१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

बेसारको प्याटेन्टमा नेपाल किन चुक्यो ?

करिब अढाई सय वर्षअघि नै बेसार आयात गर्ने भारतले बेसारको परम्परागत ज्ञान आफूमा मात्र रहेको ठान्नु कदापि सुहाउँदैन । बेसारको प्याटेन्ट राइटमा नेपाल पनि अंशियार हो, तर दाबी गर्न सकेको छैन ।
कमल मादेन

भारतीय वनस्पतिविद् एम. साबु, सरोजकुमार कसजू र साजन सुवेदीले अगस्ट २०२३ मा सुर्खेतमा बेसारसम्बद्ध एउटा नयाँ प्रजाति क्युकुमा नेपालेन्सिस पत्ता लगाए (एन्नल्स बोटानिकाई फेनिकाइज जर्नल, भोल्युम ६०, अंक १) । कसजू र सुवेदीले यसको जरा–गानो काठमाडौं ल्याएर गमलामै फुलाए ।

बेसारको प्याटेन्टमा नेपाल किन चुक्यो ?

क्युकुमा जाति अन्तर्गत १६० जति प्रजाति छन् । तीमध्ये संसारभर उपयोग हुने टर्मरिक अर्थात् बेसारको वैज्ञानिक नाम क्युकुमा लंगा हो । अचेल बेसार कुनै पनि देशमा प्राकृतिक रूपमा पाइन्न । दक्षिण तथा दक्षिणपूर्वी एसिया, तिब्बत, चीन, अस्ट्रेलिया, अफ्रिका, मध्यअमेरिकामा रोपिएको अवस्थामा पाउने गरिन्छ ।

वैज्ञानिक अभिलेखमा बेसार भारतीय मूलको वनस्पति हो भन्ने छ । ऐतिहासिक अभिलेख हेर्दा यो नेपाली मूलको पनि हो । अझ, उहिले बेसार भारतमा भन्दा बढी नेपालमै पाइन्थ्यो । सन् १७९१ मा काठमाडौं आएका कर्नेल विलियम कर्क प्याट्रिकले नेपालबाट भारतमा बेसार निर्यात हुन्थ्यो भनी लेखेका छन् (‘एन अकाउन्ट अफ द किङ्डम अफ नेपाउल, सन् १८११) । त्यस बखत भारतमा निर्यात गर्न पक्कै नेपालमा बेसारको खेती गरिन्थेन, प्राकृतिक बासस्थानबाटै संकलन गरिन्थ्यो । सांस्कृतिक खानपान तथा औषधि–उपचारका विधि हेर्दा नेपाली र भारतीयहरू बेसारका भुक्तभोगी हुन् । तर, बेसारको प्याटेन्ट राइट भारतले मात्र लियो । योचाहिँ गलत भयो ।

प्राकृतिक रूपमा विलुप्त

वनस्पतिविज्ञ डाल्टन हुकर दक्षिण एसियाका वनस्पतिबारे खोज–अनुसन्धान गर्न सन् १८४८ मा भारत आएका थिए । उनी दार्जिलिङबाट इलाम, पाँचथर भएर तमोर नदी हुँदै ताप्लेजुङको ओलाङचुङगोला र त्यसपछि तिब्बती सिमानासम्म पुगेका थिए । ताप्लेजुङबाटै सिक्किम भएर दार्जिलिङ फर्केका उनले पछि भारतीय उपमहाद्वीपसहित दक्षिणपूर्वी एसियाका, इस्ट इन्डिया कम्पनीको उपस्थिति रहेका, देशहरूबाट युरोपेलीहरूले १८ औं शताब्दीको अन्तताकाबाट संकलन गरेका वनस्पतिहरूका नमुनाका आधारमा ‘फ्लोरा अफ ब्रिटिस इन्डिया’ को लेखन–सम्पादन गरे ।

त्यो पुस्तक सन् १८७२–९७ को अवधिमा जम्मा सात भोल्युममा प्रकाशित भएको थियो । मूलतः दक्षिण एसियामा त्यो पुस्तक वनस्पति पहिचान र विवरण जानकारी थाहा पाउन ब्लुप्रिन्टका रूपमा उपयोग गरिन्छ । ‘फ्लोरा अफ ब्रिटिस इन्डिया’ को भोल्युम ६ सन् १८८५ मा प्रकाशित भएको थियो, जसको पृष्ठ २१४ मा भारतभर बेसार रोपिने जनाइएको छ । तर, सोही पृष्ठमा बिहारमा चाहिँ प्राकृतिक अवस्थामै बेसार कतै पाउन सकिएला कि संशय व्यक्त गरिएको छ । यसको अर्थ, १९ औं शताब्दीको अन्ततिर पूरै भारतमा बिहारबाहेक अन्यत्र बेसार प्राकृतिक बासस्थानमै निर्मूल भइसकेको थियो ।

बेसारसहित धान, गहुँ, जौ, मकै, भटमास, कोदो, तोरी, रायो, मूला आदिसमेत प्राकृतिक बासस्थानमा विलुप्त भइसकेका छन् । जुनजुन वनस्पतिको मानिसले खेतीपाती गर्न थाले, तिनको प्राकृतिक बासस्थानमा हदैसम्म दोहन गर्नाले यस्तो भएको हो । अर्कातिर, मानिसले रोपेर स्याहार गर्न थालेका जीवमा हजारौं वर्षको अन्तरालमा अनुकूलन र उत्परिवर्तन भई आनुवंशिक संरचनामा केही परिवर्तन हुँदै जान्छ । यसो हुँदा स्वाभाविक रूपमा बाह्य र आन्तरिक गुणमा केही परिवर्तन हुन्छ ।

स्याहार पाउँदा सबैजसोले प्राकृतिक अवस्थामा रहँदाको रोगप्रतिरोधी क्षमता गुमाउँछन् । यसैले खेतीपाती गरिएका प्रजातिहरू प्राकृतिक बासस्थानमा विरलै फस्टाउन सक्छन् । केही सीमित प्रजाति मात्र खेतीपातीबाट प्राकृतिक बासस्थान अर्थात् जंगलतिर प्रविष्ट भएका छन्, जसलाई इस्केप्ड वा इन्ट्रोड्युस्ड वा फेरल क्रप्स भनिन्छ ।

बेसारको अवयव

भनिन्छ, बेसार दक्षिण एसियाबाट चीन र पूर्वी अफ्रिकामा ७ औं र ८ औं शताब्दीमा पुर्‍याइएको थियो । पोर्चुगिज, डच र ब्रिटिसहरूले भारतीय उपमहाद्वीपबाट औषधि तथा मसलाजन्य वनस्पति युरोप लगेर १७ औं शताब्दीको सुरुदेखि नै व्यापार गरे । १८ औं शताब्दीको तेस्रो दशकमा स्कटिस अमेच्योर वनस्पतिशास्त्री तथा चित्रकार एलिजाबेथ ब्ल्याकबेलले ‘क्युरियस हर्बल’ शीर्षक हस्तलिखित पुस्तकमा ५०० वटा वनस्पतिका चित्र बनाएकी थिइन् । त्यसमा बेसार समावेश थियो र यसैका आधारमा युरोपमा बेसारले महत्त्व पाएको थियो ।

बेसारमा सक्रिय क्युर्कुमिन तत्त्व हुन्छ । ठोक्किएर, थिचिएर, संक्रमण भएर सुन्निएको मानव अंगमा यसको जरा–गानो घोटेर लेप गर्नु उपयोगी हुन्छ । यसको उपयोगले हाडजोर्नीको दुखाइ घट्छ । शरीरमा हानिकारक जीवाणुको गतिविधिलाई तटस्थ राख्न मद्दत गर्छ । पाचन प्रक्रियामा मद्दत पुर्‍याउँछ । मुटुको मांसपेशीलाई ऊर्जावान् बनाउँछ । रक्तचाप र कोलेस्ट्रोल कम गरेर मुटुको स्वास्थ्यमा सकारात्मक भूमिका खेल्छ । भनिन्छ, क्युर्कुमिनले मस्तिष्कलाई पनि फाइदा गर्छ । अल्जाइमरजस्ता रोगको जोखिम कम गर्छ । बेसार दलेको छाला स्वस्थ हुन्छ । बेसारले बोसो पगाल्छ, त्यसैले मोटोपना घटाउन सक्छ । टाइप–२ डाइबिटिज घटाउन सहायता गर्छ । यति धेरै उपयोगिता भएका कारण बेसारलाई परापूर्वकालदेखि भारत र नेपालमा विभिन्न औषधि–उपचारका निम्ति प्रयोग गरिँदै आएको छ ।

प्याटेन्ट राइट

संयुक्त राज्य अमेरिकाले सन् १९९५ मा बेसारको प्याटेन्ट भारतीय मूलका अमेरिकी नागरिकद्वय सुमन के. दास र हरिहर कोहलीलाई दिएको थियो । बेसारमा घाउ निको पार्ने क्षमता भएको ‘पत्ता’ लगाएकाले उनीहरूलाई प्याटेन्ट उपलब्ध गराइएको थियो । इन्डियन काउन्सिल फर साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्चले यसरी प्याटेन्ट दिइएकामा आपत्ति जनायो । त्यसमा तर्क गरिएको थियो— भारतमा बेसार औषधि, खाद्य सामग्री र रङका रूपमा परापूर्वकालदेखि व्यापक प्रयोग हुँदै आएको छ । त्योसँगै बेसारको परम्परागत प्रयोगबारे संस्कृत, उर्दू र हिन्दीका ३२ सन्दर्भसामग्री पनि प्रस्तुत गरिएको थियो । त्यसपछि अमेरिकाले दास र कोहलीको प्याटेन्ट खारेज गरी भारतलाई उपलब्ध गरायो ।

सन् १९९५ अघि नेपालमा बेसार उपयोगबारे लेखिएको थिएन त ? चन्द्रशमशेरकै पालामा औषधिजन्य वनस्पति तथा जन्तुबारे ‘चन्द्रनिघण्टु’ लेखिएको हो । यसमा बेसारको उपयोग अर्थात् त्यसले घाउ निको पार्नेबारे नलेखिएको हुनै सक्दैन । बरु, भारतमा चाहिँ बेसार सन् १७९१ ताका नै प्राकृतिक बासस्थानमा लगभग सकिइसकेको थियो भनी माथि नै चर्चा गरियो । जुन देशले करिब अढाई सय वर्षअघि नै बेसार आयात गर्थ्यो, त्यसले बेसारको परम्परागत ज्ञान आफूमा मात्र रहेको ठान्नु कदापि सुहाउँदैन । बेसारको प्याटेन्ट राइटमा नेपाल पनि अंशियार हो, तर दाबी गर्न सकेको छैन ।

‘प्लान्ट्स अफ नेपाल’ (सन् २०२२) पुस्तक अनुसार, नेपालमा बेसारसम्बद्ध क्युकुमा अंगुस्टिफोलिया र क्युकुमा एरोमाटिका प्राकृतिक वासस्थानमा छन्Ù क्युकुमा लंगा, क्युकुर्मा अमाडा, क्युकुमा जेडोअरिया प्रजाति आयातित हुन् । आयातित भनिएका पछिल्ला दुवै प्रजाति औषधिजन्य हुन् । विशेषतः क्युकुमा जेडोअरिया नेपालबाट निर्यात भइरहेको छ, जसलाई कालो बेसार पनि भनिन्छ । यो प्रजाति भारतको असम, बंगलादेशसहित पूर्वी हिमालयमा प्राकृतिक रूपमा पाइन्छ । कालो बेसार नेपालमा पनि प्राकृतिक रूपमा अवश्यै हुनुपर्छ । किनभने यो प्रजाति गाउँघरमा औषधिजन्य वनस्पतिका रूपमा शताब्दियौंदेखि उपयोग हुँदै आएको छ । त्यसैले कालो बेसार नेपालको पनि सम्पत्ति हो । ‘प्लान्ट्स अफ नेपाल’ लगायतका पुस्तकमा यस्तो गल्ती नेपालको जैविक विविधता तथा परम्परागत वा मौलिक ज्ञानबारे सतही अध्ययनकै कारण भएको हो । हालै सुर्खेतमा पत्ता लागेको क्युकुमा नेपालेन्सिसमा केकति उपयोगी रसायन छन्, अध्ययन हुनुपर्छ । अन्यथा, यसको कथा पनि बेसारकै जस्तो हुनेछ ।

प्रकाशित : कार्तिक १४, २०८० ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?