका लागि गरिने अस्थायी प्रकृतिका कामको श्रम बजार ‘गिग इकोनमी’ मौलाएको देखिन्छ । पूर्णकालीन (फुल–टाइम) र अल्पकालीन (पार्ट–टाइम) दुवै कामका लागि गिग अर्थतन्त्रले नयाँ आयाम उजागर गरिदिएको छ । आयको प्रमुख स्रोत, दोस्रो स्रोत र थप स्रोतका लागि गिग अर्थतन्त्रमा आबद्ध आईटी जनशक्तिको संख्या नेपालमा ६६ हजार ५ सय ९ हाराहारी देखिन्छ ।

नेपाली आईटी कम्पनी र फ्रिलान्सरहरूलाई मूलतः संयुक्त राज्य अमेरिका, युरोप, बेलायत र अस्ट्रेलियाबाट ७७.८ प्रतिशत कामको प्रस्ताव आउने गरेको हाम्रो अध्ययनले देखाएको छ । तथापि, पछिल्लो समय संयुक्त अरब इमिरेट्स, बहराइन, बंगलादेश, भुटान, इन्डोनेसिया, जापान, कोरिया, मलेसिया, सिंगापुर, थाइल्यान्डजस्ता एसिया र मध्यपूर्वी क्षेत्रमा बढ्दो अर्थतन्त्र भएका देशका आईटी कम्पनीहरूले पनि नेपाली आईटी जनशक्तिबाट काम लिने प्रवृत्ति बढेको छ । नेपालमा झन्डै ४४.४ प्रतिशत आईटी कम्पनी निजी कम्पनीका रूपमा सञ्चालित छन्, अर्थात् तिनमा एकल स्वामित्व छ । अन्य कम्पनीहरू भने साझेदारीमा चलेका छन् । साझेदारीमध्ये ८७.५ प्रतिशतमा नेपाली मात्र आबद्ध छन् भने ३.१ प्रतिशतमा विदेशी साझेदार र ६.३ प्रतिशतमा नेपाली र विदेशी दुवै साझेदार रहेको पाइएको छ । त्यस्तै, ३.१ प्रतिशतमा भने नेपाली र गैरआवासीय नेपाली साझेदार रहेका देखिन्छन् ।

नेपाली आईटी कम्पनीहरूले विदेशी ग्राहकलाई कोडिङ, प्रोग्रामिङ, डिजाइन, सफ्टवेयर विकास, सामाजिक सञ्जाल व्यवस्थापन, भिडियो सम्पादन, एनिमेसन, कन्टेन्ट उत्पादन तथा सुधार, गेमिङ, हार्डवेयर उत्पादनजस्ता सेवा दिइरहेका छन् । मुख्यतः ब्लकचेन, एआई, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा, डाटा साइन्स, सफ्टवेयर डेभलप्मेन्टजस्ता क्षेत्रमा विदेशी ग्राहकको उच्च माग देखिएको छ । यति मात्र नभई सर्च इन्जिन अप्टिमाइजेसनदेखि सञ्चार र नेटवर्कका कामसँगै विभिन्न सिर्जनात्मक काममा समेत नेपाली आईटी जनशक्तिको माग हरेक वर्ष बढ्दै गएको तथ्यांकहरूले देखाएका छन् ।

नेपाली आईटी कम्पनीहरूलाई थप विदेशी सेवाग्राही आकर्षित गर्न र विदेशमा आफ्नो उपस्थिति अझै बलियो देखिने गरी सहयोगी वातावरण बनाउन थुप्रै किसिमका पहल गर्नुपर्छ । अन्तर्राष्ट्रियस्तरमा उच्च सम्भावना रहेको क्षेत्रका रूपमा नेपालको आईटी सेवा पनि एक भएको प्रचार गर्न सरकारले विभिन्न रणनीतिक उपाय अवलम्बन गर्नुपर्छ । आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रियस्तरका कार्यक्रम र फोरमहरूमा भाग लिनका लागि प्रोत्साहन गर्नुपर्छ । यी अवसरमार्फत कम्पनीहरूले आफ्नो सेवाबारे प्रचार गर्न र अन्य देशका आईटी कम्पनीका नवीनतम् प्रयासबारे जानकारी हासिल गर्न सक्छन् । सरकारले विदेशी मुलुकसँगको कूटनीतिक सम्बन्धमार्फत पनि आईटी क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने र भविष्यका लागि व्यावसायिक साझेदारीमा सहयोग पुग्ने गरी सदुपयोग गर्न सक्नुपर्छ ।

प्रभावकारी नारा र आवश्यक ब्रान्डिङ रणनीति तयार गरी नेपालको आईटी सेवालाई अधिक सम्भावना भएको उदयीमान क्षेत्रका रूपमा अन्तर्राष्ट्रियस्तरमै चिनाउनुपर्छ । यसका लागि हामीले बंगलादेशलाई उदाहरणका रूपमा लिन सक्छौं । त्यहाँ ‘डिजिटल बंगलादेश’ नारासहित सञ्चार तथा सूचना प्रविधिलाई सन् २०४१ भित्र देशको आर्थिक विकासको प्रमुख आधार बनाउने गरी सरकारले बृहत् अभियान नै चलाएको छ । बंगलादेश सरकारले डिसेम्बर १२ लाई ‘डिजिटल बंगलादेश दिवस’ का रूपमा मनाउने गरेको छ । मानव संसाधन विकास, डिजिटल सरकार, आईसीटी उद्योगको प्रवर्द्धन र नागरिकलाई आपसमा जोडेर उनीहरूले डिजिटल बंगलादेशका चार स्तम्भ घोषणा गरेका छन् । यो पहलले त्यहाँको डिजिटल अर्थतन्त्रको विकासमा उल्लेखनीय सहयोग पुगेको देखिन्छ ।

हाल बंगलादेशका १ सय २० भन्दा धेरै कम्पनीले १ खर्ब डलरभन्दा बढीको सूचना प्रविधिसम्बन्धी वस्तु तथा सेवा ३५ देशमा निर्यात गरिरहेको तथ्यांक छ । सन् २०२५ सम्ममा यो निर्यातलाई बढाएर ५ खर्ब डलर पुर्‍याउने बंगलादेशको लक्ष्य छ । हामीकहाँ कोभिड सुरु हुनुभन्दा अघि सरकारले ‘भिजिट नेपाल २०२०’ नारासहित पर्यटन क्षेत्रको प्रर्वद्धनमा राम्रो पहल गरेको थियो, त्यसले पर्यटक भित्र्याउन मद्दत पनि गर्‍यो । यस्ता अभियान अब आईटी क्षेत्र प्रवर्द्धनका लागि सञ्चालन गर्नुपर्ने बेला आएको छ । विश्वभर नै सूचना प्रविधि उद्योगको योगदान बढ्दो भएकाले यसबाट पर्याप्त लाभ लिन सक्ने सम्भावनाका लागि हामी गम्भीर हुनुपर्छ । जनशक्ति मात्रै होइन, नेपालको भूगोल, हिमाली तापमान सूचना प्रविधि उद्योग सञ्चालन र प्रवर्द्धनका लागि उपयुक्त छन् । विश्वमा मौलाइरहेको डाटा सेन्टर बिजनेस प्राकृतिक रूपमा चिसा हाम्रा हिमाली भेगमा सञ्चालन गर्न सकिन्छ, किनभने डाटा सेन्टरका लागि चिसो ठाउँ नभई नहुने पूर्वाधार हो ।

छेउमा रहेका दुई ठूला उत्पादनमुखी अर्थतन्त्रले घेरिएको देश भए पनि भूपरिवेष्टित हुनुको सीमितताले नेपाललाई वस्तु निर्यात गर्न तुलनात्मक रूपमा कठिनाइहरू छन् । त्यसैले उत्पादन र आपूर्तिको सहजताका हिसाबले पनि आईटीसम्बन्धी सेवा निर्यात हाम्रा लागि महत्त्वपूर्ण अवसर हुन सक्छ । नेपालमा यस उद्योगले हालैका वर्षहरूमा गरेको उल्लेखनीय वृद्धिलाई अझै बढाउँदै लैजान विद्यमान समस्याको तत्काल सम्बोधन जरुरी देखिन्छ । राजनीतिक र प्रशासनिक क्षेत्रले आईटी सेवा निर्यातको महत्त्व बुझे यसबाट थप अवसर सिर्जना गर्न अझै सहज बन्न सक्छ ।

आईआईडीएसको अध्ययनअनुसार नेपालबाट वार्षिक ६७ अर्ब रुपैयाँबराबरको आईटी सेवा निर्यात भएको छ । यो भनेको आधार वर्ष सन् २०२२ को विदेशी मुद्रा सञ्चितिको हिसाबले नेपालको कुल अर्थतन्त्रको १.४ प्रतिशत हो । नेपालको आईटी क्षेत्रले सेवा निर्यातमा देखाएको आशाजनक वृद्धिले भविष्यमा यसले राष्ट्रिय अर्थतन्त्र र रोजगारी सिर्जनामा पुर्‍याउन सक्ने उल्लेख्य योगदानको झलक दिन्छ । नेपालजस्तो देशका लागि सेवा निर्यात वर्तमान र भविष्य हो, जसले विद्यमान उच्च व्यापार घाटालाई कम गर्न पनि सहयोग पुर्‍याउन सक्छ । आईटी सेवाको सम्भावना बढाएर थप रोजगारीका अवसर दिन सके हाल द्रुत गतिमा भइरहेको जनशक्ति पलायन र ज्ञानको संकट (ब्रेन ड्रेन) को प्रभाव न्यूनीकरण गर्न पनि आईटी क्षेत्रको उचित व्यवस्थापन र प्रोत्साहन एक माध्यम बन्न सक्छ ।

अपर्याप्त डिजिटल पूर्वाधार, सीमित र अन्योलपूर्ण नीतिगत संरचना, दक्ष जनशक्तिको अभाव, यथोचित क्षमता प्रयोग गर्न अपर्याप्त प्रयास, भुक्तानी प्रणालीमाथिको प्रतिबन्ध, अवैज्ञानिक र अमूर्त कर प्रणाली, संस्थागत व्यवस्था र केही सामाजिक संरचना आईटी क्षेत्रको विकाससामु चुनौतीका रूपमा देखिएका छन् । सहरी क्षेत्रको सञ्चार पूर्वाधार वा कनेक्टिभिटीमा सुधार देखिए पनि देशभर यसको पहुँच र प्रयोगलाई अझै फराकिलो पार्न बाँकी छ । उच्च गतिको इन्टरनेट सेवाको उपलब्धता, उच्च क्षमताका स्थानीय डाटा सेन्टर, विपद् रिकभरी सेन्टरसँगै उच्च क्षमताको सूचना प्रविधि राजमार्गको पनि आवश्यकता देखिएको छ । आईटीसहित सबै किसिमका सेवा निर्यात उद्योगले झेल्नुपर्ने अर्को प्रमुख समस्या अस्पष्ट, दोधारे, साँघुरो सोच भएका नीति तथा कानुन पनि हुन् ।

आईआईडीएसको सर्वेक्षणमा करिब ७० प्रतिशत उत्तरदाताले सूचना प्रविधि क्षेत्रको विकासका लागि नेपालमा उचित नीतिगत रूपरेखा तयार नभएको बताएका थिए । बौद्धिक सम्पत्ति संरक्षण, डेटा गोपनीयता र सुरक्षा लगायत विषयमा आवश्यक कानुन बनेकै छैनन् । सीमापार डेटा प्रवाहमा सम्भावित प्रतिबन्धको संकेतलाई पनि सरकारले तत्काल सम्बोधन गर्न जरुरी छ । आर्थिक वर्ष २०२२ र २३ को बजेटमा प्रत्यक्ष वैदेशिक लगानीको न्यूनतम सीमा, आउटसोर्सिङ सेवा दिने कम्पनीलाई ५० प्रतिशत कर छुट लगायत विषय समावेश थिए । आईटी सेवा निर्यातलाई त्यसले केही बढावा दिए पनि प्रोत्साहनका हिसाबले सर्वाङ्गीण विकासका लागि अझै पर्याप्त र स्पष्ट नीति–नियमको आवश्यकता छ ।

आईटी क्षेत्रको अर्को समस्या भनेको दक्ष जनशक्ति अभाव हो । आईआईडीएसको सर्वेक्षणमा ७४.२ प्रतिशत कम्पनीका सञ्चालकले नेपालको शैक्षिक गुणस्तरलाई लिएर प्रश्न गरेका छन् । उनीहरूले यसलाई एउटा प्रमुख समस्याका रूपमा पहिचान गर्दै उत्पादकत्वमा ठूलो प्रभाव पर्ने प्रतिक्रियासमेत दिएका छन् । तसर्थ, शैक्षिक प्रणालीमा सुधार र थप प्रशिक्षणका अवसरमार्फत गुणस्तर अभिवृद्धि गर्नुपर्ने देखिन्छ । शैक्षिक संस्थाहरूले अनुसन्धान र विकासमा लगानी गर्ने र विद्यार्थीहरूलाई सानैदेखि रचनात्मक परियोजनामा संलग्न हुन प्रोत्साहित गरेमा यस क्षेत्रको विकासमा टेवा पुग्छ ।

आईटी सेवा निर्यात गर्ने कम्पनी तथा जनशक्तिले झेल्दै आएको भुक्तानी प्रणालीसँग सम्बन्धित समस्या सम्बोधन गर्न बैंक तथा वित्तीय संस्थाहरूका लागि विश्वव्यापी आईटी उद्योगका अभ्यासबारे जानकारी दिनु आवश्यक देखिन्छ । सार्वजनिक सेवा प्रवाहमा देखिने झन्झट र कर प्रणालीमा रहेको अस्पष्टताले पनि आईटी क्षेत्रलाई चुनौती थपेको छ । अर्को महत्त्वपूर्ण पाटो भनेको प्रभावकारी संस्थागत संयन्त्रको अभाव हो । आईटी क्षेत्रलाई प्रवर्द्धन गर्न एक स्वायत्त संस्थाको आवश्यकता रहेको सरोकारवालाले महसुस गरेका छन् । यस क्षेत्रको विकासका लागि आवश्यक कानुन, योजना नीतिहरूको निर्माण र कार्यान्वयनलाई प्राथमिकतामा राख्न त्यस्तो स्वायत्त संस्थाले भूमिका खेल्न सक्छ ।

देशको आर्थिक रूपान्तरण र वृद्धिको अवसरका रूपमा देखापरेको आईटी सेवा निर्यात क्षेत्र नेपालका लागि निकै महत्त्वपूर्ण छ । यसले कुल गार्हस्थ उत्पादन र विदेशी मुद्रा आर्जनमा उल्लेखनीय योगदान पुर्‍याएको हामीले देख्यौं । तसर्थ, यस क्षेत्रको थप विकास र रोजगारी सिर्जनाको सम्भाव्यतालाई पूर्ण रूपमा उपयोग गर्न नीति, कार्यान्वयन, नवप्रवर्तन र उद्यमशीलतामा सुधार, सार्वजनिक–निजी साझेदारीको विकासका साथै सरोकारवालाको सहकार्य आवश्यक छ । विश्वव्यापी परिदृश्यमा महत्त्वपूर्ण प्रभाव पार्न अनुकूल वातावरणको सिर्जना गर्नु हाम्रा लागि महत्त्वपूर्ण देखिन्छ ।

आईआईडीएसले गरेको आईटी सेवा निर्यातसम्बन्धी सर्वेक्षण अध्ययनको नेतृत्व गरेकी शर्माले आईटी सेवामा रोजगारीसम्बन्धी विषयमा विद्यावारिधि गरेकी छन् ।

(राजनीति मात्र होइन, उद्योग, व्यवसाय, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंकिङ, सिनेमा, साहित्य सर्वत्र अहिले निराशा छ । देशले यो निराशाको भारी लामो समय बोक्न सक्दैन । सजीव विश्वास प्रवर्द्धन गर्न कान्तिपुरले सुरु गरेको छ विचार शृंखला– ‘प्रस्थान विन्दु’ जहाँ फरक–फरक विज्ञले लेख्नेछन् सुधारका प्रस्तावना, निरन्तर ।)

प्रकाशित : फाल्गुन १४, २०८० ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×