१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

युरोपमा झन् कडा लकडाउन

जर्मनी, फ्रान्स, स्पेन र नेदरल्यान्ड्समा भएका लकडाउनविरोधी प्रदर्शन हिंसात्मक

पेरिस, लन्डन — कोरोना भाइरसको पहिलो चरणभन्दा दोस्रोमा संक्रमण ज्यादा बढेपछि युरोपेली देशहरुले झन् कडा लकडाउन गरेका छन् । सन् २०२१ को सुरुवातदेखि विभिन्न देशहरुले कर्फ्यु, लकडाउन, संक्रमण र मृत्युका नयाँ आयामसित लड्न झन कडा उपायहरू सुरु गरेका हुन् ।

युरोपमा झन् कडा लकडाउन

फ्रान्समा डिसेम्बरबाट साँझ ८ बजेदेखिको कर्फ्यु समय बढाएर साँझ ६ बजेदेखि नै लागू गरियो । यो समयमा पसल र अन्य व्यवसाय बन्द गरिएको छ । भाइरस परीक्षणको दायरा फराकिलो पारेर अवस्था हेरी केही ठाउँमा विद्यालय खुला गरिएका छन् । बार, रेस्टुरेन्ट, थिएटर, सिनेमाघर र स्की–रिसोर्ट सबै बन्द छन् ।

युरोपेली युनियन (ईयू) बाहिरबाट आउने जो–कोहीले पनि फ्रान्समा ७२ घण्टाभित्र भाइरसको परीक्षण गरी एक साता एकान्तबास बस्नैपर्छ । ७ दिनपछि फेरि कोरोना परीक्षण गरेर नेगेटिभ रिपोर्ट भए मात्रै गन्तव्यमा जान पाइन्छ । जर्मनीमा १६ डिसेम्बरसम्मको लकडाउनलाई परिमार्जित गरी फेब्रुअरी १४ सम्म बढाइएको छ ।

अत्यावश्यकबाहेकका अन्य पसल, हजाम, पार्लर, रेस्टुरेन्ट, बार, मनोरञ्जन केन्द्र तथा विद्यालयहरु सबै बन्द छन् । जर्मनीमा संक्रमण दरमा आएको कमीका बाबजुद अवस्था थप बिग्रन नदिन थप कडाइ गरिएको अधिकारीहरुको भनाइ छ । पछिल्ला सातामा जर्मनीमा प्रत्येक दिन एक हजारका दरमा संक्रमितको मृत्यु भइरहेको छ ।

लकडाउनसहित कडाइका सर्तहरु कम्तीमा फेब्रुअरी अन्त्यसम्म रहिरहनुपर्ने जर्मन अधिकारीहरुको भनाइ छ । बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा फेला परेको नयाँ प्रजातिको कोरोना भाइरसको खतरा बढेकाले कडाइको सुरक्षा स्थिति अपनाउनुपरेको जर्मनीको सरुवा रोग नियन्त्रण एजेन्सीले जनाएको छ ।

थप लकडाउनसँगै कर्फ्यु र सार्वजनिक यातायातको आंशिक सटडाउनजस्ता प्रतिबन्ध थप कडा पारिएको छ । कोरोनाको पहिलो संक्रमणकालमा युरोपमा सबैभन्दा बढी क्षति व्यहोरेको इटालीले राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि देशव्यापी कर्फ्यु जारी गरेको छ । इटालीमा उच्च जोखिमपूर्ण ठानिएका २० वटा क्षेत्रमा यात्रा गर्न फेब्रुअरीसम्म पूर्ण प्रतिबन्ध लगाइएको छ । ‘घरभित्र र बाहिर’ समेत मास्क अनिवार्य छ ।

लकडाउनको विरोधमा आम्स्टर्डममा गरिएको प्रदर्शन तस्बिर : रोयटर्स

इटालीका लोम्बार्डीलगायत तीन क्षेत्रलाई ‘रेड जोन’ मा राखेर उच्च सतर्कता अपनाइएको छ । त्यहाँ अत्यावश्यक वस्तुका पसलबाहेक सबै बन्द छन् । होटल, रेस्टुरेन्ट, हजाम, खेलकुदलगायत पसल र सार्वजनिक कार्यक्रममाथि पूर्ण बन्देज गरिएको छ ।

स्पेनमा त झन् मे महिनाको सुरुसम्मै कर्फ्यु घोषणा गरिएको छ । सार्वजनिक यातायात तथा अधिकांश सार्वजनिक स्थलहरुमा मास्क लगाउने नियम बाध्यकारी बनाइएको छ ।

बेल्जियमले शनिबारदेखि बाध्यकारीबाहेक सबै यात्रामाथि प्रतिबन्ध लगाएको छ । बेल्जियमभर १ सय जनाभन्दा बढीमा बेलायतबाट फैलिएको नयाँ प्रकारको कोरोना भेटिएको एक अध्ययनको निष्कर्षपछि यात्रामा प्रतिबन्ध लगाएको हो । यो भाइरस निकै तीव्र रूपमा फैलिइसकेको हुन सक्ने सम्भावना भएको विज्ञहरुको सुझावपछि सरकारले यस्तो निर्णय गरेको हो ।

बाध्यकारी भ्रमण गर्नेहरुले पनि भाइरस परीक्षण नेगेटिभ भएको रिपोर्ट पासपोर्टमै टाँसेर हिँड्नुपर्ने र त्यसो नगरेमा २ सय ५० युरो जरिवाना गरिने सरकारले जनाएको छ ।

बेल्जियममा यस्तो निर्णय आगामी मार्च १ सम्मका लागि गरिएको हो । यो नियम अन्य देशबाट बेल्जियम आउन चाहने र बेल्जियमबाट अन्य देश यात्रा गर्न चाहने दुवैमा लागू हुने गृहमन्त्री एनेलिस भेर्लिन्डनले जनाएकी छन् । घरमा अधिकतम एक व्यक्तिलाई मात्रै भेट्न जाने अनुमति दिइनुका साथै चार जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ ।

नेदरल्यान्ड्स र पोर्चुगल उस्तै

नयाँ कोरोना फैलिएसँगै नेदरल्यान्डले आफ्ना शैक्षिक संस्थाहरु बन्द गरेको छ । देशबाहिरको भ्रमणमाथि पनि प्रतिबन्ध लगाइएको छ । अधिकारीहरुका अनुसार लकडाउनका नियमहरु कम्तीमा पनि फेब्रुअरी अन्त्यसम्म रहनेछन् । नेदरल्यान्ड्समा पनि अत्यावश्यकबाहेक सबै पसल, सिनेमाघर, हजाम, जिम बन्द छन् । त्यस्तै मार्च ३१ अगाडिका सबै वैदेशिक यात्रामाथि प्रतिबन्ध गरिएको छ ।

बेलायत, अफ्रिका र ब्राजिलबाट फैलिएको कोरोनाको नयाँ स्वरूपसँगै गरिएका कडा लकडाउनविरुद्ध युरोपमा विरोध प्रदर्शन भएका छन् । फ्रान्सको पेरिस, मार्सेई, बोर्दोलगायत सहरमा विरोध प्रदर्शनहरु चर्केका छन् । त्यसबाहेक जर्मनीको फ्‍य्रांकफर्ट, बर्लिन, बोन तथा स्पेन, इटाली, नेदरल्यान्ड्स र स्विट्जरल्यान्डमा पनि प्रदर्शनहरु भएका छन् ।

जर्मनी, फ्रान्स, स्पेन तथा नेदरल्यान्ड्समा भएका प्रदर्शनी हिंसात्मक बन्दै गएका छन् । प्रदर्शनकारीले सार्वजनिक स्थलका फोन–बुथ तोड्ने, गाडीमा आगजनी गर्ने तथा सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् । नेदरल्यान्डका विभिन्न सहरमा लकडाउनविरुद्ध भएका प्रदर्शनीमा परीक्षण केन्द्र र गाडीमा आगजनी गरिएको छ । तीन दिनदेखिको विरोधपछि लगाइएको जारी गरिएको कर्फ्यु आदेश प्रदर्शनकारीले तोडेका छन् । सुरक्षाकर्मीमाथि आक्रमण र लुटपाट गरेको आरोपमा १ सय ८० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।

पोर्चुगलमा जनवरी १५ देखि नयाँ लकडाउन घोषणा गरिएको छ । मे महिनायता लकडाउन खुला थियो । सम्भव भएसम्म घरबाटै काम गर्न आग्रह गरिएको छ । अत्यावश्यक पसलबाहेक अन्य व्यावसायिक संस्था बन्द छन् । क्याफे र रेस्टुरेन्टहरू टेक–वेमा सीमित छन् । स्कुलहरु भने जेनतेन खुला राखिएको छ । हाललाई लकडाउन एक महिना भनेर घोषणा गरिए पनि अब दुई सातामा समीक्षा गरिने भनिएको छ ।

नेपाली संक्रमित बढे

गैरआवासीय नेपाली संघको कोरोना भाइरस टास्कफोर्सका संयोजक तथा सार्वजनिक स्वास्थ्य विशेषज्ञ डा. सञ्जीव सापकोटाका अनुसार पछिल्लो समयमा पोर्चुगल, स्पेन र पोल्यान्डमा संक्रमित हुने नेपालीको संख्या बढेको छ । ती देशमा शारीरिक श्रम गर्ने नेपाली बढी छन् ।

उनीहरुले सार्वजनिक यातायातको प्रयोग गर्ने भएकाले संक्रमितको संख्या बढेको सापकोटाको भनाइ छ । ‘ती देशमा काम गर्ने धेरै नेपालीहरु श्रमिक छन् । ती सार्वजनिक यातायातमा आवतजावत गर्ने हुँदा जनसाधारणसित धेरै सम्पर्कमा आउँछन् । जसका कारण संक्रमित बढेका हुन्,’ उनले कान्तिपुरसँग भने । सापकोटाका अनुसार पछिल्लो समय कोरोना भाइरस परीक्षणको क्रम बढेको र संक्रमितले धेरैपछि रिपोर्ट गरिदिनाले पनि संक्रमित संख्या बढेको देखिएको हो ।

फिनल्यान्ड, नर्वे, स्विडेनजस्ता स्केन्डिनेभियन देशमा बस्ने नेपालीमा भने भाइरसको संक्रमण कम देखिएको छ । स्केन्डिनेभियन देशहरुमा हालसम्म जम्मा १ सय नेपाली मात्रै संक्रमित छन् । डा. सापकोटाका अनुसार हालसम्म युरोपभरमा कोरोना भाइरसबाट ८५ नेपालीको मृत्यु भइसकेको छ । तीमध्ये सबैभन्दा धेरै बेलायतमा मर्नेको संख्या ७६ छ । जर्मनीमा संक्रमितको संख्या ३३ छ भने पोल्यान्डमा १ सय हाराहारी पुगेका छन् ।

कोरोनाविरुद्धको खोप लगाउने र नलगाउने दुवैले कोरोना स्वास्थ्य उपायहरु निरन्तर अपनाउनुपर्ने भनाइ उनको छ । स्वास्थ्य सतर्कता अपनाउने कुरामा बढी अद्यावधिक हुनैपर्ने उनको सुझाव छ । ‘कोरोनाको खोप लगाए पनि सर्दैन भन्ने यकिन छैन । त्यसैले स्वास्थ्य सुझावहरु सबैले पालना गर्नुपर्छ,’ उनले भने ।

बेलायतमा बढ्दो त्रासदी

लन्डन नर्थ ह्यारोमा रेस्टुरा चलाइरहेकी सरस्वती केसीलाई कोरोना भाइरस निकै अभिशाप बन्यो । व्यवसाय डामाडोल त छँदै छ, पहिलो लहरमा ससुरा गुमाइन् । आफन्तजन संक्रमित भए । ‘दिनहुँ मान्छे मरेको सुन्दासुन्दा वाक्क लाग्न थालिसक्यो । साथीभाइ गुमाउनुपरेको छ । आाफैंलाई कुन बेला के हुने हो थाहा छैन । भेटघाट ठप्प छ । वास्तवमा ज्यादै मानसिक तनाव हुने रहेछ,’ केसीले वेदना सुनाइन्, ‘व्यवसाय पनि छ भन्ने मात्र हो । सरकारले थोरै राहत नदिएको भए उहिल्यै ताला लागिसक्थ्यो ।’

लन्डनको नर्थविक पार्क अस्पतालमा कोरोनाबाट मर्नेको संख्याको लेखाजोखा छैन । त्यहाँ नेपाली कैयौंले पनि ज्यान गुमाए । सोही अस्पतालमा सुपरभाइजरका रूपमा कार्यरत विशाल तामाङ मुटु दह्रो पारेर काममा निस्कने गरेको बताउँछन् । ‘अस्पताल कोभिड बिरामीले भरिएका छन् । आँखै अगाडि मानिस मरेको देख्दा चर्को मानसिक तनाव हुन्छ,’ उनले भने । आफूले कोभिड खोपको पहिलो डोज लिएर केही हदसम्म मन शान्त भए पनि अस्पतालको भयावह स्थितिले आक्रान्त हुनुपरेको तामाङको अनुभव छ ।

कोभिड–१९ को प्रत्यक्ष मारमा बेलायतको नेपाली डायस्पोरा पनि परेको छ । लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल बेलायतमा कोभिड संक्रमणबाट अहिलेसम्म करिब ७५ नेपालीले ज्यान गुमाएका बताउँछिन् । मृतकमध्ये अधिकांश भूतपूर्व गोर्खा र तिनका परिवार छन् । ’कोभिडबाट मृत्यु भयो भनेर दूतावासमा खबर नआउने भएकाले यकिन तथ्यांक पाउन गाह्रो छ,’ खनालले कान्तिपुरसँग भनिन्, ‘कतिले बेलायती पासपोर्ट लिएकाले पनि खबर नगरेको हुन सक्छ । कतिपयले आफ्नो गोपनीयता खोल्नै चाहन्नन् ।’

दूतावासले बेलायतमा लकडाउन जारी रहेका कारण आफ्ना नियमित कन्सुलर सेवाहरु जस्तै राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, गैरआवासीय नेपाली परिचयपत्र, भिसा एवं कागजात प्रमाणीकरण हुलाकमार्फतै गरिरहेको छ । साथै बेलायतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट (स्वरूप) फैलने क्रम अत्यधिक भएपछि नेपाल सरकारले डिसेम्बर तेस्रो सातादेखि गरेको हवाई उडान प्रतिबन्धबीच काजकिरिया वा अन्य अति आवश्यक कामका लागि नेपाल जान परे दूतावासले सिफारिस पत्र दिएर समस्या समाधान गर्ने गरेको उपनियोग प्रमुख खनालले जनाइन् ।

नेपाली समुदाय मात्र होइन अन्योल, त्रास र संकट सर्वत्र छ यतिखेर । बेलायतले कोरोना भाइरसको दोस्रो लहर सामना गरिरहेको अवस्था छ । भाइरसको नयाँ भेरियन्टले झन् आक्रान्त छ ब्रिटेन । भाइरस संक्रमण अत्यधिक फैलिएपछि बेलायत अहिले तेस्रो राष्ट्रिय लकडाउनमा छ । बेलायतस्थित कोभेन्ट्री विश्वविद्यालयमा इपिडिमियोलजी तथा हेल्थ केयर रिसर्च विषयका एसोसिएट प्रोफेसर डा. ओम कुर्मीका अनुसार, सुरुमा यो नयाँ भाइरस (भेरिएन्ट) लगभग ७० प्रतिशतसम्म संक्रामक रहेको जनाइएको भए पनि हाल यसको मृत्युदर पुरानोको तुलनामा ३० प्रतिशत बढी पाइएको छ ।

कुर्मीले हालसम्मको अध्ययनले प्रयोगमा आइसकेका फाइजर–बायोएनटेक र अक्सफोर्ड–अस्ट्राजेनेका दुवै खोप नयाँ भेरिएन्टमा पनि प्रभावकारी देखिएको बताए ।

व्यापार, व्यवसाय सबैतिर ठप्प छ । २४ सै घण्टा जागा रहने सेन्ट्रल–लन्डन चकमन्न देखिन्छ । स्कुल, कलेज र विश्वविद्यालय अनलाइनका भरमा सीमित छन् । नर्थहयाम्पटन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय व्यापारका सहप्राध्यापक डा. बुद्धि पाठकका भनाइमा ‘जी–७’ मुलुकमध्ये कोरोनाका कारण बेलायत दोस्रो धेरै प्रभावित छ । खासगरी हस्पिटालिटी र रिटेल क्षेत्र बढी मारमा छन् ।

सन् २०२१ मा बेलायतको जीडीपी ५. ५ देखि ६ प्रतिशतसम्म बढ्ने आशा गरिएकोमा जारी लकडाउनले त्यसविपरीत गएको छ अर्थतन्त्र । करिब १ करोड कामदार सरकारको तलब प्याकेजमा आश्रित छन् । ‘देश बजेट घाटामा छ । गत डिसेम्बरमा मात्र ३४ अर्ब पाउन्ड सापटी लिएको सरकारले अहिलेसम्म करिब २ खर्ब ८० अर्ब पाउन्ड सापटी लिएर धानिरहेको छ । अर्थतन्त्र चलायमान नभइन्जेल यसरी कतिन्जेल चल्छ ?’ डा.पाठकले प्रश्न गरे । बेलायती अर्थतन्त्रको आकार सन् २०२० को फेब्रुअरीको तुलनामा ८.५ प्रतिशतले सानो भएको जनाइएको छ ।

बेलायतमा हालसम्म करिब ७० लाख जनाले खोपको पहिलो डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ । फेब्रुअरी दोस्रो सातासम्म करिब डेढ करोड मानिसलाई खोप लगाउने अभियानमा छ बेलायत । बेलायतमा यसअघि १७ वटा ठूला खोप केन्द्रबाट उल्लेख्य संख्यामा कोरोना भाइरसविरुद्ध खोप दिइँदै आइएकोमा यसै साता ३२ वटा केन्द्र थपिने जनाइएको छ । अहिले करिब १ हजार जीपी, २५० अस्पताल र फार्मेसीहरुबाट पनि खोप वितरण भइरहेको छ ।

प्रकाशित : माघ १६, २०७७ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?