सद्भावको सहर- विविधा - कान्तिपुर समाचार
लुम्बिनीको सामर्थ्य

सद्भावको सहर

मोहम्मद इस्तियाक राई

नेपालगन्ज धार्मिक दृष्टिले अति संवेदनशील छ । ०५४ सालको हिन्दु–मुस्लिम समुदायबीचको धार्मिक दंगापछि यहाँ विभिन्न घटनाक्रम भए । पछिल्लो चार/पाँच वर्षमा धार्मिक सद्भावका लागि विभिन्न धर्मगुरुको संयोजकत्वमा राजनीतिक दलका टोली मिलेर सौहार्दपूर्ण वातावरणमा नेपालगन्जलाई रूपान्तरित गरियो । तर पछिल्लो समयमा जबजब निर्वाचन आउँछ, धार्मिक नारा अघि सारिहालिन्छ । 


०५४ सालको धार्मिक दंगाले ऐतिहासिक सहर क्षणभरमै कुरूप बन्यो । भौतिक क्षति धेरै भएकाले त्यसको लेखाजोखा भएन । उक्त घटनाले नेपालगन्जलाई धार्मिक रूपमा विभाजित मात्र गरेन, धार्मिक सम्प्रदायलाई आपसमा सशंकित र त्रसित बनायो । कसको बच्चा कुन टोलमा गयो, अब भरे सकुशल फर्किन्छ/फर्किंदैन भन्ने डर भयो । यो त्रास वर्षौं कायम रह्यो । पछि बिस्तारै सेलाउँदै गए पनि फेरि ०६२/०६३ सालको मधेस आन्दोलनले त्रास बढायो । घटनाको बीउ राजनीतिक थियो । तर, त्यसलाई साम्प्रदायिक (पहाडी–मधेसी) दंगाका रूपमा भड्काइयो ।

त्यसपछि पनि सामान्य किसिमका घटना भइरहे । जब चुनाव आउँछ, जातीय नारा अघि सारिन्छ । ०७४ सालको चुनावमा यस्तै दृश्य देखिए । ०७९ को चुनावमा छिमेकी देश भारतबाट समेत मान्छे ल्याएर घुसपैठ गराइयो । अहिले पनि स्वार्थको राजनीति गर्नेहरूले नेपालगन्जलाई ०५४ सालकै अवस्थामा पुर्‍याउन खोजेका छन् । गत मंसिरमा भएको चुनावमा यस्तै दृश्य देखिए ।

मैले बाँकेबाट तीन पटक चुनाव लडें । यस पटकको चुनावमा अघिपछिको चुनावमा साथ दिएका मतदाताले ‘तपार्इं मान्छे राम्रो तर मेरो विचार परिवर्तन भयो’ भन्दै अर्कैतिर लागेको पनि संकेत गरे । के विचार परिवर्तन भयो भनेर प्रश्न गर्दा ‘धार्मिक हिसाबले म तपाईंको धर्मभित्र परिनँ’ भन्नेहरू पनि थिए ।

यस्तो मानसिकता परिवर्तन गराउने काम छिमेकी देश र हाम्रा यहीँका राजनीतिक दलहरूले गरे । सस्तो लोकप्रियताका लागि उनीहरूले नानाथरी नारा अघि सारे । तिनले विकास निर्माणका मूल एजेन्डालाई ओझेल पार्छन् । यहाँको समाजको चाहना भने फरक छ– सबै समुदाय आपसमा मिलेर बस्नुपर्छ । देशको संविधान र कानुनले सबै समुदायलाई आ–आफ्नो धर्म र संस्कृतिअनुसार बाँच्न पाउने अधिकार दिएको छ । तर यहाँका केही राजनीतिक दल आफ्नो स्वार्थसिद्ध गर्न नेपालगन्जमा धार्मिक एकता रहोस् भन्ने चाहन्नन् ।

पहिला–पहिला होली मिलन कार्यक्रम हुन्थे । होली खेल्नेले खेल्थे । नखेल्नेले मिठाई खान्थे । होलीका बेला रङ नखेले पनि अंकमाल गरेर विभिन्न समुदायले खुसी साटासाट गर्दै शुभकामना दिन्थे । एकअर्काप्रति सम्मान आदानप्रदान हुन्थ्यो । दीपावलीमा भुजियालगायत परिकारसहित चुरा पुर्‍याउन इष्टमित्रको घर जाने चलन थियो । त्यहीँ खाना खान्थ्यौं । चाडबाड खुसीयाली साटासाट गर्ने माध्यम बन्थे । त्यसमा एउटा भाव र आत्मीयता झल्कन्थ्यो । मुसलमानको पर्व इदमा अन्य समुदाय सेवाई खान आउँथे । अहिले यसलाई राजनीतिक रूप दिइयो । यस्ता कार्यक्रममा नेता मात्र पुग्छन् । आम समुदाय, आम नागरिकलाई राजनीतिक दल र राजनीतिकर्मीले टाढा बनाइसकेका छन् । यो राम्रो होइन ।

राजनीतिक दलहरूले सोच्नुपर्ने भएको छ– विगत र अहिले यस क्षेत्रमा के परिवर्तन भयो ? के विकास भयो ? हाम्रा भोलिका एजेन्डा के हुन् ? शैक्षिक क्षेत्रमा के सुधार भयो ? निर्वाचित हुनेले स्वास्थ्य, रोजगारीका क्षेत्रमा के गरे ? अब यस क्षेत्रमा उद्योग व्यवसायको विस्तार र कृषि, पर्यटन सबै दलका चुनावी एजेन्डा हुनुपर्छ । धर्म भनेको निजी जीवनको कुरा हो । मैले एउटा धर्म मान्छु, अर्कोले अर्को धर्म मान्छ । तर शिक्षा, स्वास्थ्य, पूर्वाधार, व्यापार व्यवसाय, पर्यटन सामाजिक विषय हुन् । यिनै विषयको प्रवर्द्धनमा लाग्नुपर्छ । शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग व्यवसाय, कलकारखानाको विकास गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्छ ।

पहिला नेपालगन्ज जातीय सद्भाव कायम राख्ने सहरका रूपमा चिनिन्थ्यो । अहिले कताकता त्यो भड्किँदै गएको हो कि भन्ने पनि लाग्न थालेको छ । तसर्थ हामीले जनप्रतिनिधिले नेता मिलाउनेभन्दा पनि समाज मिलाउनेतर्फ लाग्नुपर्छ । जात एवम् धर्मका आधारमा बस्ती–बस्तीबीच फाटो ल्याउने काम गर्नु हुन्न । नेपालगन्ज एक जमानामा नेपालकै सबैभन्दा समृद्ध र २४/२५ जिल्लालाई सेवा दिने सहरका रूपमा परिचित थियो । कर्णाली र सुदूरपश्चिमलाई सेवा दिने नाका नेपालगन्ज नै थियो । तर अहिले यस्तो छैन । अब यहाँको पूर्वाधार, पर्यटन र कृषि क्षेत्रको विकास कसरी गर्ने, बहस चलाउन ढिलो भइसकेको छ ।

प्रकाशित : माघ २१, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्

सीमाञ्चल सम्बन्धको लाभ

दीपकुमार उपाध्याय

समथर भूभागदेखि ७ हजार मिटर उचाइसम्म भएका तराई, हिमाल र पहाडी विविधताले लुम्बिनी प्रदेश भरिपूर्ण छ । सबै नेपालीका लागि लुम्बिनी शब्दमात्रै पनि प्रिय र सुन्दर लाग्छ । शान्तिप्रति समर्पित हुनेका लागि विश्वकै अद्वितीय आस्था र धरोहर हो, लुम्बिनी ।

विश्व बुद्ध धर्मावलम्बीका लागि जीवनमा एक पटक जसरी पनि पुग्ने यो भ्रमणीय र दर्शनीय स्थल हो । त्यसैले पर्यटनबाट यस प्रदेशको समृद्धिको कायापलट गर्न सकिन्छ । तर, लुम्बिनीलाई

त्यस रूपमा विकास गर्न पहल भएको पाइँदैन । यसका लागि योजना, विचार र सोचको खाँचो छ । ४० वर्ष बितिसक्दा पनि लुम्बिनी विकास गुरुयोजना पूरा हुन नसक्नु दुःखद कुरा हो ।

हाम्रो अकर्मण्यताको यो द्योतक पनि हो । ६ पहाडी जिल्ला र ६ तराईका जिल्ला समेटेर लुम्बिनी प्रदेश निर्माण भएको छ । झन्डै ५४ प्रतिशत भूभाग तराई क्षेत्रमा पर्ने यस प्रदेश पूर्वमा गण्डकी, उत्तरमा कर्णाली र गण्डकी, पश्चिममा सुदूरपश्चिम र दक्षिणमा भारतसँग सीमा जोडिएको छ । प्रदेशको विकास र समृद्धिका लागि सीमाञ्चलको भूमिका महत्त्वपूर्ण छ । भारतसँग धेरै ठाउँमा सीमानाका जोडिएको प्रदेशमा लुम्बिनी पहिलो हो । यो हाम्रो गर्व र प्रदेश उन्नतिको आधार पनि हो । त्यसैले सीमानाकाबाट भरपूर फाइदा उठाउनैपर्छ । हामीले अपेक्षा गरेअनुसार सीमानाकाबाट फाइदा लिन नसक्नु हाम्रो समस्या र चुनौती दुवै हो । यो चुनौतीबाट पार पाउन भारतलाई अर्घेल्याइँ गरेर होइन, ऊसँग भाइचारा सम्बन्ध कायम गरेर कूटनीति चातुर्य देखाउन जरुरी छ । त्यसतर्फ हामी चुकेका छौं ।

पर्यटनसँगै उद्योग व्यापार यस प्रदेशको विकासको मुख्य आधार हो । त्यसका लागि कनेक्टिभिटी अति जरुरी छ । हामीले सीमासँग जोडिएका नेपालभरिका सडकलाई ६ लेनको बनाउँदै छौं । त्यसैअन्तर्गत लुम्बिनी प्रदेशको बुटवलदेखि बेलहिया, चन्द्रौटादेखि कृष्णनगर र कोहलपुरदेखि रूपैडिहासम्मको सडक स्तरोन्नति गर्‍यौं । परासीदेखि महेशपुरसम्म सडक बनायौं । सीमा क्षेत्रमा नेपालले सडक बनाएपछि भारतले पनि सडक निर्माणमा तीव्रता दिएको छ । त्यसलाई राष्ट्रिय सडकको मान्यता दिएर काम गरिरहेको छ । सडक क्षेत्रमा भएजस्तो काम रेल मार्गतिर भएको छैन । तर, भारतले सीमा क्षेत्रमा रेल मार्ग विस्तारमा धेरै विकास गरेको छ । हाम्रातर्फ यसबारे खासै चासो छैन । सडक सञ्जाल सजिलो हुनासाथ त्यसले पर्यटनदेखि उद्योग व्यापारमा नयाँ आयाम थप्छ । सीमामै भारतको बढनीसम्म ब्रोडगेज रेल आइसकेको छ । बढनी नेपालको कृष्णनगरदेखि ४ सय मिटरमा पर्छ । अब नौतनवा–भैरहवामा पनि ब्रोडगेज रेल छिट्टै आउने कार्यक्रम छ । पर्यटकीय विकासलाई जोड्न रेल नेटवर्क कोसेढुंगा सावित हुने निश्चित छ ।

भारतको बुद्ध सर्किटबाट फाइदा लिन नेपालले योजना बनाउन ढिला गर्नु हुँदैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपना पनि दुई मुलुकका बुद्ध सर्किट जोडेर पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् भन्ने नै हो । यसका लागि रेल, सडक र हवाई यातायातको कनेक्टिभिटी बढाउनुपर्छ । बुद्ध र हिन्दु धार्मिक पर्यटनको विकास गर्न सकियो भने दुवै देशले भरपूर फाइदा लिन सक्छन् । यो निक्कै भावनात्मक हुन्छ । मुसलमानहरू मक्का मदिना गएर मोक्षप्राप्ति गर्न घरखेतसमेत बेच्छन् । त्यस्तै विश्वका बौद्धिस्टहरू लुम्बिनी आउन उत्तिकै लालायित हुन्छन् । विश्वका एक प्रतिशत मात्रै धार्मिक पर्यटक पनि यहाँ आए भने हामीलाई धान्न गाह्रो हुन्छ ।

पानीको उपयोग पनि राम्ररी हुन सकेको छैन । परासीदेखि बर्दियासम्म सिँचाइको समस्या छ । नेपालबाट बग्ने नदीले दुवै देशलाई बाढीपहिरो, भूक्षयले समस्या पार्दै आएको छ । त्यसैले नेपालमै योजना बनाएर र ठाउँठाउँमा रिजर्भवायर, बाँध बनाएर, विद्युत् उत्पादन गरेर बहुपक्षीय उपयोग गर्न सकिन्छ । यस्ता कुरा उपयोग गर्न सके स्वर्ग हो, उपयोग गर्न नसके अभिशाप पनि बन्छन् ।

नेपाल एक सार्वभौम मुलुक हो । अन्तर्राष्ट्रिय नीति–नियम र सन्धि–सम्झौतालाई पालन गर्न भारतले कहिलेकाहीं आनाकानी गर्छ । त्यो गर्नु हुँदैन । नेपाललाई साथ लिएर आफू बलियो हुनुपर्छ । नेपाललाई पनि बलियो बनाउनेतर्फ काम गर्नुपर्छ । यसमै दुवै मुलुकको हित छ ।

नेपालमा हिउँदमा बिजुली उत्पादनमा कमी आउँछ । भारतमा बढी हुन्छ । हिउँदमा हामी आयात गर्छौं । ग्रीष्ममा हामी त्यता पठाउन सक्छौं । तर, भारतको परराष्ट्र मन्त्रालयले नेपालबाट बिजुली किन्ने विषयमा अनेक झमेला गरिरहेको छ । नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री हुँदा त्यहाँ चिनियाँ कम्पनीले विकास निर्माण गरे । भारतकै विभिन्न ठाउँमा चिनियाँहरूले विकास निर्माणका काम गरिरहेका छन् । तर, नेपालमा चिनियाँ लगानी हो भन्दै बिजुली किन्न आनाकानी गर्नुले राम्रो सन्देश दिएको छैन । नेपालको बिजुली प्रतियुनिट ७ रुपैयाँमा पाइन्छ । त्यही बिजुली उत्तर प्रदेश र विहारमा झन्डै २१ रुपियाँ प्रतियुनिट पर्छ । नेपालमा उत्पादित सस्तो विद्युत् नकिन्दा गरिब विपन्न भारतीयलाई मार परेको छ । बुटवल–गोरखपुर अन्तरदेशीय विद्युत् प्रसारण लाइन पनि यो प्रदेशको समृद्धिको जग बन्न सक्छ । दुवै देशको सरकारी कार्यक्रममा यो परियोजना परिसकेको छ । तर, कार्यान्वयनमा थोरै ढिलो भइरहेको छ । त्यसलाई दुवै देशका अधिकारीहरू बसेर छिटो कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्छ ।

भारतको नौतनवानिरको सम्पत्तिया र मैनइयामा विद्युत् ट्रान्समिसन लाइन निर्माणका लागि नेपालले भारतको उत्तर प्रदेश सरकारसँग प्रस्ताव गरेको दुई वर्ष भइसक्यो । प्रदेश सरकार तयार छ । तर, भारतको परराष्ट्र मन्त्रालयले रोकेको छ । यो गाँठो फुकाउनेतिर पनि लाग्नुपर्छ । भैरहवामा बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बहुपक्षीय उपयोग गर्नुपर्छ । यसलाई कार्गो विमानस्थलका रूपमा विकास गरेर तराईदेखि पहाड र हिमालसम्मका उत्पादन निर्यात गर्नुपर्छ । हिमालमा फलेको स्याउ र पहाडमा फलेको सुन्तलाको अलग्गै स्वाद छ । त्यसलाई निर्यात गरेर लाभ लिन सकिन्छ । यस्तो अर्गानिक उत्पादन अरब, युरोपेली मुलुकमा पठाउन सक्नुपर्छ । प्रदेश सरकार, स्थानीय सरकारले एयरपोर्टसम्म ढुवानी अनुदान दिनुपर्छ । उत्पादित वस्तुलाई ग्रेडिङ गरेर सरकारले निर्यात गर्ने व्यवस्था गर्न अब ढिलो गर्न हुन्न ।

नेपालगन्ज नाकालाई जडीबुटीको हब बनाउने योजना अघि सार्न ढिला भइसक्यो । भारतको केन्द्रीय राजधानी दिल्लीसँग पनि नजिक भएकाले नेपालगन्जको छुट्टै महत्त्व छ । यसलाई बहुमूल्य जडीबुटी निर्यातको नाकाका रूपमा विकसित गर्दा नेपालमा जडीबुटी खेती प्रोत्साहित हुन्छ । नेपालगन्जमा जडीबुटी संकलन गोदाम बनाएरै काम गर्नुपर्छ । प्रदेशको मात्र नभएर सबैतिरको जडीबुटी निर्यातको गन्तव्य बनाउन सकियो भने प्रदेशले आर्थिक फड्को मार्न धेरै बेर लाग्दैन । यसले जडीबुटी निकासी गर्ने प्रदेशको उपमा पनि पाउँछ । दुई देशबीच सदियौंदेखि आपसी भाइचारा र मित्रताको सम्बन्ध छ । तर अहिले भर्खर बनेको गौतम बुद्ध एयरपोर्टलाई भारतले एयर स्पेस नदिएर अर्घेल्याइँ गरिरहेको छ । यो राम्रो कुरा होइन । यसले नेपाल–भारत सम्बन्धमै प्रभाव पारिरहेको छ । छिमेकी मुलुक विकासको पाइलामा अघि बढेकामा खुसी हुनुपर्नेमा नकारात्मक भावना राख्नु राम्रो होइन । कूटनीतिक परिपक्वता कायम गरेरै भारतसँग एयर स्पेस लिन अब ढिलो गर्नु हुँदैन । विरोध गरेर, गाली गरेर भन्दा कूटनीतिक चातुर्य देखाउन नेतृत्व लाग्नुपर्छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निकट भविष्यमा हुने भारत भ्रमणमा यी कुरा अवश्य उठ्लान् । यी विषयलाई प्राथमिकताका साथ उठाएर समस्या समाधानतर्फ प्रधानमन्त्रीको यात्रा सफल होस् ।

हाम्रो सीमानाकाको भन्सार चेक प्वाइन्टको भौतिक पूर्वाधार दयनीय छ । पुराना छोटी भन्सारका भवन जीर्ण बनेका छन् । मर्मतसम्भारको अभावमा कतिपय भवन खण्डहर बनेका छन् । महेशपुर र सुठौली छोटी भन्सार स्तरोन्नति भई मूल भन्सार भएको छ । सीमाका भारतीय भन्सार कार्यालयजस्तै यहाँका भन्सार कार्यालयको पूर्वाधार विकासमा जोड दिने सघन योजना लागू गर्नॅपर्छ । प्रदेशका भन्सार नाकामा अहिलेको आधुनिक प्रविधि एकीकृत सुरक्षा जाँच प्रणाली लागू हुन सकेको छैन ।

भैरहवामा निर्माण सम्पन्न भए पनि नेपालगन्जमा सुरु नै हुन सकेको छैन । त्यसलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्छ । भारत सरकारले प्राथमिकतामा राखेको छ । तर, नेपालले चासो नदिँदा यसमा ढिलाइ भइरहेको छ । यो कार्यक्रम लागू भएपछि आयातनिर्यात बढेर व्यापार व्यवसाय फस्टाउँछ । प्रदेशमा आर्थिक गतिविधि बढेर आयआर्जनमा सहयोग पुग्छ । सानो अंकमा कर उठायो भने पनि प्रशस्त हुन्छ । यसबाट प्रदेशले विकास निर्माणको काममा केन्द्रको मुख ताक्ने प्रवृत्तिमा कमी ल्याउनेछ । संघीयताको अनुभव जनताले प्रत्यक्ष गर्न पाउनेछन् ।

प्रकाशित : माघ २१, २०७९ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×