कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलवायु परिवर्तनको मारमा महिला

अमृता अनमोल

विश्वव्यापी रूपमा तापमान र मौसमको स्वरूपमा आउने परिवर्तन जलवायु परिवर्तन हो । यसले भविष्यलाई संकटग्रस्त मात्र बनाएको छैन, वर्तमानलाई नै खतरामा धकेलेको छ । जलवायु परिवर्तनले वर्षाको समय, ऋतुजन्य मौसमको ढाँचा र प्राकृतिक विपत् बढाएको छ ।

जलवायु परिवर्तनको मारमा महिला

प्राकृतिक स्रोतका भरमा घरपरिवार र पशुको हेरचाह गर्नुपर्ने, खाना र इन्धनको जोहो गर्नुपर्ने कारण महिलाहरू धेरै नै जलवायु परिवर्तनको मारमा छन् । यसमा सामाजिक, आर्थिक र सांस्कृतिक कारण जिम्मेवार छन् ।

जलवायु परिवर्तनले महिलाले सम्हालेको भान्सा, परिवारको हेरचाह, कृषि व्यवसायदेखि स्वास्थ्यसम्म प्रत्यक्ष असर गरेको छ । तर महिला कति जोखिममा छन् ? अनुसन्धान छैन । लैंगिकताका आधारमा भएको जोखिमको विषयमा राज्य असंवेदनशील छ । यद्यपि फरकफरक विषयगत तथ्यले जलवायु परिवर्तनले महिलामा पारेको असरलाई पुष्टि गर्न सकिन्छ ।

तथ्यांक विभागका अनुसार कृषि पेसामा ५२ प्रतिशत महिला आबद्ध छन् । महिलाले बागवानी, कुखुरा पालन र साना पशुपालन सम्हालिरहेका छन् । कृषि पेसामा पुरुष ६३ लाख ४७ हजार ९ सय ३६ रहँदा महिला ६८ लाख ६३ हजार ४ सय १२ छन् । जलवायु परिवर्तनले कृषि उत्पादन घटिरहेको छ । त्यसले महिलाको काम र खाद्य असुरक्षा बढाएको छ । कृषिमा आश्रित जनसंख्या मात्र होइन थोरै भूमि हुने महिला अझ मारमा छन् ।

जलवायु परिवर्तनले प्राकृतिक प्रकोपका घटना बढिरहेका छन् । प्रकोपका बेला पहाडका महिला पहिरो र मधेसका महिला बाढीको बढी जोखिममा पर्छन् । घरपरिवार र स्रोत नजिक हुने हुँदा प्राकृतिक प्रकोपसँग अग्रपंक्तिमा जुध्ने महिला हुन्छन् । त्यसको क्षति पनि उनीहरूलाई हुन्छ । प्रकोपका कारण विस्थापित हुने र महिला तथा बालबालिकामा हिंसा हुने दर बढेको छ । संयुक्त राष्ट्रसंघ भन्छ, जलवायु परिवर्तनका कारण विस्थापित हुनेमध्ये ८० प्रतिशत महिला छन् । जलवायु परिवर्तनले हरेक वर्ष नयाँ किसिमका रोग उत्पन्न भएका छन् । त्यस्ता रोग र स्वास्थ्य समस्याले प्रताडित पनि धेरै महिला छन् ।

जलवायु परिवर्तन र विपत्तिबाट सुगमभन्दा दुर्गम र विपन्न महिला धेरै प्रताडित छन् । जानकारी अभाव, स्रोतसाधनको कमी र अनुकूलन व्यवहार नहुँदा यस्तो भएको हो । अधिकार, स्रोतसाधन र शक्तिको असमान वितरणले धेरै विपन्न महिला जलवायु परिवर्तनको मारमा छन् । वनजंगल मासिँदा पानीका स्रोत सुकेका छन् । पानी र घाँसदाउरा ल्याउने ठाउँ टाढा भएका छन् । यसले निर्धारित समयमा काम हुन सकेको छैन । समयमा काम नहुँदा पारिवारिक किचलो बढाएको छ । घाँसदाउरा, पानी जुटाउँदा बालबालिकाको पढाइ छुटेको छ । प्राकृतिक स्रोतबाट आय घट्दा गरिबी बढाएको छ । बालबालिका नियमित विद्यालय नजाने र पढाइ छोड्ने दर बढाएको छ । अरु त के, पानी नहुँदा महिनावारीको समयमा बालिका विद्यालय नजाने समस्या पनि छ ।

जलवायु परिवर्तनका कारण जंगली जनावरको वासस्थान र व्यवहार फेरिएको छ । उनीहरू आक्रामक र हिंस्रक बनेका छन् । बीच जंगल छोडेर किनारामा बस्न र गाउँबस्तीमा पस्न थालेका छन् । जंगल छेउका सीमान्तकृत समुदाय धेरै छन् । पुरुषको तुलनामा धेरै महिलाहरू दिनहुँ जंगल जान्छन् । यसर्थ वन्यजन्तुको आक्रमणमा पनि धेरै महिला पर्छन् ।

नेपालमा जलवायु अनुकूलनमा सघाउन वर्षाको पानी संकलन र व्यवस्थापन, बीउ बैंक, खेतीपाती गर्ने समयमा हेरफेर, भू–संरक्षण, प्लास्टिक टनेल, कृषिमा अनुदान, गोबरग्यास, विद्युतीय चुलोलगायतका कार्यक्रम सञ्चालनमा छन् । यिनले महिलाको आयस्रोत र जीविकोपार्जनमा केही सघाएका छन् । तर, स्रोत साधनमा महिलाको समान पहुँचको सुनिश्चित गरिएको छैन । प्रविधिलाई महिलामैत्री बनाइएको छैन । यसैले नेपालमा अवलम्बन भएका जलवायु अनुकूलनका उपाय दिगो र भरपर्दा छैनन् ।

जलवायु परिवर्तनको भार कम गर्न राज्यले लैंगिकताका आधारमा भएको जोखिमको विषयमा अध्ययन गर्नुपर्छ । जलवायु परिवर्तनको अनुकूलन, न्यूनीकरण र समाधानमा महिलालाई नेतृत्वदायी भूमिकामा पुर्‍याउनुपर्छ । त्यसका लागि जलवायु अनुकुलनका योजना बनाउन सिकाउनुपर्छ । आवश्यकताअनुसार क्षमता अभिवृद्धि तालिम चलाउनुपर्छ । तीन तहकै सरकारले महिलाका लागि विशेष कोष बनाउनुपर्छ । स्थानीय तहमा महिलाका सञ्जाल बलियो बनाउने र जलवायु अनुकूलनका काम सिकाउने गर्नुपर्छ । जसको सवाल उसको नेतृत्व हुनुपर्छ । यसले मात्रै महिलाले जलवायु परिवर्तनका असर कम गर्ने काममा निर्णय लिन सक्नेछन् । प्रभाव घटाउन सक्नेछन् ।

प्रकाशित : फाल्गुन १५, २०८० ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?