कर्णालीमा मिस नेपाल अडिसन- कला - कान्तिपुर समाचार

कर्णालीमा मिस नेपाल अडिसन

कान्तिपुर संवाददाता

सुर्खेत — मिस नेपाल–२०२३ का लागि कर्णाली अडिसन सोमबार वीरेन्द्रनगरमा हुने भएको छ । नेपालभरिबाट प्रतियोगी सहभागी गराउने उद्देश्यले कर्णाली प्रदेशबाट पनि प्रतिस्पर्धी छनोट गर्न लागिएको आयोजक द हिडन ट्रेजरले जनाएको छ । 

यसबारे जानकारी दिन होटल सिद्धार्थमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मिस नेपालको अन्तिम अडिसनमा सातै प्रदेशबाट प्रतिनिधित्व गराउने उद्देश्यले सबै प्रदेशमा अडिसन तय गरिएको हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए । उनका अनुसार अडिसनमा मिस नेपाल–२०२२ प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का उपस्थिति हुनेछन् । अडिसनका लागि आइतबार अभिमुखीकरण कार्यक्रमसमेत राखिएको छ । इटहरीदेखि सुरु भएको अडिसन वीरगन्ज, पोखरा र नेपागन्जमा सम्पन्न भइसकेको छ । पत्रकार सम्मेलनमा बोल्दै मिस नेपाल प्रियंकारानी जोशीले आगामी मिस वर्ल्डमा आफ्नो तयारीबारे अनुभवसमेत सुनाएकी थिइन् । ‘नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने राम्रो प्लेटफर्मका रूपमा मैले मिस नेपाललाई लिएको छु, मेरो उद्देश्य मिस वर्ल्डमा जानु हो,’ उनले भनिन् ।

मिस नेपाल–२०२२ प्रियंकारानी जोशीले कर्णाली चिनाउन पनि सुर्खेतमा अडिसन आयोजना गरिएको बताइन् । ‘यो यस्तो प्रतियोगिता हो जहाँ जित्नका लागि आए पनि सबै प्रतियोगी हार्न पनि तयार हुन्छन्,’ उनले भनिन्, ‘म उपाधि जित्नभन्दा पनि केही सिक्नका लागि गएकी थिए, तर उपाधि नै जिते ।’ उनले आफैंले आफैंलाई विश्वास गर्न सके उपाधि धेरै टाढा नभएको बताइन् । बिस्तारै ‘ग्ल्यामरस’ क्षेत्र नेपाली समाजले बुझ्दै गएको उनको भनाइ छ । मिस नेपालका सहभागीले प्रशिक्षणमा सिकेका कुरा लागू गर्न सके समाज परिवर्तन गर्न सक्ने ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए । ‘यो प्रतियोगिता ट्यालेन्सी, एक्पोजर र शिक्षा प्रस्तुत गर्ने इभेन्ट मात्र होइन,’ उनले भने, ‘यसले जस्तोसुकै अप्ठ्यारोलाई पनि ट्याकल गर्न सक्ने क्षमता विकसित गर्छ ।’

प्रकाशित : फाल्गुन २८, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्

शिवशिखर सहकारीको अर्बौंको निक्षेप जोखिममा

सहकारीको उद्देश्यविपरीत संकलित निक्षेप भौतिक संरचना खरिद र निर्माणमा बढी लगानी हुन थालेपछि समस्या
डीआर पन्त

धनगढी — सात लाख रुपैयाँभन्दा बढी बचत गरेका हरिकृष्ण जोशी दैनिकजसो शिव शिखर सहकारी संस्थाको धनगढीस्थित कार्यालय धाउँछन् । रकम फिर्ताको प्रक्रियाबारे के–कसो भइरहेको छ भनी बुझ्छन् । उनी धाउन थालेको दुई साता बढी भइसक्यो ।

दुई दिनअघि सहकारी र बचतकर्ताबीच सहमति भएपछि जोखिममा परेको रकम फिर्ता हुनेमा आशावादी भए पनि उनी ढुक्क भने छैनन् । भन्छन्, ‘अलिअलि गरेर जम्मा गरेको पुंँजी सबै गुम्ने भएपछि भोक, निद्रा लाग्न छोडेको छ । सहकारीसँग सम्झौता भएपछि केही हुन्छ कि भन्ने आशा पलाएको छ ।’

महेन्द्रनगरका हरीश खड्का खाजा पसल चलाउँछन् । उनले पनि पाँच वर्षदेखि दैनिक गर्दै ४ लाखजति सहकारीमा बचत गरेका थिए । घरपरिवार चलाएर बचत गरेको रकम डुब्ने खबरले उनी पनि बेचैन छन् । छोराछोरीलाई राम्रो विद्यालयमा पढाउला भनेर जम्मा गरेको रकम डुब्ने डरले उनी पनि बेचैन छन् । ‘होटलमा पनि समय दिन सकेको छैन,’ उनले भने, ‘पैसा फिर्ता होला भन्ने आशा छैन ।’ जोशी र खड्का मात्र होइन सुदूरपश्चिमका हजारौं साना तथा मध्यमवर्गका व्यवसायी र सर्वसाधारणको करोडौं रकम शिवशिखर सहकारी संस्थाका कारण जोखिममा परेको छ । राष्ट्रियस्तरमा दर्ता भएको उक्त सहकारीमा बचतकर्ताको ८ अर्बभन्दा बढी रकम जोखिममा परेको हो ।

सुदूरपश्चिम प्रदेशबाट मात्र उक्त सहकारीले १ अर्ब ५० करोडभन्दा बढी निक्षेप संकलन गरेको छ । देशभर ३६ शाखा रहेको उक्त सहकारीको अर्बौं निक्षेप सञ्चालकको लापरबाहीका कारण जोखिममा परेको छ । पहाडी जिल्ला डडेलधुराबाट मात्र सहकारीले ४४ करोड र कैलालीको अत्तरियाबाट २२ करोड निक्षेप संकलन गरेको छ । शिवशिखरले संकलित निक्षेप सहकारीको उद्देश्यभन्दा बाहिर लगानी गर्न थालेपछि बचतकर्ताले आवश्यक परेको समयमा आफ्नो बचत फिर्ता पाउन नसकेका हुन् । ‘मार्ट व्यवसाय, जग्गा, घर जस्तो क्षेत्रमा ठूलो लगानी भएका कारण बचतकर्ता मारमा परेका हुन्,’ सहकारीका एक कर्मचारी भन्छन्, ‘सहकारीको उद्देश्यविपरीतका क्षेत्रमा बचतकर्ताको निक्षेप लगानी हुन थालेपछि बिस्तारै समस्या देखिन सुरु भएको हो । यो एकाएक निम्तिएको समस्या होइन ।’

४४ करोड निक्षेप संकलन भएको डडेलधुरामा सहकारीको जम्मा २ करोड मात्र लगानी छ । २२ करोड निक्षेप रहेको कैलालीको अत्तरियामा सहकारीले ५ करोड मात्र लगानी गरेको छ । संकलित निक्षेप भौतिक संरचना खरिद र निर्माणमा बढी लगानी भएको देखिएको छ । सहकारीले कैलालीमा धानचामल उद्योग, मिल, मार्ट, एग्रो प्रालि, जग्गा, गाडीलगायतका भौतिक संरचनामा ठूलो लगानी गरेको देखिएको छ । यसबाहेक सहकारीका सञ्चालक र उच्चतहमा रहेका कर्मचारीले पनि निक्षेपको रकम कानुनी प्रक्रिया पुर्‍याएर विभिन्न व्यावसायिक क्षेत्रमा लगानी गरेको आरोप लागेको छ । २०६९ असोज २८ मा सहकारी विभागमा दर्ता भएको शिवशिखरले १० वर्षमै देशका विभिन्न जिल्लामा खुलेका ३६ वटा शाखाबाट करिब १० अर्ब निक्षेप संकलन गरेको छ । सुदूरपश्चिम प्रदेशमा संकलन भएको निक्षेपमध्ये सहकारीले १५ प्रतिशत पनि यस क्षेत्रमा लगानी नगरेको गुनासो पनि निक्षेपकर्ताको छ । बचत फिर्ता माग्दै प्रदेशका विभिन्न जिल्लामा बचतकर्ताले एक सातादेखि निरन्तर विरोध कार्यक्रम गरेपछि मात्र सञ्चालकहरूले सहकारीका तर्फबाट एक जना प्रतिनिधि पठाएका छन् । सहकारीको विपद् व्यवस्थापन समितिका संयोजक भोजराज पौडेलले जिल्लाजिल्लामा पुगेर प्रशासनको रोहबरमा आगामी चैत १५ देखि बिस्तारै बचत फिर्ता गर्ने सहमति गरेका छन् । ‘समस्या उत्पन्न भएपछि समाधान पनि हुन्छ,’ संयोजक पौडेलले भने, ‘निक्षेप अनुसारको रकम नभएको हो सम्पत्ति सहकारीसँग छ ।’ मिडियामा समाचार आएपछि सबै बचतकर्ता एकैपटक बचत फिर्ता माग्न आएपछि समस्या उत्पन्न भएको उनले बताए । उनी भन्छन्, ‘लघुवित्तहरूको मुद्दा उठिरहेको बेला बुटवलमा भएको एउटा सानो विषयलाई लिएर मिडियामा समाचार आएपछि फैलिएको अफवाहले अधिकांश बचतकर्ता एकैपटक बचत फिर्ता माग्न आएपछि समस्या भएको हो ।’

दुई सातादेखि सहकारीका बचतकर्ताले तत्कालका लागि भने आन्दोलन फिर्ता लिएका छन् । चैत १५ देखि क्रमशः बचत फिर्ता गर्ने सहमति भएपछि आन्दोलनका कायक्रम रोकिएको बचतकर्ताले बताएका छन् । सहकारीले कर्मचारीको नाम, योग्यता, ठेगाना, तलब स्केल, सम्पर्क नम्बर विवरण सार्वजनिक गर्नुपर्ने, शाखाअनुसार निक्षेप रकम, कर्जा प्रवाह, व्यावसायिक प्रतिष्ठानमा भएको लगानी, शाखाहरूबाट केन्द्रमा पठाएको रकम र सहकारीसँग भएको कुल चलअचल सम्पत्तिको विवरण सार्वजनिक गर्ने सहमतिपछि आन्दोलन स्थगन गरिएको बचतकर्ताले जानकारी दिएका छन् । सहकारीका अध्यक्ष सुशील बानियाँले सम्पर्कमा आउन नमाने पनि प्रतिनिधि पौडेलले ६ महिनाभित्रै सहकारी पुनः ट्र्याकमा आउने दाबी गरेका छन् । उनले बचतकर्ताले तालाबन्दी गरेका सबै कार्यालय खुलिसकेको र सहकारीमा पुनः नियमित कामकाज सुरु भइसकेको जानकारी दिए । ३६ शाखा र भक्तपुरमा केन्द्रीय कार्यालय रहेको यो सहकारीमा २ लाख ७ हजार बढी बचतकर्ताको ८ अर्ब ५० लाख निक्षेप छ ।

प्रकाशित : फाल्गुन २८, २०७९ ०८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×