तस्बिरमा बुद्ध सम्पदा

कान्तिपुर संवाददाता

कपिलवस्तु — बुद्धस्थलको पर्यटन प्रवर्द्धन गर्न प्राचीन दरबार परिसर तिलौराकोटमा ‘सम्पदामा तस्बिर’ प्रदर्शनी गरिएको छ । बुद्ध जयन्तीका उपलक्ष्यमा पुरातात्त्विक स्थल, भग्नावशेषको उत्खनन र संरक्षण, सांस्कृतिक परम्परा र रीतिरिवाज तथा ऐतिहासिक स्थलबाट देखिएका हिमालका आकर्षक तस्बिर प्रदर्शनीमा राखिएको हो ।

भिक्षुको समूहद्वारा शान्तिका लागि प्रार्थना तथा भिक्षाटन गर्दाका तस्बिर पनि प्रदर्शनीमा राखिएको थियो ।

शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु, जन्मस्थल लुम्बिनी, मावली देवदह र अस्तुधातु रहेको रामग्रामलाई मनमोहक र चित्ताकर्षक देखाउन २० फोटो प्रदर्शन गरिएको थियो । रात्रिकालीन दृश्य र ड्रोन फोटोग्राफी पनि प्रदर्शनीमा थियो । चिनियाँ पैदल यात्री ह्वेयङ साङ तिलौराकोट आउँदा लेखेको यात्रा विवरणमा उल्लेख भएजस्तै हिमालका तस्बिर देख्दा निकै आल्हादित भएको कृषिमन्त्री वेदुराम भुसालले बताए । ‘दरबार क्षेत्रबाट शुभ्र धौलागिरि हिमाल देख्दा खुसी भएँ,’ उनले भने, ‘तस्बिरले तिलौराकोटको मनमोहकतालाई थप उजागर गरेको छ ।’

लुम्बिनी विकास कोषको सहयोगमा गच्छामि मिडिया ग्रुपद्वारा आयोजित प्रदर्शनी कृषिमन्त्री भुसालले उद्घाटन गरेका हुन् । फोटो पत्रकार मनोज पौडेल र बृजेश जयसवालले खिचेका मन छुने र चित्ताकर्षक तस्बिर प्रदर्शनीमा राखिएको थियो ।

तिलौराकोटमा आयोजित फोटो प्रदर्शनी १ सय १० जना विदेशीसहित १ हजार पर्यटकले अवलोकन गरेको आयोजक गच्छामि मिडिया ग्रुपका अध्यक्ष मनोज श्रीवास्तवले बताए । पर्यटकीय गन्तव्य बन्न नसकेको तिलौराकोटलाई बेलाबेला यस्तै प्रदर्शनी गरेर यहाँको आकर्षण उजागर गर्ने योजना बनाएको उनले बताए ।

प्रकाशित : वैशाख २५, २०८० ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्

आजकै दिन : दादुरा उन्मूलन घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९७६ मा आजकै दिन सर्वाधिक संक्रामक मानिएको दादुरा संसारभर देखिएपछि वैज्ञानिकहरू खोपको विकासमा लागेका थिए ।

खोप कार्यक्रम विश्वव्यापीरूपमा सञ्चालन भएपछि विश्व स्वास्थ्य संगठनले आजकै दिन सन् १९८० मा दादुरा उन्मूलन भएको घोषणा गरेको थियो । तीव्र संक्रमण भएको यो संसारकै सबैभन्दा डरलाग्दो सरुवा रोग थियो ।

विश्व स्वास्थ्य संगठनले सन् १९७६ मा विश्वव्यापी रूपमा दादुराविरुद्ध खोप कार्यक्रम सुरु गरेको थियो । दादुरा कहिलेदेखि सुरु भयो भन्ने यकिन तथ्यांक छैन । सन् १६१४ मा युरोपदेखि मध्यपूर्वसम्म यो महामारीका रूपमा फैलिएको थियो ।

१७ औं र १८ औं शताब्दीसम्म यो नियमित रूपमा युरोपमा देखापर्‍यो । त्यतिबेला भारतमा समेत बारम्बार फैलिएको थियो ।

प्रकाशित : वैशाख २५, २०८० ०७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×