कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

विदेशीसँगै स्वदेशी पर्यटकको रोजाइ बन्दै बर्दिया निकुञ्ज 

रमेश थापा

प्रकृति र संस्कृतिको संयोजन रहेको बर्दियामा पर्यटन क्षेत्रले गति लिन थालेको धेरै भएको छैन । कुनै बेला पर्यटक भनेका विदेशीमात्र हुन् भन्ने मानसिकता थियो । अहिले आममानिसमा पर्यटकबारेको धारणामा परिवर्तन आएको छ ।

विदेशीसँगै स्वदेशी पर्यटकको रोजाइ बन्दै बर्दिया निकुञ्ज 

त्यससँगै बर्दिया जिल्लाको पर्यटन क्षेत्रसमेत फैलिँदै गएको छ । विगतमा बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय आसपास केन्द्रित पर्यटन अहिले जिल्लाव्यापी बनेको छ । यससँगै जिल्लाको पर्यटनमा विविधता आउनुका साथै पर्यटकका लागि रोजाइका क्षेत्र पनि विस्तार भएका छन् ।

बर्दियामा पर्यटन व्यवसायको औपचारिक सुरुवात राष्ट्रिय निकुञ्जसँगै रहेको ठाकुरद्वारास्थित टाइगर टप्स कर्णाली लजले गरेको हो । विकट पश्चिम नेपालमा पर्यटकीय गतिविधि लगभग शून्य रहेको अवस्थामा नेपाल सरकारको आग्रहमा सन् १९८८ देखि साबिक ठाकुरद्वारा गाविसको चिट्कैयामा टाइगर टप्स कर्णाली लज स्थापना भएको थियो । निकुञ्ज बाहिर सुविधा सम्पन्न लज स्थापनापछि टाइगर टप्सले नै यहाँका सर्वसाधारणदेखि संरक्षणकर्मीलाई सफारी पर्यटनबारे जानकारी दिने काम गरेको हो । धेरै वर्षसम्म टाइगर टप्सले नेपाल सरकारसँग सम्झौता गरी निकुञ्जभित्रको लालमाटीनजिक टेन्ट क्याम्प सञ्चालन गरेको थियो । कर्णाली नदी किनारमा रहेको उक्त क्याम्पप्रति विदेशीको नजर पर्न थालेपछि त्यही नै प्रमुख रोजाइ पनि बन्न पुगेको थियो ।

होटल स्थापनासँगै हात्ती सफारी, जंगल ड्राइभ, जलयात्रालगायतका पर्यटकीय सेवा पनि सुरु गरेको टाइगर टप्सलाई सरकारले चिट्कैयास्थित कर्णाली लजबाट निकुञ्ज प्रवेश गर्ने र निस्किने छुट्टै प्रवेशद्वारसमेत उपलब्ध गराएको थियो । बर्दियालाई संसारमा परिचित गराउन र विदेशी पर्यटक भित्र्याउने कार्यको सुरुवात टाइगर टप्सले नै गरेको हो । बर्दिया निकुञ्जको विश्वव्यापी ‘ब्रान्डिङ’ गरेको उक्त लज अहिले पनि सञ्चालनमा छ । उक्त लजबाहेक २०४९/५० सालसम्म ठाकुरद्वारामा जिल्ला बाहिरबाट आएका मानिसहरू बस्नका लागि कुनै होटल थिएनन् ।

निकुञ्ज भएका कारण स्वदेशी/विदेशी पाहुनाको आगमन भइरहने तर उनीहरूलाई खान/बस्नका लागि होटल नभएपछि बर्दिया निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामप्रीत यादवको सल्लाहमा स्थानीय खड्कबहादुर खड्का ‘प्रेमी’ले आफ्नै घरमा ‘बर्दिया जंगल कटेज’ नामकरण गरी होटल सञ्चालन गरेका थिए । त्यसपछि काठमाडौं, पोखरा र चितवनबाट आएका पर्यटन व्यवसायीले होटल व्यवसायमा लगानी गर्ने क्रम बढेको थियो । यहीँका स्थानीयले समेत होटल सञ्चालन गरेका थिए । तर, मुलुकमा सञ्चालन भएको माओवादी सशस्त्र द्वन्द्वको प्रभाव यहाँको पर्यटनमा पनि पर्‍यो । त्यसबेला पाहुना आउने क्रम रोकिएपछि होटल जीर्ण बने ।

मुलुकमा सशस्त्र द्वन्द्वको अन्त्यपछि बर्दियाको पर्यटन क्षेत्रले पुनः गति लिन थालेको हो । जीर्ण अवस्थामा रहेका होटललाई मर्मत गरेर चलाउन थालियो भने धेरै लगानीका ठूला होटल पनि बिस्तारै खुल्न थाले । अर्कोतर्फ पर्यटकको परिभाषासमेत फेरियो । पछिल्लो समय आन्तरिक पर्यटकलाई पनि स्वागत गर्ने क्रम बढेको छ । अहिले ठाकुरद्वारामा पर्यटकीय सेवाका लागि दुई दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् । ठाकुरद्वारा बाहिर पनि धेरै होटल निर्माण भइरहेका छन् । विभिन्न ठाउँमा होमस्टेहरू स्थापना भई सञ्चालनमा आएका छन् । जसले गर्दा बर्दिया भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा पुग्न गएको छ । हाल बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने विदेशी पर्यटकको संख्या वार्षिक सरदर ७ हजार र स्वदेशी पर्यटकको संख्या १५ हजारको हाराहारीमा पुगेको छ । सडकको गुणस्तर राम्रो नभएकाले पर्यटकलाई काठमाडौंदेखि बर्दियासम्म गाडीमा आवागमन गर्न धेरै नै कठिनाइ छ । असमान भाडा दरका कारणले विदेशी नागरिकले हवाई यात्रा गर्दा नेपालीले भन्दा झण्डै दोब्बर तिर्नुपर्ने व्यवस्थाले गर्दा पनि पर्यटकहरूको प्राथमिकतामा बर्दिया पर्न नसकेको स्थिति छ ।

पर्यटकीय गतिविधि

बर्दिया आउने अधिकांश विदेशी पर्टकको रुचि बाघ, हात्ती, गैंडालगायत वन्यजन्तु र चरा अवलोकन हुने गरेको छ । हात्ती सफारी बन्द भएकाले अधिकांश पर्यटक जीप सफारी र पैदल यात्रा गरेर वन्यजन्तु अवलोकन गर्छन् । वन्यजन्तु र मनोरम प्राकृतिक भू–दृश्यावलोकनका लागि निकुञ्जभित्रको बबई उपत्यका निकै आकर्षक भए पनि धेरै पर्यटकीय गतिविधि कर्णाली/गेरुवा नदीतटीय क्षेत्रमा हुने गरेको पाइन्छ । बबई उपत्यका काठमाडौं, पोखरा, विराटनगर र बुटवलबाटै पनि दूरीका हिसाबले निकै टाढा भएकाले रात बिताउने गरी जानुपर्ने हुँदा निकै कम पर्यटकले भ्रमण गर्ने गरेका छन् । बबई उपत्यका पुग्ने वन पथको गुणस्तर राम्रो बनाइ सुरक्षित टेन्टेड क्याम्पको व्यवस्था भएमा भविष्यमा बबई उपत्यका पर्यटकका लागि उत्कृष्ट गन्तव्य हुन सक्नेछ ।

बर्दिया राष्ट्रिय निकुञ्ज लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय स्थल पनि हो । तर, यस क्षेत्रको पर्यटकीय विकास एवं प्रचारप्रसारका लागि नेपाल सरकारको पर्यटन मन्त्रालय, पर्यटन विभाग र पर्यटन बोर्डजस्ता निकायबाट बर्दियाप्रति पक्षपातपूर्ण व्यवहार गरिएको यहाँका पर्यटन व्यवसायीको गुनासो छ । उल्लिखित निकायहरूबाट हालसम्म राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका पर्यटकीय गतिविधिमा बर्दियालाई सम्बोधन गर्न कन्जुस्याइँ भएको छ । प्रदेश सरकारले भने नेपाल भ्रमण वर्ष सन् २०२० को सुरुवाती कार्यक्रम र ४४ औं अन्तर्राष्ट्रिय विश्व पर्यटन दिवस सन् २०२३ का अवसरमा ठाकुरद्वारामा विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

सम्भावना र चुनौती

वन्यजन्तुमा आधारित पर्यटनका हिसाबले बर्दियामा धेरै सम्भावना रहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा एकै दिनमा बाघ, गैंडा, हात्तीजस्ता महत्त्वपूर्ण वन्यजन्तु अवलोकन गर्न सकिन्छ । मृगका बथान, डल्फिन र चरा अवलोकनका लागि बर्दिया प्रख्यात छ । यसका साथै स्थानीय आदिवासी थारु समुदायको मौलिक रहनसहन, वेशभूषा र संस्कृतिले पर्यटकलाई लोभ्याउने गरेको छ । छोटो समयका लागि आउने पर्यटकका लागि यी क्रियाकलाप पर्याप्त हुन सक्छन् । तर लामो समयका लागि आउने पर्यटकका लागि केही नयाँ पर्यटकीय उत्पादनको खोजी गर्न जरुरी देखिन्छ । यसका लागि गेरुवा नदीतटीय क्षेत्र र बबई उपत्यकामा सुरक्षित एवं व्यवस्थित टेण्टेड क्याम्प स्थापना र सञ्चालन गर्न आवश्यक छ ।

हाल बर्दियामा जलयात्रा गर्न चाहने पर्यटकले उचित सेवा पाउन सकेका छैनन् । निकट भविष्यमा भेरी बबई डाइभर्सनको काम सम्पन्न भई बबई नदीमा पानीको सतह बढेपछि जलयात्राका लागि बर्दिया आकर्षणको केन्द्र बन्ने निश्चित छ । गेरुवा भँगालोमा पानीको बहाव नियमित रहेकाले खौराहामा समेत डुंगा वा र्‍याफ्टिङ सञ्चालन भए अर्को आकर्षण थपिनेछ । कर्णाली चिसापानीदेखि गाइनेकाँडा, तेलपानी हुँदै अम्रेनीसम्मको पैदल यात्रा मार्ग सञ्चालन भएमा नयाँ आयाम पनि थपिनेछ ।

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि सुरु भएकाले यसले बर्दियालाई असर पुर्‍याउन सक्छ । दोस्रो कुरा ठाकुरद्वारा आसपासको क्षेत्रमा बढ्दो ध्वनि प्रदूषण र तेस्रो कुरा मानव–वन्यजन्तु द्वन्द्व पनि यहाँको पर्यटनको लागि चुनौती बन्न सक्ने देखिएको छ । हाल बर्दियामा चारवटा समस्याग्रस्त पाटे बाघलाई खोरमा थुनेर राखिएको छ । यस्ता समस्याग्रस्त बाघलाई प्राकृतिक स्वरूपको ठूलो सुरक्षित घेरामा राखेर उचित संरक्षण गर्न जरुरी छ । यस्ता समस्याग्रस्त वन्यजन्तु र निकुञ्जभित्र निर्माण भएका सडक, नहर लगायतका वन्यजन्तुविरोधी भौतिक संरचनाले पनि चुनौती थपिरहेका छन् । यसका साथै मध्यवर्ती क्षेत्रमा निकुञ्ज कार्यालय र स्थानीय सरकारबीच बढ्दो क्षेत्राधिकारको विवाद पनि गम्भीर चुनौतीका रूपमा रहेको छ ।

पर्यटक र पर्यटकीय गतिविधिबाट स्थानीय समुदाय प्रत्यक्ष रूपमा लाभान्वित हुन सके मात्र पर्यटन प्रवर्द्धनको सार्थकता रहन्छ । यसतर्फ सरोकारवाला सबैको ध्यान जान जरुरी छ । यहाँका पर्यटक केन्द्रित केही होटलहरूले केही हदसम्म स्थानीय स्तरमा उत्पादन भएका दाल, चामल, माछा, मासु, अण्डा, तरकारी, दुध, घिउलगायत खरिद गर्ने गरेका छन् । तर, होटललाई आवश्यक पर्ने उचित परिमाणको गुणस्तरीय उत्पादन उपलब्ध हुन नसक्दा अधिकांश सामान बाहिरबाटै खरिद गर्नुपर्ने बाध्यता रहेको छ । अतः स्थानीय समुदायलाई पर्यटनमैत्री कृषि तथा पशुपालनका लागि उचित सहयोग र सुविधा उपलब्ध गराउनुपर्ने अवस्था पनि छ । पर्यापर्यटनमा आधारित स्थानीय जनशक्तिको क्षमता विकास गरी आयआर्जन र जीविकोपार्जन अभिवृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले हालै ठाकुरबाबा नगरपालिकाले १० महिने कुक तालिम सञ्चालन गरेको छ । यसबाट स्थानीय समुदायको क्षमता विकास गरी पर्यापर्यटनको माध्यमबाट समृद्धि हासिल गर्न र केही हदसम्म रोजगारीका अवसर सिर्जना गर्न समेत महत्त्वपूर्ण सहयोग पुग्ने आशा गरिएको छ । बर्दियाको पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि सरोकारवाला निकायहरूबीचको समन्वय र सहकार्य आजको आवश्यकता पनि हो ।

(थापा बर्दिया राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत हुन् ।)

प्रकाशित : फाल्गुन ११, २०८० ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?