कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सिमेन्टको गुणस्तर सुध्रिएकाले ढलान सडक बनाउन सकिन्छ 

नरेशमान शाक्य

काठमाडौँ — सडक विभागले १५ वर्षअघिबाट स्थानीय सिमेन्ट उद्योगलाई प्राथमिकता दिँदै यसको प्रयोग गर्न थालेको हो । पहिला स्टिल ब्रिज धेरै बनाउने गरिन्थ्यो । अहिले स्टिल ब्रिजको ठाउँमा पक्की पुल बनाउनुपर्छ भनेर यसको प्रयोग बढाउँदै लगेका छौं । सकेसम्म स्टिल ब्रिज बनाउँदै नबनाउने भन्ने हो । त्यसमा पनि पुल निर्माणमा नयाँ प्रविधि भित्र्याउन थालिएको छ । नेटवर्क आर्च ब्रिजलगायत प्रविधिका पुल निर्माणमा सिमेन्टकै प्रयोग गरिएको छ । 

सिमेन्टको गुणस्तर सुध्रिएकाले ढलान सडक बनाउन सकिन्छ 

९९ प्रतिशत पुल सिमेन्ट नै प्रयोग भएर बन्छन् । पहिला नेपाली सिमेन्ट बजारमा पर्याप्त थिएन, जसले गर्दा क्लिंकर ल्याएर सिमेन्ट उत्पादन गरिन्थ्यो । त्यसले गुणस्तर राम्रो देखिएन । जापानको हाज्मा एन्डो कम्पनीले नागढुंगा–सिस्नेखोला सुरुङको निर्माण गरिरहेको छ, जहाँ निर्माणमा प्रयोग हुने धेरैजसो कच्चापदार्थ जापानबाटै ल्याइएको छ । तर स्थानीय उत्पादनका रूपमा सिमेन्ट प्रयोग गरिएको छ । नेपाली सिमेन्टको गुणस्तरमा अहिले सुधार हुँदै गएको छ । यसले गर्दा भविष्यमा पक्की सडक निर्माणमा जान सकिने देखिएको छ । केही वर्षअघिसम्म स्थानीय उत्पादनको विकल्पका रूपमा बाहिरबाट सिमेन्ट ल्याउनुपर्ने बाध्यता थियो । नेपाली सिमेन्टको गुणस्तरमा पनि समस्या थियो । अहिले उत्पादन र गुणस्तरमा सुधार हुँदै आएको पाइएको छ । अहिले फिल्डमा सिमेन्ट प्रयोग गरेर त्यसको गुणस्तर जाँच्ने गरिएको भएर गुणस्तर सन्तोषजनक छ ।

अहिले बाह्य मुलुकबाट सिमेन्ट ल्याएर निर्माणमा खासै प्रयोग गरिएको छैन । प्रायः सबै आयोजनामा नेपाली सिमेन्ट नै प्रयोग हुने गरेको छ । सहरी क्षेत्रमा भने पक्की सडक बनाउन सकिन्न । विशेषतः काठमाडौं उपत्यकामा सकिन्न, जहाँ खानेपानी, विद्युत्, ढल सडक बीचबाटै लगिएको छ । पक्की सडक निर्माण गरेपछि पानीमा समस्या आयो, ढलमा समस्या आयो भने खनेर फेरि बनाउन गाह्रो छ ।

यो कालोपत्र सडक निर्माण गरे जस्तो भत्काएर सहजै बनाउन सकिँदैन । त्यसैले सहरी क्षेत्रमा एक पटक पक्की सडक बनाइसकेपछि पानी चुहिए पनि मर्मत गर्न सकिन्न । सहरी क्षेत्रमा पक्की सडक निर्माणको सम्भावना कम देखिन्छ । राजमार्गहरूमा पक्की सडक निर्माण गर्न सकिन्छ । पक्की सडक बनाइसकेपछि सुधार गर्ने ठाउँ नै रहन्न । अब पक्की सडकमा जाने भएपछि कसरी जाने त्यो फाइनल गर्नुपर्छ । हामीलाई कुन स्ट्यान्डर्डको सडक ५० वर्षका लागि चाहिने हो, त्यो निश्चित भएको ठाउँमा पक्की सडक बनाउन सकिन्छ । पूर्व–पश्चिम राजमार्ग चार लेनको बन्दै छ । नारायणगढ–बुटवल सडकको ठेक्का भइसकेको छ । तर यही राजमार्ग अन्तर्गतको चन्द्रौटा खण्डमा अध्ययन भइरहेको छ ।

जहाँ चार लेनको सडक बनाउनुपर्नेछ, त्यसमा पक्की सडक निर्माणमा जान सकिन्छ । त्यहीअनुसार तयारी भइरहेको छ । पक्की सडक बनाउँदा फाइदा छ । कालोपत्र सडक निर्माण गरे पनि निर्माण लागतको दुई प्रतिशत प्रतिकिलोमिटर मर्मतका लागि दिनुपर्ने बाध्यता छ । पक्की सडकमा जान सके त्यसको प्रभाव बढ्नेछ ।

यसको टिकाउ पनि राम्रो हुन्छ । यो सडकमा टायरको आवाज बढी आउने हुन्छ । अन्य समस्या खासै हुने देखिँदैन । त्यसैले पूर्व–पश्चिम राजमार्गमा पक्की सडक बनाउन सकिन्छ । अहिले पहिरो जाने ठाउँमा यो सडक बनाउने गरिएको छ । पहिरो झरेपछि कालोपत्रे सडक सफा गर्दा बिग्रन्छ । पक्की सडक हुँदा समस्या हुँदैन ।

काठमाडौं–तराई/मधेश सडकमा पनि पक्की सडक बनाउन सकिन्छ । यसलाई नीतिगत रूपमा अघि बढाउन जरुरी छ । तर एक–दुई किमि दूरीमा बजेट छरेर परिणाम आउँदैन । सहरी क्षेत्रमा फ्लाइओभर निर्माण गर्ने कुरा अघि सारिएको छ । बाह्य मुलुकको कुन आयोजनामा सहयोग रहेको छ । त्यहाँ ७५ प्रतिशतसम्म त्यही देशका सामान प्रयोग गरिएको हुन्छ । त्यस्ता आयोजनामा बाहिरबाट सिमेन्ट आएको भए पनि अन्य आयोजनामा त्यस्तो छैन । सुरुङ, पुलमा स्थानीय सिमेन्ट उत्पादन नै प्रयोग गर्ने गरिएको छ । त्यस्तै निर्माण व्यवसायीले आफू संलग्न भएर काम गरिसकेपछि गुणस्तरको काम दिन सक्नुपर्छ । ढलान गर्दा सफा पानी हाल्नुपर्छ । यसो गर्न सके राम्रो हुन्छ । फोहोर पानी हाल्न भएन । निर्माण व्यवसायीलाई आफ्नो गुणस्तरको ग्यारेन्टी म आफैं गर्छु भन्ने हुनुपर्छ ।

(कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘आत्मनिर्भर सिमेन्ट : निर्यातको पाटो र ढलानको बाटो’ विषयक राउन्ड टेबलमा सडक विभागका उपमहानिर्देशक शाक्यले व्यक्त गरेको विचारको सम्पादित अंश)


प्रकाशित : जेष्ठ २३, २०८० १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?