भरतपुरमा भ्रष्टाचारविरुद्ध कार्टुन र कविता

रमेशकुमार पौडेल

चितवन — भ्रष्टाचारका समाचारहरू छताछुल्ल भएको र सरकार पनि कारबाहीमा जुट्न थालेका बेला भरतपुरमा चित्रकार र साहित्यकार पनि सडकमा उत्रिएका छन् । चौबिसकोठीमा बिहीबार कविले कविता सुनाए । चित्रकारले कार्टुन देखाए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ व्यक्तिहरूको नाम मुछिनुका साथै पक्राउ पनि पर्न सुरु भएको हुँदा यो प्रकरणमा दोषीलाई कारबाही हुनुपर्ने सर्जकहरूको माग छ ।

चितवनका चिनिएका कवि राजेन्द्र ‘घायल’ले आफ्नो रचना सुनाउँदा तालीको गड्गडाहटसँगै समर्थन गर्नेहरू प्रशस्तै थिए । उमेरले पाका कवि गोविन्दराज विनोदीले ‘आगो निभ्नु हुँदैन’ भन्दै जोसिलो कविता सुनाए ।


झन् अनीति बढ्यो, अत्याचारको शृङ्खला बढ्यो ।
भ्रष्टाचार बनी, तीखो शूल यो मुटुमा गढ्यो ।

विनोदीका कविताले यो शूल निकाल्ने सही बेला आएको र यो बेला शूल ननिकाले देश झनै मारमा पर्ने सन्देश दिएको थियो । चितवनका चित्रकार प्रकाश थापा ‘ट्रेलर’ र ‘फिलिम’ शीर्षकमा कोरेका ६ थान कार्टुन बोकेर कार्यक्रमस्थलमा पुगेका थिए । कार्यक्रममा ३३ जना स्रष्टाले आफ्ना रचनाहरू सुनाएको कार्यक्रमको संयोजन गरेका साहित्यकार भुपीन खड्काले जानकारी दिए ।

प्रकाशित : वैशाख २८, २०८० १९:३८
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश सरकार नरहे यो व्यवस्था पनि रहँदैन : मुख्यमन्त्री जम्कट्टेल

कृष्ण थापा

नुवाकोट — वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीयताको पक्षमा बोल्न र लड्न पर्ने प्रदेश सरकार भएको बताएका छन् । ‘अब यो संघीयताको पक्षमा बोल्न पर्ने र लड्न पर्ने प्रदेश सरकार भएको छ,’ उनले भने, ‘संघीयता नमान्ने पक्ष पनि छन्, संविधान र यो व्यवस्था नमान्नेहरु पनि छन् । कतिपय जनअपेक्षाअनुसार काम गर्न नसक्दा पनि ती प्रश्नहरु उठिराखेका छन् ।’

प्रेस सेन्टर नुवाकोटले बिहीबार गरेको प्रेस मिटमा मुख्यमन्त्री जम्कट्टेलले भने, ‘प्रदेश सरकार नरहने हो भने यो संघीयता नै रहँदैन, यो व्यवस्था रहँदैन ।’ उनले स्थानीय तह पनि अहिले रुपमा नरहने दाबी गरे । अहिले स्थानीय र संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढिरहेको उनले बताए । मुख्यमन्त्री जम्कट्टेलले भने, ‘अहिले प्रधानमन्त्री पुष्पकमल दाहालले महत्वपूर्ण निर्णयहरु, प्रदेशसँग समन्वय र सम्बन्धहरु भैराखेको छ ।’

प्रदेश सरकार शिक्षा र स्वास्थ्यमा केन्द्रित रहेको उनको भनाइ छ । कृषि क्षेत्रको लगानी बढाउन र रोजगारी दिन प्रदेश सरकारले व्यक्तिलाई अनुदान नदिने, कागजी फर्महरुलाई अनुदान रोक्ने उनले बताए । रासायनिक मलको लागि आफू मुख्यमन्त्री भएपछि कोटा बढाएको र जिटुजी मोडलबाट जान खोजिएको उनले बताए ।

नुवाकोटको शिखरबेसीको समुद्रफिनी धानलाई स्थानीय तहबाट प्रस्ताव आएमा प्रदेश सरकारले हेर्ने बताए ।

प्रकाशित : वैशाख २८, २०८० १९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×