दिल्लीका मुख्यमन्त्री केजरीवाल भन्छन् : केही अस्पतालमा केही घण्टाका लागि मात्रै अक्सिजन छ- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिल्लीका मुख्यमन्त्री केजरीवाल भन्छन् : केही अस्पतालमा केही घण्टाका लागि मात्रै अक्सिजन छ

उपमुख्यमन्त्री सिसोदिया भन्छन् : यदि भोलि बिहानसम्म अस्पतालमा अक्सिजन पुगेन भने हाहाकार मच्चिनेछ
कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि भारतभरका अस्पतालमा अक्सिजन र बेड अभाव भएको छ । यसैबीच राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाले केन्द्र सरकारलाई तुरुन्त अक्सिजनको व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।

बिहीबार पत्रकार सम्मलेनमार्फत दिल्लीमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै मुख्यमन्त्री अरविन्द केजरीवाल

उनले दिल्लीका अस्पतालमा केही घण्टाका लागि मात्रै अक्सिजन मौज्दात रहेको पनि बताएका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘दिल्लीमा अक्सिजनको गम्भीर संकट उत्पन्न भएको छ । म केन्द्रसँग अपिल गर्छु कि छिटोभन्दा छिटो दिल्लीमा अक्सिजनको व्यवस्था गरियोस् । केही अस्पतालमा केही घण्टाका लागि मात्रै अक्सिजन बचेको छ ।’

मुख्यमन्त्री केजरीवालले यसअघि पनि अक्सिजन र आईसीयू बेडको अभाव भएको भन्दै केन्द्र सरकारसँग यस्तो अपिल गरेका थिए ।

त्यस्तै दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले पनि अक्सिजनको व्यवस्था मिलाइदिन भन्दै अस्पतालबाट फोन आइरहेको बताएका छन् । उनले लेखेका छन्, ‘अक्सिजनका लागि सबै अस्पतालबाट एसओस फोन आइरहेको छ । आपूर्तिकर्तालाई विभिन्न राज्यमा रोकिएको छ । अक्सिजनको आपूर्तिलाई लिएर राज्य–राज्यबीच जंगलराज नहोस् । यसका लागि केन्द्र सरकार संवेदनशील र सक्रिय हुन आवश्यक छ ।’

उनले अगाडि लेखेका छन्, ‘दिल्लीका अधिकांश अस्पतालमा केवल ८ देखि १२ घण्टाका लागि अक्सिजन उपलब्ध छ । हामीले एक हप्तादेखि दिल्लीमा अक्सिजन आपूर्तिको कोटा बढाउनन माग गर्दै आएका छौँ, जुन केन्द्र सरकारले गर्नुपर्नेछ । यदि भोलि बिहानसम्म अस्पतालमा अक्सिजन पुगेन भने हाहाकार मच्चिनेछ ।’

दिल्लीमा पछिल्लो २४ घण्टामा थप २३ हजार ६ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ सय ४० जनाको मृत्यु भएको छ । कोरोना संक्रमण फैलने क्रम तीव्र बनेपछि सोमबार रातिदेखि दिल्लीमा एक साताका लागि लकडाउन गरिएको छ । सोमबार राति १० बजेदेखि सुरु भएको लकडाउन आगामी सोमबार बिहान ५ बजे सम्मका लागि हुनेछ ।

प्रकाशित : वैशाख ७, २०७८ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्

बहस : दोषी प्रणाली कि पात्र ?

अहिले सरकार असफल भएको हो, केही नेता असफल भएका हुन्, दलहरु अलोकतान्त्रिक भएका हुन्, संविधान असफल भएको होइन ।
समस्याको जड समग्र प्रवृत्ति पनि
कर्मा लामा तामाङ

कान्तिपुर दैनिकमा प्रकाशित प्राध्यापक कृष्ण खनाल (‘दोषी को : प्रणाली कि पात्र ?,’ चैत २८) र नेत्रविक्रम चन्द ‘विप्लव’ (‘मुख्य समस्या प्रणालीको,’ वैशाख १) का लेखहरूले हामीजस्ता नयाँ विचार राख्नेहरूलाई सोचमग्न बनाएका छन् । त्यसैले हालको विकृत राजनीतिको विकल्प बन्न मैदानमा उत्रेका, वैकल्पिक राजनीतिको छातामुनि छिरेका समूहको नेतृत्व गर्दै म उहाँहरुको वैचारिक बहसमा आफ्नो दृष्टिकोण राख्दै छु ।

संसदीय व्यवस्था असफल हुनुमा कृष्णजी व्यक्तिमा दोष देख्नुहुन्छ भने नेत्रविक्रमजी असफलताको कारक प्रणाली हो भनी दाबी गर्नुहुन्छ । म भन्छु— प्रणाली र पात्रसँगसँगै समग्र प्रवृत्तिलाई नबिर्सौं । हालको समस्या पेट्रोलको इन्जिन भएको गाडीमा डिजेल हालेको जस्तो भएको छ । पात्रको भूमिका अवश्य छ, तर पात्रलाई मात्र दोषी ठहर गर्दा पांग्रा नभएको गाडी नचल्दा चालकलाई गाली गरेको जस्तो हुन्छ । बहुआयामिक स्थितिलाई एउटा कोणबाट मात्रै हेर्दा अरू चीज छुट्छन् । पार्टी, नेतृत्व र समाज गतिशील नहुँदा, समय अनुसार चल्न नसक्दा, एकपछि अर्को कमजोरी थुप्रिँदा अहिलेको गम्भीर अवस्थामा पुगिएको हो ।

समग्र प्रवृत्तिको दृष्टिकोणबाट हेर्दा, समस्याको पहिलो भाग हो— व्यक्तिगत र साङ्गठनिक नैतिकता । कुनै पनि राजनीतिक नेताले यो क्षेत्रमा के गर्न आएको थिएँ र के गर्दै छु भनी नसोच्नु वा वास्ता नगर्नु अहिलेको ठूलो विडम्बना हो । कम्युनिस्ट/माओवादीको क्रान्ति केका लागि थियो ? अहिले के भइरहेको छ ? कांग्रेस अहिले कति लोकतान्त्रिक र समाजवादी छ ? यहाँ खेलाडीले धाँधली गर्दा पनि रेफ्रीले नदेखेको जस्तो गर्न थाले । दर्शकले जतिसुकै हुटिङ गरे पनि सबै कानमा तेल हालेर बस्न थाले । सबैले चोरी गर्न थालेपछि प्रहरी को, न्यायाधीश को !

दोस्रो भाग हो— संस्कार । लोकतन्त्र भन्ने साधन त ल्याइयो, तर यसलाई कसरी चलाउने, अत्तोपत्तो छैन । वैचारिक रूपमा त लोकतन्त्र साम्यवादीहरुको एजेन्डामै पर्दैन । माक्र्सको परम्परागत साम्यवाद अनुसार कम्युनिजम राज्यविहीन, पुँजीविहीन र वर्गविहीन समाज हो । आशा छ, ‘वैज्ञानिक समाजवाद’ भन्ने कम्युनिस्ट साथीहरुको विचार फरक र आधुनिक छ । मसहित विवेकशील पार्टीका अन्य सदस्यहरूसँगको छलफलमा वैज्ञानिक समाजवादका एक विचारक आहुतिले भनेअनुसार, वास्तविक कम्युनिस्टले बल प्रयोगलाई अनिवार्य मान्छ; आफूलाई सच्चा कम्युनिस्ट ठान्ने र पहिलाका कम्युनिस्टले मान्ने अर्थराजनीतिक सिद्धान्तलाई समयसुहाउँदो बनाउने ध्येय भएका उनीहरूबाट खासमा लोकतान्त्रिक प्रतिबद्धताको अपेक्षा गर्नु बालुवा पेलेर तेल निकाल्न खोजेजस्तो हुने जोखिम छ ।

कांग्रेसी समाजवादीहरुचाहिँ एकअर्काको खोट देखाउँदा–देखाउँदै समस्याको जडमा पुग्न सकेनन् । तरकारी किनेर ल्याउनु र पकाउन सक्नु दुई फरक कुरा हुन्, अनि यसका लागि फरक सीप चाहिन्छ । उनीहरूले लोकतन्त्र ल्याए, तर संस्थागत गर्नबाट चुके । संसारकै इतिहासले पनि के देखाउँछ भने, क्रान्तिले शासन प्रणालीमा परिवर्तन ल्याउँछ, तर संस्थागत गर्न फरक तरिका अपनाउनुपर्छ । दक्षिण अफ्रिका, बोत्स्वाना र बाल्टिक देशहरु यसका ज्वलन्त उदाहरण हुन् । क्रान्तिमा आफ्नो समूहमा नपर्ने सबै दुस्मन हुन्छन् । तर पार्टीकेन्द्रित लोकतन्त्र र संसदीय व्यवस्थामा प्रतिस्पर्धा हुनु हुँदैन, किनकि प्रतिस्पर्धा व्यक्तिगत हुन जान्छ । चुनावका बेला प्रतिस्पर्धा गर्ने हो, तर चुनावपछि हार वा जित जे भए पनि सबै मिलेर देश र जनताको हितमा काम गर्ने हो, जुन पुराना दल र नेताहरुले आत्मसात् गरेका छैनन् ।

हाम्रो संस्कारभित्र पर्ने अर्को ठूलो समस्या भनेको सिक्ने कौतूहल नहुनु हो । अरू देशबाट हामीले धेरै कुरा सिक्न सक्छौं, विशेष गरी उनीहरुका गल्तीबाट । अहिले सरकारमा रहेका राजनीतिकर्मीहरु बीसौं शताब्दीमै अड्किएका छन् । आफैं विचार गर्नुहोस् त, इन्टरनेट र सामाजिक सञ्जाल भएको भए ‘माओवादी क्रान्ति’ को रूप कस्तो हुन्थ्यो होला ? म्यानमार र सिरियाको अवस्था हेर्दा आङ सिरिङ्ग हुन्छ । संसार कहाँ पुगिसक्यो, कृत्रिम बौद्धिकता (एआई) को जमाना छ । अबको लडाइँ साइबरमा हुनेछ । दुस्मन अदृश्य भाइरसहरु हुनेछन् । हाम्रा नेताहरुको ध्यान आफ्नो कुर्सीको वरपर मात्र छ । यहाँ पात्रको मुख्य भूमिका देखिन्छ ।

प्रवृत्तिको तेस्रो भाग हो— अतिवाद । नेपाल र नेपालीलाई किन वर्गशत्रु चाहियो ? सन् २०२१ मा आएर के चीन र भारतलाई नेपालका बारेमा मात्रै सोचेर बस्ने फुर्सद होला ? अलिकति मात्रै अनुसन्धान गरे थाहा पाइन्छ, यी देशहरु कहाँकहाँ लगानी गर्दै छन्, अनि कुनकुन ठूला कम्पनीहरुले चीन र भारतमा कार्यालयहरु खोल्दै छन् । नेपालले भारत र चीनलाई आफ्नो उत्पादन बेच्ने ठूलो बजारका रूपमा किन हेर्न सक्दैन ? विश्व बैंकको तथ्यांकअनुसार, सन् २०१७ मा विप्रेषण नेपालबाट भारतमा ३ अर्ब अमेरिकी डलर गयो भने भारतबाट नेपालमा १ अर्ब डलर प्राप्त भयो । ती अनुमानित २० लाख कामदारहरु किन नेपालमै बस्न सक्दैनन् ? खाडी मुलुक र अन्य देशमा गएर झ्याल पुस्न हुने, तरकारी काट्न हुने, चर्पी सफा गर्न मिल्ने, अनि आफ्नै देशमा हजाम, प्लम्बर, सिकर्मी, डकर्मी र मिस्त्री बन्न नहुने ? कस्तो अतिवादी प्रवृत्ति र दोगलापन हो यो ? पुँजीबिना केही चल्दैन, सबैलाई पुँजी नै चाहिएको छ, तर गालीचाहिँ पुँजीवादलाई † नाच्न जान्दैन आँगन टेडो †

प्रवृत्तिको चौथो र अन्तिम भाग धैर्य हो । नेपाली समाज अधैर्य समाज हो, राजनीतिमा झन् प्रस्ट देखिन्छ अधैर्य । तातै खाऊँ, जली मरूँ ! कुनै आर्थिक तथा नीतिगत प्रणालीमा अर्को देशलाई हुबहु नक्कल गर्नु उपयुक्त हुन्न, किनकि सबैका परिस्थिति फरकफरक छन् । हाम्रो प्रणालीलाई अमेरिका र जर्मनीसँग तुलना गर्नु व्यर्थ छ । उनीहरुको लोकतन्त्र सयौं वर्ष पुरानो छ । स्क्यान्डिनेभियन देशहरुसँग त दाँज्दै नदाँजौं । उनीहरुको जनसंख्या अहिले आप्रवासनले गर्दा अलि फरक भए पनि सामान्यतया सजातीय (होमोजिनियस) छ र जनसंख्याका आधारमा ती नेपालभन्दा धेरै साना छन् । हाम्रोमा जस्तो बहुसांस्कृतिक, बहुभाषिक विविधता तिनमा छैन । जातमा आधारित त छँदै छैन । भनेपछि, हामीले अरूको हेरेर सिक्ने हो र हाम्रोमा के लागू गर्दा उत्कृष्ट नतिजा आउँछ, त्यही गर्ने हो । र, त्यसका लागि धैर्य र सहकार्य चाहिन्छ । उदाहरणका लागि, सरकार गठन गर्दा निर्वाचनअघि वाचा गरेको न्यूनतम कार्यक्रम तय गर्ने हो, अनि त्यहीअनुसार काम गर्ने हो । सरकार बन्नेबित्तिकै ढाल्न खोज्नु राजनीतिक चलाखी होइन । अहिलेको सरकार ढल्नु भनेको निर्वाचित र मनोनीत सम्पूर्ण सांसद विफल हुनु हो ।

अहिले सरकार असफल भएको हो, केही नेता असफल भएका हुन्, दलहरु अलोकतान्त्रिक भएका हुन्, तर संविधान असफल भएको होइन । यो संविधानमा टेकेर बनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था असफल भयो भन्न सकिन्न, किनकि हालको संविधान पूर्ण रूपमा कार्यान्वयन भएकै छैन । संविधानले परिकल्पना गरेका कानुनहरु तथा त्यस अनुरूपको संरचना बन्न अझै समय लाग्छ । मैले हालको संविधान र प्रणाली सर्वेसर्वा हो भन्न खोजेकी होइन, सुधार गर्ने ठाउँ प्रशस्त छन् । तथापि, भर्खर बामे सर्दै गरेको बच्चालाई ‘एइ, तँ किन दौडिन सकिनस् ?’ भन्नु कदापि उचित हुँदैन । अब त्यो बच्चालाई मार्ने कि पहिला हिँड्न सिकाउने ?

कुनै पनि प्रणाली व्यक्ति र समूहले बनाउने हो । प्रणाली बलियो भएपछि त्यसैले व्यक्ति र समूहलाई बाँध्छ । तर प्रणाली बलियो बन्न समय लाग्छ, मलजल गर्नुपर्छ । पार्टी, नेतृत्व, नागरिक समाज र जनता सबैले कठोर मिहिनेत गर्नुपर्छ । सातौंपटक संविधान फेरेर, अझै पनि क्रान्ति अनि प्रणाली परिवर्तनपट्टि लाग्यौं भने नेपाललाई प्रगति गर्न गाह्रो होइन, लगभग असम्भव नै हुनेछ । अबको केन्द्रविन्दु व्यवस्थामा सुधार, व्यवस्थापनमा चुस्तता, सामाजिक प्रगति तथा आर्थिक उन्नति हुनुपर्छ । त्यसैले सामाजिक रूपान्तरणसहितको राजनीतिक परिवर्तन आवश्यक छ; मूल्य–मान्यता र मुद्दामा आधारित राजनीति अपरिहार्य छ ।

तामाङ विवेकशील पार्टीकी संयोजक हुन् ।

(बुधबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट )

प्रकाशित : वैशाख ७, २०७८ १९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×