कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

‘गाउँ–गाउँको नाच हेर्न र संगीत सुन्न मन पर्छ’

नेपाल–जापानबीचको सम्बन्ध बिनास्वार्थको छ भनिन्छ । जापानले नेपाललाई सहयोग गरिरहन्छ तर नेपालबाट जापानले असल मित्रका रूपमा बाहेक अन्य केही पनि अपेक्षा गरेको देखिन्न । दुई मुलुकबीच सन् १९५६ को सेप्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालले सन् १९६५ मा टोकियोमा दूतावास खोलेपछि त्यसको दुई वर्षपछि काठमाडौंमा जापानले पनि दूतावास खोलेको थियो ।

‘गाउँ–गाउँको नाच हेर्न र संगीत सुन्न मन पर्छ’

त्यसयता दुई मुलुकबीचको सम्बन्धमा दरार कहिल्यै आएको छैन । नेपाललाई सबैभन्दा बढी सहयोग गर्ने मुलुकको सूचीमै जापान पर्छ । नेपाललाई सहयोग र माया गर्ने उही मुलुक जापानका नेपालस्थित राजदूत युताका किकुतासँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं पहिलो पटक नेपाल कहिले आउनुभयो ? यहाँको भूगोल कस्तो पाउनुभयो ?

म सन् २००५ को मे महिनामा पहिलो पटक नेपाल आएको हुँ । त्यस बेला म टोकियोमा परराष्ट्र मन्त्रालयको निर्देशकका रूपमा औपचारिक कार्यक्रममा भाग लिन नेपाल आएको थिएँ । तर त्यस बेला म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) मा नेपाली खेलाडीसँग केन्दो (जापानी स्वोडर्सम्यानसिप) अभ्यास गर्न पुगेको थिएँ । दूतावास डाक्टरले पछि मलाई त्यसरी अभ्यास

नगर्नका लागि सल्लाह दिए । उनले उचाइमा अभ्यास गर्दा लेक लाग्न सक्ने जोखिम रहेको जानकारी दिए । काठमाडौं कति उचाइमा अवस्थित रहेछ भन्ने त्यसपछि मैले थाहा पाएँ । हवाईजहाजबाट आउँदा सुन्दर हिमालयहरू देखें । तर एक पटक काठमाडौं उपत्यकामा अवतरण भइसकेपछि कुहिरो र धूवाँका कारण हिमाल देख्न सकिनँ । मैले पहिले देखेको भन्दा ठीकविपरीत नेपालमा वायु प्रदूषण एउटा गम्भीर समस्या भएको पाएँ । हिमाल, खोला र जंगलको दृश्यले मेरो गृहनगर जापानको फुकुसिमा जस्तो छ । तर जतिबेला सुन्दर नीलो ज्याकारान्डा फुलेको हुन्छ, त्यो काठमाडौंको विशेषता हो ।

तपाईंले आफ्नो दैनिक कामका सिलसिलामा नेपालीसँग भेटवार्ता गर्नुहुन्छ । कस्ता पाउनुभयो त ?

नेपालीहरू भद्र र मिलनसार छन् । नेपालमा जापानी राजदूत हुन पाउँदा म भाग्यमानी छु । दूतावासमा कार्यरत राष्ट्रिय कर्मचारीहरूलगायत धेरै राम्रो जापानी बोल्ने नेपाली भेट्दा प्रभावित हुन्छु । सामान्य रूपमा नेपाली जनतामा मेरो धारणा के हो भने उनीहरूमा धेरै समानता छ तर फरक संस्थाहरू छन् । उनीहरू आफ्नै नेटवर्कमा काम गरिरहेका हुन्छन् र एकताबद्ध छैनन् । यो देशको विविधताको कारणले गर्दा हुन सक्छ ।

नेपालको हावापानी (मौसम) कस्तो पाउनुभयो ?

काठमाडौंको मौसम एकदमै सहज छ । विदेशी पर्यटकका लागि गर्मीयाममा लामो वर्षा र जाडोमा कुहिरो लाग्ने भएकाले नेपाल भ्रमणका लागि सीमित अवधि हुन्छ । जापानी पर्यटकले चाडपर्वको मौसमको शरद ऋतुमा वा वसन्त ऋतुको फूल फुल्ने समयलाई ध्यानमा राखेर आफ्नो यात्राको कार्यक्रम सोचविचार गरी तय गर्नुपर्छ ।

नेपाली खानाको स्वाद लिनुभएको छ ? तपाईंलाई मन पर्ने खाना कुन हो ?

यहाँ पाइने हलुवावेद, कटुस, र्‍याम्बो ट्राउड र स्ट्रबेरी असाध्यै मन पर्छ । यी खानेकुरा जापानका उत्पादन भए पनि दुवै देशका जनताको बलियो सम्बन्धका कारण नेपालमा ल्याइएको हो । त्यसैले मलाई स्वाभाविक रूपमा ती खानेकुराका साथसाथै नेपाली खाना मन पर्छ । दालभात, मःम र चाउमिनजस्ता नेपाली खाना मन पर्छ । त्यसका अतिरिक्त नेपाली खाना भन्न मिल्छ कि मिल्दैन थाहा छैन, तर मलाई तिब्बती ग्याकोक र नेवारी परिकार असाध्यै मन पर्छ । मलाई योमरीको आकार र त्यसको स्वाद पनि मन पर्छ । जुजु धौको स्वाद उत्कृष्ट लाग्छ ।

तपाईंलाई नेपाली भेषभूषा र यहाँको चालचलन कस्तो लाग्यो ?

मैले नेपाली र जापानी भेषभूषा र चालचलनमा धेरै समानता पाएको छु । ज्येष्ठ नागरिकको सम्मान, पाहुनाको आतिथ्य, पारिवारिक मूल्यमान्यता, विनम्र स्वभाव, मौसमी चाडपर्वलगायत प्रकृतिको आशीर्वादलाई धन्यवाद दिने केही मान्यता समान छन् । मलाई नेपालीले नमस्ते भनिरहँदा आफ्नो हातमा हात जोडेको हेर्न असाध्यै मन लाग्छ । नेपालीजस्तै चाहिँ होइन, तर हामी जापानी पनि मन्दिर र तीर्थस्थलमा पूजा आराधना गर्दा हातमा हात जोड्छौं ।

नेपाली चाडपर्व तपाईंलाई कस्तो लाग्छ ? यहाँका चाडपर्व मनाउनुभएको छ ?

जापानी सिन्टो (धर्म) एक प्रकारको समानिज्म (रीतिरिवाज) हो, जसमा प्रकृतिको पूजा गरिन्छ । हामी जापानी प्रकृतिलाई जित्न खोज्दैनौं र एकआपसमा मिलेर बस्न चाहन्छौं । हामीसँग सूर्य, वर्षा, हावा, गर्जनलगायत सबै कुराको भगवान् छन् । हामी रूख, चट्टान, पहाड तथा कुनै पनि प्राकृतिक तत्त्वलाई दिव्य रूपमा पुज्छौं । यस अर्थमा मैले नेपालको चाडपर्वसँग धेरै समानता पाउन सक्छु । बौद्ध मन्दिरहरूमा अवस्थित इतिहासको झल्को दिने प्यागोडा शैली जापानको जस्तै देख्छु । दुई मुलुका चाडपर्वमा बज्ने संगीत पनि उस्तै सुनिन्छन् । मेरो विचारमा जापानी र नेपालीबीच धेरै समान आध्यात्मिक मूल्यमान्यता छन् । मलाई शरद ऋतुमा जापानी चाडपर्व राम्रो लाग्छ, जुन राम्रो अन्नबाली भित्र्याएको उत्साहमा परिवारसँग मनाउन मन पर्छ । त्यस अर्थमा मलाई नेपालमा दसैं मन पर्छ । म नयाँदिल्लीमा उपनियोग प्रमुखका रूपमा बसेको हुनाले होली र दीपावलीजस्ता हिन्दु चाडपर्वसँग पनि परिचित छु ।

के तपाईंलाई नेपाली भाषा बोल्न आउँछ ? नेपालमा कतिवटा भाषा छन् भन्ने तपाईलाई थाहा छ ?

सामान्य नेपाली मात्र बोल्न आउँछ । म भारतमा पोस्टिङ हुँदा भविष्यमा नेपालमा काम गर्न पठाइन्छ भन्ने थाहा हुन्थ्यो भने देवनागरी अक्षर अझ गम्भीरताका साथ सिक्नु पर्थ्यो । शब्द प्रयोग र धेरै व्याकरणलाई हेर्दा देवनागरी जापानी भाषाजस्तै हो । नेपालीहरू बोल्दा र लेख्दा उनीहरूको दिमागले कसरी काम गरिरहेको छ भन्ने केही हदसम्म म बुझ्छु । सन् २०११ को जनगणनाअनुसार नेपालमा १ सय २३ भाषा थिए भन्ने मलाई थाहा छ । तर, संख्या घट्दै गएको छ, धेरै लोप हुने खतरामा छन् । नेपाली जनताले समाजको आधुनिकीकरण र परम्परागत संस्कृतिको संरक्षणका बीचमा कठिन सन्तुलन कायम गर्नुपर्ने हुन्छ ।

नेपाली गीत कत्तिको सुन्नुहुन्छ ? तपाईंलाई मन पर्ने कुनै नेपाली गीत ?

म मनैबाट ‘सयौं थुंगा फूलका हामी...’ गाउन सक्छु । नेपालको यो राष्ट्रिय गानले देशको विविधतालाई राम्रोसँग प्रतिनिधित्व गर्छ । गत वर्ष नेपथ्यले सफल जापान भ्रमण गरेको थियो । त्यसबेला जापानमा नेपालीहरूको उपस्थिति बढ्दै गएको देखें । यहाँ नेपालीहरू जम्मा भएर, गीत गाएर, नाचगान गर्दै कन्सर्ट हलमा नेपालको राष्ट्रिय झन्डा फहराएका थिए । त्यो देखेर म खुसी भएँ ।

तपाईंलाई नेपाली साहित्यका बारेमा थाहा छ ?

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य र महाकवि लक्ष्मीप्रसाद देवकोटाजस्ता चर्चित नाम मलाई थाहा छ । तर, विदेशी भएर उनीहरूको नेपाली भाषाका रचना पढ्न सम्भव छैन । मैले जापानका लागि पूर्वनेपाली राजदूत महामहिम प्रतिभा राणाको अंग्रेजी संस्करणको ‘कर्टेन अफ माया’ कविता संग्रह पढ्दा म आश्चर्यचकित भएँ । उहाँ राजनीतिज्ञ वा कूटनीतिज्ञ मात्र नभई एउटा सच्चा मान्छे हुनुहुन्छ, जसले आफ्नो भित्री मनदेखि देशलाई माया गर्छ र देशका लागि इमानदारीपूर्वक सोच्छ । भानुभक्त आचार्यको सन्दर्भमा कुरा गर्दा के तपाईंलाई थाहा छ, जापानमा रामायणसँग मिल्दोजुल्दो लोककथा छ । कथामा अभिनेता बाँदर र अन्य जनावरका साथमा राक्षसहरूसँग युद्ध गर्न टापुमा पुग्छन् ।

नेपाली फिल्म हेर्नु भएको छ ?

मलाई सन् २००५ को आसपासको नेपालको अवस्था थाहा छ । मैले कालो पोथी भारी हृदयले हेरेको थिएँ । जसमा जाति व्यवस्था र विद्रोहको विचार थियो । हालका चलचित्रहरूमध्ये ‘हल्कारा’को कथा मनछुने खालको लाग्यो । जसले मलाई प्रवासी कामदार पलायनको सम्झना गरायो । जापानी र अन्य चलचित्र निर्माताहरूले बनाएका राम्रा चलचित्र नेपालमा छायांकन भएका छन् । जापानको राजदूतको हैसियतमा मैले सन् २०१५ को गोरखा भूकम्पमा जापानको उद्धार टोलीलाई चित्रण गर्ने माई लभ (प्रमिस फर काठमान्डु) उल्लेख गर्नुपर्छ । मलाई गत वर्ष प्रदर्शन गरिएको इटालियन चलचित्र ‘द एइट माउन्टेन्स’ पनि मन पर्छ । जसमा सुमेरु र अन्य आठ हिमालको अवधारणाले महत्त्वपूर्ण भूमिका खेल्छ ।

तपाईं नेपालका कति स्थानमा घुम्नु भएको छ र मन पर्ने गन्तव्य कुन हो ?

इलामको बगैंचा निकै सुन्दर लाग्छ । पोखराको सराङकोटमा जाँदा मैले अहिलेका जापानी सम्राट्लाई सम्झिएँ । उहाँ युवराज हुँदा यो स्थान घुम्नु भएको थियो, जुन बेला उहाँले फिस्टेल हिमाल र गाउँका महिलाको फोटो लिनुभएको थियो । सन् २००५ मा मलाई काठमा कुँदिएको बुद्धको मुराल दिइएको थियो । गत वर्ष लुम्बिनी गएर उहाँको जन्मस्थलमा उभिएर म १८ वर्षपछि यहाँ आएको हुँ भनेर मनमनै सम्झिएँ ।

अन्त्यमा, नेपाली कथा र संस्कृतिका बारेमा तपाईंको धारणा के छ ?

आकर्षक देखिने रेस्टुरेन्ट र होटलहरूमा विदेशी पर्यटकलाई देखाइने व्यापारिक नृत्यभन्दा मलाई चाडपर्वहरूमा स्थानीय मानिसले देखाउने नाच र संगीत हेर्न मन पर्छ । भक्तपुरमा रहेको मयूर झ्याल र अन्य काठमा कुँदिएका मुराल मनोरम छन् । मिथिला चित्रहरू राम्रा छन् । शब्दको कलात्मक अर्थ थाहा नभए पनि के तपाईंलाई जापानको मार्सल आर्ट्स क्षेत्रका बारेमा जानकारी छ ? अविरल घिमिरे नामका एक बलियो नेपाली किकबक्सर हुनुहुन्छ ।

तर, दुर्भाग्यवश उहाँको रिङ (कुस्ती खेल्ने स्थान) को नाम अविरल हिमालयन चिता हो । तर, मलाई लाग्दैन कि नेपालमा चिता छ । मलाई लाग्छ, जापानी मानिस हिउँ चितुवाभन्दा चिता बढी चिन्छन् । सायद घिमिरेको शरीर अग्लो र पातलो छ, जुन हिउँ चितुवाजस्तो मोटो र भद्दा होइन । जेहोस् घिमिरेले एक बलियो जापानी बक्सरलाई हराएको देख्दा मलाई राम्रो लाग्छ ।

प्रकाशित : माघ १३, २०८० ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×