कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

जीवनदायी जलाशयलाई सधैं स्वच्छ किन नराख्ने ?

सवाल उठ्छ, जीवनदायी यी जलाशयलाई सधैंभर यसरी नै स्वच्छ राख्न सकिन्न र ? तर यो साझा पर्वमा साँझबिहान हुने मुख्य पूजालगत्तै ती थलो पुनः फोहोरको डुंगुरमा परिणत हुन्छ । जीवनसँग प्रत्यक्ष जोडिएको जलाशयलाई नाफा र निहीत स्वार्थका लागि वर्षभरि नालामा परिणत गर्छौं ।
जितेन्द्र साह

वर्षभरि फोहोर एवं दुर्गन्धित रहने नदीनाला, खोला, नहर र पोखरीलाई सूर्य उपासनाको महापर्व छठको आराधनाका लागि यतिखेर सफा गरिएको छ । ढल र उद्योगको रसायनयुक्त पानी प्राकृतिक जलाशयमा जानबाट रोकिएको छ । परम्परागत एवं आधुनिक साजसज्जाले जलाशय किनार चिटिक्क पारिएको छ ।

जीवनदायी जलाशयलाई सधैं स्वच्छ किन नराख्ने ?

सवाल उठ्छ, जीवनदायी यी जलाशयलाई सधैंभर यसरी नै स्वच्छ राख्न सकिन्न र ? तर यो साझा पर्वमा साँझबिहान हुने मुख्य पूजालगत्तै ती थलो पुनः फोहोरको डुंगुरमा परिणत हुन्छ । जीवनसँग प्रत्यक्ष जोडिएको जलाशयलाई नाफा र निहीत स्वार्थका लागि वर्षभरि नालामा परिणत गर्छौं । अर्को वर्ष फेरि यहीँबाट छठी माताको आराधना गर्नुपर्छ भन्ने वास्तविकतालाई बिर्सेर व्रतालु, परिवारजन, श्रद्धालु र आगन्तुक आ–आफ्ना गन्तव्यमा फर्कन्छन् ।

केराको बोट, सजावट तथा पूजामा प्रयोग गरिएका सामग्री, बालिएका पट्का, दूधका पोका र प्लास्टिकका सामग्री यत्रतत्र फालिन्छ वा पानीमा बगाइन्छ । धार्मिक अनुष्ठान सकिएपछि बिर्सने व्रतालु एवं परिवारजले नदीनालालाई फेरि अर्को वर्ष एक महिना अगाडि मात्र सम्झन थाल्छन् । पूजा व्यवस्थापन समिति, स्थानीय निकाय र क्लब कसैले पनि अरु बेला वास्ता गर्दैनन् । चाडबाड सकिएलगत्तै दिसापिसाब र फोहोरको पोकाले जीवनरूपी जललाई विष बनाउँछौं । आइजाइ गर्दा पुलबाटै घरको पोका–पुन्तरा खोलामा फालिरहेका हुन्छौं ।

यो मानवजन्य गलत व्यवहार वा त्रुटि प्रकृति, संस्कृति र संस्कारको पूजा गरेर मनाइने छठको मर्म एवं उद्देश्यविपरीत हो । पूजारीसमेत नचाहिने यो वैदिक एवं प्राचीन पर्वको आधारशीला नै प्रकृति प्रेम, स्वच्छता, शुद्धता र जीव जगतको कल्याण हो । घरको सफाइ त अरु बेला पनि गर्छौं । यो पर्वमा भने घरदेखि घाटसम्म पवित्रताको विशेष ख्याल राखिन्छ । लोकप्रिय प्रसाद ठेकुवा, भुसुवा र खाजालगायतका प्रसाद बनाउन प्रयोग गरिने सामग्रीलाई धार्मिक अनुष्ठानको समापन नहुन्जेलसम्म चोखो राखिन्छ । पूर्ण शुद्धताका साथ भण्डारण गरिन्छ । पिठो बनाउन प्रयोग गरिने गहुँ, चामललाई सावधानीका साथ पखालेर सुकाइन्छ ।

आखिर यी सब कर्म गर्न चाहिने पानी नै हो । हिमनदी एवं वर्षा हुँदै घरघरसम्म विभिन्न माध्यमबाट आइपुग्ने पानीको मुख्य स्रोत तीनै जलाशय हुन् । पूजामा सहभागी हुने र सरोकारवाला निकायले आ–आफ्ना क्षेत्रको जलासयको नियमित सरसफाइ गर्‍यौं भने छठ पूजाका बेला घाटको दिसा र फोहोर सोहोर्नु पर्दैन ।

यो पूर्णतया प्राकृतिक र मौलिक पर्व हो । तीन दशक अगाडिसम्म घाटलाई केवल लिपपोत गरी केराको बोटले सजाएर दियो बालेर धार्मिक विधि सम्पन्न गरिन्थ्यो । आइजाइमा कठिनाइ नहुने गरी प्रकाशका लागि सामान्य बत्ती जडान गरिन्थ्यो । अहिले घाट व्यवस्थापन समितिहरुले आफूहरुलाई फरक देखाउन दानचन्दालगायत विभिन्न माध्यमबाट रकम संकलन गरी साजसज्जा वा आडम्बर प्रदर्शनको प्रतिस्पर्धा गर्छन् ।

दीपावलीमा घरलाई बत्तीले सिंगारेझैं दृश्य घाटमा देखिन्छ । सादगीका लागि चिनिने घाटलाई पूर्णतया कृत्रिमताले छोपेको छ । भाकल अनुरूप गरिब–धनीले भिक्षा मागेर पूजा खर्च जुटाइने आफैंमा सुन्दर एवं समृद्ध पर्वमा तामझाम जरुरी छैन । साउन्ड सिस्टमको कोलाहलले घाटमा बसिसक्नु हुन्न । यी सब प्रदर्शनले छठ पर्वको गरिमालाई उकास्नुको साटो घटाउँदै लगेको छ ।

देखावटी प्रतिस्पर्धामा घाटलाई झकिझकाउ पार्न गरिने लाखौं खर्चले वार्षिक पूजाका लागि स्थायी संरचनाको थालनी गर्न सकिन्छ । बस्तीलाई बाढीबाट जोगाउन र वर्षाको सन्तुलन कायम गर्न जलाशय किनारमा वृक्षारोपण गर्न सकिन्छ । सातामा एक पटक भए पनि सरसफाइ गर्न सकिन्छ । यस्तो गर्न सक्यौं भने सम्पूर्ण प्राणीको जीवन प्रणालीसँग जोडिएको जलाशय संरक्षणका लागि कुनै बेग्लै अभियानको आवश्यकता पर्दैन ।

यो पर्वमा अझै पनि सामाजिक विभेद कायमै छ । सबै वर्ग र तप्काको सहभागिता हुने धार्मिक एवं सांस्कृतिक अनुष्ठानमा महत्त्वका साथ प्रयोग गरिने बाँसको सामग्री समाजले अझैसम्म अछुत मान्ने दलित डोम समुदायले बनाएका हुन्छन् । चढाउनु पर्ने फलफूल, तरकारी र गेडागेडा लगायतका सामग्री बजारमा पसल थापेर बसेका विभिन्न जाति र समुदायबाट किनिन्छ । किन्ने र बेच्नेले एक अर्काको जात सोध्दैनन् ।

तर बाह्य रूपमा सामाजिक सदभाव्को पर्व चिनिने छठमा आन्तरिक रूपमा विभेदपूर्ण व्यवहार कायमै छ । घाटमै वर्ग विभाजन हुन्छ । अपवादबाहेक सम्पन्न र उपल्ला वर्गसँग बसेर दलितले पूजा गर्न पाउँदैनन् । उपेक्षित जाति र समुदायले बेग्लै घाट बनाएर ठूला जातका भनाउँदाहरूले नचिन्ने गरी चूपचाप पूजा गर्छन् । चाडबाडमा कुनै कलह नहोस् भनेर उनीहरूले यो विभेदलाई मुद्दा बनाउन चाँहदैनन् । घाटको सजावट, व्रतालुको पहिरन र सादगीबाटै सम्पन्न–विपन्न, दलित र कथित उपल्ला वर्ग छुट्टिन्छन् ।

समाजका कुलीन र सम्भ्रान्त भनाउँदाले दलित र गरिबलाई आफ्नो घाट वरिपरि पूजा गर्न नदिएको वा टाढा बस्न भनेको वास्तविकता कमै बाहिर आउँछ । सबैलाई समान रूपले प्रकाश एवं ऊर्जा दिने सूर्यदेव र उनको सन्ध्या रूप छठी मातालाई पूजिने यो पर्वको भाव र सन्देशविपरीत यो आचरणलाई मानवीय मान्न सकिन्न । त्यही पानीमा उभिएर, त्यही सूर्यलाई पूजा गर्न पाइने तर ठालूहरूको घाटमा बस्न नपाउनु दुःखद हो । यो विभेदपूर्ण सोचमा परिवर्तन जरुरी छ ।

यो पर्वले महिला प्रधान समाजको वकालत गर्छ तर व्यवहारमा भने यो बिल्कुलै देखिन्न । धार्मिक विधिको सुरुवातदेखि समापनसम्म गाइने तथा पूजाको मन्त्र मानिने छठको लोकगीतमा महिलाको अहम् भूमिकाको वर्णन पाइन्छ । यी गीतको भावअनुरूप महिलाप्रतिको दृष्टिकोणमा परिवर्तन र चेतनाको विकास भएको पाइन्न ।

साथै व्रतालु एवं परिवारजनले घरदेखि जलाशय किनारसम्म गुनगुनाउने यी गीतहरू नयाँ पुस्तालाई न त गाउन आउँछ, न त यसबाट प्रवाह भइरहेको सन्देश नै बुझ्छन् । पूजाका क्रममा प्रायःजसो पाका जमातले र कतैकतै विरलै युवा पिँढीले लोकगीत गाइरहेको भेटिन्छन् । अचेल लाउड स्पिकरकै मद्दतले गीत घन्काएर औपचारिकता पूरा गरिन्छ । आफैंले गाउँदाको भाव र श्रद्धा यी तयारीबाट पक्कै पनि झल्किँदैन । यी गीतहरू औपचारिकतामा सीमित छन् ।

उल्लेखनीय के छ भने यी गीतहरूमा यो महापर्वले दिन खोजेको सामाजिक सद्भाव, नारी–पुरुष समानता, विभेदको अन्त्य, परिवार कल्याण, रोग निदान र सामााजिक एवं पारिवारिक रूपले अपहेलित दम्पतीको पीडा लुकेको हुन्छ ।

अचेल छठ घाट चन्दादाताको राजनीतिक थलो पनि बन्न थालेको छ । विभिन्न दलका नेता र स्वघोषित समाजसेवीले घाट प्रवेशको मार्गमा आफ्ना तस्बिरसहितको बडेमानको स्वागत द्वार बनाएर शुभकामना प्रकट गरिरहेका हुन्छन् । पूजा समितिले आ–आफ्ना निकट नेता र उद्योगीलाई बोलाएर छठ घाटमा समेत भाषण दिन लगाउँछन् । अप्रत्यक्ष रूपले यो श्रद्धालुको मन जित्न गरिने एक खाले भोटको राजनीति र चलाखीपूर्ण प्रचारप्रसार हो । सस्तो लोकप्रियताका लागि गरिने यी गतिविधि छठ सुहाउँदो होइन ।

दूषित जलाशय, मुख्य पूजन स्थलभन्दा वरपरको दिसापिसाब, पट्काको विस्फोट, डिजे र लाउड स्पिकरको चर्को स्वरले छठका सच्चा भक्त, अनुयायी र श्रद्धालुमा वितृष्णा उत्पन्न गर्न थालेको छ । यस्तो माहोलमा पूजन विधिअनुसार उनीहरूले जलाशयमा स्नान गर्न र शान्तले पूजासमेत गर्न पाउँदैनन् । यो पर्वलाई मन, वचन र कर्मले मान्नेमध्ये केहीले अचेल घरकै छत वा नजिककैको सफा थलोमा कृत्रिम पोखरी बनाएर पूजा विधि सम्पन्न गर्छन् ।

तडकभडकको प्रदर्शन भन्दा व्रतालु एवं दर्शनार्थीको सुरक्षा, स्वास्थ्य र सुविधाका लागि घाटको व्यवस्थापन गरिनुपर्छ । स्वच्छता, शुद्धता र पवित्रता नै यो पर्वको आधारभूमि भएकोले जलाशयको सफाइ एवं संरक्षणमा हामीले ध्यान दिनुपर्छ । हाम्रा वरिपरिका खोलानाला र पोखरी नै पूजा गर्न लायकको रहेन वा लोप भयो भने उल्लासका साथ पूजा गर्ने ठाउँ पनि बाँकी रहन्न ।

यसो भएमा आउँदा समय कालमा घरघरको छतमा छठ सीमित हुनेछ । हाम्रो जस्तो कृषिप्रधान देशमा जल बिना जीवन चक्र सम्भव छैन । छठमा चढाइने मौसमी फलफूल, तरकारी र अन्नले पनि जल, जमिन र सूर्यको किरणको महत्त्व दर्शाउँछ । वर्षाको सन्तुलित चक्रका लागि पनि जलाशय एवं वरिपरिको हरियालीको संरक्षण आवश्यक छ ।

धार्मिक, सामाजिक तथा सांस्कृतिक एकताको प्रतीक बनिरहेको यो पर्वले प्रकृतिको पूजा गरौं, स्वस्थ र समृद्ध बनौं भन्ने पाठ सिकाउँछ । यसका लागि विभेदपूर्ण सोच त्यागेर मानव समाज प्रकृति, संस्कृति, परम्परा र मौलिकताको बचाउमा जुट्न जरुरी छ । ढिला भयो भने आफैलाई चिनाउन र नयाँ पुस्तालाई सुम्पिन केही बाँकी रहँदैन ।

प्रकाशित : मंसिर २, २०८० १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?