२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

बहिनी अघिअघि, दाजु पछिपछि

काठमाडौँ — शनिवार एकाबिहानै बर्दिवास बजारमा सेतो छडी समाएर अघि लागेकी वीरमाया गोले र छडी समाएर पछि-पछि डोहोरिएका हर्क बहादुर गोले नातामा दाजुबहिनी हुन् । हर्क र वीरमायाको जीवन वर्षौदेखि सहयोग मागेर चलेको छ । तर दुवै आँखा नदेख्ने हर्क र शारीरीक रुपमा पूर्ण तन्दुरुस्त नरहेकी वीरमायालाई सहयोग माग्न पनि सजिलो छैन । 

बहिनी अघिअघि, दाजु पछिपछि

हर्क बहिनीकै भरमा जीवन जिइरहेका छन् भने वीरमाया दाइको सहयोगी भएरै आधा जीवन बिताइसकेकी छन् । जन्मिएको एक वर्षमै संसार अध्याँरो भएपछि जीवनमा कहिल्यै खुशी नफर्किएको हर्कले सुनाए । ‘१० वर्षसम्म आमाले पालिन्,' उनले भने, ‘आमाको मृत्युपछि हाम्रो कोही रहेछ ।'

सानो उमेरमै आमा सुकुमायाको मृत्युपछि बाबुले अर्को विवाह गरेको र आफूहरु सहाराविहीन भएको उनले बताए । ‘जन्मँदै जलविन्दु भएर जन्मिएको रे म,’ हर्कले भने, ‘मैले के देखेँ थाहा छैन, तर एक वर्षमा दुवै आँखा नदेख्ने भएको रे ! आमाले भन्नुभएको ।’

अहिले सहयोग माग्दै बजारमा अघिपछि लागिरहेका हर्क र वीरमाया दुवैको जीवन अरुले दिएको सहयोगबाटै चलिरहेको छ ।२०११ सालमा जन्मिएका हर्क हाल बर्दिवास नगरपालिका-५ स्थित टुटेश्वरमा बस्छन् । ०४० सालमा विवाह गरेका हर्कको ०५७ सालमै श्रीमतीको निधन भएपछि केही समय उनको जीवन थप अन्धकार भयो ।

दाम्पत्य जीवनपछि जन्मिएका दुई छोरी समेत आफूले सहयोग मागेरै पालेको उनले सुनाए । ‘जबदेखि बाँच्नलाई माग्नपर्ने भयो त्यतिबेलादेखिनै बहिनीले साथ दिएकी छ,’ उनले भने, ‘उसको पनि कोही छैन, यसैगरी जीवन चलाएका छौँ ।’

खासै राम्ररी बोल्न नसक्ने वीरमायाका श्रीमान् पनि दाजुबहिनीकै मेहनतबाट पालिन्छन् । बोल्न र धेरै काम गर्न नसक्ने भएकाले मागेरै ३ जनाको परिवार पालिरहेको उनले बताइन् । ‘माग्दा पनि धेरैले दिदैँनन्,' वीरमायाले भनिन्, ‘कोहीले अवस्था हेरेर पनि दिन्छन्, यसैगरी चलेको छ जीवन’ ।

सहयोग माग्दा धेरैले गीत सुनाउ, बाजा बजाउ भन्न थालेपछि आफूले मुरली बजाउन सिकेको हर्कले सुनाए । अहिले हरेक घर र पसलको अगाडि गएर सहयोग माग्दा दिने रकम जम्मा गरेर खाने लाउने व्यवस्था गर्ने गरेको हर्कले बताए । आफ्नो जीवन आफैँ पाल्न सक्ने भएपछि छोरीहरुलाई अहिले हेर्न नपरेको उनले सुनाए । ‘आफ्नो भागनै खराब रहेछ,’ हर्कले भने, ‘यसरी हिड्न नपरोस् जस्तो लाग्छ । तर नहिडि कसरी बाँच्नु’ ?

५० वर्षदेखि यसैगरी चलेको जीवनमा अब हिड्न समेत नसक्ने भएपछि कसरी बाँच्ने भन्ने चिन्ता दुवैलाई छ । स्थानीयकै सहयोगमा केही वर्षदेखि अशक्त भएबापत सामाजिक सुरक्षा भत्ता लिन थालेको भएपनि भत्ताले जीवन चलाउन नपुग्ने हर्कले सुनाए । ‘बिमार लागिराख्छ, औषधि खानुकि भात,’ उनले भने, ‘नमागी सुखै छैन।'

सरकारले भत्ता बढाइदिने, अन्नपानी दिए जीवनमा मागेर हिड्न पर्ने थिएन जस्तो लाग्नेगरेको भएपनि अहिलेसम्म कसैले आफूहरुको बारे नसोचेको दुखेसो गरे । मुरली बजाउन श्वास समेत फुक्न नपुग्ने भएकाले अब अवस्था हेरेर सबैले सहयोग गरिदिन आग्रह समेत गरे ।

प्रकाशित : जेष्ठ ४, २०८१ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?