२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

उपनिर्वाचनले तय गरेको कांग्रेसको मार्गचित्र

कृष्णप्रसाद पौडेल

आधुनिक पुस्ता आफ्नो भविष्यप्रति अत्यन्त संवेदनशील मात्र होइन, चिन्तित पनि छन् र हुन्छ्न् । आजका युवा भविष्यको उज्यालो जसले देखाउन सक्यो त्यसैप्रति आकर्षित हुने गर्दछन् । सन् १९९० दशकका महान समाजशास्त्री जिग्मेन्ट बौउमेनको लिक्यूड मोडर्टिनिटी सिद्धान्तअनुसार आफ्नो भविष्यप्रति अत्यन्तै संवेदनशील र चिन्तित छ यो पुस्ता ।

उपनिर्वाचनले तय गरेको कांग्रेसको मार्गचित्र

२०४८ देखि निरन्तर संसद्‌मा देखिए पनि लोकले अनुभूति गर्ने गरी काम गर्न नसकेका दल र ती दलको नेतृत्वलाई कहिलेसम्म झेलिरहने भन्ने बहसका बीच २०७९ को निर्वाचन सम्पन्न भयो । निर्वाचनले परिवर्तनको सपना देखाएको छ । त्यसलाई हालै भएको उपनिर्वाचनले थप पुष्टि गरेको छ । मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक शक्तिको पहिचान बनाएको कांग्रेसको नेतृत्वले गत मंसिरको निर्वाचनको समीक्षा र उपनिर्वाचनको नतिजापछि अब आफूलाई परिस्कृत र रुपान्तरित गरेर मात्रै पुग्दैन, गोविन्द भट्टराई जस्ता स्वच्छ छविका नेतालाई बलि बेदी चढ्ने बाध्यताको अन्त्यका लागि आर्यघाटमा समेत पद सहित जाने चिन्तनबाट मुक्त गर्नुपर्छ ।

आम मतदाताले युवा र भूगोल बुझेको साथै जनताको सुख, दुखमा साथ दिएको उम्मेदवार रूचाउँछन् भन्ने कुरालाई उपनिर्वाचनको परिणामले गलत साबित गरिदियो । यसले अबको राजनीति विरासत, आन्दोलन, परिवर्तनको संवाहक जस्ता कुराले मात्र पनि चल्दैन भन्ने प्रष्ट सन्देश दिएको छ । यदि यो नतिजालाई गहन रूपमा लिइएन र सोही बमोजिम पार्टीको कार्यदिशा तय गर्न सकिएन भने आगमी निर्वाचनमा कांग्रेसको स्थिति भारतको कांग्रेस आई र नेपालको पहिलो राजनीतिक पार्टी नेपाल प्रजा परिषद् जस्तो नहोला भन्न सकिन्नँ ।

नेपालमा रहेका पुराना दल नेपाली कांग्रेस र नेकपा (एमाले), २०४६ सालपछि उदय भएको नेकपा (माओवादी), २०६२/०६३ को आन्दोलन पश्चात उदय भएको जसपा, लोसपा साथै २०७९ को प्रदेश र प्रतिनिधिसभा भन्दा केही समय अगाडि मात्रै उदाएका जनमत, रास्वपा र नागरिक उम्मुक्ति पार्टीले समेत लोकतन्त्रलाई आफ्नो मूलमन्त्र बनाएकोले आम मतदाताले यी दलहरुबीचको सैद्धान्तिक फरक नै छुट्टयाउन सकेनन् ।

यसको साथै २०७४ सालमा गरिएको वाम गठबन्धन र २०७९ को स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभामा गरिएको पाँच दलीय र अन्य गठबन्धनले नागरिकलाई भोट जहाँ दिँदा पनि उस्तै हुने रहेछ भन्ने मनोवृति विकास भएको पाइन्छ । जसको असर दलहरूमा रहेको परम्परागत मत समेत सजिलै अन्य दल र चुनाव चिह्नमा रूपान्तरण भएको पाइयो । फलतः न त नेपाली कांग्रेसले पुस्तौंदेखिको आफ्नो मत र आदर्श संरक्षण गर्न सक्यो, न त सत्ता र पावर प्रचण्डको किस्तीमा पुगेको पत्तो नै पायो ।

उपनिर्वाचनबाट संख्यात्मक रुपमा रास्वपाले थप एक सिट जितेर संसद्‌मा २१ सिटको प्रतिनिधित्व गरेको छ । जसपाले आफ्नो सिट सुरक्षित गर्दा कांग्रेसले भने आफ्नो किल्ला र प्रतिष्ठाको क्षेत्र मानेको तनहुँ-१ गुमायो । तत्कालको संसदीय गणितमा एमालेलाई भने कुनै नाफा घाटा छैन । तर उपनिर्वाचनबाट एमालेले पनि अर्को निर्वाचनका लागि गतिलो सन्देश पाएको हुनुपर्छ ।

कांग्रेसलेचाहिँ सदैव स्मरण गर्नुपर्ने कुरा के हो भने 'हिजोको दिनमा कांग्रेसको विकल्प अन्य दल थिएनन् तर आज रास्वपाको उदयले कांग्रेसलाई चुनौती थपेको छ, जुन कुरा पौडेल राष्ट्रपति भएपछि तनहुँ–१ मा कांग्रेसले त्यहीँ जन्मिएर नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदै पार्टी राजनीतिमा क्रियाशील रहेका नेता गोविन्द भट्टराईको पराजयले जनाउँदछ ।' अतः यो उप-निर्वाचनले एकातर्फ कांग्रेस पूर्णरूपमा परिष्कृत हुनुपर्ने सन्देश दिएको छ भने अर्कोतर्फ बदलिँदो राजनीतिक परिदृष्यलाई लक्षित गर्दै नेपाली कांग्रेसले नतिजाको गहन समीक्षा गर्दै भावी कार्यदिशा तय गर्न मार्ग प्रशस्त गरेको छ । हुन त कांग्रेसले मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको नतिजा समेत समीक्षा गरेको छैन ।

१४औं महाधिवेशनअघि कांग्रेसमा रुपान्तरणको बहस चर्किए पनि महाधिवेशन पछि भने कांग्रेसले आफैंभित्र त्यति धेरै उर्जा भर्न सकेको छैन । महाधिवेशनले नेतृत्व चयन गरे पनि पार्टीको राजनीतिक कार्यदिशा र रणनीतिबारे कुनै निर्णय गरेन । बरु नीति महाधिवेशन अलग्गै गर्ने घोषणा गरियो । तर महाधिवेशनको झन्डै वर्ष पूरा हुँदै गर्दासम्म न नीति महाधिवेशन भएको छ, न नीतिबारे छलफल । बरु सात महिनादेखि केन्द्रीय कार्यसमितिको बैठक समेत बसेको छैन । कांग्रेस सत्तामा केन्द्रित हुँदा आधा कार्यकाल बित्दासम्म पार्टीको केन्द्रीय समिति अधुरो छ भने पार्टीका अवयवका रुपमा रहेका भ्रातृ शुभेच्छुक संस्थाहरु अलपत्र छन् । महाधिवेशनको छ महिनाभित्र गठन गरिसक्नुपर्ने पार्टीका विभागहरु गठन भएका छैनन् । कांग्रेसले आफ्नो कार्यशैलीमा रुपान्तरण गर्नुअघि यस्तो अपूरो सांगठनिक अवस्थामा सुधार ल्याउन जरुरी छ । विधानको धारा-२५ मा उल्लेख भए बमोजिम सभापतिलाई दिइएको अधिकारलाई पूर्णरूपमा कार्यान्वयन गर्न अब विलम्ब गर्नु हुँदैन ।

हिजोको दिनसम्म जेल बसेको, यातना भोगेको, आन्दोलनको नेतृत्व गरेको, विद्रोह उठाएको कुराले नेताको वाञ्छनीय योग्यता मानिन्थ्यो । हामीले क्रान्ति गर्‍यो, राणाशासन ढलायौं, प्रजातन्त्र ल्यायौँ, गणतन्त्र स्थापित गर्‍यौं भन्ने दलहरूको दाबा हुन्थ्यो । अब यी सबै कुरा गौण हुन लागेका छन् । यसलाई नेपाली कांग्रेसले गम्भीर रूपमा मनन गर्न आवश्यक छ । आजको दिनमा यी आन्दोलनमध्ये धेरै अथवा कुनै पनि आन्दोलनलाई नदेखेको, नभोगेको, नसुनेको र नजानेको पुस्ताको मतदाता संख्या अधिक भइसक्यो । यही यथार्थताको आधारमा कांग्रेसले आगामी मार्ग चयन गर्नु आवश्यक छ ।

२०६२/०६३ सालको आन्दोलन पछाडि जन्मेको बच्चाको समेत मताधिकार २०८४ मा सुनिश्चित हुने भएकोले आजको युवाले खोजेको समाजको पथ-प्रदर्शन कांग्रेसले गर्न सकेन भने २०८४ को आम निर्वाचनमा नेपाली कांग्रेसले ठूलो नोक्सानी व्यहोर्नु पर्ने छ ।

उप-निर्वाचनको नतिजालाई लिएर नेपाली कांग्रेसका पार्टी सभापतिले उद्घोष गरिसक्नुभएको छ । अब नेपाली कांग्रेस रूपान्तरण हुन जरूरी छ । यही कुरा उहाँले एक वर्ष अगाडि सोचेको भए आजको स्थिति आउने नै थिएन । तसर्थ अब पार्टी सभापतिको ध्यान सत्ता परिवर्तन भन्दा पनि संगठन विस्तार र कांग्रेसको सिद्धान्त, नीति र आदर्श स्थापित गर्नको लागि यथाशीघ्र नीति महाधिवेशन गर्नमा केन्द्रित हुनु आवश्यक छ । साथै विधानत प्राप्त अधिकारको पूर्ण कार्यन्ययन गरी सम्पूर्ण भातृ संघ तथा शुभुच्छुक संस्थालाई पुनर्जीवन दिन ढिला गर्नु हुँदैन । यसको साथै यदि भातृ संघ तथा शुभुच्छुक संस्थालाई समयमा नै पूर्णता दिएको भए गत सबै निर्वाचनमा उनीहरू ढाल बनेर उभिने यथार्थतालाई समेत भुल्नु हुँदैन ।

अब पनि नेपाली कांग्रेसले नेविसंघ, तरूणदल, महिलासंघ, किसानसंघ लगायतलाई तदर्थवादका रूपमा नै चलाउने हो भने अर्को दशकमा बीपीको आदर्श बोकेको कार्यकर्ता खोज्न टर्चलाइट बालेर नै शीला खोजेझैं खोज्नुपर्ने हुन्छ । त्यसैले युवा महामन्त्रीद्वले विधानले दिएको अधिकारलाई मनन गर्दै यथाशीघ्र कांग्रेसलाई चलायमान र सरकारलाई खबरदारी गर्नका लागि भातृसंघ तथा शुभेच्छुक संस्थालाई तुरुन्त पूर्णता दिनेतर्फ ध्यान दिएनन् भने न त उनीहरुले प्रजातान्त्रिक शक्तिलाई कांग्रेसतर्फ आकर्षित गर्न सक्दछन् न त आफूलाई परिवर्तनको संवाहकको रूपमा स्थापित नै गर्न ।

२१ औं शताब्दीले विकास गरेको सूचना प्रविधि र यसले जबर्जस्त ल्याएको परिवर्तनले आजका नागरिक हरेक कुराको परिवर्तन स्वयं नेताबाट होस भन्ने चाहना राख्दछन् । तसर्थ कांग्रेसले आफ्नो संगठनलाई बलियो र मजबुद बनाउँदै युवावर्गलाई कांग्रेस नै परिवर्तनको संवाहक हो भन्ने कुराको प्रत्याभूति दिलाउन विभिन्न रणनीतिहरू तय गर्दै पार्टीलाई आमूल रूपमा परिवर्तन साथै रूपान्तरण गर्न जरूरी छ । अतः कांग्रेसले नीति महाधिवेशन नगर्ने हो र आफूलाई समयसापेक्ष परिवर्तन गर्ने उद्घोष नगर्ने हो भने यही पुस्ता सँगसँगै कांग्रेस पनि सकिने कुरामा कुनै दुविधा छैन ।

अन्त्यमा, इतिहासको विभिन्न कालखण्डमा राजनीतिक नेतृत्व गरेको र राजनीतिक परिवर्तनको संवाहकको रूपमा समेत रहेको नेपाली कांग्रेसलाई आम नागरिकको जीवनशैलीसँग जोड्ने गरी कार्यक्रम र योजना ल्याउन नसकेका कारण नेपाली कांग्रेसको उद्गमथलोको रूपमा रहेको तनहुँ र चितवनमा समेत गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले पराजय भोग्नु परेको यथार्थलाई नेपाली कांग्रेसले भुल्यो भने भोलिको दिनमा त्यसको ठुलो मुल्य चुकाउनुपर्ने हुन्छ ।

राजनीति सत्तामुखी होइन, परिवर्तनमुखी बन्नुपर्छ भन्ने सत्य र यथार्थ दलहरूले बिर्संदा परम्परागत रूपमा रहेको आफ्नै मत नागरिकले अन्यत्र दिएर दललाई समेत सचेत गराएका छन् । कांग्रेस जस्तो स्थापित दल विचार शून्य र दिशा शून्य नेतृत्वले इतिहासको ब्याज मात्र माग्दा अब ब्याज होइन बीउ पुँजी नै समाप्त हुने खतरा बढेको पत्तो नै पाएन । तसर्थ सामाजिक यथार्थता र बदलिँदो विश्व परिवेशलाई समेत मध्यनजर गर्दै नेपाली कांग्रेसले विज्ञ, दक्ष र समाज बुझेको व्यक्तिलाई विभिन्न राजनीतिक जिम्मेवारी दिनेगरी रणनीति तय गर्न अब विलम्ब गर्नु हुँदैन ।

प्रकाशित : वैशाख २३, २०८० १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?