कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

‘नाम त मेरो दिलबहादुर हो’

१३ वर्षको अवधिमा नेपालमा धेरै परिवर्तन भएको छ । सन् २०११ मा हामीले लोडसेडिङको तालिका हेरेर बत्ती कुर्नुपर्थ्यो । अहिले २४ घण्टा नै विद्युत् आउँछ । त्यस्तै, अर्को परिवर्तन नेपालीको औसत आयु हो । दस वर्षअघि नेपालीको औसत आयु ६७ वर्ष थियो, अहिले बढेर ७१ पुगेको छ । 
म अझै केही शब्दमा अलमलिन्छु । जस्तै : पर्सि र फर्सीमा झुकिन्छु । जब पर्सिको विषयमा सोध्न चाहन्छु, फर्सी भन्न आउँछ । जसले गर्दा मलाई अलमल्याउँछ । 

काठमाडौँ — नेपाल र इजरायलबीच सन् १९६० को जुन १ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई मुलुकबीचको सम्बन्ध सुमधुर रहँदै आएको छ । नेपालीहरू इजरायलमा काम गर्न र पढ्न जान थालेका छन् भने इजरायलबाट भूकम्प र कोभिड महामारीका बेला नेपाललाई सहयोग पनि प्राप्त भएको छ ।

‘नाम त मेरो दिलबहादुर हो’

हाल नेपालका लागि इजरायली राजदूत हनान गोदर दुई देशबीचको सम्बन्ध थप सुदृढ पार्न क्रियाशील छन् । सन् २०११ देखि २०१४ सम्म नेपालमा पहिलो कार्यकाल राजदूत भएर आएका गोदरले २०२० मा दोस्रो पटक राजदूतको जिम्मेवारी सम्हालेका हुन् । नेपालमा लामो समय बिताएका राजदूत गोदरसँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं पहिलोपटक नेपाल कहिले आउनुभयो ?

म सन् २०११ मा पहिलोपटक नेपालमा आएको थिएँ । सन् २०११ को नेपाल र अहिलेको नेपालमा धेरै भिन्नता छ । यसबीचमा मैले धेरै भिन्नता देखें ।

नेपालमा कस्तो परिवर्तन देख्नुभयो ?

तपाईं नेपालमै भइरहेका कारण यहाँ भएका परिवर्तनबारे खासै थाहा पाउनुभएको छैन । तर म बाहिरबाट आएको हुनाले पहिलोपटक नेपाल आउँदा र अहिले धेरै फरक देखेको छु । केही परिवर्तन साना छन्, तर केही ठूला परिवर्तन भएका छन् । अहिले २४ घण्टा नै विद्युत् आउँछ । त्यसबेला हामीले लोडसेडिङको तालिका हेरेर कति बेला बत्ती आउँछ र जान्छ भनेर कुर्नुपर्थ्यो । तालिकामा १६ घण्टा लोडसेडिङका बारेमा कहिले बिहान त कहिले दिउँसो र बेलुकी बत्ती जाने सूची हेर्नुपर्थ्यो । त्यो अहिले सकिएको छ । अर्को परिवर्तन भनेको मानिसको औसत आयु हो । तपाईंले याद नगरेको हुन सक्छ । १० वर्षअघि नेपालीको औसत आयु ६७ वर्ष थियो, जुन अहिले बढेर ७१ पुगेको छ । एक दशकमै चार वर्ष औसत आयु उमेर बढेको छ । यो नाटकीय छ । म पछिल्लो पटक नेपालमा हुँदा साक्षरता ६६ प्रतिशत थियो । अहिले ८५ प्रतिशत पुगेको छ । यी नाटकीय परिवर्तन हो । अर्को उदाहरण, १२ वर्षअघि एलएलसी थियो । जसलाई हामीले आइरन गेट मान्थ्यौं । तर अहिले सबैले १२ कक्षा पढेका हुन्छन् । कलेजहरू धेरै छन् । ती कलेजमा ५० प्रतिशतभन्दा बढी छात्रा पढ्छन् । के तपाईंले त्यो याद गर्नुभएको छ ? एक दशकअघि नेपालमा त्यस्तो थिएन । म नेपालमा पछिल्लो एक दशकमा भएको परिवर्तनबारे धेरै उदाहरण दिन सक्छु ।


पहिलोपटक नेपाल आउँदाको अनुभव कस्तो रह्यो ?

बाहिरबाट पहिलोपटक नेपाल आउने सबै यहाँको सुन्दरता देखेर चकित हुन्छन् । नेपालको सुन्दरता, संस्कृति, परिवेशले गर्दा सबैलाई मोहित बनाउँछ । नेपाललाई बुझ्नका लागि केही समय लाग्छ । तर यहाँको विविधतालाई आकर्षित गर्छ र सबैलाई आनन्द दिन्छ ।

कामका सिलसिलमा धेरै नेपालीसँग भेटघाट गर्नुभयो । नेपालीहरू कस्तो पाउनुभयो ?

नेपालीहरू असाध्यै दयालु छन् । नम्र बोल्छन्, अतिथिलाई सत्कार गर्छन् । अरुलाई स्वागत गर्दा रमाउँछन् । बोल्न र व्याख्या गर्न चाहन्छन् । नेपालीहरू आफ्नो देश, संस्कृति, प्रकृति, भाषा, संगीतलगायतका विषयमा गर्व गर्छन् ।

नेपालको मौसम कस्तो लाग्यो ?

नेपालको हावापानी निकै आनन्दायी छ । वसन्त ऋतु उत्कृष्ट छ, शरद लोभलाग्दो छ । नेपालमा ७० मिटरदेखि ८ हजार ४ सय ४८.८६ मिटर उचाइका भूभाग छन् । यसको मतलब एकै समयमा कतै हिउँ र अत्यन्त गर्मी हुन्छ । त्यसैले नेपालको हावापानीबारेमा कुरा गर्न गाह्रो पनि छ । तर जलवायु परिवर्तनले केही भइरहेको छ तर त्यो के हुन्छ भन्ने थाहा हुन्न । म जलवायु परिवर्तनसम्बन्धी विज्ञ त होइन । तर हामीले यसबारेमा चिन्ता लिनुपर्छ । अनावृष्टि र अतिवृष्टि, डरलाग्दो हावाहुरी र तापक्रममा निकै उतारचढाव हुन थालेको छ । साथमा प्रदूषण बढेको छ । एक दशकअघि म काठमाडौं आउँदा आकाश खुला र रमाइलो देखिन्थ्यो । तर प्रदूषणका कारण अहिले खुलेको आकाश देख्न गाह्रो हुन थालेको छ । मैले प्लास्टिक बालेको पनि देखेको छु । त्यसले गर्दा श्वास फेर्ने हावामा समस्या हुन्छ । त्यसमा पनि बालबच्चाहरूलाई बढी असर गर्छ । प्यालस्टिक बाल्नु हुन्न । तपाईंले इजरायलमा हेर्नुभयो भने आकाश खुला हुन्छ ।

नेपाली खानाको स्वाद लिनुभएको छ ? मन पर्ने खाना कुन हो ?

पूर्व, पश्चिम, उत्तर र दक्षिण जता गए पनि दालभातले २४ सै घण्टाका लागि शक्ति दिन्छ । तर मलाई अलि बढी मसालेदार लाग्छ । मलाई नेपालका खानाहरू अलि बढी मसालेदार लाग्छन् । मःमचाहिँ ठीक लाग्छ । मःम धेरै स्वादिलो लाग्छ । तपाईंले मुस्ताङको आलु खानुभयो भने त्यो निकै स्वादिलो हुन्छ । सानो तर निकै स्वादिलो । खानापछि डिजटका रूपमा मलाई जेरी पनि मनपर्छ ।

नेपाली चाडपर्व मनाउनुभएको छ ? कुन चाड मन पर्‍यो ?

म नेपाली चाडपर्व मनाउँछु । केही दिनअघि मात्र म वर्षाका लागि प्रार्थना गर्न इन्द्रयात्रामा सहभागी भएको थिएँ । तपार्इंले इन्द्र भगवान्सँग राम्रो सम्बन्ध बनाउन चाहन्नुहुन्छ भने इन्द्रयात्रामा प्रार्थना गर्नुपर्छ । म इन्द्रदहमा पनि प्रार्थना गर्न गएको छु । रातो मच्छिन्द्रनाथको जात्रामा पनि गएको छु । त्यसका साथै म दसैं, तिहार र होलीलगायत सम्पूर्ण चाडपर्व मनाउँछु । नेपालमा ७३ दिन सार्वजनिक बिदा छ । म शिवरात्रिका दिन पशुपतिमा गएको छु । नेपालमा हरेक दिनजस्तो चाडपर्व हुन्छन् । मेरा लागि नेपालका हरेक चाडपर्व विशेष छन् । तर नेपालमा चाडपर्वका बिदाचाहिँ अलि बढी भएको जस्तो लाग्छ ।


तपाईंले नेपाली राष्ट्रिय गानलाई हिब्रु भाषामा अनुवाद गर्नुभएको छ । नेपाली कसरी बोल्न सिक्नुभयो र अनुवाद गर्ने चाहना कसरी आयो ?

म पहिलो कार्यकालका लागि २०११ मा नेपाल आउँदा भाषा शिक्षकबाट नेपाली सिकेको हुँ । उहाँको नाम गोपाल हो । उहाँको घर ललितपुरमा थियो । उहाँले मलाई नेपाली नाम पनि दिनुभयो । मेरो नेपाली नाम दिलबहादुर हो । तर म अझै नेपालीमा पूर्ण छैन, अझै पढिरहेकै छु । किनकि शब्दहरू केही प्रस्ट छैनन् । भोलिको अर्को दिनलाई पर्सि भनिन्छ र तरकारी खानेकुरालाई फर्सी भनिन्छ । पर्सि र फर्सीमा झुकिन्छु । म जब पर्सिको विषयमा सोध्न चाहन्छु, फर्सी भन्न आउँछ । जसले गर्दा मलाई अलमल्याउँछ । नेपाली राष्ट्रिय गान विशेष छ । मैले नेपाली राष्ट्रिय गानको रचना गर्ने व्यक्ति व्याकुल माइलालाई पनि भेटें । उहाँसँग राम्रो कुराकानी भयो र हिब्रु भाषामा अनुवाद गरियो । मेरो जानकारीमा आएअनुसार नेपाली राष्ट्रिय गान नेपाली, अंग्रेजी र हिब्रु भाषामा छ । मलाई अचम्म लाग्छ, नेपालीले नेपालको राष्ट्रिय गान पढेको पाइनँ । एक पटक

पढ्दा हुन्छ । पहिलो लाइनमै छ, ‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली... ।’ यसले ठूलो सन्देश दिन्छ । सय जाति–प्रजातिका व्यक्तिहरू एउटै मालामा बनेर मिलेर बसेका छन् । यसले संसारको १९३ मुलुकलाई पनि फरक–फरक भए पनि एकै स्थानमा मिलेर बस्नका लागि सन्देश दिन्छ । सबै मिलेर बस्नका लागि नेपालको राष्ट्रिय गानले प्रेरणा दिन्छ, त्यही भएर पनि मैले हिब्रुमा अनुवाद गरेको हुँ ।

मन पर्ने नेपाली गीत–संगीत कुन हो ?

मलाई एड्रियन प्रधानको ‘यो मन त मेरो नेपाली हो...’ बोलको गीत मन पर्छ । यो गीत अत्यन्तै उत्कृष्ट छ । यो विदेशमा बस्ने नेपालीका लागि राष्ट्रिय गानजस्तै बनेको छ । जब तपाईं बाहिर जानुहुन्छ, यो गीतले सधैं देशभक्तिको भावना उजागर गर्छ । यसका साथै मलाई नेपाली राष्ट्रिय गानसहित अन्य समकालीन गीतहरू मन पर्छन् ।

नेपाली साहित्यका विषयमा तपाईंलाई के थाहा छ ?

मैले बुझेसम्म नेपाली किताबहरू पढ्ने गरेको छु । साथमा अनुवाद गरेका पुस्तकहरू पढेको छु । मैले केही दिनअघि मात्र ‘हिटलर र यहुदी’ पुस्तक पढेको थिएँ । उक्त पुस्तक बीपी कोइरालाले लेखेका हुन् । यसमा यात्राको कथा छ । मुम्बईबाट पानीजहाजमा रोम पुगेको, बेलायत गएको लगायत स्थान घुमेको पढ्न सकिन्छ । यो कथा र डायरीको मिलन हो । मलाई पढ्दा मज्जा आयो र यो पुस्तक अरुलाई पनि पढ्न आग्रह गर्छु ।

तपाईंले नेपाली फिल्म हेर्नुभएको छ ?

केही नेपाली फिल्म हेरेको छु । उक्त क्षेत्रमा मेरा केही साथीहरू छन् । महापुरुष फिल्म हेरें । यो निकै उत्कृष्ट लाग्यो । सबटाइटलमा मैले त्यो फिल्म हेरें र मन छुने किसिमको लाग्यो ।

नेपालका कुन–कुन स्थान घुम्नुभएको छ र कुन स्थान मन पर्‍यो ?

मलाई ललितपुरमा रहेको कोन्ज्योसोम उत्कृष्ट स्थान लाग्यो । यो करिब २ हजार ८ सय मिटरको उचाइमा छ । त्यहाँबाट देखिने दृश्य निकै राम्रो छ । म काठमाडौं उपत्यकाको वरिपरि सबै क्षेत्रमा घुमेको छु । शिवपुरी, फुल्चोकी, साँखु, जामा चो, काष्ठमण्डप, भक्तपुर दरबारस्क्वायर क्षेत्र, पाटन दरबार क्षेत्रलगायत स्थानमा घुमेको छु । साथै, म लाङटाङ क्षेत्र घुमेको छु । यो धार्मिक क्षेत्र हो । त्यहाँ गोसाइँकुण्ड छ । म घुमेको अर्को धार्मिक स्थान मुक्तिनाथ हो । त्यो कालीगण्डकीको उद्गम स्थान हो । त्यहाँ म परिवारसहित गएको थिएँ । मुस्ताङबारे रोमाञ्चक कुरा के हो भने, त्यो अन्नपूर्ण हिमालको उत्तरतर्फ पर्छ, जस कारणले गर्दा त्यहाँ वर्षा हुन्न । म जनकपुर, झापा, इलाम, पोखरालगायतका स्थान पनि घुमेको छु । मलाई नेपालका विभिन्न स्थान घुम्दा मज्जा आउँछ । मलाई रारा जान मन लागेको छ । मलाई मन पर्ने स्थानको रूपमा भन्न सकिन्न, त्यो भन्न गाह्रो हुन्छ । त्यो भनेको तपाईंलाई गोलभेडा मन पर्छ कि खर्बुजा मन पर्छ भन्ने हो । कुनै दिन मलाई गोलभेडा मन पर्छ भने कुनै दिन खर्बुजा मन पर्छ ।


नेपालको कलासंस्कृति कस्तो लाग्छ ?

नेपालीले आफ्ना विषयमा खासै प्रशंसा गरेको पाइँदैन । तर नेपालमा धेरै महत्त्वपूर्ण कुरा छन् । यहाँको समाज, संस्कृति, कला, जनताको व्यवहार, राम्रो मौसम आदि नेपालका सम्पत्ति हुन् । नेपालीलाई म देशमै बसेर आफ्नो घरलाई सुन्दर बनाउन आग्रह गर्न चाहन्छु । धेरै नेपाली विदेशमा हुनुहुन्छ, आशा गर्छु उहाँहरू नेपालमा फर्कनुहुन्छ । आफैंले परिवर्तन गर्नुहोस् । अरूले तपाईंका लागि केही गरिदिन्न, आफ्ना लागि आफैंले गर्ने हो ।



प्रकाशित : जेष्ठ ५, २०८१ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×