कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

राजनीतिको लोकतान्त्रिकरण र विद्यार्थी राजनीतिको महत्त्व

मान्छेको चित्कार सुन्न सक्ने बन्नलाई ।
मान्छेसँग अझै कति कान थप्नुपर्छ ?
'अब अति भयो’ भन्नलाई ।
अझै कति मान्छे मर्नुपर्छ ।
जवाफ जताततै हामी वरिपरि उडिरहेको छ ।
–बब डिलन
५० वर्षअघि, भियतनामका विकट बस्तीहरूमा बी–५२ बमवर्षक जहाजले १ टन भन्दा गर्‍हुङ्गा एम–१२१ बमहरू बर्साइरहेको थियो ।

राजनीतिको लोकतान्त्रिकरण र विद्यार्थी राजनीतिको महत्त्व

अत्यधुनिक हतियारको विनास लीलामा परिवार गुमाएर घाइते भएका माइलाई गाउँका बालबालिकाहरू आकाश छेडिने आवाजमा चित्कार गरिरहेका थिए । विकसित भनिएको दुनियाँ मौन थियो । यसै समय अमेरिकाको प्रिन्स्टनलगायत कयौँ अमेरिकी विश्वविद्यालयमा विद्यार्थीहरूले आफ्नै सरकारविरुद्ध डिलनका यस्तै गीतहरू गाउँदै प्रदर्शन गरिरहेका थिए ।

दौलत र सीपको वर्कतले भूमण्डलमाथि मनोमानी गरिरहेको महाशक्तिको मुटुमा कसरी सोही मुलुकका नौजवानहरूले प्रतिरोध गरे भन्ने दृष्य र समाचार भर्खरै विश्वव्यापी हुन थालेका श्यामश्वेत टेलिभिजनमार्फत संसारले आश्चर्यसाथ हेरिरहेको थियो ।

यो निर्भय र सानदार गतिविधिको केन्द्रमा थिए– विद्यार्थी । उसो त, यो न पहिलो विद्यार्थी आन्दोलन थियो न अन्तिम । तर पनि यसको तरङ्ग विश्वव्यापी थियो । आजपर्यन्त दर्शन, विचार, संगीत र संस्कृतिमा यसको झल्को देख्न सकिन्छ ।

नेपाली आधुनिक इतिहासको जरादेखि पछिल्लो मुनासम्म विद्यार्थी संघर्षको अमिट छाप छ । चाहे त्यो २२ वर्षको उमेरमा त्रिचन्द्र क्याम्पसको कक्षाबाट थुतेर शोभा भगवतीमा गोली हानिएका गंगालाल श्रेष्ठ हुन वा बनारसमा पढ्दै गरेका नेपाली छात्र नै किन नहोउन् । श्री ३ महराजसामु आँखा जुधाएर प्रश्न सोध्ने सहाना–साधना हुन् वा रुढीवादी कर्मकाण्ड पढिरहेका तीनधाराका विद्यार्थी नै किन नहुन् । विद्यार्थी क्रियाशीलता, प्रतिरोध र साहसको कथा प्रत्येक काल र व्यवस्थामा उत्तिकै चम्किलो रुपमा उपस्थित छ । दिल्ली सम्झौताकाविरुद्ध लड्दा ढलेका चिनियाँकाजीदेखि, देउमाइको किनारमा मारिएका रत्नकुमार बान्तवा, ०५२ फागुन १४ गते गोरखामा मारिएका दिलबहादुर रम्तेल, हुन् वा मोरङमा हत्या गरिएका बेनोज अधिकारी जस्ता हजारौँ नौजवानको आलो रगतमा उभिएर आजको लोकतन्त्रले बामे सर्ने मौका पाएको हो । उत्सर्ग र त्यागको इतिहास बोकेको आन्दोलन आज अन्योलताको कठघरामा उभिएको छ ।

समकालीन समयले सिंगै राजनीति र विद्यार्थी आन्दोलनकै औचित्यमाथि बारम्बार प्रश्न उठाइरहेको छ । क्याम्पसमा विद्यार्थीद्वारा प्राध्यापक निर्घात कुटिएको खबरदेखि क्याम्पसमा हुने ठेक्कापट्टा र सरुवा–बढुवामा विद्यार्थी नेताको प्रत्यक्ष रुचिको मात्र कुरा पुरानो भइसकेको छ र युवा विद्यार्थी आन्दोलनमा संलग्न हामी सबैले जवाफ दिनुपर्ने गरि आन्दोलनमाथी उठेका प्रश्नहरूले नयाँ रेकर्ड बनाएको खबर समाचारपत्रका अग्रपृष्ठमा आइरहेका छन् ।

विश्वविद्यालयमा विद्यार्थी राजनीति निषेध गर्नुपर्ने आवाज बहालवाला शिक्षामन्त्रीकै मुखबाट सुन्नुपर्ने अवस्था पक्कै सामान्य होइन । प्रश्न धेरै उठेका छन् र तिनले जवाफ खोजिरहेका छन् । नेपालको आधुनिक इतिहासमा यो समय सर्वाधिक युवा अकर्मण्यताको समय हो । यो समयले विद्यार्थी राजनीतिको निषेध होइन झनै सुसंस्कृत विद्यार्थी क्रियाशीलताको माग गरिरहेको छ । निष्पट्ट अन्धकारले भरिएको निराशाको व्यापारको जगजगी छ । उत्प्रेरणा, साहस र रचनात्मकताको बन्ध्याकरण गरिएको हो कि भन्ने आशंका कतिबेला सत्यमा परिणत हुने हो भन्ने डरबीच अखिल (क्रान्तिकारी) को भर्खरै केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । सहिदका सन्ततिलाई, बेपत्ता पारिएका परिवारका सदस्यलाई र आन्दोलनबाट आएर मझधारमा उभिएको सिंगोपंक्तिलाई त्यो बैठकले पनि जवाफ दिनुपर्ने थियो ।

देशैभरबाट प्रज्ञा भवनमा उपस्थित सहभागीले आँखा नझिम्क्याई एकटकले मञ्चमा बसेकालाई हरिरहेका थिए । झण्डै एक हजार बढी जोडी आँखाहरूले आन्दोलन र परिवर्तनका नेता प्रधानमन्त्री प्रचण्डलाई हेरिरहेका थिए । उनीहरूको आँखामा आशा, आक्रोस, सपना र प्रश्न थियो । उनीहरूका आँखाले उज्यालो भविष्यको अपरिहार्य र निर्विकल्प संकल्पको माग गरिरहेका थिए ।

अर्को महत्त्वपूर्ण पाटो सत्ता र शक्तिको दुष्कर्मविरुद्ध प्रश्न गर्ने, चुनौती दिने र संघर्ष गर्ने तप्काको निर्माण सचेत र सिर्जनशील राजनीतिबाट मात्र सम्भव छ । मुलुकको सबै बस्तीका नौजवानहरूले हाँक नदिने हो भने राजनीतिको घरानियाँकरण हुन थाल्छ । माओवादी आन्दोलनमा आधारभूत वर्गबाट टाढिन नदिनु र अखिल(क्रान्तिकारी)को आन्दोलनलई मूलत: जनताको छोराछोरीहरूको रंगमञ्च बन्नबाट बञ्चित गरिएको दिन, यो आन्दोलन स्वत: मर्ने छ ।राजनीतिको लोकतान्त्रिकरण गर्न वा राजनीतिलाई जनताको मझेरीसम्म ल्याउन विद्यार्थी राजनीतिको महत्त्व सबैभन्दा टड्कारो छ ।

शैक्षिक क्षेत्रमा स्वामित्व, पहुँच र गुणस्तरको विषय विशुद्ध शासनयन्त्रको प्राविधिक विषय कदापी होइन । हाम्रो गणतन्त्र, सहभागिता र समावेशिताको दर्शनबाट सिञ्चित छ । यसमा सरोकारवालाको निरन्तर सक्रिय सहभागिता र हस्तक्षेपको आवश्यकता पर्छ । त्यसैले विद्यार्थी आन्दोलनमा लागेका युवाहरू देहातको मुसहर बस्तीदेखि कर्णालीका सुदूर बस्तीसम्म उज्यालो फैलाउने अभियन्ता हुन् ।

यस्ता लाखौँ लाख युवा विद्यार्थीहरूलाई अखिल (क्रान्तिकारी) ले नयाँ हाँक दिएको छ । आ–आफ्नो क्षेत्रबाट राष्ट्र निर्माणमा जुट्न हौसला दिएको छ । समग्रमाभन्दा यो बैठकले विद्यार्थी आन्दोलनमाथी उठेका प्रश्नहरूको जवाफ खोज्दै नयाँ बाटो पहिल्याउने संकल्प गरेको छ । आउनुस नयाँ राजनीतिक गोरेटो हुँदै राष्ट्रिय सम्मेलन तर्फअघि बढौं ।

(मैनाली अखिल(क्रान्तिकारी) का उपाध्यक्ष हुन् )

प्रकाशित : असार ६, २०८१ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×