कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

घृणा नै सद्भाव बिथोल्ने कारक 

जुन हतियारले शक्ति आर्जन गरिएको हुन्छ, कालान्तरमा त्यही हतियारले गद्दीबाट हुत्त्याइदिन सक्छ भन्ने वास्तविकता हिटलर र मुसोलिनीको पतनले सावित गर्छ ।
नरेन्द्रजंग पिटर

काठमाडौँ — ‘सद्भाव’ को सहर नेपालगन्ज अहिले तनावमा छ । यो एक्कासि भएको घटना होइन, त्यसका आधारहरू धेरै पहिलेदेखि तयार थिए । एकातर्फ सद्भावको खेती मौलाउँथ्यो भने अर्कातर्फ घृणाका जरा नेपालगन्जमा मात्र सीमित थिएनन् । मलजल गर्ने तत्त्वहरूले धार्मिक आवरणमा उत्तेजनाको कारखाना चलाइरहेका थिए । पहेँला र हरिया गम्छाभित्रको सक्रियता एवं आस्था र धर्मभन्दा उन्मादी खेल अस्वाभाविक र नियोजित थिए ।

घृणा नै सद्भाव बिथोल्ने कारक 

आखिर जे रोपिन्छ, त्यही उम्रन्छ र फल लाग्छ । वर्चस्वशालीहरूको अहंकारको घैंटो फुटेपछि त्यो विष आफैंलाई लाग्न पनि सक्छ । आगो अर्काको घरमा मात्रै लाग्छ, घृणाको प्रतिक्रियाले अर्काको घरमा मात्रै लास ढल्छ भन्ने सोच मूर्खहरूको मात्रै हुन्छ । आगो कहाँ, कसले झोस्यो ? राँको कसरी लाग्यो ? डढेलो कहाँसम्म पुगेर केकस्तो विध्वंस मच्चायो ? कुरा यति मात्रै हैनÙ त्यसको लप्का कहाँकहाँ पुगेर के कस्तो हुन्डरी मच्चायो, मुख्य कुरा यो हो । छिमेकीको घर जल्दा आफ्नो पनि घर जल्छ भनेर होसियार हुनुपर्छ । कहिलेकाहीँ हावाको गति थाहा नपाई दुस्मनको घरमा झोसेको आगाको लप्काले फर्केर आफ्नै घर खरानी बनाइदिन सक्छ भन्ने कुरा उन्मादीहरूले बुझ्दैनन्  ।

भारतीय उदारवादी समाज अहिले क्रमशः ‘धार्मिक’ हुँदै जाँदा त्यसका बाछिटा क्रिया र प्रतिक्रिया बनेर यहाँ पनि देखिँदै गए । विचार र भावनालाई अन्तर्राष्ट्रिय सीमाको अर्थ रहँदैन । भिसा र पासपोर्ट पनि कुर्दैन । यसै पनि भारत–नेपाल सीमा खुलै छ । ‘अन्डर करेन्ट’ खुला आँखाले देखिँदैन ।

भारतमा सल्काइएको घृणाको लप्का अहिले पश्चिम र अमेरिकी मुलुकमा पनि पुग्यो । यसै पनि युरोप र अमेरिकामा अझै हिटलर र मुसोलिनीको प्रेत मडारिइरहेको छ । फासीवादलाई झेलेको पश्चिमले अहिले भारतीय जनता पार्टी (भाजपा) को माउ संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) माथि प्रतिबन्ध लगाउने र प्रचारकलाई निष्कासन गर्ने आवाजहरू उठ्दै गएका छन् ।

हरेक देशभित्र अहिले अर्को देश पनि छ । जन्मभूमि र कर्मभूमि फरक भएकाले राष्ट्रियताका परम्परागत परिभाषा, अर्थ, महत्त्व र भावना पनि फरक हुँदै गए । एउटा देशको घटनामा अन्यत्र प्रतिक्रिया देखा परिहाल्छ । मानिसले अध्यागमन पार गरेर अर्को देशमा पुग्दा पनि संस्कृति, संस्कार र चिन्तनशैली सँगै लैजान्छ । अनुकूलतामा त्यो भूमिका देखापर्छ । अहिले भारतमा देखिएको असहिष्णुता इन्डियन डायस्पोरामा देखिएको मात्रै हो ।

नेपालका आफ्नै सीमा र समस्याका कारण नेपाली नागरिकको हत्यामा शंकास्पद विदेशी संलग्नता उठाउन नसके पनि अहिले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो नागरिक हरदीप सिंह निज्जरको हत्यामा भारतीय सुरक्षा निकाय सहभागी भएको आरोप लगाएपछि भने त्यो बहसले विश्वमहत्त्व पायो । आई फाइभ (अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतको जासुसी संयन्त्र) ले त्यसलाई संज्ञानमा लियो ।

फासीवादी उत्तेजनाबाट सावधान रहन भारतीय साहित्यकार, विचारक र अभियन्ता, बौद्धिक समाजले धेरै पहिलेदेखि उदारवादी राजनीतिक नेतृत्वलाई सचेत गराइरहेका थिए । ती सबैले पहेँलो वस्त्रधारीको आक्रमण मात्र सहनुपरेन, सत्ताको कोपभाजनमा पनि पर्नुपर्‍यो  । त्यसको छाया संसद्मा समेत देखापर्‍यो । तर अर्बन नक्सल, टुकडे–टुकडे ग्याङ, हार्वर्ड वा हार्डवर्क शब्द जन्मन थाले । घृणाले धार्मिक खास्टो ओढेर राजनीति गर्न थालेपछि अध्यात्म आदर्श रहँदैन, धर्म व्यवसायमा फेरिन्छ ।

भाजपा अर्को वर्ष हुने आम चुनावको दबाब झेलिरहेको सरकारी पार्टी हो । एकातर्फ माउ संगठन आरएसएसको दिशानिर्देशन पालन गर्नुपर्ने, अर्कातर्फ समग्र देशको अभिभावकका रूपमा खरो उत्रिनुपर्ने दोहोरो दबाब र भूमिकामा छ ऊ । सत्ताधारी पार्टीको दायित्व वैश्विक मानकमा हुन्छ ।

भाजपा सत्तामा फेरि पुगेपछि अन्धधार्मिक सत्ताको शीर्षस्थान ओगट्यो । नियोजित ‘लन्चिङ’ मा मुसलमान, इसाई, दलित र आदिवासी पर्दै गए । आस्था र धार्मिकताको अर्थ फेरियो । अल्पसंख्यकप्रति आक्रमण सामान्य बन्यो । उदारवादीहरू आक्रमणको निसानामा परे । शक्तिको आग्रह थपिएपछि अहंकारको छुत रोग सांस्कृतिक राष्ट्रवादमा फेरिन्छ । धार्मिक जन अध्यात्ममा सीमित नभएर घृणालाई औजार बनाउँदै अल्पमतमा बज्रिन सुरु गर्छन् ।

असहिष्णुताको राँको

अहिले बहुसंख्यकवादले विश्वव्यापी घृणाको राजनीतिक खेती गरिरहेको छ । विचार र कुविचारले तेरो–मेरो भनेर आँठो लगाउँदैन । दिमागमा ‘कम्युनल प्वाइजनिङ’ भरिएपछि विज्ञानवादी, उदारवादी, मानवतावादी र कम्युनिस्टहरू पनि प्रभावित हुँदा रहेछन् । त्यो सत्तासंरक्षित अभ्यास भारतमा प्रस्ट देखिएको छ र अन्यत्र त्यसको संस्करण छाया बनेर मडारिएको मात्रै हो  ।

इटालीबाट फैलिएको फासीवादले जर्मनीमा हिटलर र जापानमा तोजो जन्मायो । कुनै समय जर्मनीका हिटलर र इटालीका मुसोलिनी राष्ट्रवादका उच्च प्रतीक थिए । कम्युनिस्ट भूतले सताइएको युरोप र अमेरिकाले फासीवादलाई पराजित गर्न सकेनन् । तब चर्चिल र रुजवेल्टले स्टालिनसँग हात मिलाए । भलै कम्युनिस्ट भूतले अतालिएका कर्पोरेट कालान्तरमा म्याक्कार्थी आतंक मच्चाएर मानवीय सोचको सिकारी बने ।

भारतीय धार्मिक घृणा एउटा धर्ममाथि मात्रै सीमित भएन । त्यसले सिख, इसाई, बौद्ध, दलित र आदिवासीलाई पनि चपेटामा पार्‍यो । घृणाका कारोबार अन्यत्र पनि फैलिँदै जाँदा क्रिया र प्रतिक्रियाको सिलसिला बढ्दै गएर धार्मिक स्थल र प्रतीकहरूमाथि आक्रमण हुँदै गए । मणिपुर पछिल्लो घटना हो । जहाँजहाँ आरएसएसका शाखा चल्थे, त्यहाँत्यहाँ भक्तरामहरू एकआपसमा भिड्दै जाँदा युरोप, अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डलगायत पश्चिमा मुलुकमा पनि हिन्दु अतिवादको डढेलोको लप्का पुगेको हो । अन्धरामहरू दोस्रो विश्वयुद्धको युरोप र त्यसको विश्वप्रभावबाट पाठ सिक्दैनन् ।

मिडिया र फिल्मी उद्योग

सोच नफेरी जनमत आवेगमा आउँदैन । भाजपा केन्द्रीय सत्तामा पुगेपछि बलिउड र मिडियामार्फत घृणा फैलाइँदै गयो । ‘कश्मीर फाइल्स’ विशुद्ध घृणाकेन्द्रित सिनेमा रहेको आरोप समीक्षकहरूले लगाइरहेकै बेला गृहमन्त्री अमित शाहले ‘सम्राट् पृथ्वीराज’ को प्रिमियममा सन् २०१४ देखि सांस्कृतिक क्रान्तिको सुरुआत भएको भने । त्यसबाट असहिष्णुतावादी झनै हौसिए । सत्तासँगै संस्कृति र मिडिया उद्यमको लय फेरिँदै गएपछि कर्पोरेट मिडियामा बहस र समाचारका विषय फेरिए । ‘इस्लामोफोबिया’ ले ग्रसित मिडियालाई ‘अघोषित भाजपा प्रवक्ता’ अर्थात् ‘गोदी मिडिया’ भन्न थालियो ।

अमेरिकी थिंकट्यांक पियु रिसर्च सेन्टरको रिपोर्ट अनुसार गान्धी र नेहरूको धार्मिक सहिष्णुताको देशमा अहिले धार्मिक असहिष्णुता चरममा पुगेको छ । अझ मणिपुरको जातीय हिंसाले असहिष्णुताको अप्रिय खबर विश्वचर्चामा पुर्‍यायो । विश्वको ‘सबभन्दा ठूलो’ प्रजातन्त्रमा मिडिया स्वतन्त्रताको सूचकांक खस्कँदै १५० अंकमा झरेको छ भने मानव विकास सूचकांक १३१ औं स्थानमा । सत्ता, कर्पोरेट र मिडियाको लगनगाँठो नियाल्न यो डेटा ऐना बन्छ । हालै समग्र प्रतिपक्षले १४ टीभी एंकरलाई घृणाको सोच निर्माता भन्दै र ती कार्यरत च्यानलमा आफ्ना कुनै प्रवक्ता नपठाउने निर्णय गरेपछि घृणाको मतियार सरकारभक्त गोदी मिडियाको सत्तासँग नेक्सस छरपस्ट पनि भयो ।

टीभी बहसहरूमा सन् १९४७ मा पाएको भारतको स्वतन्त्रता ‘भीख’ भन्दै वास्तविक स्वतन्त्रता सन् २०१४ मा प्राप्त भएको कथ्य रचिँदो छ । महात्मा गान्धीको हत्यालाई उपयुक्त मान्ने आरएसएसका अनुयायीहरू हत्यारा नाथुराम गोड्सेलाई ‘नायक’ मानेर पुज्छन् । भाजपा सरकार भने विदेशी पाहुनालाई साबरमतीको गान्धी आश्रममा चर्खा कात्न लगाउँछ, राजघाटमा फूल चढाउन निम्त्याउँछ । विदेशमा गान्धीको मार्केटिङ गर्न पनि चुक्दैन । आरएसएसले झन्डै सय वर्षदेखि गरिरहेको घृणा अभियान अहिले देखिएको मात्रै हो ।

असहिष्णुताको वैचारिक ‘क्रोनोलोजी’

आरएसएसका वैचारिक पुरोधा बालकृष्ण शिवराम मुन्जे पहिलो सरसंघचालक केबी हेडगेवार र विनायक दामोदर सावरकरका गुरु र प्रेरक थिए । उनको प्रेरणास्रोत इटालीको नेसनल फासिस्ट पार्टीका नेता बेनिटो अमिलकारे आन्द्रिया मुसोलिनी थिए । इटालीकी लेखिका मार्जिया कोसालेरीका अनुसार, मुन्जेले १९ मार्च १९३१ मा मुसोलिनीलाई भेटेनन् मात्र, ‘द फासिस्ट एकेडेमी अफ फिजिकल एजुकेसन’ को भ्रमण पनि गरे । फासीवादी राजनीतिका केन्द्र द बाल्लिया र अवानगार्दिस्त अर्गनाइजेसन थिए । दुवै संस्था फासीवादी प्रशिक्षण केन्द्र थिए  । कोसालेरीका अनुसार, मुन्जेले भ्रमण गरेका ती संस्था र आरएसएसको प्रशिक्षण पद्घति अनि ड्रेसकोडमा अद्भुत समानता छ ।

मुन्जेको भ्रमणले हिन्दु महासभा र आरएसएसको घृणा वैचारिकी तयार गर्‍यो । यतिले मात्रै पुग्दैनथ्यो, मिथकलाई इतिहास सावित गर्न इतिहास पुनर्लेखन आवश्यक हुन्थ्यो । मध्यकालीन भारतीय इतिहासको पुनर्लेखन गरेर पीएन ओकले मस्जिद, मदरसा एवं मुगलकालीन स्मारकहरूका गर्भमा शिवलिङ्ग छ भन्ने मिथक तयार गरे । अझ दीनानाथ बत्राले ‘अखण्ड भारत’ शीर्षक पुस्तक गुजरातको पाठ्यसामग्री बनाए । आरएसएसका सरसंघचालक मोहन भागवतले हरिद्वारमा १४ अप्रिल २०२२ मा ‘२५ वर्षमा बलपूर्वक भए पनि अखण्ड भारत’ बनाउने भन्दै गरेको उद्घोषले सार्क क्षेत्रमा फेरि हलचल मच्चायो । अझ नयाँ संसद् भवनमा अखण्ड भारतको सांस्कृतिक भित्ते चित्र सार्वजनिक गरियो । अखण्ड भारतभित्र अफगानिस्तान, पाकिस्तान, तिब्बतको दक्षिणी भाग, नेपाल, बंगलादेश, भुटान, म्यानमार र श्रीलंका पनि सँगेटिनुले आरएसएसको सांस्कृतिक राष्ट्रवादको दीर्घकालीन सपना बुझ्न कठिन पर्दैन ।

अन्तमा, शतवार्षिकीको संघारमा रहेको आरएसएसको राजनीतिक शाखा भाजपा वैश्विक रूपमै घृणाको चक्रव्यूहमा फसिरहेको छ । यसले विश्वयुद्धताकाको यहुदी युरोपको झझल्को दिइरहेको छ । अल्पसंख्यकविरुद्ध घृणा अभियानलाई सत्तामा पुग्ने सिँढी बनाएको पार्टीलाई इस्लामोफोबिया मात्रै हैन, अन्य आस्थामाथिको घृणा र आक्रमण महँगो पर्ने देखिन्छ । त्यसका बाछिटा छिमेकी देशमा देखा पर्दै छन् ।

घृणाको हावा शक्तिको हुकुममा बहँदैन । समय शासकको आदेशमा चल्दैन । अनुकूलता पात्रोले नियन्त्रण गर्दैन । जुन हतियारले शक्ति आर्जन गरिएको हुन्छ, कालान्तरमा त्यही हतियारले गद्दीबाट हुत्त्याइदिन सक्छ भन्ने वास्तविकता हिटलर र मुसोलिनीको पतनले सावित गर्छ । उदारवादी वा कम्युनिस्ट नेताहरूले गलत नेतृत्वलाई प्रोत्साहित गर्दा पार्टी र देशले दुःख पाउँछन् । इतिहाससँग जब वर्तमानले बदला लिन सोचिन्छ तब कुनै देश र जातिले पनि भविष्य सम्बोधन गर्न सक्दैन । इतिहास पुनर्लेखन हुँदैन, इतिहासको हित अनुसार व्यवस्थापन मात्रै हुन्छ ।

अतिवादी धार्मिक सोच मस्तिष्कमा ‘इन्जेक्ट’ गरेपछि घृणा रसायन तयार भएर मानवता रित्तिएका मान्छेहरू धार्मिक अतिवादी बन्न पुग्छन्  । लम्पटहरू आफूलाई श्रेष्ठ र विधर्मीलाई नीच देखाउन धर्मग्रन्थ पल्टाउन थाल्छन् । सभ्यताको विकासका चरणमा भएका शक्ति र शासकका द्वन्द्व, झडप र लडाइँको इतिहासलाई जब आजको नजरले सुन्दर–कुरूप, आदर्श–घृणित बनाएर इतिहाससँग बदला लिन खोजिन्छ तब त्यो सभ्यताका लागि ‘बाइप्रोडक्ट’ मात्रै बन्छ  । मानव सभ्यता क्रुसेड, जिहाद र धर्मयुद्धको

साक्षी बन्यो । अब पनि शक्ति आर्जन गर्न राजनीतिमा धार्मिक घृणा फैलाइँदै छ, जसबाट होसियार हुनु संवेदनशील समाजको मानवीयता हुन जान्छ ।


प्रकाशित : आश्विन १८, २०८० ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?