कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अब त्रिविको प्रमाणपत्र अनलाइनबाट

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले सोमबारदेखि शैक्षिक प्रमाणपत्र अनलाइनबाटै उपलब्ध गराउन थालेको छ । निमित्त उपकुलपति शिवलाल भुसालले अनलाइन सेवाको प्रारम्भ गरे । कार्यालयले उपलब्ध गराउने ट्रान्सकृप्ट, प्रोभिजनल, मुल प्रमाणपत्र, पुनर्योग र त्रुटी सुधारका लागि अनलाइनबाटै आवेदन दिन सकिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनाए ।

अब त्रिविको प्रमाणपत्र अनलाइनबाट

‘टियुएक्जाम डट इडियु डट एपी’ मा लगइन गरी प्राप्त निर्देशन अनुसार विद्यार्थीले आवेदन दिनसक्ने कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विवरण र प्रमाणहरु पेश गरेपछि अनलाइन बैंकिङबाटै प्रमाणपत्र बापत लाग्ने शुल्क समेत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । अनलाईन फाराम २४ सैं घण्टा उपलब्ध हुने व्यवस्था गरिएको जोशीले बताए ।

‘अनलाइन आवेदनको रुजु कार्यालय समय भित्र कर्मचारीले गरि ठिक भए ठिक छ र नभएको खण्डमा निर्देशन सहित आवेदकलाई जनकारी पठाइन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आवेदकले निर्देशन बमोजिम विवरण पेश खण्डमा पुनः प्रक्रियामा संलग्न हुन्छ ।’

कुनै विवरण सच्याउन पर्ने भए समेत त्यसको जानकारी आवेदकलाई पठाउने व्यवस्था गरिएको छ । आवेदकले पाउने सेवाको प्रत्येक चरणको जानकारी समेत दिने व्यवस्था गरिएको जोशीले बताए । विद्यार्थीको प्रमाणपत्र तयार भएपछि तोकिएको स्थानबाट संकलन गर्न समेत सुचना प्रवाह हुने कार्यालयले जनाएको छ ।

केन्द्रीय कार्यालय र क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालयहरुबाट समेत प्रमाणपत्र संकलन गर्न सक्ने जनाइएको छ । आवदेकले अनलाइन फाराम भरेको एकसाता भित्र प्रमाणपत्र उपलब्ध गराइसक्ने प्रतिवद्दता समेत परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसअघि ७७ जिल्लाका विद्यार्थी शैक्षिक तह उत्तिर्ण गरेपछि प्रमाणपत्र लिन केन्द्रीय कार्यालय नै धाउनु पर्ने बाध्यता थियो । भने प्रमाणपत्र प्राप्त गर्न ७ देखि १५ दिन भन्दा बढि लाग्ने गरेको गुनासो थियो ।

केहि समयका लागि अनलाईन र अफलाइन दुवै सेवाबाट शैक्षिक प्रमाणपत्र वितरणको काम हुने विज्ञप्तिमा उल्लेख छ । पूर्ण अनलाईन सेवा सञ्चालन पुनः सुचना प्रकाशित गरि जानकारी दिने जोशीले जनाए । निकट भविष्यमा विद्यार्थीले अध्ययन गरेकै क्याम्पसमा अनलाईन आवेदनको आधारमा प्रमाणपत्र उपलब्ध गराइने प्रतिवद्दता समेत कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयको ढिलाई प्रति त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियनले चरणबद्ध आन्दोलन गर्दै आएको थियो ।

विद्यार्थीले दैनिक कार्यालयमा धर्ना दिन थालेपछि अनलाइन सेवा सुरु गर्ने प्रतिवद्दता घोषणा गरेको थियो । परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समेत कार्यालयले ढिलाई गर्दै आएको छ । परीक्षा सकिएको १८ महिनापछि मात्र विद्यार्थीले नतिजा प्राप्त गरेका थिए । सम्झौता भन्दा पनि कार्यान्वयनको माग राख्दै आन्दोलन गरेपछि कार्यालयले अनलाईन सेवा सुरु गर्ने घोषणा गरेको स्ववियु सभापति श्यामराज ओझाले जनाए ।

प्रकाशित : माघ १६, २०८० ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×