दिल्लीमा एकसाता लकडाउन

नयाँदिल्ली — कोरोना संक्रमण फैलने क्रम तीव्र बनेपछि भारतको राजधानी दिल्लीमा एक साताका लागि लकडाउन गरिएको छ । राति १० बजेदेखि सुरु हुने लकडाउन आगामी सोमबार बिहान ५ बजे सम्मका लागि हुनेछ ।

दिल्लीमा एकसाता लकडाउन

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, उपराज्यपाल अनिल बैजल र उच्च अधिकारीहरुबीच सोमबार बिहान भएको छलफलपछि लकडाउनको निर्णय गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका थिए ।

विगत केही दिनयता भारतका दिल्लीलगायत प्रमुख राज्यहरुमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । आइतबार दिल्लीमा २५ हजार ४ सय ६२ नयाँ संक्रमित थपिएका छन् । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । दिल्लीमा स्वास्थ्य परीक्षण गरिएकाहरु प्रत्येक तीन जनामध्ये एकमा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । दिल्ली सरकारले संक्रमण रोक्न भन्दै शनिबार र आइतबार पनि कर्फ्यु लागू गरेको थियो । त्यसैगरी दिल्लीमा गत ६ अप्रिलदेखि आगामी ३० अप्रिलसम्मका लागि घोषणा गरिएको रात्रिकालीन कर्फ्यु कायमै छ ।

भारतमा कोरोना संक्रमणले प्रत्येक दिन नयाँ रेकर्ड बनाइरहेको छ । आइतबार मात्र २ लाख ७३ हजारमा संक्रमण पुष्टि भएको थियो । त्यसैगरी १ हजार ६१९ जनाको मृत्यु भएको छ । जुन अहिलेसम्मकै बढी हो । संक्रमणले भयावह रुप लिएसँगै भारतको स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको छ । प्रमुख सहरहरुमा अक्सिजन र बेडको चरम अभाव देखिएको छ । विशेषगरी राजधानी दिल्ली, मुम्बई, लखनऊ, अहमदाबाद, पुनेलगायत सहरमा अक्सिजन नपाएर कैयौं संक्रमितले ज्यान गुमाउनु परेको छ ।

दिल्लीका मुख्यमन्त्री केजरीवालले नै आइतबार साँझ ट्विट गर्दै अक्सिजनको चरम अभावको बताएका थिए । त्यस्तै अस्पतालमा बेड नहुँदा बिरामीहरुको भुईं र खुला आकाशमुनि नै उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित : वैशाख ६, २०७८ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?