कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

युरोपेली निर्वाचनमा आफ्नो दल पराजय भएपछि फ्रान्सका राष्ट्रपतिद्वारा संसद् भंग, मध्यावधि निर्वाचन घोषणा

ददि सापकोटा

फ्रान्स — आइतबार भएको युरोपेली संसदीय निर्वाचनमा आफ्नो पार्टी भारी मतले पराजय भएपछि फ्रान्सका राष्ट्रपति एमानुयल माक्रोंले संसद्‌को तल्लो सदन विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेका छन् । 

युरोपेली निर्वाचनमा आफ्नो दल पराजय भएपछि फ्रान्सका राष्ट्रपतिद्वारा संसद् भंग, मध्यावधि निर्वाचन घोषणा

राज्यप्रमुखकै पार्टीलाई टक्कर दिँदै नेसनल र्‍यालीले राष्ट्रपतीको पार्टीका अनुपातमा दोब्बर मत ल्याएपछि रनथनिएका माक्रोंले आइतबार साँझ पराजय सुन्नासाथ संसद भंग गरेर मध्यावधिको घोषणा गरेका हुन् ।

उनले अति दक्षिणपन्थी मानिएको पार्टी नेसनल र्‍यालीसित भारी मतले पराजय भोग्नुपरेपछि संसदननै विघटन गरी जुन ३० र जुलाई ७ मा मध्यावधि चुनाव हुने घोषणा गरेका हुन् ।

राष्ट्रपती भवन एलिजे दरबारबाट राष्ट्रलाई सम्बोधन गर्दै माक्रोंले भने, 'मैले भोट मार्फत हाम्रो संसदीय भविष्यको छनौट फेरि निर्णय गर्न पाउने गरी फिर्ता दिएको छु। त्यसैले म राष्ट्रिय सभा विघटन गर्दैछु ।'

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले आइतबार राष्ट्रिय सभा भंग गर्ने र तत्काल चुनाव गराउने घोषणा गर्दा राष्ट्रलाई स्तब्ध बनाएको भनाइ फ्रान्सेली मिडियाहरूको छ । यो निर्णयले फ्रान्सलाई राजनीतिक रुपमा अस्थिर बनाउने तर्क मिडियाहरूले गरेका छन् ।

फ्रान्सेली अति दक्षिणपन्थी नेता मारिन ले पेनले आइतबार राष्ट्रपति एमानुएल माक्रोंको राष्ट्रिय सभा भंग गर्ने र यस महिनाको अन्त्यमा नयाँ संसदीय चुनाव घोषणा गर्ने निर्णयको भने स्वागत गरेकी छन् ।

'आगामी राष्ट्रिय चुनावमा फ्रान्सेलीहरूले हामीलाई विश्वास गरे हामी सत्ता हातमा लिन तयार छौं,' उनले भनेकी छन् ।

ले पेनले युरोपेली मतलाई 'ऐतिहासिक' भन्दै प्रशंसा गरेकी छन् भने माक्रोंले 'यो युरोपको रक्षा गर्ने दलहरूका लागि राम्रो नतिजा नभएको' प्रतिक्रिया दिएका छन् ।

फ्रान्सको समाजवादी पार्टी, मध्यमार्गी पार्टी, अन्य दक्षिणपन्थी र नरमपन्थी दलहरूले समेत राष्ट्रपतीले संसद विघटन गरिदिएपछि नयाँ विकल्प खोज्नुपर्ने भन्दै आइतबार साँझदेखिनै बहस सुरु गरेका छन् ।

धेरैले आफ्नो देशको राज्यप्रमुख, सभासदको निर्वाचनभन्दा आइतबार भएको ईयु निर्वाचन अझ महत्त्वपूर्ण भएको पनि बताउने गरेका छन् ।

इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको आर्क-कन्जरभेटिभ ब्रदर्स अफ इटाली समूहले युरोपेली संसदीय चुनावमा सबैभन्दा धेरै मत (२६-३० प्रतिशत) जितेको छ । दक्षिणपन्थी खेमाको मानिने मेलानीको पार्टी सबैभन्दा लोकप्रिय देखिनुले इटालीमापनि दक्षिणपन्थीहरूको लोकप्रियता बढेको भनाइ मिडियाहरूको छ । केन्द्रीय-वाम विपक्षी डेमोक्र्याटिक पार्टी (पीडी) दोस्रो स्थान (२१-२५ प्रतिशत) मा देखिएको छ ।

स्पेनमा पनि दक्षिणपन्थी पार्टीनै शीर्षस्थानमा आएको छ । स्पेनको सेन्टर राइट पिपल्स पार्टी (पिपी) एक्लैले देशभरिको ६६ मध्ये २२ सिट जितेको अलपाइस दैनिकले जनाएको छ । सरकार प्रमुख समाजवादी दलका प्रधानमन्त्री पेद्रो सान्चेजलाई दक्षिणपन्थी पार्टीले झड्का दिएको स्पेनी अखबराहरूले उल्लेख गरेका छन् ।

युरोपेली संसदका सदस्यहरूले युरोपेली संघमा कस्ता कानुन लागू गर्ने, वातावरणीय नियमनका लागि कस्ता योजना ल्याउने, कस्तो सुरक्षा नीति अवलम्बन गर्नेलगायत युरोपेली युनियनको बजेट अनुमोदन र पैसा कसरी खर्च गरिन्छ भनेर निगरानी गर्नेसमेत भएकाले यस निर्वाचनलाई बढी महत्त्व दिने गरिएको हो ।

युरोपेली संसदमा प्रत्येक देशको प्रतिनिधित्व जनसंख्याको आधारमा हुने गरेको छ । सबैभन्दा बढी ९६ सिटसहित जर्मनी र ८१ सिटसहित फ्रान्स अग्रभागमा छन् । सबैभन्दा कम हुनेमा साइप्रस, लक्जमबर्ग र माल्टा छन् जसले मात्र ६ सिट पाउँछन् ।

फ्रान्समा मतदाताको संख्या यो वर्ष करिब दुई अंकले बढेको छ । सन् २०१९ मा ४३ दशमलव २९ प्रतिशतले मतदान गरेका थिए भने आइतबारको निर्वाचनमा कुल मतदाता मध्ये ४५ दशमलव २६ प्रतिशतले मतदान गरेका छन् । पछिल्लो तीन दशकमा ईयु निर्वाचनमा यो वर्ष सबैभन्दा बढी ५० दशमलव ६६ प्रतिशतले मतदान गरेका हुन् । आइतबार लाखौं युरोपेलीहरूले युरोपेली संसदका ७२० सदस्यहरू चयन गर्न मतदान गरेका थिए ।

प्रकाशित : जेष्ठ २८, २०८१ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×