राजनीतिक सृष्टि र दृष्टि- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
सुदूरको सान

राजनीतिक सृष्टि र दृष्टि

केही समयअघि डोटी, अछाम र बाजुरामा ६ दशमलव ६ म्याग्निच्युडको भुइँचालो गयो, त्यहाँ थुप्रै घर चर्किएर बस्न योग्य रहेनन्, डोटीमा केही मानिसको मृत्यु भयो, केही समय सुरक्षाकर्मी गएर भग्नावशेष पन्छाउने काम गरे, अलिअलि सहयोग भयो तर त्यस्तो भूकम्प काठमाडौंतिर गएर मानिस चिसोमा बाहिरै बस्नुपर्ने स्थिति भएको भए यहाँको प्रतिक्रिया कस्तो हुन्थ्यो ?
भीम रावल

काठमाडौँ — नेपालको राजनीतिक प्रवृत्ति सन्तुलित विकास, सबै वर्ग एवम् समुदायको समग्र उत्थान, विशेषगरी आर्थिक, शैक्षिक दृष्टिकोणबाट पछाडि परेकाहरूलाई माथि उठाउने ठोस योजना अभावबाट ग्रस्त छ । त्यसको पीडा सुदूरपश्चिमले भोग्दै आएको छ । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार र आपूर्ति प्रणालीका दृष्टिबाट सुदूरपश्चिममा जस्तो समस्या छ, त्यसलाई समाधान गर्न जुनस्तरको तत्परता, योजना, काम हुनुपर्ने हो, त्यो हाम्रो समग्र राज्य प्रणालीबाट भइरहेको पाइँदैन । 

यस प्रसंगमा म आफैं पनि मन्त्री भएको भनी प्रश्न पनि आउन सक्छ, ‘तैंलेचाहिँ के गरिस्?’ म बहुमतको सरकारको मन्त्री भइनँ । छोटो समय मन्त्री हुँदा सुदूरपश्चिमका समस्याबारे सरोकारवाला निकायलाई पर्याप्त मात्रामा ध्यानाकर्षण गराउने, खासगरी पूर्वाधार निर्माण गरेर त्यस दिशातर्फ जान प्रयास गरें । जस्तो कि, ०५१/५२ सालको सरकारमा हुँदा पनि नयाँ–नयाँ कुरा गरेर केही प्रयास गरें । पछि माधवकुमार नेपाल नेतृत्वको सरकारमा गृहमन्त्री हुँदा पनि मेरोतर्फबाट सुदूरपश्चिमको विकासमा योगदान गरें । रानीजमरा कुलरिया सिँचाइ आयोजना, सेती लोकमार्ग, महाकाली टिंकर लोकमार्गलगायतका नयाँ पूर्वाधारमा योजनाअघि बढाएर त्यसतर्फ ध्यान दिन प्रयास गरेको हुँ ।

काठमाडौंले सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण समग्र नीतिसँग जोडिएर आएको देखिन्छ । सुदूरपश्चिममा आममानिसको धारणा अहिलेसम्म एउटै छ– काठमाडौंले हाम्रो कुरालाई पर्याप्त सुन्दैन, ध्यान दिँदैन । त्यसमा केही सत्यता पनि छ ।

सबैभन्दा पछिल्लो घटनालाई हेर्‍यौं भने त्यो प्रस्ट हुन्छ । चुनावभन्दा केही समयअघि डोटी, अछाम बाजुरामा ६ दशमलव ६ म्याग्निच्युडको भुइँचालो गयो । त्यहाँ थुप्रै घर चर्किएर बस्न योग्य छैनन् । डोटीमा केही मानिसको मृत्यु भयो । डोटीमा घर भत्किँदाको केही समय सुरक्षाकर्मी गएर त्यहाँ भग्नावशेष पन्छाउने काम गरे, अलिअलि सहयोग भयो । त्यो ६.६ म्याग्निच्युडको भूकम्प काठमाडौंतिर गएर मानिस चिसोमा बाहिरै बस्नुपर्ने स्थिति भएको भए यहाँको प्रतिक्रिया के हुन्थ्यो होला ?

किन यस्तो स्थिति छ ?

हाम्रो राज्य प्रणालीको समग्र नीतिको परिणामका कारण यस्तो भएको हो । यो सुदूरपश्चिमको विषय मात्रै होइन, कर्णालीको अवस्था पनि उस्तै छ । कर्णाली आर्थिक, शैक्षिक र स्वास्थ्यका दृष्टिबाट माथि उठाउनुपर्ने प्रदेश हो । काठमाडौंमा प्रत्येक वर्ष पुलमाथि पुल बनेका देख्छौं, आज कालोपत्र उप्काएर अर्को थपेको देख्छौं । त्यस्तो काममा कति करोड वा अर्ब रुपैयाँ खर्च भएको छ, हिसाब किताब नै छैन । तर कर्णाली राजमार्गमा त्यति धेरै मानिसको ज्यान गएको छ तर फराकिलो बनाइँदैन ।

सुदूरपश्चिम होस् वा पूर्वी पहाड र तराईका पनि कतिपय ग्रामीण इलाकामा राज्य प्रणाली जुन चरित्र नीतिगत रूपमा जाने प्रवृत्ति छ, त्यसमा पनि परिवर्तन भएको छैन । हामीले नेपालको संविधानमा समाजवाद उन्मुख प्रणाली भनेका छौं । तर व्यवहारमा बिचौलिया र दलाल पुँजीपतिहरूको बिगबिगी देखिन्छ ।

सुदूरपश्चिमाञ्चलबाट केही नेता प्रधानमन्त्री पनि भए । बहुमतकै सरकारको प्रधानमन्त्री पनि भए । पञ्चायतकालमा लोकेन्द्रबहादुर चन्द र बहुदलमा शेरबहादुर देउवा प्रधानमन्त्री भए । विभिन्न कालखण्डमा पटकपटक मन्त्री भएका छौं । प्रतिनिधित्वको विषय मात्रै होइन, समग्र राज्य प्रणालीको नीतिमा रहेको त्रुटिका कारणले यस्तो अवस्था आएको हो । त्यो नीतिलाई बहुमतको सरकार भएको समयमा बदल्नुपर्थ्यो । नबदल्दा हातमा अधिकार हुँदा पनि जे चलिरहेको छ, त्यसमै बगेको जस्तो देखिन्छ ।

नेपालमा विकास निर्माणमा प्रक्रियाको जुन समस्या छ, त्यसले सुदूरपश्चिमलाई असर परेको छ । जस्तो केही वर्षअघिसम्म सुदूरपश्चिमलाई जोड्ने बाटो र कर्णालीमा पुल पनि थिएन । धेरै गाह्रो थियो । राज्यका नीतिको जसरी कार्यान्वयन हुनुपर्थ्यो, त्यसमा रहेको दोषका कारण पनि सुदूरपश्चिमले विकास नदेखेको हो । यसमा राज्यको चरित्र र प्रवृत्ति मूल रूपमा कारक छ । भौगोलिक विकटताले पनि समस्या निम्त्याउने गरेको छ । नेपालको विकासका विभिन्न चरणमा पनि त्यो यातायात, सञ्चार दृष्टिकोणबाट जोडिन सकेन । यस्ता विषयमा राज्यकै भूमिका महत्त्वपूर्ण हुन्छ । तर भइदिएन ।

विभिन्न राजनीतिक कालखण्डका समस्या

नेपालको राजनीतिक दृष्टिकोणबाट हेर्दा महत्त्वपूर्ण पदमा सुदूरपश्चिमका मानिस पुगिरहने र कुनै न कुनै भूमिकामा भइरहने अवस्था पञ्चायतकाल र त्यसपछिको समयमा छ नै । फरक यत्ति हो, पञ्चायतकालमा निर्दलीय मानिस जान्थे, अहिले विभिन्न राजनीतिक दलका मानिस जान्छन् । पञ्चायतकालमा लोकेन्द्रबहादुर चन्दजी प्रधानमन्त्री भए भने बहुदलमा शेरबहादुर देउवा । तर राष्ट्रिय राजनीतिको प्रभाव र त्यसले सामाजिक परिवर्तन अनि जनताको आर्थिक तथा शैक्षिक विकासमा गुणात्मक परिवर्तन गरेको देखिँदैन ।

पञ्चायतकाल र बहुदलमा फरक मानिसले बोल्न पाएका छन् । तर अन्य अवस्था उस्तै छ । समयले ल्याउने परिवर्तनबाहेक आर्थिक विकासका दृष्टिबाट हेर्दा मानिसको पलायन छ । कृषिमा विकास भएको छैन । शैक्षिक क्षेत्र अस्तव्यस्त छ । स्वास्थ्यमा पनि अवस्था राम्रो छैन । बहुदलीय व्यवस्था आएपछि गाउँमा जुन बजेट गयो, माथिबाट गएको रकमले केही विकास निःसन्देह भएको छ । तर त्यहाँका समस्या जति गहिरा छन्, जनताको उत्थानका लागि जे प्रयत्न हुनुपर्थ्यो, त्यसमा तात्त्विक भिन्नता छैन ।

संविधान निर्माणका बेला भएको अखण्ड सुदूरपश्चिमको आन्दोलन सुदूरपश्चिमलाई नफुटाउने विषयमा मात्रै सीमित थिएन । त्यसबेला जातीय राज्यको विषय पनि चर्चामा थियो । जातीय राज्य हामी मान्दैनौं भनेर आन्दोलन गरिएको थियो । १२३ जाति र भाषा बोल्नेहरूको देश भएका कारण नेपालमा कति राज्य बनाउने भन्ने धारणा थियो । अखण्ड सुदूरपश्चिम प्रतीकात्मक मात्रै थियो । राष्ट्रको अखण्डताको पक्षमा थियो । समाजर विभिन्न समुदायलाई हेर्ने दृष्टिकोण वा उत्थानका लागि दिइने प्राथमिकता, उनीहरूको आर्थिक स्थिति र पिछडिएको मानिसका लागि हुनुपर्छ भन्ने थियो ।

पहाडबाट जो मानिस आवादी गर्दै तराईमा बसे, त्यसमा जिल्लागत राजनीतिक प्रभाव छ । बहुदल आएपछि राजनीतिक दलहरू पूर्ण नभए पनि मूल रूपमा सिद्धान्त, कार्यक्रम, राजनीतिमा आदर्श र राजनीतिक दलहरूले चुनाव लड्दा पनि आआफ्नो पार्टीको चुनाव चिह्नमा लड्थे । त्यस समयमा जिल्लागत प्रभाव तल त्यसरी प्रस्फुटित भएको थिएन । त्यस समयमा सिद्धान्तमा प्रभावकारिता थियो ।

केन्द्रीय राजनीतिमा सिद्धान्त हरायो, नीति गायब भयो, कार्यक्रमको अर्थ भएन, पद प्रमुख भएर आयो । त्यसको प्रभाव अन्यत्र जस्तै सुदूरपश्चिम पर्‍यो । त्यसले जाति, समुदाय, भेग प्रमुख भएर आयो । कैलाली, कञ्चनपुरमा क्षेत्रगत प्रभाव त्यसको परिणाम हो । आगामी दिनमा अझै राजनीति यस्तै सिद्धान्त, गन्तव्य र आदर्शहीन तथा संविधानको धारा २६९ लाई उल्लंघन गर्ने हो भने झनै बढ्छ । त्यो अझै संकीर्णताको खतरनाक पाटोतर्फ लाग्न सक्छ ।

केन्द्रीय राजनीतिमा जे जति विकृति देखिएका छन्, त्यसले सुदूरपश्चिम पनि प्रभावित छ । दलहरू साँच्चिकै सिद्धान्त र कार्यक्रममा प्रतिबद्ध हुन्छन्, त्यही लिएर जनतामा जान्छन् वा अहिले जस्तो पदका लागि जुनसुकै दलमा जान पनि तयार छन् । जसरी पद पाइन्छ, त्यसरी नै जाने गलत प्रवृत्ति जारी रह्यो भने क्षेत्रीय दल खुल्दैनन् भनेर भन्न सकिन्न ।

पहिलो जातीय वा समुदायको जेसुकै भए पनि पहिले हामीले उनीहरूलाई वर्गीय दृष्टिकोणबाट हेर्‍यौं । जो मानिस पिछडिएका छन्, दलित छन् वा दमित छन्, उनीहरूलाई अघि बढाउने र जुनसुकै जातीय समुदायको भएपनि विशेषगरी ऐतिहासिक कारणले चेपुवामा परेकालाई विशेष रूपमा हामीले अघि बढाउने काम गर्‍यौं । जतिखेर सेती अञ्चल र पछि प्रदेशको पनि इन्चार्ज हुँदा परिणाम के भयो भने, हामीथारू वा पहाडबाट झरेका बाहुन वा क्षत्री जोसुकै भएपनि एक भएर अघि बढ्यौं । तर बिस्तारै समाजलाई हेर्ने दृष्टिकोणमा ह्रास आयो । त्यसपछि स्वाभाविक रूपमा थारू समुदायमा आधारित नेताले सिद्धान्तको अर्थ रहनेछ, हामी पनि आफ्नो जाति–समुदायको हकहितका लागि एक हौं भन्ने नारा दिएपछि त्यसले मानिसलाई छोयो । सिद्धान्तमा ह्रास भएपछि के विषयले छुन्छ त भनी हेर्दा उन्मुक्ति पार्टीको उदयलाई एउटा कारण मान्न सकिन्छ । यसको तात्कालिक कारण टीकापुर घटना हो । र, त्यसपछि जे जस्तो स्थिति भयो, जगजाहेर छ ।

राजनीतिको दिशा

सुदूरपश्चिमको राजनीतिक भावधारा केन्द्रीय राजनीतिसँग एकदमै अन्तरसम्बद्ध छ । केन्द्रमा राजनीति सुध्रियो, स्वच्छ बाटोमा गयो वा स्वच्छ प्रतिस्पर्धा भयो, नीति तथा कार्यक्रम वा राष्ट्रिय हितलाई सर्वोपरि राखेर राजनीतिक दलहरू संविधानको मूल मर्म र मान्यताबाट अघि हिँड्न थाले भने सुदूरपश्चिमको राजनीति कुनै छुट्टै प्रवृत्तिबाट अघि आइहाल्दैन ।

केन्द्रमा सबै विषयलाई बेवास्ता गर्दै कुर्सीका लागि साँठगाँठ गर्ने, पदका लागि धोका दिने जस्ता जुन प्रवृत्ति देखिएको छ, त्यो निरन्तर भयो भने त्यसको प्रभाव सुदूरपश्चिममा परिहाल्छ । अहिले जुन ठूला राजनीतिक दल छन्, तिनका नेताले पनि त्यस्तो गरिहाल्छन् । तल्लो तहमा प्रचारप्रसार गरिहाल्छन् ।

सुदूरपश्चिममा प्रतिनिधिसभाका १६ स्थान छन् । कसैले १० वा ११ स्थान गुमायो भने त्यसको प्रभाव दोब्बर पर्ने भयो । यसअघिको चुनावमा एमाले र माओवादी केन्द्र संयुक्त रूपमा गएका थियौं । इन्चार्ज म थिएँ। मैले नै चुनाव परिचालन गरेको थिएँ । यसपटक एकल र सर्वसम्मत नाम पठाउँदा पनि मलाई रोकियो । मलाई रोकेपछि जिल्ला र अन्यत्र के भयो, मैले जान्ने कुरा भएन । सुदूरपश्चिम जाने वातावरण पनि बनाइएन । अहिले एमाले दुई स्थानमा खुम्चिएको छ ।

सुदूरपश्चिमभित्रै असन्तुलन

राष्ट्रिय राजनीतिको कुरा गरौं । मन्त्रिपरिषद्मा छँदा पहिले–पहिले मन्त्रीले बोलाएर विकास निर्माणका सन्दर्भमा बजेट कहाँ के कसो गर्ने परामर्श लिन्थे । त्यस समयमा सडक, यातायात, अस्पताल, सिँचाइ, शिक्षालयमा बजेट हाल्न धेरै जोड गर्दा पनि अधिकार प्राप्त व्यक्तिहरूले बजेटमा हाल्नै नमान्ने अवस्था थियो । हामी समाजवादउन्मुख प्रणाली भन्छौं, सन्तुलित विकासको कुरा गर्छौं, काठमाडौंले सुदूरपश्चिमलाई छुट्याएको बजेट हेर्दा त्यहाँ निराश भएर टाउकोमा हात लगाउनुपर्ने अवस्थाबाहेक केही देखिन्न ।

उतातिर दृश्यावलोकन टावर बन्या बन्यै हुन्छन्, सुदूरपश्चिममा भने १० वर्षका बालक तुइनबाट महाकालीमा खसेका खस्यै हुन्छन् । तर पनि त्यसलाई गम्भीर रूपमा लिइँदैन । अनि यहाँ तुइन नै छैन भनिन्छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमणमा परेको सुदूरपश्चिममा छ । राष्ट्रको सीमा सुरक्षा गर्ने विषयमा बजेट राख्नुहोस् भनेर कराउँदा पनि बाटो बनाउन पर्याप्त मात्रामा राखिँदैन । समग्र राज्यको उत्थान र विकास भएपछि मात्रै देश बलियो हुन्छ भन्ने राज्य सञ्चालनको मूलभूत सिद्धान्त हो । तर त्यसलाई आत्मसात् गरिएको छैन । सुदूरपश्चिम र कर्णालीजस्ता प्रदेशले नराम्रोसँग देशको विकासको मार खाएका छन् ।

सुदूरपश्चिममा आन्तरिक असन्तुलन पनि व्यापक छ । तराई क्षेत्रमा खाद्यान्न र यातायातको सुविधा छ । तर पहाडमा जीवन एकदमै कष्टकर छ । त्यसैले मानिसहरूतराई आउने भए नै । जसले सुविधा र जनसंख्या पनि तराई क्षेत्रमा केन्द्रित छ । यसले दीर्घकालीन रूपमा राष्ट्रहित गर्दैन । यस किसिमको आन्तरिक असन्तुलनलाई सच्याउन पनि प्रदेश सरकार र केन्द्रले मिलेर काम गर्नुपर्छ । खासगरी बजेट ल्याउँदा देशको भौगोलिक मात्रै नभएर आर्थिक, शैक्षिक र सम्पूर्ण विषयलाई अघि राखेर समग्र देशलाई के गरी माथि उठाउने भन्ने सोचअनुरूप काम गर्नुपर्छ । अनि मात्र उपयुक्त बजेट विनियोजन हुन्छ । र, विकासमा सघाउ पुग्छ ।

कृषि, जलविद्युत्, वन सम्पदा, खनिज र पर्यटन यहाँका सम्भावना हुन् । पहाडमा कति उपत्यका र नदीले बनाएको फाँट पनि छन् । ती ठाउँलाई व्यवस्थित रूपमा काम गर्ने हो भने एकदमै राम्रो उब्जनी हुन्छ । खाद्यान्न यस्ता छन्, तुलनात्मक लाभका लागि अन्य देशमा निर्यात गर्न पनि सकिन्छ । कुनै समय अछाम खाद्यान्न निर्यात गर्ने जिल्लाका रूपमा चिनिन्थ्यो । अछाममा यस्ता फाँट छन् । तर दुःखका साथ भन्नपर्छ, ती घडेरी बनेर निस्कँदै छन् । यो राष्ट्रको पतनको मार्ग हो । कुनै पनि देशमा खाद्यान्न भण्डारलाई मासेर फलाम र सिमेन्ट हालेर घर बनाइँदैन । नेपालमा किन यस्तो भइरहेको छ ? सोच्नुपर्ने बेला आएको छ ।

प्रकाशित : माघ ९, २०७९ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्

उठ्नुपर्छ क्षेत्रगत विकासको आवाज

राजेन्द्रसिंह रावल

काठमाडौँ — सुदूरपश्चिम अथाह सम्भावना र अवसरको भण्डार हो । हामीले यहाँका सम्भावनाको सदुपयोग गर्न सकेका छैनौं । विगतमा अनेक कारणले हामी पछि पर्‍यौं । अब भने तीव्र गतिमा दौडिनुपर्नेछ । कृषि, पर्यटन, पूर्वाधार विकास, जलस्रोत र जनशक्ति उपयोगका माध्यमबाट सुदूरपश्चिमलाई माथि उठाउन सकिन्छ ।

ठूलाठूला कुरा गरेर होइन, ससाना कामबाट उद्देश्य पूरा गर्नु छ । ‘पढाइ, कमाइ, दबाइ, पानी, खानी र जवानी’ को अवधारणामा अघि बढ्नुपर्छ ।

सुदूरपश्चिममा अहिले मेरो नेतृत्वको संयुक्त सरकार हो । न्यूनतम साझा कार्यक्रमका आधारमा हामी अघि बढ्छौं । प्रदेश गठबन्धनबाट साझा कार्यक्रम आउँछ । प्रदेशको विकासका लागि धेरै ठूला कुराभन्दा पनि माइक्रो लेभलका काम गर्नेतर्फ सोचिरहेका छौं । विकासका प्राथमिकता निर्धारण गरेर अघि बढ्छौं । शिक्षा प्राथमिक कुरा हो । यसका लागि प्रादेशिक शिक्षा नीति बनाउनु छ । सुधार पनि गर्नु छ । प्राविधिक शिक्षा, ज्ञान विज्ञान, व्यावहारिक शिक्षा र स्थानीय पाठ्यक्रम लागू गर्नुपर्नेछ ।

यहाँको इतिहासबारे पनि विद्यालय तहका बालबालिकालाई शिक्षा दिनुपर्छ । स्थानीय विषयमा पढाइ हुने गरी पाठ्यक्रम तयार गर्नु पनि आवश्यक छ । खासगरी सुदूरपश्चिमको इतिहास, संस्कृति एवम् पुरातत्त्वको महत्त्व, भूगोल, सामाजिक परिवेशसँगै क्रस बोर्डरको संस्कृति र सभ्यताबारे पनि शैक्षिक सामग्री तयार गर्न सके विद्यालय तहबाटै समग्र सुदूरपश्चिमबारे बुझ्न सकिने वातावरण तयार हुन सक्छ ।

व्यावहारिक शिक्षा तथा प्राविधिक शिक्षाको विकास र विस्तार आवश्यक छ । शिक्षा भन्नाले ज्ञान विज्ञानलाई प्राथमिकता दिनैपर्छ । योगको ज्ञानदेखि प्राकृतिक चिकित्सा अनि आधुनिक चिकित्सा प्रणालीको संयोजन गरेर अघि बढ्दै परम्परागत ज्ञानलाई व्यावहारिक शिक्षा पद्धतिमा ढालेर काम गरे रोजगारीका अवसर सिर्जना हुन सक्छन् । शैक्षिक जनशक्ति उत्पादन र निरक्षर तथा साक्षर मात्र जनशक्तिलाई सीपमूलक तालिम प्रदान गर्न ठोस योजनासाथ अघि बढ्न जरुरी छ । हाम्रो प्रदेशको आन्तरिक आय बढाएर स्वनिर्भर बनाउने चुनौती पनि छ । अहिले प्रदेशको आन्तरिक स्रोतको आय ३२ देखि ३६ करोड मात्रै छ । केन्द्रले तोकेका अन्य स्रोतबाहेक । अब कुन/कुन क्षेत्रमा स्रोत बढाउन सकिन्छ भन्नेबारे हाम्रो ध्यान जानुपर्छ । स्रोत तथा सम्भाव्यताका क्षेत्र नभएका होइनन्, दायरा खोज्न जरुरी छ । अहिले व्यक्ति मोटाएका छन्, राज्य रित्तो हुँदै छ । अब राज्यको कमाइ बढाउने योजनासाथ अघि बढ्नुपर्छ । हामीलाई पछाडि परिरहने छुट छैन । विकासको कुरा गर्दा क्षेत्रगत विकासको आवाज उठ्नुपर्छ । पर्यटन क्षेत्रको विकास हाम्रो विकास तथा समृद्धिको मुख्य आधार हो । हामी ‘देवउपवन’ मा छौं । सुदूरपश्चिम देवीदेवताको पावन भूमि हो । तर विडम्बना, हामी तीर्थाटनका लागि भारतका विभिन्न ठाउँ गइरहेका छौं । यसले हाम्रो पैसा बाहिर गइरहेको छ । पूर्वाधारको विकास गरेर प्राकृतिक र मौलिक सभ्यतासहितको पर्यटकीय गन्तव्य विस्तार गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने गरी पर्यटन क्षेत्रको विकासको आधार तयार गर्नेतर्फ प्रदेश सरकारका भावी कार्यक्रम तर्जुमा हुनु जरुरी छ ।

सुदूरपश्चिममा प्रकृति, संस्कृति र आध्यात्मिक पर्यटनको सम्भावना अथाह छ । यी क्षेत्रको यथोचित विकास तथा प्रवर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक थलोका रूपमा यसलाई चिनाउन सकिन्छ । प्रदेशको आफ्नै पर्यटन सर्किट विकास गर्न जरुरी छ । शुक्लाफाँटा, बर्दिया, खप्तड बडिमालिका, रामारोशन, अपी, सैपाल, रारा, जेठीबहुरानीलाई पर्यटन सर्किटका रूपमा विकास गर्नुपर्छ । मस्टा, केदार र सैनीलगायत १० वटा सर्किट बनाउनुपर्छ । जस्तो कि, प्राकृतिक रूपमा प्रदेशका महत्त्वपूर्ण पर्यटकीय गन्तव्य खप्तड र शुक्लाफाँटा तथा बर्दिया जोड्ने एउटा सर्किट हुन सक्छ । यसलाई विस्तार गरी बर्दियादेखि रारासम्म जोड्ने सर्किट सुदूरपश्चिमसँग जोडिन सक्छ ।

अहिलेसम्म हामी पर्यटन पर्यटनमात्र भनेर बस्यौं, कुनै ठोस काम नै अघि बढाएनौं । अब भने बाह््य तथा आन्तरिक पर्यटकीय गतिविधिमा उत्तिकै जोड दिन जरुरी छ । प्रदेश सरकार यसका लागि आवश्यक काम गर्न अग्रसर छ । सुदूरपश्चिम ऐतिहासिक तथा पुरातात्त्विक थलो हो । विभिन्न जातजातिको उद्गमस्थल पनि यही हो । विभिन्न ठाउँमा बसोबास भएकाहरूलाई उनीहरूको उद्गम थलोमा भ्रमण, अध्ययन अवलोकन गर्ने/गराउनेतर्फ पनि हामी योजना बनाउन सक्छौं । यसो गर्दा हाम्रै ठाउँको गतिविधिलाई बढावा दिन्छ । यहाँका विभिन्न ठाउँमा रहेका देवल, वास्तुकला, ऐतिहासिक मठमन्दिर तथा मूर्तिलगायत सम्पदाको संरक्षण गर्नु छ । डडेलधुराको अजयमेरुकोट होस् वा बैतडीको देवल हाटको पौराणिक एवम् ऐतिहासिक महत्त्वका धरोहरको संरक्षण गर्दै अघि बढ्नुपर्नेछ । सुदूरपश्चिमलाई पुरातत्त्व र परम्परागत कला एवं संस्कृतिको महत्त्वका गन्तव्यका रूपमा पहिचान स्थापित गर्नुपर्नेछ । परम्परागत कला र संस्कृतिको जगेर्ना पनि उत्तिकै महत्त्वपूर्ण छ । पर्यटन विकासका लागि निजी क्षेत्रलाई लाग्ने रोयल्टी छुटको व्यवस्थाको नीति ल्याएर लगानी आकर्षित गर्नुपर्छ । कृषि क्षेत्रको आधुनिक विकास हामी आत्मनिर्भर हुने अर्को मुख्य आधार हो । स्वरोजगारीको मुख्य क्षेत्र पनि कृषि नै हो । यस क्षेत्रमा प्रयोग हुने स्वदेशी जनशक्ति उत्पादन गर्नुपर्छ । अहिले त धेरैजसो भारतीय जनशक्ति यस क्षेत्रमा आबद्ध छन् । स्वदेशमै सीप विकास गराएर रोजगार सिर्जना गराउन सकिन्छ ।

सुदूरपश्चिमका तराईका जिल्लामा व्यावसायिक रूपमा उखु खेती हुन थालेको छ । कञ्चनपुरको दक्षिणी भेगमा दुइटा चिनी मिल स्थापना भएपछि किसान उखु खेतीमा आकर्षित छन् । तर विडम्बना, चिनी मिलका कामदार धेरैजसो भारतीय छन् । यहाँका किसानलाई पनि यसको सीप विकास गराउनु छ । विभिन्न कृषिसम्बन्धी र अन्य कलकारखानामा काम गर्न स्वदेशी जनशक्ति तयार गर्ने कार्यक्रम प्रदेश सरकारको वार्षिक योजनामा राखिनुपर्छ । कृषि क्षेत्रमा पनि ज्ञान, विज्ञान र प्रविधिको उपयोग गर्दै भारत र खाडी क्षेत्रमा जाने युवा जनशक्तिलाई स्वदेशमै काम सिर्जना हुने बाटो दिनुपर्छ । यसबाट मात्र अहिलेको बेरोजगारी समस्या समाधान गर्न सकिन्छ । राज्यको आय पनि बढाउन सकिन्छ ।

कृषिका लघु उद्योग सञ्चालन गर्नुपर्छ । उत्पादन र नेटवर्किङमा जोड दिनुपर्छ । ‘मेक इन सुदूरपश्चिम’को अवधारणामा जानुपर्छ । उत्पादनहरूको बजारीकरण सुनिश्चित गर्नुपर्छ । ‘श्रमिक बैंक’ स्थापना गर्नुपर्ने खाँचो पनि उत्तिकै छ । सुदूरमा उत्पादन हुने दलहन, फलफूल र मसलाजन्य वस्तु एवम् जडीबुटी प्रशोधन र ग्रेडिङ गरेर बजार विस्तार गर्न सकिने सम्भावना छ ।

प्रदेशको समग्र विकासका लागि रोजगारी, दस कक्षाभन्दा कम पढेकाका लागि पनि रोजगारी, सामाजिक न्याय, सुशासन, समयानुकूल नीति र योजना, पूर्वाधार विकास र भ्रष्टाचार नियन्त्रण— यति काम तदारुकतासाथ गर्न सके ‘काम गर्ने बढेनन्, खाने बढे’ भन्ने अवस्था अन्त्य हुनेछ । भ्रष्टाचार नियन्त्रण हाम्रो अर्को चुनौती हो । यसतर्फ ठोस कदम चाल्नैपर्छ । आर्थिक अनियमितताप्रति शून्य सहनशीलता अपनाइनेछ । अहिले त ‘योजना खाने’ प्रवृत्ति छ । त्यसलाई निर्ममतापूर्वक रोक्ने नै हो । हाम्रा योजना ‘डोनर गिभनभन्दा पनि मिसन गिभन’ भए विकासको लक्ष्य हासिल गर्न सकिन्छ । हामी विशाल छिमेकी देश भारत र चीनसँग जोडिएका छौं । हाम्रा लागि यो निकै महत्त्वपूर्ण अवसर हो । यसको सदुपयोग गर्नुपर्छ । सीमा क्षेत्रका समस्या पनि छन् । केन्द्र सरकारको नीतिगत मान्यताभित्र रहेर समस्या समाधान गर्न प्रदेश सरकारले पहल गर्छ ।

छिमेकी देशबीच विद्यमान सांस्कृतिक सम्बन्धहरूको सकारात्मक तवरले सदुपयोग गर्न सके लाभ नै हुनेछ । कूटनीतिक मर्यादा र परिधिभित्र रहेर छिमेकी देशका राज्यसँग मितेरी सम्बन्ध विस्तार गर्न सकिने ठाउँ छ । यसबाट हाम्रा आफ्ना प्राथमिकता पूरा गर्न सहयोगको आदानप्रदान गर्न सकिन्छ ।

पछिल्ला दिनमा प्रदेश सरकारप्रति वितृष्णा बढ्दै जानु हाम्रा लागि ठूलो चुनौती हो । यसो किन हुन गयो भन्ने प्रस्टै छ । त्यसतर्फ हामी समयमै संवेदनशील हुनैपर्छ । प्रतिशतमा योजना बेच्ने परिपाटीले नै प्रदेश संरचनाप्रति वितृष्णा पैदा गराएको हो । योजना खाने प्रवृत्ति, खुद्रे मसिना योजना निर्माण, प्रतिशत खाने, फजुल खर्च आदि हाम्रा कामकाजले सर्वसाधारणलाई प्रदेश चाहिन्न भन्ने भावना उब्जाएको हो । अब त्यस्ता काम पटक्कै हुने छैनन् । नतिजामुखी योजना निर्माण र बजेट विनियोजन गरेर अघि बढ्छौं । यसका लागि स्थानीय तहका प्राथमिकतामाथि टेक्छौं । अनि पछाडि परेका मानव विकासका सूचकलाई अगाडि ल्याउँछौं ।

प्रदेशमा विभिन्न क्षेत्रका यथार्थ सूचकको अवस्था पनि पहिचान गर्नु आवश्यक छ । ५० देखि एक सय वर्षसम्मको दूरदृष्टि राखेर योजना बनाउनुपर्नेछ । स्रोत मापन तथा पहिचान गर्नुपर्छ । हाम्रो प्रदेश पूर्वाधार विकासका अनेक आयाममा पनि साँच्चै पछाडि छ । अब दीर्घकालीन र अल्पकालीन पूर्वाधार विकासका योजना तय गर्नुपर्छ । केही ठूला योजना पनि सुरु गर्न ढिलाइ गर्नुहुन्न । सुक्खा बन्दरगाह र औद्योगिक क्षेत्र निर्माणमा जोड दिनुपर्छ । उद्योगहरूको स्थापनाबाट जनजीविकाका अवसर सिर्जना गर्न सकिन्छ ।

सुदूरपश्चिमको बहुमूल्य सम्पदा जडिबुटी पनि हो । यो सम्पदा दिनदिनै मासिँदै छ । अहिलेको अवस्थामा यसबाट प्राप्त हुने आम्दानी न्यून छ । जडिबुटीको संरक्षण गर्दै व्यावसायिकतातर्फ अघि बढ्न सकिन्छ । यसले हाम्रो आयस्तरलाई बढाउन सघाउँछ । यातायात पूर्वाधार विकासको मेरुदण्ड हो । यसको विकासमा ध्यान दिनु पनि उत्तिकै जरुरी छ । सडक यातायात विस्तारका साथै धनगढी विमानस्थलको स्तरोन्नति अनिवार्य बनेको छ । यसका लागि प्रदेश सरकारका तर्फबाट पहल गर्छौं । अन्तर्राष्ट्रिय उडानका क्रममा आपत्कालीन अवतरण गर्नुपरे पनि यहाँ त त्यो स्तरको विमानस्थल नै भएन । धनगढी एयरपोर्टको अहिलेको पूर्वाधारलाई अलिकति बढाउन सके त्यो समस्या समाधान हुन सक्छ । पहाडी जिल्लामा रहेका विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउने व्यवस्थाका लागि पनि पहल गर्नुपर्नेछ ।

स्वास्थ्य क्षेत्र सुधार सुदूरपश्चिमको अनिवार्य एवं प्राथमिकताको पाटो हो । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन नीतिगत एवम् पूर्वाधारमा सुधारको खाँचो छ । हरेक पालिकामा एक अस्पतालको अवधारणा कार्यान्वयन गर्नुपर्छ । सुदूरपश्चिम जलसम्पदामा धनी छ । वर्षौंदेखि कुरा चलिरहेको तर काम सुरु नभएको पश्चिम सेती र पञ्चेश्वर परियोजनाको कार्यान्वयन नै सुदूरपश्चिम विकासको मुख्य आधार हो । यसका लागि पनि भारतीय पक्षसँग हामी प्रदेश तहले पनि केही सहजीकरणको भूमिका खेल्न सक्छौं । प्रदेश सरकारले निर्माण गर्न सक्ने अन्य जलविद्युत् परियोजना पनि निर्माण हुनुपर्छ । यसका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सकिन्छ । सुदूरपश्चिमका विभिन्न जिल्लामा सयौं वर्षअघि विभिन्न खानी सञ्चालनमा थिए । अहिले लोप भए । बैतडीको डोगडाकेदारमा फस्फोरस छ भन्ने यसअघिकै अध्ययनले देखाइसकेको छ । तामा, फलामलगायतका खानी पनि यस प्रदेशमा सञ्चालनमा थिए । तिनको थप अध्ययन अनुसन्धान र उत्खनन जरुरी छ ।

प्रकाशित : माघ ९, २०७९ ०८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×