कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निषेधाज्ञामै झनै फटाफट नागढुंगा–सिस्नेखोला सुरुङमार्ग

कान्तिपुर संवाददाता

काठमाडौँ — देशभर चालु अवस्थाका धेरैजसो आयोजना निषेधाज्ञामा ठप्प बने । कतै कामदार नभएर त कतै निर्माण सामग्री ढुवानी गर्न नसक्दा । कामदारलाई कोभिड भएपछि कतिपय आयोजना बन्द भए । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार निषेधाज्ञा अवधिमा करिब ६ हजार आयोजना प्रभावित बनेका छन् ।तर, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनालाई न निषेधाज्ञाले छोयो न बर्खाले छेक्यो ।

निषेधाज्ञामै झनै फटाफट नागढुंगा–सिस्नेखोला सुरुङमार्ग

आयोजनाका निर्देशक नरेशमान शाक्यका अनुसार क्याम्पमा दैनिक कामदारको ज्वरो नापेर, सेनिटाइजर र मास्क अनिवार्य गरेर काम अघि बढाइयो । क्याम्पमै ३२ जना अट्ने गरी १० वटा आइसोलेसन कोठा निर्माण गरिएको छ । छुट्टै अक्सिजन सिलिन्डरको व्यवस्था छ । नर्स राखेर चौबीसै घण्टा स्वास्थ्य सुविधा उपलब्ध छ । निर्माण कम्पनीले आवश्यक पर्दा डाक्टर र एम्बुलेन्सको व्यवस्था गर्छ ।

‘बाहिर कन्टयाक्ट नहुने गरी सबै कामदारलाई आइसोलेसनमा राख्ने प्रयास गर्‍यौं,’ उनले भने, ‘व्यवस्थित कन्टयाक्ट ट्रेसिङ र प्रत्येक सवारीलाई सेनिटाइज गर्न थाल्यौं ।’ कन्टयाक्ट ट्रेसिङमा ८२ जनासम्म संक्रमित भए । शाक्यका अनुसार स्थानीयको घरसमेत लिएर आइसोलेसन वार्ड थप्नुपरेको थियो । नआत्तिई कन्टयाक्ट ट्रेसिङको मेकानिजम बलियो बनाइएकाले ठूलो समस्या नआएको उनको भनाइ छ । ‘एक जना कामदारलाई कोभिड भयो भने ऊ क–कसको सम्पर्कमा छ, सबैको पीसीआर परीक्षण गर्‍यौं,’ उनले भने, ‘सावधानी अपनाएकैले कोरोना धेरै फैलिन पाएन ।’

यसरी आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर आयोजनाको काम चौबीसै घण्टा जारी रह्यो । सुरुमा ६ सय ५० कामदार खटाएर १२/१२ घण्टाको दुई सिफ्टमा सुरुङ खन्ने काम अघि बढाइएको थियो । प्रशासनिक फाँटका कर्मचारीले घरबाटै काम गरे । संक्रमणपछि डेढ सय जनामा झरे पनि उनीहरूबाटै काम चालु राखिएको शाक्यले बताए । निषेधाज्ञाअघि भौतिक ११ प्रतिशत काम भएकामा आयोजनाले निषेधाज्ञाबीचमै ५ प्रतिशत भौतिक प्रगति गरेको शाक्यको दाबी छ ।


प्रकाशित : श्रावण १२, २०७८ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?