कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

ब्याजदर घट्दाे अवस्थामा 

काठमाडौँ — सबै हिसाबले लुम्बिनी प्रदेश उच्च सामर्थ्य भएको क्षेत्र हो । जनसांख्यिक, भौगोलिक, यातायात पूर्वाधार, उद्योग, कृषि, सिँचाइ, हवाईमार्ग सबै हिसाबले यो प्रदेशको सामर्थ्य धेरै छ । मात्र सामर्थ्यलाई समृद्धिमा बदल्न सकिएको छैन । यसका लागि सबै तहका सरकार, निजी क्षेत्रलगायत सबै सरोकारवालाको प्रभावकारी समन्वय आवश्यक छ । 

ब्याजदर घट्दाे अवस्थामा 

अहिले निजी क्षेत्र केही अप्ठ्यारोमा देखिन्छ । खासगरी कोभिड संक्रमणका बेला सरकार र राष्ट्र बैंकलगायतबाट निजी क्षेत्रले राहत तथा सुविधा पाए । यही कारण धेरै कर्जा प्रवाह भयो । प्रवाह भएको धेरै कर्जा आयातका लागि मुलुक बाहिर गयो । यसले वित्तीय प्रणालीमा तरलता अभाव भयो । विदेशमा भुक्तानीका लागि बैंकहरूले राष्ट्र बैंकसँग अमेरिकी डलर खरिद गर्नुपर्‍यो । डलर खरिदका लागि बैंकहरूसँग रहेको नेपाली मुद्रा राष्ट्र बैंकमा गएर थन्कियो । यसकारण बजारमा पैसा अभाव भयो । बजारमा पैसा अभाव भएपछि बैंकहरूले निक्षेपको ब्याज बढाए ।

निक्षेपको ब्याज बढेपछि बैंकहरूको लागत बढेकाले कर्जाको ब्याजदर पनि महँगो भयो । यद्यपि बैंकहरूले धेरै ग्राहकबाट धेरै ब्याज नउठाउन, नाफामा मात्र केन्द्रित नहोऊन् भन्नकै लागि राष्ट्र बैंकले कर्जा र निक्षेपको ब्याजअन्तर (स्प्रेड) को सीमा ४.४ प्रतिशत तोकिदिएको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत उक्त सीमा घटाएर ४ प्रतिशत मात्र कायम गरिएको छ । बैंकहरूले आउँदो असारसम्म ४ प्रतिशतभित्रै कायम गर्नुपर्नेछ । तरलताको अवस्था सहज हुँदै जाँदा ब्याजदर पनि घट्दै जाने निश्चित छ ।

गत मंसिरमा बैंकहरूबीचको सापटी दर (अन्तरबैंक ब्याजदर) ७.९० प्रतिशत थियो । यो साता त्यो घटेर ४.१० प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको मंसिरसम्म २ खर्ब रुपैयाँले घाटामा रहेको शोधनान्तर स्थिति गत मंसिरमा करिब ४६ अर्ब रुपैयाँले बचतमा छ । यसले पनि बजारमा तरलताको अवस्था सहज गराउँछ । तरलता बढ्न थाले पनि बैंकहरूले निक्षेपको ब्याजदर घटाउन थालेका छन् । निक्षेपको ब्याज कम भएपछि स्वाभाविक रूपमा कर्जा ब्याजदरमा पनि कमी आउँछ । बजारमा माग र आपूर्तिका आधारमा ब्याजदर निर्धारण हुने हो । यसकारण तरलता बढ्दै गएपछि ब्याजदर घट्न थालेको हो । पछिल्ला सातामा अन्तरबैंक ब्याजदरमा आएको कमी, निक्षेपको ब्याजदरमा आएको कमीलगायतले पनि ब्याजदर घट्दो क्रममा रहेको संकेत दिइरहेका छन् ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा स्थिर ब्याजदरको लिने कि परिवर्तनशील ब्याजदरको भन्ने छनोटको अवसर भए पनि ग्राहकले त्यो नगरिदिँदा बैंकले धेरै ब्याजदर बढाए भन्ने गुनासो आउने गरेको छ । ग्राहकसँग छनोटको पूर्ण अवसर छ । तर उनीहरूले त्यो विचार नगरी एक शीर्षकमा लिएको कर्जा अर्को क्षेत्रमा लगानी गरिरहेका छन् । ग्राहकका यस्ता गतिविधिले समस्या निम्त्याएको हो । यो प्रवृत्ति रोक्न राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएको हो । अहिले पनि केही ऋणीले साढे ६ प्रतिशत मात्र ब्याजदर तिरिरहेका छन् । धेरैजसो जलविद्युत् आयोजनाले लिएको ब्याजदर ९ प्रतिशतभन्दा कम नै छ । यो सबै स्थिर ब्याजदरकै कारणले सम्भव भएको हो ।

बैंकहरूले आधार दरमा प्रिमियम बढाउन पाउँदैनन् । आधार दरमा आएको घटबढअनुसार कर्जाको ब्याजदर निर्धारण हुने हो । तर, निर्देशनविपरीत केही बैंकले प्रिमियम नै बढाएको भेटेपछि बैंकलाई बढाएर प्रिमियम सम्बन्धित ग्राहकलाई नै फिर्ता गर्न निर्देशन दिइसकेका छन् । गत पुससम्म २२ वटा वाणिज्य बैंकले मात्र ४ अर्ब ६६ करोड रुपैयाँ फिर्ता गरिसकेका छन् ।

ग्राहकले आफ्नो आम्दानीको प्रकृतिअनुसार कर्जा छनोट नगरेकै कारण अहिले समस्या भएको छ । किन्ने जग्गा, बनाउने घर अलि कर्जा लिदाँ परिवर्तनशील (फ्लोटिङ) प्रकृतिको रोज्ने ? यसरी ग्राहकले आफूलाई सान्दर्भिक हुने कर्जाको प्रकार छनोट गर्न नसकेकै कारण अहिले समस्या आएको हो ।

अर्थतन्त्रमा उतारचढाव भइरहन्छ । अहिले संसारभर उतारचढाव छ । कोभिड संक्रमणपछि विश्वभर ब्याजदर बढेको छ । अमेरिकामा कोभिड संक्रमणलगत्तै ०.२५ प्रतिशत रहेको ब्याजदर फेडरल रिजर्भ (फेड)ले फेरि बढाएर अहिले ४.७५ प्रतिशत पुगिसकेको छ । बेलायतमा मूल्यवृद्धिदर अहिले पनि दोहोरो अंकमै छ । अमेरिकामा पनि चार दशकयताकै उच्च मूल्यवृद्धि छ । नेपालमा पनि मूल्यवृद्धि वार्षिक लक्ष्यभन्दा केही बढी नै छ । यद्यपि अर्थतन्त्रका बाह्य सूचकमा सुधार भइरहेको छ । यहीकारण यसअघि आयात नियन्त्रणका लागि सरकार र राष्ट्रद्वारा भएका नीतिगत कडाइका व्यवस्था विस्तारै खुकुलो हुँदै छन् । सोही क्रममा प्रतीतपक्र (एलसी) मा लगाइएको नगद मार्जिनको व्यवस्था हटिसकेको छ । यी सबै कारणले ब्याजदर घट्दो क्रममा रहेको पुष्टि हुन्छ । यहीबीचमा पनि कुनै बैंकले ग्राहकलाई पूर्वसर्तविपरीत धेरै ब्याज लिएको छ ? अनावश्यक दुःख र झन्झट दिएको छ भने सुरुमा सम्बन्धित बैंक र त्यसपछि सीधै राष्ट्र बैंकको गुनासो सुनुवाइ एकाइमा उजुरी गर्नुहोस् । यसकै लागि हरेक वित्तीय संस्थाले छुट्टै गुनासो सुनुवाइ इकाइ गठन गर्न लगाएका छौं ।

राष्ट्र बैंकमा पनि छुट्टै इकाइ छ । राष्ट्र बैंकमा उजुरी आएपछि तपाईंको उजुरी सम्बन्धित बैंकको उपस्थितिमा समाधान गर्छौं । ग्राहकले अनलाइनबाटै पनि उजुरी गर्न सक्छन् । अहिले ग्राहकबाट धेरै गुनासो आउन थालेका छन् । तीमध्ये धेरैजसोको समस्या राष्ट्र बैंकले समाधान पनि गरिदिएको छ । बैंक विकासका बाधक होइनन्, हुँदैनन् पनि । बैंकहरू कहीँकतै विकास वा ग्राहकका अवरोध भए हामीलाई पनि सह्य हुँदैन । उनीहरू अर्थतन्त्र, उद्यामी, उद्यमशीलतालगायत विकासकै लागि स्थापना भएका हुन् ।

बैंकले अस्वाभाविक नाफा नकमाऊन् भन्नकै लागि स्प्रेड र सेवा शुल्कको सीमा तोकिएको छ । आर्थिक वर्ष ०७९/७९ मा युनिलिभर कम्पनीको लाभांश दर १२१५ छ । उक्त अवधिमा यति धेरै लाभांश कुनै पनि वित्तीय संस्थाले दिन सकेका छैनन् । बैंकिङ क्षेत्र संवेदनशील हो । बैंक घाटामा गयो भने त्यसको असर सम्पूर्ण अर्थतन्त्रमा पर्छ । सन् २००८ अमेरिकको एउटा बैंकमा समस्या आउँदा आर्थिक संकट नै आयो । त्यसको असर विश्व अर्थतन्त्रले नै भोग्नु पनि पर्‍यो । त्यसको असरबाट अर्थतन्त्रलाई लयमा फर्काउन विश्व अर्थतन्त्रलाई एक दशक लाग्यो ।

यसकारण नेपालमा बैंकको नाफा अस्वाभाविक छैन । बैंकभन्दा अरु क्षेत्रले धेरै राम्रो प्रतिफल आर्जन गरिरहेका छन् । लगानी (पुँजी) का हिसाबले बैंकको प्रतिफल घट्दो छ, बढ्न सकेको छैन । म राष्ट्र बैंकमा आउँदा वाणिज्य बैंकहरूको कर्जा तथा सापटी २८ खर्ब थियो, अहिले बढेर करिब ४४ खर्ब रुपैयाँ पुगेको छ । विगतमा २८ खर्ब कर्जा लगानी हुँदा ६० अर्ब कमाउने बैंकहरूले अहिले ४४ खर्ब लगानी गर्दा पनि ६० अर्ब नाफा गर्न सकेका छैनन् । यसकारण बैंकलाई धेरै नाफा कमाए भनेर मात्र हेर्नुभएन । बैंक घाटामा गए भने समस्या हुन्छ । उनीहरूले राम्रो नाफा कमाए अर्थतन्त्र र निजी क्षेत्र सबैलाई नै फाइदा हुन्छ भन्ने रूपमा हेर्नुपर्‍यो ।

व्यावसायिक वातावरण बनाउने कुरामा राज्य नकारात्मक हुने कुरै भएन । उद्यमी बन्न झन्झटिला प्रक्रिया छन् । तिनमा सुधार गर्नुपर्नेछ । व्यावसायिक वातावरण बनाउन लाग्नुपर्नेछ । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाले ८४ हजार महिलालाई ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् । त्यसमध्ये केही प्रतिशत गलत स्थानमा गए होला । यस्तै, महिलाका लागि २५ लाख रुपैयाँसम्म बिनाधितो कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा पनि चालु सम्पत्तिमै कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ । यसबाट पनि महिला लाभान्वित भएका छन् ।

दुई करोडभन्दा कम ऋण लिने आयातबाहेकका उत्पादनमूलक क्षेत्रका ऋणी र स्थानीय स्रोत उपयोग गरेर उत्पादन गर्ने ऋणीले आधार दरमा २ प्रतिशत मात्र प्रिमियम जोडेर कर्जा पाइन्छ । यिनको भरपूर सुविधा लिनुपर्‍यो । संक्रमणमा रहेको अर्थतन्त्रलाई कसरी सन्तुलन गर्ने भन्नकै लागि हामी नीतिगत सन्तुलनमा राख्ने प्रयासमा थियौं । अहिले अर्थतन्त्रको अवस्थामा सुधार आएको छ । व्यवसायमा उतारचढाव हुन्छ । तपाईंहरू जोखिम लिन सक्ने मानिस हो । उतारचढाव आयो भनेर आत्तिनुहुँदैन । आफ्नो योजना बनाउनुस् । स्रोतका विवेकशील ढंगले सदुपयोग गर्नुस् । उद्यमशीलता त्यत्तिकै आउने विषय होइन । यसकारण अहिलेको अवस्था देखेर नआत्तिनुस् । संयमित बन्नुहोस् । छिट्टै सहज अवस्था आउनेछ ।

(नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले कान्तिपुर मिडिया ग्रुपद्वारा माघ २१ गते भैरहवामा आयोजित 'कान्तिपुर: लुम्बिनीको सामर्थ्य'मा दिएको मन्तव्यको सम्पादित अंश)


प्रकाशित : माघ २५, २०७९ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?