२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

लुम्बिनीको सामर्थ्य उपयोगमा चुक्यौं 

काठमाडौँ — सामर्थ्यका हिसाबले लुम्बिनी प्रदेश असीमित सम्भावनाको क्षेत्र हो । आज हामीले जति देखेका छौं, देख्न सक्छौं, यसको सम्भावना त्योभन्दा निकै धेरै छ । नेपालको समग्र विकासको सन्दर्भमा लुम्बिनी प्रदेशले अग्रणी भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरा यो प्रदेशको वास्तविकतालाई चिन्न सक्दा पुष्टि हुन्छ । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको महत्त्वलाई चर्चा गर्दा हामी त्यो सच्चाइलाई महसुस गर्न सक्छौं । 

लुम्बिनीको सामर्थ्य उपयोगमा चुक्यौं 

आजका मानिस जसका निमित्त पृथ्वी साँघुरो मात्र भएको छैन, अन्तरिक्षको यात्रा पनि सामान्य भएको छ । मंगल ग्रहमा बस्ती बनाउने परिकल्पना गर्न थालिएको छ । अहिलेको विश्व धेरैभन्दा धेरै आधुनिक आविष्कार गर्दै अघि बढेको छ । मानव जातिले धेरै कुराको सृष्टि गर्न सक्ला, कल्पनाभन्दा पनि माथिका धेरै सिर्जना गर्न सक्ला । तर अर्को कुनै लुम्बिनी बनाउन सक्दैन । गौतम बुद्धको जन्मभूमि अर्को कुनै नयाँ स्थानमा सिर्जना गर्न सक्दैन । यो शक्ति हामीसँग मात्र छ । यहाँ गौतम बुद्धको जन्मस्थान मात्र छैन, उनको बाल्यकाल र किशोरावस्था व्यतित भएको तिलौराकोट दरबार, उनको मावली रहेको देवदह पनि छ । उनको शरीरको अस्तु राखिएका विभिन्न ठाउँ पनि यहाँ छन् । यी स्थान अन्यत्र कसैले सिर्जना गर्न सक्दैनन् ।

गौतम बुद्धले ‘मेरो मृत्युपछि लुम्बिनी जानू’ भन्नुभएको थियो । यो सन्देश संसारभरका बौद्ध धर्मावलम्बीहरूसमक्ष पुर्‍याउन सक्दा मात्र बुद्धका धेरै अनुयायीलाई लुम्बिनीसम्म ल्याउन सकिन्छ । यति मात्र गर्न सके संसारको सबैभन्दा धेरै पर्यटक आउने पर्यटकीय स्थलका रूपमा लुम्बिनीको पहिचान बनाउन सकिन्छ । बौद्ध धर्मावलम्बीहरूका लागि महत्त्वपूर्ण पर्यटकीय केन्द्र लुम्बिनी र यस आसपासका क्षेत्र हुनेछन् भन्नेमा द्वविधा हुन सक्दैन । यसकारण लुम्बिनी अपार सम्भावना भएको स्थान हो ।

लुम्बिनीले यस क्षेत्रलाई मात्र नभएर नेपाललाई नै धेरै कुरा दिन सक्छ । तर त्यसलाई हामीले सदुपयोग गर्न सकेका छैनौं । यसका पछि धेरै कारण छन् । अहिले कारणमा अल्झिएर बस्ने छुट पनि हामीलाई छैन । हिजोका दिनमा हामी व्यवस्था परिवर्तनमा लाग्यौं । व्यवस्था परिवर्तनपछि संविधान निर्माण लाग्यौं । संविधान निर्माणपछिको संक्रमणकालीन अवस्थालाई चिर्दै अघि बढ्न पनि हामीले धेरै कसरत गर्नुपर्‍यो । यी कारणले पनि हामी लुम्बिनीको सम्भावना उजागर गर्ने अभियानमा चुकेका छौं । अब यस प्रदेशको सम्भावनालाई उद्घाटित गर्न र त्यसलाई सार्थक तुल्याउन कुनै कसर बाँकी राख्नुहुँदैन । अब समाजका कुनै पनि क्षेत्रले लुम्बिनीका सम्भावनालाई उजागर गर्नबाट रोक्नुहुँदैन । र सक्दैनन् पनि ।

लुम्बिनीको सम्भावनालाई सार्थक तुल्याउन सक्दा सिंगो राष्ट्रको हैसियत विश्वव्यापी रूपमै माथि उठाउन सकिन्छ । लुम्बिनीको विकासका सम्बन्धमा वास्तुविद् केन्जो टांगेले गुरुयोजना बनाए । उनले लुम्बिनीको मात्र गुरुयोजना बनाएका होइनन् । उनले विश्वका धेरै क्षेत्रको गुरुयोजना बनाएका छन् । तीमध्ये सबैभन्दा महत्त्वपूर्ण लुम्बिनी गुरुयोजना निर्माण हो भनेर धेरै ठाउँमा भनेका छन् । उनलाई के विश्वास थियो भने, यति महत्त्वपूर्ण क्षेत्रको गुरुयोजना राज्यले छिटो कार्यान्वयनमा ल्याउनेछ । तर, त्यो हुन सकेन । तत्कालीन राजालाई हस्तातन्तण गरे । हरेक पटक नेपाल आउँदा उनी यहाँ आउँथे । तर यहाँको विकास जहाँको त्यही देखे । यसले उनलाई निरुत्साहित बनायो । यसकारण उनलाई भेट्न जाने नेपालीलाई पनि भेटन दिन छाडे । जीवनको उत्तरार्द्धमा अब के रहर छ भन्ने प्रश्नमा शब्दकोषबाट अंग्रेजी ‘एन’ भन्ने शब्द हटाइयोस्सम्म भनेका थिए । गुरुयोजना कार्यान्वयन नभएकै कारण उनी धेरै चिन्तित थिए । अहिले उनी जीवित छैनन् । तर लुम्बिनीको विकासका लागि उनले अतुलनीय योगदान दिएर गएका छन् । यसकारण पनि अब हामीलाई गुरुयोजना कार्यान्वयनमा कुनै पनि हिसाबले ढिलो गर्ने छुट छैन ।

प्रदेशको विकासका लागि लुम्बिनीको मात्र विकास गरेर पुग्दैन । यससँगै सम्बद्ध अरु क्षेत्रको विकास गर्नुपर्छ, जसको सुरुवात भइसकेको छ, जसका लागि प्राचीन कपिलवस्तुमा रहेको तिलौराकोट दरबाट, जहाँ बुद्धको वाल्यकाल र किशोर अवस्था बितेको थियो । तिलौराकोट दरबारको विकासका लागि डीपीआर निर्माण गर्ने काम भएको छ । बेलायतको एक विश्वविद्यालयले यस क्षेत्रको अध्ययन गरिरहेको छ । प्रारम्भिक अध्ययनअनुसार यो क्षेत्रमा बौद्धकालीन सभ्यताका सहर नै रहेको देखिएको छ । बृहत् लुम्बिनी गुरुयोजनामार्फत यी सभ्यताको उत्खनन र संरक्षण गर्नु जरुरी छ । विश्वस्तरमा शान्ति स्थलका रुपमा नेपाललाई विकसित गर्न सक्छौं भन्ने लागेको छ ।

यो क्षेत्रले राष्ट्रमा दिने योगदान अतुलनीय छ । तर यस क्षेत्रको विकासका लागि यससँग सम्बन्धित अरु क्षेत्रको विकास पनि अपरिहार्य छ । ०५१ सालमा यस क्षेत्रबाट निर्वाचित सांसदहरूले यो क्षेत्रका विकासका लागि चार पाँच वटा क्षेत्र पहिचान गरेका थियौं, जसमध्ये गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । हामीले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छ भनिरहँदा केही निकायहरूले रुपन्देहीमा त्यो सम्भव छैन भनेर प्रतिवेदन नै पेस गरेका थिए । तर, हामीले त्यस प्रतिवेदनलाई मानेनौं । जसरी भए पनि यहाँ अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भनेर लागिरह्यौं । धेरै मिहिनेतपछि त्यो सपना साकार देखिएको छ । सुरुमा एसियाली विकास बैंकको ऋण सहयोगमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा यसको निर्माणको काम अघि बढाइएको हो । निर्माणकै काम अघि बढिरहँदा यसलाई क्षेत्रीय होइन, पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिन्छ भन्ने निष्कर्षमा हामी पुग्यौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलगत अवलोकन गरेर अन्तर्राष्ट्रिय स्तरको विमानस्थललाई आवश्यक जग्गा, टर्मिनल निर्माणका लागि अत्यावश्यक सबै पूर्वाधार निर्माण गर्न निर्देशन दिनुभएको हो । सोही निर्देशनअनुसार अहिले काम भइरहेको छ । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सबैभन्दा ठूलो चुनौती भनेको जग्गा प्राप्ति थियो । त्यो काम पूरा भइसहेको छ । अब हामी क्रमशः स्रोतको पहिचान गर्दै आघि बढ्नुपर्नेछ । हाम्रा आवश्यकताका आधारमा निर्माणका काम अघि बढाउन सक्छौं ।

अहिले फेरि विमानस्थलका सम्बन्धमा नकारात्मक टिप्पणी सुरु भएको छ । विमानस्थल निर्माण गरिहँदा त्यससँग सम्बन्धित कनेक्टिभिटीका काम पनि सँगसँगै अघि बढाउनुपर्थ्यो । त्यो हुन सकेन । निर्माण सकिएपछि मात्र कनेक्टिभिटीको काम भयो, जुन त्रुटिपूर्ण कुरा हो । अहिले विमानस्थललाई सेतो हात्ती हो, चल्न सक्दैन भनेर आलोचना भइरहेको छ । आलोचना गर्नेहरूलाई म दाबीसाथ भन्न चाहन्छु— यो विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालनमा आउँछ । त्यसका लागि कुनै शक्तिले पनि रोक्न सक्दैन । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न केकस्ता समस्या–अवरोध छन्, तिनका विषयमा एउटा बृहत् छलफल गर्नुपर्नेछ । त्यो छलफलको मिति पनि तय भइसकेको छ । छलफलमा अन्तर मन्त्रालय वा अन्तर निकाय समन्वय गर्नेबारे जिम्मेवारी तोकेरै कुन काम कसले, कसरी र कहिले गर्ने भन्ने सम्बन्धमा निर्क्योल गर्नेछौं । त्यो छलफलपछि विमानस्थल पूर्ण क्षमतामा अघि बढ्छ । यो प्रक्रियामा कसैले पनि रोक्न सक्दैन । निकट भविष्यमै गौतम बुद्ध विमानस्थल पूर्ण क्षमतामा (फुल फ्लेजेज) सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्छु ।

यो प्रदेश कर्णाली प्रदेशसँग जोडिएको छ । कर्णाली नदीमा डल्फिन पाइन्छ । त्यसलाई पनि पर्यटनसँग जोड्न सकिन्छ । कृषि उब्जाउका हिसाबले पनि यो क्षेत्र अघि छ । यो उर्वरा भूमिलाई अझ बढाउन विभिन्न सिँचाइ आयोजनाहरूको परिकल्पना गरिएको छ । तीमध्ये सिक्टा सिँचाइ, भेरी बबई डाइभर्सनलगायत केही परियोजना निर्माणको क्रममा छन् । केही सुरुवात नै हुन सकेका छैनन् । राप्ती नदीको नौमुरेमा बाँध निर्माण, कपिलवस्तुमा सिँचाइका लागि डाइभर्सन परियोजना र कालिगण्डकी तिनाउ डाइभर्सन परियोजना पनि निर्माण गर्ने योजना छ । यसो हुन सक्दा रुपन्देही र कपिलवस्तुको सिँचाइमा यी आयोजनाले महत्त्वपूर्ण योगदान पुग्छ । प्रदेशको विकासको सन्दर्भमा केही राजमार्गको भूमिका पनि निकै महत्त्वपूर्ण छ । यसअनुसार पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति र विस्तारको काम भएको छ । प्रदेशका १२ वटै जिल्लाका जिल्ला सदरमुकाम जोड्ने कामका लागि विभिन्न सडक निर्माणको काम भइरहेको छ ।

मृत्यु मार्गका रूपमा चिनिएको सिद्धबाबा सुरुङमार्ग सरकारले आफ्नै लगानीमा निर्माण गर्न लागेको छ । सरकारको आफ्नै लगानीमा निर्माण गर्न लागिएको यो पहिलो लगानी हो ।

यस प्रदेशमा पनि तीव्र रूपमा सहरीकरण बढ्दै गएको छ । त्यसलाई मध्यनजर गर्दै नेपालगञ्ज र कोहलपुर आसपासको क्षेत्र समेटेर एउटा, दाङ उपत्यका आसपासका क्षेत्रलाई समेटेर अर्को र बुटवल र आसपासका क्षेत्र समेटेर अर्को आधुनिक र व्यवस्थित उपमहानगर बनाउन काममा हामी अघि बढेका छौं । सोही ढंगले यो क्षेत्रमा पूर्वाधार निर्माणका काम भइरहेका छन् । यसमा निजी क्षेत्रको भूमिका धेरै महत्त्वपूर्ण छ । आधुनिक औद्योगिक क्षेत्र निर्माणमा पनि हामी जुटेका छौं । लगानी र प्रतिफलका हिसाबले यो क्षेत्र सम्भावनाले भरिपूर्ण छ भन्ने सन्देश निजी क्षेत्रमा प्रवाह भएको छ । पछिल्ला वर्षमा यहाँका निर्माण आयोजना तथा उत्साहपूर्वक निजी क्षेत्रको लगानीले त्यो पुष्टि हुन्छ । सभ्यता र संस्कृतिका हिसाबले पनि यो प्रदेश निकै धनी छ ।

समग्रमा लुम्बिनीको सामर्थ्य असीमित छ । यी सबै सम्भावनालाई सदुपयोग गर्दै लुम्बिनी प्रदेशको विकासलाई अघि बढाउन सकिन्छ । यहाँका जनताको जीवनस्तर माथि उठाउने र सिंगो राष्ट्रको आर्थिक–सामाजिक हैसियतलाई माथि उठाउने हिसाबले लुम्बिनी प्रदेशले महत्त्वपूर्ण योगदान दिन सक्छ ।

(उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले कान्तिपुर मिडिया ग्रुपद्वारा माघ २१ गते भैरहवामा आयोजित 'कान्तिपुर: लुम्बिनीको सामर्थ्य'मा दिएको मन्तव्यको सम्पादित अंश)

प्रकाशित : माघ २४, २०७९ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?