कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलामा सिर्जनशीलता

काठमाडौंमा आयोजित दुईदिने ‘क्रिएटर्स मेला’ मा सहभागी युवायुवतीले बनाएका विभिन्न सिर्जनात्मक सामग्रीको प्रदर्शन
मधु शाही

काठमाडौँ — टेबलमा स्मार्ट फोन छ । त्यही छेउमा क्यानभास, पेन्सिल, रंग र ब्रसहरू छरिएका छन् । २३ वर्षीया फुर्वा गुरुङका साथी लगभग यिनै हुन् । आइटी कम्पनीमा काम गर्ने उनी अफिस सकिएपछि पनि फुर्सदमा हुँदैनन् । यिनै सामग्री चलाएर हरेक दिन मान्छेका पोट्रेट कोर्छन् ।

मेलामा सिर्जनशीलता

उनको यो क्रिएसनलाई अझै सजिलो र व्यापक बजारीकरण गर्न डिजिटल मिडियमले साथ दिएको छ । स्मार्ट फोनमा अडर गरिएका मान्छेको आकृति हेर्दै स्केच बनाउँछन् । दुई घण्टामै ५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँ पर्ने स्केच कोर्न भ्याउँछन् ।

गुरुङले यो सीप शुक्रबार र शनिबार काठमाडौंमा चलेको ‘क्रिएटर्स मेला’ मा देखाएर सबैलाई प्रभाव पारे । सोच सिर्जनात्मक भए प्रविधिले त्यसलाई व्यापक बनाउन मद्दत गर्छ भन्ने उनलाई लाग्छ । सानैदेखि स्केच गर्न रुचाउने उनले यसैलाई प्रविधिको माध्यमबाट व्यावसायिक बनाउन सक्षम भएका छन् । उनी भन्छन्, ‘काम यति धेरै आउँछ, कहिलेकाहीं अफिस बिदा लिएरै भए नि अडर पूरा गर्नुपर्छ ।’ अमेरिकी दूतावासले शुक्रबार र शनिबार दुईदिने ‘क्रिएर्टस मेला’ आयोजना गरेको थियो । मेलामा युवाहरूले सिर्जना गरेका काम प्रस्तुत गरे ।

तस्बिरहरू : केशव थापा/कान्तिपुर

यति मात्रै नभई मेलामा आ–आफ्नो क्षेत्रमा सफलता हासिल गरेका मिडिया पर्सनालिटीको भोगाइ, संघर्ष र सिकाइ यात्राको स्टोरी अनुभव प्रस्तुत गरियो । मेलामा स्केच बनाउने फुर्वा जस्तै अर्का क्रिएटिभ युवा थिए, हिपहप ग्रुप । हिपहप फाउन्डेसनका यी तन्नेरीको स्टेलमा जोकोही आउँथे, एक दुई स्टेप हिपहप नाचेर जान्थे । डेढ दशकअघि संगठित भएको फाउन्डेसनमा सबै युवा छन् । उनीहरू केबल मनोरञ्जनका लागि मात्रै नाच्दैनन् ।

शिक्षा, स्वास्थ्य, हिंसाविरुद्धका जनचेतना जगाउने समुदायस्तरका सेवामूलक काम पनि गर्दै आएका छन् । हिपहप बिग्रिएका केटाकेटी नाच्ने गीत भनेर कुनै समय आलोचना गर्ने सोच फेर्न फाउन्डेसनले समाजसेवा गर्दै आएको ३० वर्षीया जेनिसा महर्जनले बताइन् । युवाले केही इनोभेसन गर्दा परिवारमा झट्टै विश्वास गरिहाल्दैनन् । नियत सफा र स्पष्ट लक्ष्य हुने हो भने बिस्तारै सबैको मन जित्न सकिने जेनिसाको अनुभव छ । ‘छोरी हिपहप नाच्न थालेर बिग्री भन्थे घरमा,’ उनले आफ्नो विगत सम्झिइन्, ‘अचेल छोरीले नयाँ कुरा सिकेकी रहिछ भन्दै मख्ख पर्छन् सबै ।’ उनी र उनको फाउन्डेसनले देशदेखि विदेशसम्मको यात्रा तय गरिसकेको छ ।

त्यस्तै, अर्को क्रिएटिभ युवा हुन्, २७ वर्षीया श्रुषा श्रेष्ठ । जस्तोसुकै मुहारमा सुन्दरता भर्न सक्ने खुबी छ उनमा । चित्रकारले क्यानभास रंगाएझैं, मेकअप आर्टिस्ट श्रुषा युवतीको मुहार चम्काउँछिन् । मेकअपको दुनियाँ बुझिनसक्नु छ । कहाँबाट सुरु भएर कहाँसम्म पुग्छ, भन्न सक्दिनन् उनी । पुस्ताको परिवर्तनसँगै मेकअप शैली रूपान्तरण छ । प्रविधिको विकासले झनै अवसर र चुनौती थपिएको छ ।

श्रुषाका अनुसार विगतमा मेकअप गर्नु भनेको भएभरिको सौन्दर्य सामग्री मुहारमा थोर्पनु बुझिन्थ्यो । अहिले त्यस्तो छैन । ‘अचेलका युवती ‘लेस इज मोर’ को अभ्यास गर्न चाहन्छन्,’ उनी भन्छिन्, ‘जति कम सौन्दर्य सामग्रीको प्रयोगले नेचुरल देखिन सकिन्छ, त्यति राम्रो मेकअप आर्टिस्ट कहलिन्छ ।’ मेकअप र सौन्दर्य क्षेत्रको व्यवसायीकरणसँगै चेतनास्तरमा पनि परिवर्तन आएको उनको भनाइ छ । सौन्दर्य बाहिरी आवरणमा मात्रै नभई स्वास्थ्यको भावले हेर्ने चेतनाको विकास हुँदै छ । उनी भन्छिन्, ‘हेल्दी र ब्युटी दुवै जरुरी छ ।’

त्यस्तै, क्रिएटिभ मेलामा विभिन्न युवाले जे बुझेका छन् र जानेका छन् तिनै सामग्री बनाएर प्रदर्शनमा राखिएको थियो । इम्प्याक्ट हब संस्थाले युवाको सिर्जनात्मक क्षमताको पहिचान गरी उनीहरूले सिर्जना गरेका सामग्री प्रदर्शनमा राखिएको हो । पछिल्लो समय युवाको क्रिएटिभिटी बढाउन मोटिभेसन गर्दै हिँडेका ‘लिड नेपाल इन्स’ का प्रमुख अनिल केशरी शाहले युवालाई डिजिटल दुनियाँमा नेतृत्व विकास कसरी गर्ने ? विषयमा प्रस्तुति दिएका थिए । त्यस्तै, मिडियाकर्मी सञ्जय शिलवाल गुप्ता, कलाकार समृद्धि राई, पूर्वमिस नेपाल इभा मानन्धर, कलाकार शुभेच्छा खड्कालगायत विभिन्न क्षेत्रमा आबद्ध युवाको भोगाइ र अनुभव प्रस्तुत गरेका थिए ।

अमेरिकी दूतावासले युथ इन्स्पायर गर्ने उद्देश्यले पहिलो पटक मेला आयोजना गरेको हो । डिजिटल मिडिया उत्पादन, सामाजिक सञ्जाल प्रभावकर्ता र उपभोक्ताको दुईदिने मेलामा धेरै युवाले सिक्ने र सिकाउने अवसर पाए । अमेरिकी दूतावासका पब्लिक अफेयर्स अफिसर ग्यारेट विल्करसनले नेपाली युवाले पछिल्लो समय डिजिटल प्लेटफर्ममार्फत सिर्जना उजागर गर्नुका साथै व्यावसायिक बनेको बताए ।

प्रकाशित : असार ३, २०८० ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?