कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अति जोखिमको क्षेत्रमा सरकार तत्काल पुग्नुपर्छ : उपप्रधान तथा गृहमन्त्री लामिछाने

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु भएसँगै जेठ १९ देखि असोज १९ सम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि गृहमन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने बताएका छन् ।

अति जोखिमको क्षेत्रमा सरकार तत्काल पुग्नुपर्छ : उपप्रधान तथा गृहमन्त्री लामिछाने

मनसुन सम्बन्धि विपद् जोखिम सम्बन्धि सरोकारवालहरूसँगको छलफलमा सोमबार उपप्रधान तथा गृहमन्त्री लामिछानेले उक्त जानकारी दिएका हुन् । वर्षायाम सुरु भएसँगै मनसुनजन्य विपतमा जनताको उद्धार र राहतको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सडक विभाग, हेलिकोप्टर व्यवसायीको प्रतिनिधि, मौसम पूर्वअनुमान, जल तथा मौसम विभागको प्रतिनिधित्व हुनेगरी तीन दिनभित्र टास्क फोर्स बनाउने गृहमन्त्रीले जानकारी दिएका हुन् ।

टास्क फोर्सले तीन दिनभित्रमा विपद्बाट जनतालाई जोगाउनको लागि गर्नुपर्ने काम र अधिकारका विषयमा कार्ययोजना सहितको कार्यविधि बनाउन लामिछानेले अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

मनसुन सुरु भएकाले प्राकृतिक विपद्मा जनताको राहत र उद्धार गर्नु राज्यको दायित्व भएको भन्दै जोखिम आउनु भन्दा पहिला नै राज्यले तयारी गर्न आवश्यक रहेको उनको भनाइ थियो । टास्क फोर्सले सम्पूर्ण अधिकार पाउने गरी कार्यविधि बनाएर कामको थालनी गर्न गृहमन्त्री लामिछानेले निर्देशन दिएका हुन् ।

‘मनसुन सुरु भएकाले प्राकृतिक विपद्मा जनतालाई राहत र उद्धारको लागि सबै निकायहरूको प्रतिनिधित्व हुनेगरी जेठ १९ देखि असोज १९ गतेसम्मको लागि गृह मन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउँछौं । त्यो टिमले सम्पूर्ण अधिकार पाउँछ । टास्क फोर्सको कार्ययोजना र कार्यविधि बनाएर कामको थालनी गर्नुहोला । एक वर्षको मनसुनको लागि एउटा कार्यविधि बन्छ । अफ्ठ्यारो परेको अवस्थामा कानुनी अड्चन नहुने गरी कार्यविधि बनाउनुपर्छ,' गृहमन्त्री लामिछानेको निर्देशन थियो, 'तीन दिनभित्र सबै निकायहरूसँगको समन्वयमा टास्क फोर्स बनाउनु होला । समितिमा सडक विभाग, हेलिकप्टर एसोसिएशनका प्रतिनिधि, मौसम पूर्वअनुमान, जल तथा मौसम विभागको प्रतिनिधित्व हुने गरी बनाउनुस् । विपतमा सरकारले निर्णय गर्न नसक्दा कुनैपनि नागरिकको ज्यान जानु भएन । त्यो निर्णय कहाँबाट गर्न सकिन्छ तीन दिनभित्रमा कार्ययोजना बनाएर मलाई दिनुस् । विपतमा राज्यले तत्काल उद्धार गर्नसक्ने गरी अहिलेदेखि तयारी गरौं ।'

बाढी पहिरोको कारण सडक अवरुद्ध हुँदा तत्कालको लागि बेलीब्रिज आवश्यक पर्ने भएकाले त्यसको व्यवस्था गर्न पनि गृहमन्त्री लामिछानेले निर्देशन दिएका छन् । 'बेलीब्रिज कति रहेका छन्, १८ वटा भनिएको छ । त्यसको अधिकार पाएको क्षेत्र कुन हो ? को मातहतमा कस्तो अवस्था छ ? तीन दिनभित्र सार्वजनिक गर्नुस् । एडीआरआरईले विपद् आउन सक्ने १० जोखिम क्षेत्रमा तत्कालै टीम पठाउनु पर्‍यो । त्यहाँका नागरिक बचाउन अहिलेदेखि तयार गर्नुपर्छ,' गृहमन्त्रीले भने, 'बाढी पहिरो लगायतका जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम तत्काल गर्न टीम पाउने व्यवस्था गर्नुस् । अति जोखिमको क्षेत्रमा सरकार तत्काल पुग्नुपर्छ ।’

गृहमन्त्री लामिछानेले यो वर्षको मनुसन जन्य विपद् जोखिमबाट बचाउने र जोखिम परे तत्काल उद्धार गर्ने र जनतालाई सरकार भएको अनुभुति हुनेगरी काम गर्ने लक्ष्य रहेको बताए । उक्त लक्ष्य पूरा गर्नको लागि सम्बन्धित निकायहरूले अहिलेदेखि तयारी थाल्न जरुरी रहेको उनको भनाइ थियो ।

प्रकाशित : जेष्ठ १४, २०८१ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×