कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७६

बर्दिया : स्वर्णिम अतीत र वर्तमान

काठमाडौँ — बर्दियालाई आज पनि नयाँ मुलुकको एउटा जिल्लाका रूपमा लिने गरिन्छ । ब्रिटिस भारतमा सन् १८५७ मा सिपाही विद्रोह फैलिएर ब्रिटिस औपनिवेशिक शासनको विरुद्ध उत्तर भारतमा सशस्त्र क्रान्तिको लहर चलेको थियो ।

बर्दिया : स्वर्णिम अतीत र वर्तमान

नेपालका तत्कालीन प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले त्यस सशस्त्र क्रान्तिलाई दमन गर्न अंग्रेज सरकारलाई सघाएबापत नेपाललाई ब्रिटिस भारतले फिर्ता गरेको महाकालीदेखि राप्ती नदीसम्मको तराईको एउटा जिल्ला हो– बर्दिया । त्यसै गरी प्राप्त भएका अन्य जिल्लामा बाँके, कैलाली र कञ्चनपुर रहेका थिए । जसलाई जंगबहादुर राणाले आफू र आफ्ना उत्तराधिकारी सन्ततिको बिर्ता बनाएका थिए । त्यसैले नयाँ मुलुकलाई जंगबहादुरको बिर्ता पनि भनिन्थ्यो ।

बर्दिया राणा शासकको बिर्ता मात्र नभइ सिकारीहरूको स्वर्ग पनि मानिन्थ्यो । बर्दियामा त्यतिबेला अत्यधिक सिकारकै कारण यहाँको वनजंगलबाट गैँडा प्रजाति नै लोप हुन पुगेको थियो । यहाँ राणा शासकहरूले ब्रिटिस सम्राट जार्ज पञ्चमको राज्यकाल (१९१०–१९३७) मा नेपाल भ्रमणमा आउने ब्रिटिस भारतमा कार्यरत लर्ड, कमान्डर इनचिफ र उच्च पदस्थलाई सिकार खेल्न ल्याउने गर्थे ।

सन् १८७६ को फरबरीमा बेलायती महारानी भिक्टोरियाका जेठा छोरा युवराज एडवर्ड सप्तमलाई जंगबहादुर राणा स्वयंले ८ सय वटा हात्तीको लावा–लस्करसहित सिकार खेल्न सवारी गराएका थिए भने राणा प्रधानमन्त्रीहरू वीरशमशेर, चन्द्रशमशेर र जुद्धशमशेर आ–आफ्नो पालामा यहाँ सिकार खेल्नकै लागि आएका थिए । भारतको हैदरावाद निजाम र पटौदीका नवावहरू त बर्दियामा बर्सेनि सिकार खेल्न आउँथे । उनीहरू यहाँ जंगली जनावरको मात्र नभई कर्णालीको शेर माछाको सिकार गर्न र ट्रेकिङमा पनि रमाउने गर्थे । यसका लागि हैदरावाद (दक्षिण भारत) का निजामले कर्णाली चिसापानीको कुइने सडक किनारको पितमारी नजिक स्थायी बंगला नै निर्माण गराएका थिए । त्यस ठाउँलाई अचेल कचाली भन्ने गरिन्छ । बर्दियामा सिकार गर्न आउनेमा राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रसमेत रहेका थिए ।

बर्दिया सिकारीहरूको स्वर्ग मात्र थिएन, राणा शासनकालमा खाद्यान्न तथा काठको प्रमुख उत्पादक र निर्यात गर्ने जिल्ला पनि थियो । त्यसबेला यहाँको खाद्यान्न र काठ कर्णाली नदीबाटै ठूलठूला डुंगामा राखेर उत्तर भारतको घाघरा (कर्णाली) र गंगा नदीको तटवर्ती सहरसम्म ढुवानी हुन्थ्यो । पछि यसैका लागि ब्रिटिस भारत सरकारले बर्दियाको सीमासम्म रेल्वे लाइनसमेत निर्माण गर्‍यो ।

सन् १८२५ मा इंग्ल्यान्डको स्टाँवटन र डालिङ्टनबीच पहिलो रेल चलेको ९८ वर्षपछि र भारतमा महाराष्ट्रको बम्बई–ठानेबीच पहिलो रेल चलेको ७० वर्षपछि राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरको शासनकालमा बर्दियामा पनि नेपालको पहिलो रेल्वे लाइन निर्माण भयो । यो रेल्वे लाइन बहराइच जिल्ला (भारत) को बर्दिया सीमावर्ती निसानगाडा नजिकको टेघरा चौकीदेखि बर्दियाको मधुवन, माचड, गमक्का, वसन्ता, तकिया, गोविन्दपुर, नेउलापुर, सतघरवा, रानीपुर, कर्मला र आम्बासा हुँदै भाँवरक्षेत्र खयरभट्टीसम्म निर्माण भएको थियो । करिब ३५ किमि लामो यो रेल्वे लाइन सार्वजनिक यातायात सुविधाका लागि नभएर बर्दियाको काठ भारतमा ओसार्नका लागि बनेको थियो । यसलाई कोलिएर रेल्वे लाइन भनिन्थ्यो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा ब्रिटिस भारतका फरेस्ट कन्जरभेटर एमभी कोलिएरले तत्कालीन नेपाल सरकारबाट बर्दियाको मौवा–वसन्ता (ढोढरी) देखि उत्तर कुँवाभार (शिवपुर) सम्मको ५ हजार ६ सय हेक्टर जंगल क्षेत्रका काठ कटान मुछान गरी भारततर्फ निकासी गर्न ठेक्का इजाजत पाएको थियो । यो काठ कटान मुछान र निकासी विसं १९८० देखि विसं १९९० सम्म दसवर्षे अवधिका लागि मात्र भएकाले यो रेल्वे लाइन पनि त्यति अवधिभर मात्रै चलेको थियो ।

कत्था प्रशोधन हुने पहिलो जिल्ला पनि हो, बर्दिया । हाल यहाँका ठाकुरबाबा नगरपालिकामा पर्ने पूर्व–पश्चिम राजमार्गस्थित अम्बासाबाट तेल पानी (सुर्खेत) सडक खण्डमा पर्ने कुँवाभार नजिकको खयरभट्टीमा उक्त कत्था प्रशोधन हुने गर्थ्यो । अंग्रेज ठेकेदार एमभी कोलिएरले त्यस क्षेत्रमा रहेको खयरको जंगल काटेर त्यही खयरभट्टी बनाएर कत्था प्रशोधन गरी भारतमा प्रशोधित कत्था निकास गर्थे । यसैले त्यस ठाउँको नाम पनि खयरभट्टी रहन गयो ।

विसं १९९० सालपछि बर्दिया जमिन्दार हरिहर उपाध्याय गौतमका नामले पनि चिनिन थाल्यो । बर्दियामा झन्डै १४ हजार बिघा क्षेत्रफल जमिनको मालिक भएका उनी नेपालकै सबैभन्दा ठूला जमिन्दार मानिन्थे । महोत्तरीको जलेश्वरमा विसं १९५८ मा जन्मेका उनको २०२२ सालमा भारतको लखनउमा मृत्यु भएको थियो । उनको पुस्तैनी घर भने अर्घाखाँचीको खिदिम पोखराथोक हो । बारबर्दिया नगरपालिकाको पदनाह वनघुसरी गाउँमा उनको बसोबास थियो ।

पुरातत्त्वविद् योगी नरहरिनाथका अनुसार पौराणिक कालका १४ मनुमध्ये पछिल्लो जल प्रलयपछि सृष्टि जोगाउने र विस्तार गर्ने ७ औँ वैवश्वत मनुले बर्दियाको कर्णाली नदीको तिर हुँदै मान्म कालिकोटबाट कौशलराजमा व्याप्त अराजकता हटाउन अयोध्यापुरी क्षेत्र बसालेका हुन् । सृष्टिकालदेखि नै नदी सभ्यता संसारभरि नै विकसित हुँदै आएको हो । नदी तट र आसपासका क्षेत्र मानव बसोवास र एक ठाउँबाट अर्को ठाउँमा आवागमन हुने अनादीकालदेखिको माध्यम पनि हो । गंगा नदीको उत्तर र दक्षिण दुवैतर्फका भारत वर्षीय भूभागहरूबाट प्राचीनकालदेखि कैलाश मानसरोवरसम्म जाने आउने सडक शृंखला मुख्यतः कर्णाली नदी करिडोर नै हो । केही दशाब्दी पहिलेसम्म पनि तराईबाट कर्णालीका विभिन्न जिल्ला र तिब्बत ताक्लाकोटसम्म धार्मिक तथा व्यापारिक प्रयोजनले यही करिडोर प्रयोग हुने गर्थ्यो । यसलाई नुनमार्ग पनि भनिन्थ्यो । यही रुट भएर हिमाली क्षेत्रका बासिन्दा नुन र जडीबुटी भेडा च्यांग्रामा लादेर बर्दियाको चिसापानी, पाताभार, गोला र राजापुर मण्डीमा ल्याउने गर्थे भने यहाँबाट लत्ताकपडा, अनाज र अन्य आवश्यक सामान लिएर उत्तरतर्फ लाग्ने गर्थे ।

काशी राजा धन्वन्तरीलाई स्वर्ग जाने मार्गको प्रसंगमा कैलाश पर्वतको महाधाम तीर्थमा जाँदा काली नदीको तीर हुँदै मालिकार्जुन (दार्चुला) को दर्शन गर्दै जाने र फर्किंदा हुम्ला, मुगु, कालिकोट, बाजुरा, अछाम, दुल्लु (दैलेख) र सुर्खेतस्थित पवित्र तीर्थस्थल सेरा, ब्रह्म सरोवर (रारा), छायाँथान, ऋणमोक्ष, पापनाशी, दुधकुण्ड, खार्पुनाथ, महादेव पर्वत, वडीमालिका, वृद्धगंगा, वैद्यनाथ, ज्वालाजी, पद्मावती र पाताल गंगाको स्नान, दर्शन र पुजन गरी फर्कनु पर्ने भनेर स्कन्द पुराणको मानसखण्डमा त्रिदेव भगवान् दत्तात्रयले सुनाएको उल्लेख छ ।

लालमाटी, महादेवफाँटा, किथौराफाँटा, बघौराफाँटा, लम्कोइली फाँटा र भावर चुरे क्षेत्रमा लुप्तप्रायः संरचनाका भग्नावशेषबाट पनि प्राचीन बर्दियाको महत्त्व हामी बुझ्न सक्छौं । आज पनि ती ठाउँमा मठमन्दिर, दरबार परिसर र कुवाका अवशेष रहेका छन् । माटाका भाँडा वर्तन र देवीदेउताका खण्डित प्रस्तर मूर्ति छरिएर रहेको भेट्टाउन सकिन्छ । तर, ती स्थान बर्दिया राष्ट्रिय निकुञ्जभित्र परेकाले तिनीहरूको खोज, अध्ययन–अनुसन्धान र संरक्षण हुन सकेको छैन । बर्दिया राष्ट्रिय निकुञ्जले पनि वनजंगल र जैविक विविधताको मात्र संरक्षण, अध्ययन–अनुसन्धान गर्ने हुँदा पुरातात्त्विक र सांस्कृतिक धरोहर विनाश हुन पुगेका छन् ।

ठाकुरबाबा मन्दिर परिसरमा राखिएका देवीदेवताका थुप्रै प्रस्तर मूर्ति झन्डै १ सय वर्षअघि तिनै गेरुवा नदीको किनारमा रहेका फाँटाहरूबाट संकलित गरी चौतारिया उदयविक्रम सिंह रायाले राख्न लगाएका थिए, जसलाई हामी आज पनि ठाकुरद्वारा मन्दिर परिसरमा देख्न सक्छौं । यस्तै, ५५ वर्षअघि त्रिभुवन विश्वविद्यालय इतिहास विभागका प्रोफेसर डा. रामनिवास पाण्डे नेतृत्वको विद्यार्थी सम्मिलित टोलीले २०२५ सालमा दानवताल क्षेत्रको भ्रमण गर्दा त्यहाँ प्राप्त यशोधराको काखमा राजकुमार राहुल भएको बुद्धको प्रस्तर मूर्ति फेला पारेपछि लगेका थिए । हाल त्यो मूर्ति पुरातत्त्व विभागमा रहेको छ ।

बर्दियाको नामकरणमै पनि अनेकन् अवधारणा, तर्क र श्रुति परम्परा भेटिन्छन् । एकथरी ठाकुरबाबा नगरपालिकामा पर्ने बबई नदीको पश्चिम किनारको बबई व्यारेजनिर परेवा ओडार गुफामा बरद ऋषिको आश्रम रहेको र उनकै नामबाट यस जिल्लाको नाम बर्दिया रहन गएको हो । यस्तै, यहाँ थारु र अवधीभाषी समुदायको बाक्लो बसोवास भएकाले थारु भषामा गोठालालाई ‘बर्दिवा’ भनिन्छ भने अवधी भाषामा खेत जोत्ने गोरुलाई ‘वर्द’ भनिन्छ । यही ‘वर्द’ र ‘वर्दिवा’ बाट अपभ्रंश भएर बर्दिया नाम रहन गएको हो भन्ने मत पनि धेरैको छ ।

हुन त ५२५ ईश्वी पूर्व प्राचीन पर्सियामा साइरस महान्का छोरा बर्दिया नामका राजा पनि थिए र लिबियामा पनि बर्दिया नामको शहर छ । तर ती नामसँग यसको कुनै साइनो सरोकार छैन । बरु कर्णाली प्रदेशको सिंजा राज्यका संस्थापक राजा नागराज बारदेसँग बर्दियाको नामकरण र नाता गाँस्न सकिन्छ । किनकि, १२ औँ शताब्दीमा उनले स्थापना गरेको कर्णाली प्रदेशको सिंजा राज्य उनको उत्तराधिकारी राजाहरू चल्ल, चापिल्ल, क्राशी चल्ल, क्रचल्ल, अशोक चल्ल/मल्ल, जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्ल (१३९३–१४१४ वि.सं.) को शासनकालसम्म आइपुग्दा उत्तरमा मानसरोवर आसपासको तिब्बत क्षेत्रदेखि दक्षिणमा गंगाको उत्तरी मैदानसम्म र पूर्वमा गण्डकीदेखि पश्चिममा हिमाचल (भारत) सम्म फैलिएको इतिहास छ ।

चल्लबाट मल्ल भएका यी खस राजाहरूको राज्यको गृष्मकालीन राजधानी जुम्लाको सिंजामा थियो भने शीतकालीन राजधानी दुल्लु र बर्दियाको दानवतालगढीमा रहेको थियो । मलवारामा पनि यिनीहरूको शीतकालीन शिविर रहने गर्दथ्यो । तत्कालिन मलवारा अथवा मल्लवाडा राज्य कर्णाली नदी पश्चिमको आजको भजनी र टीकापुर क्षेत्र तथा कर्णाली नदीपूर्वको आजको राजापुर क्षेत्र (भवराटप्पा) को संयुक्त भूभाग हो । पछिल्लो समय विसं १८६५ मा धुलीकोटे राजा कुलराज सिंह रायाका बाबु नवलसिंह रायालाई वार्षिक २ सय १ रुपैयाँ बुझाउने गरी राणा प्रधानमन्त्रीले सनद गरिदिएका थिए । विसं १९३१ मा यो ठेक्का वार्षिक १ हजार २ सय ९१ रुपैयाँ बुझाउने गरी राजा कुलराज सिंह रायाका छोरा नरेन्द्र विक्रम सिंह रायाका नाममा श्री ३ बाट सनद भयो । राजा नरेन्द्रविक्रम सिंह रायाको विसं १९४३ मा निधन भएपछि यो राज्यको उत्तराधिकारी उनकी कान्छी रानी भैरवनरसिंह राणाकी छोरी पद्माकुमारीमा सरेको थियो । यस्तै, बर्दियाको बबईनदी पूर्वको पदनाहा र बुरान (हाल मगरागडी क्षेत्र) मा काला बञ्जर क्षेत्रमा मोगलाना र अन्यत्रबाट रैतीहरू ल्याई जग्गा आवाद र बसोवास गराउने गरी विसं १९१८ कात्तिक १० मा भक्तवत्सल मल्लको नाममा सनद जारी गरिएको थियो ।

बर्दिया, कैलाली, सुर्खेत र दैलेखका पहिलेका मल्ल, बर्मा र राया थरका राजवंशका सन्ततीहरू वर्तमानमा कोही मल्ल छँदैछन् भने अरु कोही बम, सिंह शाह र शाही भएको पाइन्छ ।

विसं १९१८ को हिउँदे यामबाट भक्तवत्सल मल्लद्वारा आवाद र बसोवास गराइएको बर्दियाको पदनाह र बुरान (हालको बारबर्दिया नगरपालिका क्षेत्र र बासगढी नगरपालिकाको डेउढाकलाको पश्चिम धधवारसँग सटेको क्षेत्र) मा पनि बर्दिया नामका दुईवटा र बारबर्दिया नामको एउटा स्थान रहेको छ भने मधुवन नगरपालिकाको मधुवन गाउँको पश्चिम दक्षिणमा आमा बर्दिया नामको हाल बहराइच जिल्ला (उत्तर प्रदेश, भारत) मा पर्ने गाउँ छ । जुन सुगौली सन्धिपूर्व बर्दियाकै सीमाभित्र रहेको थियो ।

विसं १९६७ को नापीमा बर्दिया जिल्लाकै मौजाका रूपमा रहेको र विसं २०१० सालसम्म बर्दिया माल अड्डाकै स्रेस्तामा रहेको तत्कालीन तप्पा पदनाहा, मौजा सलारपुर (६२ बिघाभन्दा बढी), तप्पा छिटपकडिया, मौजा दौलतपुर (४८ बिघा), तप्पा पौडा, मौजा लौकाहीकला (२७३ बिघा) र लौकाही खुर्द (८३ बिघा) गरी ४ सय ६६ बिघाको भूमि विगत ७० वर्षदेखि भारतले कब्जा गरेको छ । अझ यसपछि २०४० सालयता भगरैया कोठियाघाट क्षेत्रको सीमावर्ती भूभाग पनि भारतको अतिक्रमणमा परेको छ भने गुलरिया नगरपालिकाको भारतीय सीमासँग जोडिएका गाउँ क्षेत्रका भूभाग क्रमशः अतिक्रमित भएका छन् या भारतीय पक्षबाट विवादित बनाउन थालिएको छ । यसतर्फ नेपाल सरकार संवेदनशील नहुनु देशकै अखण्डता र सार्वभौमिकताप्रति गम्भीर विषय हो ।

ब्रिटिस भारत सरकारले खाम शारदा व्यारेज निर्माण गर्न तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरका पालामा प्राप्त गरेका कञ्चनपुर, वनवासा क्षेत्रको ४ हजार ९३ एकड जग्गाको सट्टाभर्ना नेपाललाई विसं १९८६ सालमा दिंदा बर्दिया जिल्लामा ४ हजार एकड भूमिमात्र दियो । ९३ एकड अझैसम्म सट्टाभर्ना दिएको छैन । ब्रिटिस भारत सरकारले नेपाललाई सट्टाभर्ना दिएको ४ हजार एकड जग्गा उत्तर प्रदेश, बहराइच जिल्ला, नानपारा तहसील, धर्मपुर प्रगन्नाअन्तर्गतको मौजा कटेस समेतको थियो । जुन बर्दिया जिल्लाको हालको नेपाल–भारत सीमा गेरुवा नदी (कोठियाघाट) पूर्वको ८५ नं. पिलरदेखि कैलाली जिल्ला पूर्व भारतीय सीमावर्ती कर्णाली नदीपूर्वको ९८ नं. पिलरसम्मको १६ किलोमिटर लम्बाइ र सरदर १.५ किलोमिटर चौडाइको जमिन थियो । त्यसरी सट्टाभर्नामा बर्दियालाई प्राप्त जमिन हालको कोठियाघाट खैरीचन्दनपुर, मानपुरटपरा, भिम्मापुर र राजापुरको सीमावर्ती क्षेत्रमा पर्छ । तर, बाँकी ९३ एकड कहिले कहाँ नेपाललाई सट्टाभर्ना मिल्ने हो, ८२ वर्ष भइसक्दा पनि अझै थाहा छैन र नेपाल सरकारबाट पनि यसको प्राप्तितर्फ कुनै पहल भएको देखिंदैन ।

यस कारण फरक छ बर्दिया

बर्दिर्या २ हजार २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जसमा उत्तरबाट दक्षिणतर्फ चुरिया (शिवालिक) पर्वतीय शृंखला ढाल, भावर क्षेत्रको ढलान र २५ देखि ३५ किलोमिटर चौडाइको उर्वर मैदानी धरातल रहेको छ । बर्दियाको यस मिश्रित धरातलभित्र प्रकृतिले प्राणी, जीवन र जीविकाका लागि प्रशस्तै जल पनि दिएको छ । जुन बर्दियाको पूर्वबाट पश्चिमसम्म उत्तर–दक्षिण बगिरहेका छन्– मानखोला, बबई नदी, औरही खोला, गेरुवा नदी र कर्णाली । बर्दिया तराईको त्यस्तो जिल्ला पनि हो, जसको कुल क्षेत्रफलको आधाभन्दा बढी भूभाग हरियो वनजंगलले ढाकेको छ । यसमध्ये बर्दियाको पूरै चुरिया र भाँवर क्षेत्रसहित पूर्व–पश्चिम फैलिएको समतलीय भूभागको केही हिस्सामा बर्दिया राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र रहेको छ । ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा बर्दिया राष्ट्रिय निकुञ्ज र ५ सय ७ वर्ग किलोमिटर क्षेत्रफलमा मध्यवर्ती क्षेत्रको वन र बस्ती छ । यस्तै, लगभग ३ सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा सरकारी र सामुदायिक वन रहेका छन् ।

प्रस्तावित चिसापानी कर्णाली बहुउद्देश्यीय आयोजना देशभरिकै ठूलो १० हजार ८ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन तथा नेपालतर्फ १ लाख ९१ हजार हेक्टर र भारततर्फ ३ लाख २० हजार हेक्टर जमिनमा सिंचाइ पुर्‍याउन सक्ने आयोजना हो । यहाँको जल, जमिन, जंगल र जनताको समुचित उपयोगमा आधारित विकास योजना, लगानी, उत्पादन, बजारीकरण र वितरण हुन सके बर्दिया देशकै वरदान हो । बर्दिया यस दृष्टिले नेपालको भविष्य हो र चम्किलो नेपालको चिनारी पनि हो ।

(श्रेष्ठ बर्दियाबारेका विशेष जानकार, सामाजिक अगुवा र अभियन्ता हुन् ।)

प्रकाशित : फाल्गुन ११, २०८० ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?