काठमाडौँ — मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शवलाई काठमाडौं ल्याइएको छ । सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट १० वटा शव पोखरा हुँदै काठमाडौं ल्याइएको हो ।
अहिले ती शव अन्तर्राष्ट्रिय विमानस्थलबाट पोस्ट मार्टमका लागि टिचिङ हस्पिटल लगिएको छ । स्थानीयसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको उद्धार टोलीको सहयोगमा दुर्घटनास्थलबाट शव काठमाडौं ल्याइएको हो ।
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । खराब मौसम र जटिल भौगोलिक अवस्थाका कारण उक्त विमान दुर्घटना भएको सोमबार मात्रै पुष्टि भएको हो।
काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको टिप्पणी गरेका छन् । साथै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई नेता ओलीले निर्देशन दिएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वारमा बसेको पार्टी संसदीय दलको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बजेट अनुचित, बिना सिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै त्यसको भण्डाफोर हुने गरी जनताको बीचमा लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।
प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बजेट अनुचित ढंगले, बिना सिद्धान्त र प्राथमिकताका आधारमा आएकाले त्यसको भण्डाफोर गरेर अघि बढ्न पार्टीका अध्यक्ष ओलीले निर्देशन दिएका हुन् । ‘अध्यक्षले बजेट अनुचित ढंगले आएको, सिद्धान्तहीन र प्राथमिकताविहीन ढंगले आएकाले त्यसलाई भण्डाफोर गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको छ,’ प्रमुख सचेतक भट्टराईले भने ।
बैठकले सरकारले ल्याएको बजेट चुनावमा भोट माग्ने किसिमले मात्रै आएको, मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको र 'हावादारी' रहेको निष्कर्षसमेत एमालेले निकालेको छ ।
बैठकमा अध्यक्ष ओली, पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे, युवराज खतिवडाले बजेटबारे सांसदहरुलाई प्रशिक्षण पनि दिएका थिए । त्यसैगरी पार्टी निकट बौद्धिक व्यक्तित्वहरु राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पुष्पराज कँडेल, योजना आयोगका पूर्वसदस्य दिनेशचन्द्र देवकोटाले पनि बजेटबारे आफ्नो धारणा राखेका थिए ।