स्वतन्त्र दलित सामाजिक आन्दोलनको आवश्यकता

वैशाख १९, २०८१

मेघेन्द्र विश्वकर्मा

The need for an independent Dalit social movement

दक्षिण एसियाली समाजको मूल चरित्र बोकेको हिन्दुधर्मीय अवैज्ञानिक वर्ण व्यवस्थामा आधारित विभेदकारी, क्रूर र अमानवीय जात प्रथाले शताब्दियौंदेखि निरन्तर अनियन्त्रित शक्तिको अभ्यास गर्दै आइरहेको छ । वनमाराझैं फैलिएको विषरूपी जात प्रथाले करोडौं मानिसको जीवन अपमानित र घृणित मात्रै नभई तहसनहस बनाइदिएको छ ।

यस सामाजिक कुप्रथाले मानव सृष्टिको प्रक्रिया, प्राकृतिक न्यायको सिद्धान्त, वैयक्तिक आत्मसम्मान र विश्वव्यापी मानवअधिकारमाथि गम्भीर चुनौती थोपरिदिएको मात्रै छैन कि मानवीय अस्तित्वमाथि पूर्णतः धावा बोल्दै आएको छ । अवैज्ञानिक छुवाछूत प्रथाको धार्मिक–सांस्कृतिक क्षेत्रमा गरिएको अभ्यासले ठूलो संख्यामा रहेका मानव जातिलाई अपवित्र र दूषित बनाउने कार्य त गरेको छँदै छ, त्यससँगै दक्षिण एसियाली समाजलाई मनोवैज्ञानिक रूपमा पूर्णतः विखण्डन र गहिरो विभाजनतर्फ धकेलिदिएको छ । आर्य सभ्यताको जगमा विकसित हिन्दु धर्मले जातीय छुवाछूत प्रथाको अलावा लैंगिक विभेद, धार्मिक अतिवाद–भाग्यवादप्रतिको भ्रमपूर्ण विश्वास र असमान–शोषणमूलक आर्थिक–राजनीतिक सम्बन्धलाई दह्रोसँग संस्थागत गरेको देखिन्छ । परिणामतः यस भूगोलका करोडौं मानव समुदाय अछूत भएकै कारण कहालीलाग्दो आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक र सांस्कृतिक विभेदको सामना गर्न अभिशप्त छन् । 

स्वघोषित उच्च जात (छूत्/शुद्ध) हुनुको कारण समाजको निश्चित समूह वा वर्गले सत्ता, शक्ति, उत्पादनमूलक स्रोत साधन वा सम्पत्तिमाथि एकछत्र कब्जा जमाएको छ । यही समूहले राज्यसत्ता, शक्ति र सम्पत्तिको आडमा आम मानिसको स्वतन्त्र अस्तित्व र प्राकृतिक न्यायको अधिकारलाई कुण्ठित गर्ने र आफ्नो मुठीभित्र राख्दै आएको छ । अन्ततः हिन्दुधर्मीय वर्ण व्यवस्थामा आधारित जात प्रबन्धले दक्षिण एसियामा मूलतः निरन्तर दुई पृथक् मानवको उत्पादन गर्दै आइरहेको देखिन्छ । पहिलो, समाजमा अस्तित्व, प्रभाव र पहुँच रहेका उच्च, छूत्, शुद्ध, कुलीन, शासक, सामन्त र कथित उत्कृष्ट मानवको उत्पादन । दोस्रो, समाजमा अस्तित्वविहीन, निष्प्रभावी र पहुँचविहीन रहेका दास, शूद्र, परिगणित, अछूत, हरिजन वा दलितरूपी निकृष्ट, नीच र भुइँ मानवको उत्पादन । यसबाट स्पष्ट हुन्छ कि दक्षिण एसियाको हिन्दुधर्मीय समाज मूलभूत रूपमा जात व्यवस्थामा आधारित दुई अलग मानव जातिको उत्पादन गर्ने कारखाना हो । हिन्दुधर्मीय वर्ण व्यवस्थालाई शताब्दियौंदेखि निरन्तर अघि बढाइरहेको सामाजिक, सांस्कृतिक र धार्मिक संरचनामा मात्रै नभई उत्पादनका आधारभूत संरचना र शासन व्यवस्थामा आमूल बदलाव नल्याउँदासम्म जात प्रथारूपी कारखानाले युगौंयुगसम्म उच्च र नीच दुई भिन्न मानव जाति निरन्तर कोरलिरहने निश्चित छ । 

दक्षिण एसियाली समाजको जात प्रथाको विरासतलाई अथर्व वेदकालीन युगदेखि नै काँध थाप्दै आएको हिन्दु बहुल नेपाली समाज वर्गप्रधान नभई जातप्रधान मानिन्छ । वर्ण व्यवस्थामा आधारित जात प्रथा नै नेपाली समाजको मूल चरित्र हो । भारतीय उपमहाद्वीपमा भारतपछि हिन्दु धर्मावलम्बीको ठूलो जनसंख्या रहेको नेपाली समाजले वर्ण व्यवस्थामा आधारित जात प्रथालाई राज्यसत्ता–शक्तिको कठोर निर्देशन र प्रत्यक्ष संलग्नतामा हुर्काउने, कडाइपूर्वक कार्यान्वयन गर्ने र पुस्तैनी हस्तान्तरण गर्ने शताब्दियौं लामो प्रक्रियामा अद्भुत योगदान पुर्‍याइरहेको छ । वेदकालीनदेखि सामन्ती युग हुँदै पुँजीवादी युगसम्म आइपुग्दा हामीकहाँ जात व्यवस्थाको प्रभाव, दबाब र अभ्यासमा रत्तिभर कमी देखिएको छैन । आधुनिक नेपालको निर्माण हुनुअघि र पछिको कालखण्ड वा राजतन्त्रकालीन वा राष्ट्रपतीय शासन पद्धतियुक्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा नै किन नहोस्, हिन्दु समाजले अनुसरण गर्दै आइरहेको अवैज्ञानिक र विभेदकारी जात व्यवस्थाको तागतमा रत्तिभर कमी नआउनुले आफैंमा आधुनिक राज्य व्यवस्थालाई नै गिज्याएको प्रतीत हुन्छ ।

नेपालका दलित समुदाय हिन्दुधर्मीय उच्च जातिवादी शासक र जातिगत सामाजिक–सांस्कृतिक संरचनाका कारण असह्य बहुआयामिक विभेद, शोषण र उत्पीडन झेल्न बाध्य छन् । उनीहरू विकासका सबै आयाममा समाजको पिँधमा रहेको विभिन्न सरकारी/गैरसकारी तथ्यांकहरूले पुष्टि गरेका छन् । युगौंदेखि चौतर्फी आर्थिक शोषण, सामाजिक बहिष्करण र जातीय विभेदमा पारिएका दलित समुदायले अवैज्ञानिक छुवाछूत प्रथाको उन्मूलन, सामाजिक सशक्तीकरण र राजनीतिक मूलप्रवाहीकरणको माग राखेर विभिन्न कालखण्डमा फरक–फरक स्वरूपका थुप्रै सामाजिक संघर्ष सञ्चालन गर्दै आए । यद्यपि प्रारम्भमा सशक्त र प्रभावकारी देखिएको दलित संघर्ष पञ्चायतकालदेखि नै कमजोर हुन थाल्यो । पचासको दशकमा उठ्ने प्रयास गरेको दलित संघर्ष सत्तरीको दशकमा आइपुग्दासम्म पूर्णतः खतरामा पुग्यो । संविधान निर्माणको बखत जनजाति, मधेशी र क्षेत्रीय आन्दोलनहरूको तुलनामा दलित आन्दोलनको प्रभाव बिलकुल कमजोर हुँदै गयो भन्ने विषय राजनीतिक–सामाजिक वृत्तमा गम्भीरतापूर्वक उठ्यो । यत्तिसम्म कि नाम मात्रैको दलित आन्दोलन सञ्चालन गर्नु र नगर्नुमा तात्त्विक भिन्नता नरहेको भन्नेसम्मको कडा आलोचना र टीकाटिप्पणीसमेत भए । निश्चय नै प्राज्ञिक, सामाजिक र राजनीतिक क्षेत्रमा हुने यस किसिमका कठोर आलोचनाले दलित सामाजिक आन्दोलनको अस्तित्वमाथि गम्भीर प्रश्न उठाइदिएको छ ।

खासगरी छुवाछूत प्रथाको अन्त्य, दलित समावेशीकरण र क्षतिपूर्तिसहितको दलित अग्राधिकारको विषयलाई प्रमुख एजेन्डा बनाएको दलित सामाजिक आन्दोलनको शक्तिमा समयक्रमसँगै किन ह्रास आउँदै गयो ? यस आन्दोलनका मूलभूत चुनौती के–के हुन्, जसले दलित सामाजिक आन्दोलनलाई सशक्त, प्रभावकारी र एकीकृत रूपमा अघि बढ्नबाट रोक्यो ? त्यससँगै, दलित आन्दोलनको आगामी दिशा र गन्तव्य बिन्दु कहाँ हो ? दलित सामाजिक संघर्ष कमजोर हुनुका पछि कुन–कुन पक्ष, कारक र शक्तिको भूमिका रह्यो ? साँघुरो घेराभित्र निर्माण गरिएको दलित आन्दोलनको वैचारिक अवधारणामा कहाँ कस्तो कमजोरी देखिन्छ ? नेपालको दलित सामाजिक आन्दोलनको चरित्र र प्रवृत्तिमाथि उठेका कैयौं प्रश्नमा टेकेर आन्दोलनको गम्भीर समीक्षा गरिनुपर्ने आवश्यकता देखिएको छ । यस आलेखमा नेपालको दलित सामाजिक आन्दोलनका मूलभूत कमजोरी, चुनौती र आन्दोलनको आगामी कार्यभारका सम्बन्धमा संक्षेपमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।

कमजोरी

पचहत्तर वर्षभन्दा लामो संगठित आन्दोलनको इतिहास बोकेको दलित सामाजिक संघर्ष सुरुका वर्षहरूमा सशक्त र बलशाली देखिएको थियो । पञ्चायती व्यवस्थामा दलित नेताहरूमा सत्ताप्राप्तिको लालसा पैदा भएसँगै मौलाएको अवसरवादी प्रवृत्तिले दलित आन्दोलन अवसानको नजिक पुग्यो । लामो समयसम्म निष्क्रिय रहेको दलित आन्दोलनले प्रजातन्त्रको स्थापनासँगै क्रमिक रूपमा आफ्नै तागतमा उठ्ने तरखर गर्दा नगर्दै सशस्त्र माओवादी विद्रोहको ओत लियो । समयक्रमसँगै विभिन्न राजनीतिक दलहरूको वैचारिक घेराभित्र आन्दोलन कैद हुनुले दलित मुक्तिको सपना टाक्सिन पुगेको छ । आद्यपर्यन्त एकीकृत आन्दोलनको आवश्यकता बोध हुँदाहुँदै पनि सत्ता स्वार्थ र राजनीतिक लाभका निम्ति दलहरूको फेरो समाउने नेताहरू दलहरूकै प्रयत्नबाट दलित समुदायको बृहत्तर मुक्ति हुने भुलभुलैयामा परिरहेका छन् । सिंगो दलित समुदायलाई दलैपिच्छेका राजनीतिक विचारधारामा विभाजन नगरी सशक्त र बलशाली दलित सामाजिक आन्दोलन सञ्चालन गर्न छाडेर दल र नेताको निगाहाको भरमा दलित समुदायले चौतर्फी विभेद र असमानताबाट मुक्ति पाउने काल्पनिकतामा दलित नेतृत्व रमाउनु विचित्र छ । 

दलित सामाजिक आन्दोलनले प्रारम्भदेखि नै छुवाछूत अन्त्य र दलित समावेशीकरणको एजेन्डालाई प्रधान विषय बनाउँदै आए पनि दलित समुदायमा रहेको भयावह गरिबी, आर्थिक असमानता र भूमिहीनताको प्रश्नलाई पछिल्लो समय दह्रोसँग उठाउन सकेन । दलित समुदायको गैरभौगोलिक संघीय राज्य, दलित बहुल क्षेत्रलाई विशेष क्षेत्र निर्धारण गर्ने, जनसंख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वका साथै क्षतिपूर्ति बापतको थप सुविधा र निर्वाचनमा दलित–दलितबीचमा प्रतिस्पर्धा गर्ने कानुनी व्यवस्थाको प्रबन्ध लगायतका एजेन्डाहरू दलित नेतृत्वको असक्षमता, कमजोर दलित संगठन र स्पष्ट वैचारिक दृष्टिकोणको अभावका कारण खतरामा परेका हुन् । आखिर दलित समुदायका नेताहरू विभिन्न पार्टीमा विभाजित भएसँगै उनीहरूले बोक्ने राजनीतिक विचारधारात्मक दृष्टिकोण, सांगठनिक दायित्व र पार्टीगत रणनीति/कार्यनीति अलग–अलग हुनुले दलित मुक्ति आन्दोलनको विषय छायामा पर्नु अस्वाभाविक होइन । 

दलित नेताहरूका बीचमा दलित आन्दोलनप्रतिको साझा दायित्वबोध प्रकट हुनुको सट्टा दलगत प्रतिस्पर्धी भावना, व्यक्तित्वको टकराव र दलित गैरसरकारी संस्थाहरूको सुधारवादी कार्यमा रमाउने प्रवृत्तिले दलित आन्दोलनमा क्षति पुग्यो । राजनीतिक दलको नियन्त्रणमा बाँधिएका दलित भ्रातृ संघ/संगठनले स्वतन्त्र हैसियतमा दलित आन्दोलनलाई अघि बढाउने अपेक्षा राख्नु कसैगरी सही होइन । दलित आन्दोलनले दलित समुदायका बीचमा सामाजिक–सांस्कृतिक अन्तर्घुलनका कार्यक्रम लैजाने, बौद्धिक दलित व्यक्तित्वलाई आन्दोलनको मूलधारमा भूमिका प्रदान गर्ने र प्रगतिशील गैरदलित व्यक्ति, समूह वा संगठनसँग हातेमालो गर्ने कार्यमा दलित आन्दोलनको ध्यान पुगेको पाइँदैन । संक्षेपमा भन्दा आन्दोलनलाई निर्णायक, गतिशील र सशक्त बनाउन साझा संगठन, साझा वैचारिक दृष्टिकोण र सामूहिक नेतृत्वको विकास गर्नबाट दलित आन्दोलन प्रस्ट चुकेको छ । दलित सामाजिक आन्दोलनले बहुआयामिक विभेदबाट प्रताडित रहेका दलित समुदायको बृहत्तर मुक्तिका निम्ति स्पष्ट वैचारिक दृष्टिकोणको विकास, बलियो संगठनको निर्माण र इमानदार नेतृत्वपंक्ति तयार गर्न नसक्नु नै मूल कमजोरी हो ।

चुनौती

नेपालको दलित सामाजिक आन्दोलनका अघिल्तिर मुक्तिको सम्भावनासँगै चुनौतीको चाङ रहेको छ । दलसम्बद्ध दलित भ्रातृ संघ/संगठनहरूले राजनीतिक दलहरूसँग दशकौंदेखि जातीय विभेद र बहुआयामिक मुक्तिको याचना गर्नु गल्ती मात्रै अवश्य थिएन । केही व्यक्तिले क्षणिक भोग गर्ने सत्ताशक्ति र पद प्रतिष्ठाका निम्ति एकीकृत र शक्तिशाली दलित आन्दोलनको पूरै सम्भावनालाई दलहरूकै पाउमा लगेर बिसाइदिनुचाहिँ दलित आन्दोलनप्रति उनीहरूले दिएको सबैभन्दा ठूलो धोका थियो । यस अर्थमा, बृहत् बलशाली र निर्णायक दलित आन्दोलनका निम्ति दलित समुदायलाई सत्ताको भर्‍याङका रूपमा प्रयोग गर्दै आइरहेका दलित राजनीतिक संघ/संगठनको प्रवृत्ति सबैभन्दा ठूलो चुनौती बनेको छ । 

दलित नागरिक समाजको नाममा मुठीभर व्यक्तिद्वारा अपारदर्शी रूपमा परिचालन गरिएको अर्बौंको वैदेशिक अनुदान कार्यक्रमले गरिबी र जातीय विभेदको मारमा रहेका दलित जनहरूको जीवनमा तात्त्विक फरक पारेको पाइँदैन । त्यसबाट सीमित व्यक्तिलाई लाभ दिनेबाहेक खास परिणाम दिएको देखिँदैन । त्यसो हुँदा, दलित आन्दोलनको बागडोर समाउने आकांक्षा राख्ने, गैससलाई राजनीतिक र आर्थिक उपार्जनको भर्‍याङ बनाउने र ससाना कार्यक्रमबाटै दलित मुक्तिको सपना बाँड्नेजस्तो तेहोरो चरित्र बोक्ने दलित गैरसरकारी संस्थाले दलित सामाजिक आन्दोलनलाई दुर्घटनाको नजिक पुर्‍याएका छन् । त्यस्तै, दलित समुदायका बौद्धिक, इमानदार र सक्षम व्यक्तिहरूलाई राजनीतिक दलमा आबद्ध रहेका स्वघोषित दलित नेता र दलित गैससकर्मीले खेद्ने प्रवृत्ति त्यत्ति नै डरलाग्दो छ । बुझक्कड भनिएकै दलितहरूको संकुचित सोचाइ, दलका नेताप्रति देखाउने दास मानसिकता र वैयक्तिक लाभका निम्ति आन्दोलनलाई नै बेवारिस अवस्थामा छोडिदिने अवसरवादी प्रवृत्ति नै वर्तमान दलित सामाजिक आन्दोलनको मूल चुनौतीका रूपमा देखिन्छन् । 

अबको बाटो

नेपालको दलित सामाजिक आन्दोलनले आम दलित समुदायलाई अवैज्ञानिक छुवाछूत प्रथा र बहुआयामिक विभेदबाट मुक्ति दिलाउने सन्दर्भमा केही कार्यभार पूरा गर्नुपर्ने देखिन्छ । पहिलो, संविधानको पूर्ण कार्यान्वयनका निम्ति आन्दोलनमार्फत दबाब सिर्जना गर्नु अहिलेको प्रमुख दायित्व हो । त्यसका निम्ति दीर्घकालीन रूपमा राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्यका साथ स्वतन्त्र दलित संगठनको निर्माण गरेर आन्दोलन सञ्चालन गर्नुपर्छ । तत्काल त्यस्तो अवस्था सम्भव नहुँदा संयुक्त मोर्चा निर्माण गरी संविधानको अक्षरशः कार्यान्वयन गर्न राज्य राजनीतिक दललाई बाध्य बनाइनु नै अहिलेको मूल जिम्मेवारी हो । दोस्रो, अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा भएका दलित र अन्य सामाजिक आन्दोलनको गहिरो समीक्षा गरी दलित सामाजिक आन्दोलनको स्पष्ट वैचारिक दृष्टिकोण निर्माण गरिनुपर्छ । सामन्तवादको अभिन्न अंग मानिने जात प्रथागत सामाजिक संरचना भूमण्डलीकृत पुँजीवादमा पनि शक्तिशाली स्वरूपमा रहेकोले विषयलाई गम्भीरतापूर्वक विश्लेषण गरिनुपर्छ । 

तेस्रो, मार्क्सवादी र प्रजातान्त्रिक दुवै राजनीतिक शक्तिहरूले दलित समुदायको छुवाछूतको अन्त्य र मुक्तिको एजेन्डाप्रति मुखले रामराम बगलीमा छुराको व्यवहार गरिआएका छन् । त्यसकारण, दलित मुक्तिको वैचारिक अवधारणा निर्माण गर्दा दलहरूको विकल्पमा दलित आन्दोलन स्वयंलाई सबल राष्ट्रिय शक्तिका रूपमा विकास गरी स्पष्ट सैद्धान्तिक, वैचारिक र संगठनात्मक कार्यदिशा निर्माण गर्नुपर्छ । चौथो, नेपाली कांग्रेसले बोकेको प्रजातान्त्रिक समाजवादको मार्गबाट दलित मुक्ति पूर्णतः असम्भव देखिएको र मार्क्सवादी विचारधारालाई कम्युनिस्ट भनिएका राजनीतिक शक्तिहरूले विकृत बनाएको देखिन्छ । यस अवस्थामा, उनीहरूले बोक्ने राजनीतिक विचारधारा र उनीहरूकै नेतृत्वमा दलित मुक्तिको परिकल्पना गर्नु काल्पनिकतामा रमाउनु मात्रै हुन्छ । तसर्थ, स्वयं दलितले निर्माण गर्ने सांगठनिक शक्तिमार्फत समानता, सामाजिक न्याय र समतामूलक समाजवादको लक्ष्यसहितको वैचारिकी विकास गर्नुपर्ने हुन्छ । 

पाँचौं, सबल र स्वतन्त्र दलित संगठनको निर्माण, छुवाछूत प्रथाको समूल अन्त्य, आर्थिक समानता र अग्राधिकार सहितको समानुपातिक समावेशिताको विषयलाई वैचारिक कार्ययोजनाको केन्द्रमा राख्नुपर्छ । राजनीतिक दल त्याग गरेर स्वतन्त्र र सबल दलित संगठन निर्माण गर्न लामो समय लाग्ने हुँदा बीचको अवधिमा संयुक्त मोर्चामार्फत दलहरूको दबाबबिना स्वतन्त्र दलित आन्दोलनलाई सशक्त रूपमा निरन्तर अघि बढाइनु श्रेयष्कर हुनेछ । छैटौं, दलित अन्तर्घुलनको प्रक्रियालाई अभियानकै रूपमा अघि बढाउने र गरिबी एवं भूमिहीनताको विषयलाई आन्दोलनको केन्द्रमा राख्नुपर्छ । दलित आन्दोलनले आवश्यकता र औचित्यताका आधारमा अन्य सीमान्तकृत समुदाय र शक्तिसँग सहकार्य गर्ने नीति लिइनुपर्छ । 

अन्त्यमा, माथि उल्लिखित विभिन्न कारणले संकटग्रस्त अवस्थामा पुगेको दलित सामाजिक आन्दोलनलाई कसैगरी पुनःस्थापित गर्न आवश्यक छ । बलशाली र हस्तक्षेपकारी स्वतन्त्र दलित आन्दोलनबाटै जातीय विभेदले आक्रान्त र बहुआयामिक शोषणमा परेका आमदलित समुदायको मुक्ति पूर्णतः सम्भव छ ।

मेघेन्द्र

Link copied successfully