१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

तीर्थले जिते एभरेस्ट म्याराथन

स्याङबोचे, सोलुखुम्बु — संसारकै सबैभन्दा उच्च स्थानमा दौडँदै त्रिभुवन आर्मी क्लबका धावक तीर्थबहादुर तामाङले १७ औं तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको उपाधि जितेका छन् । उनले आइतबार सगरमाथा आधारशिविरदेखि नाम्चेसम्मको ४२ दशमलब १९ किमिको दूरी ३ घण्टा ५१ मिनेट ०९ सेकेन्डमा पूरा गरे । राजकुमार राजभण्डारीे ३ घण्टा ५१ मिनेट ५९ सेकेन्डबाट दोस्रा भए । स्थानीय धावक सुमन कुलुङ ३ घण्टा ५३ मिनेट १० सेकेन्डबाट तेस्रो भए । उनीहरू खुला म्याराथनतर्फ विजेता भएका हुन् ।

तीर्थले जिते एभरेस्ट म्याराथन

महिलातर्फ म्याराथनको उपाधि पूर्णिमाया राईले जितिन् । उनले ५ घण्टा १९ मिनेट १५ सेकेन्डमा दौड पूरा गरिन् । दोस्रो र तेस्रो क्रमशः अमलधानी राई र सेविका राई विजयी भए । उनीहरूले क्रमशः १ लाख, ७५ हजार र ५० हजार पुरस्कार प्राप्त गरे ।

म्याराथनका लागि लुम्बिनीस्थित विश्व शान्तिद्वीपको ज्योति लुम्बिनी टर्च (बुद्ध फ्लेम) सगरमाथा बेसक्याम्प पुर्‍याइएको थियो । लुम्बिनी टर्चलाई बेसक्याम्प परिक्रमा गराई आइतबार बिहान ७ बजे म्याराथन सुरु गरिएको थियो । ७३ वर्षीय ब्राजिलियन धावक विल्सन कार्लोस ब्रोन्ज कोत्रिमले टर्च उचालेर दौड सुरु गरे ।

सगरमाथामा पहिलो पटक एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले ६९ वर्षअघि सन् १९५३ मे २९ मा पाइला राखेको दिनको सम्झनामा म्याराथन हुँदै आएको छ । कोभिड–१९ का कारण दुई वर्ष रोकिएको म्याराथनको यो १७ औं संस्करण हो ।

लुम्बिनीदेखि बुद्ध फ्लेम ओलम्पियन वैकुण्ठ मानन्धरले नाम्चेसम्म ल्याएका थिए । ‘विश्वकै अग्लो स्थानमा दर्गुन पाउनु सबैका लागि गर्वको अनुभूति हुन्छ,’ म्याराथनका परिकल्पनाकार विक्रम पाँडेले भने, ‘साहसिक रोमाञ्चक अनुभव उस्तै पाउँछन् ।’

म्याराथन बेसक्याम्पको सिरानस्थित खुम्बु आइसफल छेउबाट सुरु भएको हो । करिब ३ किमि हिउ छिचोल्दै खेलाडी अघि बढेका थिए । लालीगुराँसको मनमोहक रसस्वादन लिँदै ट्रेल रनिङको आनन्द लिँदै दौड्नुमा आनन्दको सीमा नभएको धावक सुमन कुलुङले बताए ।

३५ वर्षे तीर्थले एक लाख रुपैयाँ पुरस्कार जिते । राजकुमार र सुमनले क्रमशः ७५ हजार र ५० हजार जिते । ‘संसारकै अग्लो ठाउँमा दौडेर पुरस्कार जित्दा निकै खुसी छु,’ विजेता तीर्थले भने, ‘दौड्न पूरा गर्न निकै कठिन र जोखिम भए पनि दगुर्दा सबै दुःखकष्ट भुलें ।’ प्रतियोगितामा २५ मुलुकका ६७ पुरुष र २९ महिला तथा नेपाली ४८ पुरुष र ११ महिला सहभागी थिए ।

विदेशीतर्फ म्याराथनमा स्विस धावक बेनहर्ड विजेता हुँदा रोमानियाका ड्रागोस र बेलायतका बेन्जामिन क्रमशः दोस्रा र तेस्रा भए । २१ किमि खुला हाफ म्याराथनको उपाधि सबै विदेशीले जिते । जर्मनीकी भेरेना स्केलिमियारले जितिन् । उनले ३ घण्टा ६ मिनेट ३४ सेकेन्डमा पुरा गरेर उपाधि जितिन् । रोमानियाकी एलेना फुर्तुेले ३ घण्टा २८ मिनेट १७ सेकेन्डबाट दोस्रो भइन् । जर्मन नागरिक डाइटमर स्टुप्ट ३ घण्टा ३० मिनेट १९ सेकेन्डबाट तेस्रो भए । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार पाऐ ।

६० किमि खुला अल्ट्रा म्याराथन अर्जुन राई कुलुङले जिते । दोस्रो र तेस्रो क्रमशः गोपाल तामाङ र दुर्गाराज बुढा भए । उनीहरूले क्रमशः १ लाख, ७५ हजार र ५० हजार पुरस्कार प्राप्त गरे ।

‘विश्वकै कठिन र हाइअल्टिच्युड लाग्ने ठाउँमा दौड पूरा गर्न सबै लालयित हुन्छन्,’ इभेन्ट म्यानेजर शिखर पाण्डेले भने ।

प्रकाशित : जेष्ठ १६, २०७९ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?