कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

तिम्ल्याहा एकै परीक्षा केन्द्रबाट एसईई दिँदै

विनोद भण्डारी

विराटनगर — जारी एसईईमा विराटनगरको एक केन्द्रबाट तिम्ल्याहाले परीक्षा दिइरहेका छन् । यहाँको सत्यनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट तिम्ल्याहा मधुसूदन, शशि र माधव कर्णले एसईई दिइरहेका हुन् । शशी छोरी हुन् ।

तिम्ल्याहा एकै परीक्षा केन्द्रबाट एसईई दिँदै

बालविकास केन्द्रदेखि कक्षा ५ सम्म विराटनगरको शंकरपुर आधारभूत विद्यालय र ६ देखि आदर्श माध्यमिक विद्यालयमा पढेका उनीहरू त्यहींबाट एसईईमा सहभागी भएका हुन् । मधुसूदनको सिम्बल नम्बर ००९००६८८ भी, शशीको ००९००८३० एच र माधवको ००९००६८६ टी हो ।

उनीहरूकी आमा ममता कर्णका अनुसार तिम्ल्याहामध्ये मधुसूदन जेठा हुन् । २०६५ सालमा स्थानीय कोशी अस्पतालमा सामान्य अवस्थामा मधुसूदन जन्मेको ६ घण्टापछि शशी र त्यसको आधा घण्टापछि माधव जन्मिएका थिए । तिम्ल्याहाअघि ममताका दुई छोरी जन्मिएका थिए । पाँचै जनाले सामुदायिक विद्यालयमा पढेका हुन् । उनीहरूमध्ये जेठी छोरी इसा स्थानीय सिटी कलेजमा बीएड र माइली मुस्कान बीबीएस अध्ययनरत छन् ।

आदर्श माविका प्रधानाध्यापक सन्तोष पोखरेलले तीनै जना अनुशासित र पढाइमा तीक्ष्ण रहेको बताए । तीनै जनाले भविष्यमा शिक्षक बन्ने लक्ष्य रहेको सुनाए । ‘ऋण गरेर रोजगारीका लागि खाडी मुलुक जान त सकिन्छ । तर, हामी तीनै जना यहीं बसेर शिक्षण पेसा गर्ने लक्ष्य राखेका छौं,’ माधवले भने । यस विद्यालयबाट साधारण र खुलातर्फ गरेर यसपालि ४ सय २ जना विद्यार्थीले एसईई दिइरहेका छन् ।

प्रकाशित : चैत्र १८, २०८० १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×