१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

माओवादी पार्टीहरूको एकता जरुरी छ : नेत्रविक्रम चन्द

'१५ वर्षयता मुलुकमा संसदीय व्यववस्थाको जुन अभ्यास भयो त्यो सफल भएन । सामान्य सुकुम्बासीदेखि बुद्धीजिवीसम्म, राजनीतिक व्यक्तिदेखि उद्योगी व्यवसायीसम्मको बुझाय यही छ । त्यसैले स्थिरता र शान्ति ल्याउन सक्छ भन्ने भएपछि यो मोर्चामा हामी आयौं'

कपिलवस्तु — नेकपाका नेता नेत्रविक्रम चन्दले अहिले नेपालको कम्युनिस्ट आन्दोलनको विषयमा बहस जरुरी रहेको भन्दै यसलाई एकीकृत गर्ने समय आएको बताएका छन् ।

माओवादी पार्टीहरूको एकता जरुरी छ : नेत्रविक्रम चन्द

अहिले माओवादी पार्टीहरूको एकताभन्दा पनि मोर्चा निर्माणको विषय महत्त्वपूर्ण रहेको उनले बताए । र यसमा आफूहरू एक हदसम्म सफल भएको चन्दको दाबी छ । हालै गठन भएको समाजवादी मोर्चाको सन्दर्भ जोड्दै नेता चन्दले यस्तो बताएका हुन् ।

समाजवादी कोर्चाको विषयमा उनले अस्थिरता र आर्थिक संकटले अस्थिर बनेको मुलुकलाई सुव्यवस्थित र संगठित तरिकाले निकास दिन चार राजनीतिक दलका बीच सहमति बनेको भनाइ थियो ।

पार्टी केन्द्रीय कार्यालय शिवगढीमा कान्तिपुरसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । यस क्रममा चन्दले समाजवादी मोर्चामा आफूहरू सामेल भए पनि आफ्नो पार्टीलाई संसदवादी पार्टीको रुपमा हेर्न नहुने जिकिर गरेका थिए ।

'माओवादी पार्टीहरुबीचको एकता वस्तुगत रुपले बन्न जरुरी भएको छ । त्यसका लागि छलफलहरु चलेका छन् । तर सुव्यवस्थित तरिकाले विषयमा प्रवेश गरेका छैनौं । एकता हुने विषय मुख्य भएपछि त्यसमा छलफल गरेर संगठनात्मक क्षेत्रमा नीति, विचार र कार्यक्रमले माग गरेअनुसार पदमा बस्न हामी जो कोही जहाँ पनि तयार छौं,' चन्दले भनेका छन् ।

यस्तै बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भइरहेको वार्ताको सन्दर्भमा पार्टी एकता मात्र नभएर राष्ट्रिय स्वाधिनता, यथास्थितीवादी प्रवृत्तिबारे पनि छलफल भएको उनले बताए ।

समाजवादी मोर्चामा आबद्ध भए पनि उनले सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने बताएका थिए । उनले भनेका छन्, 'आवश्यकता पर्‍यो भने संघर्ष र आन्दोलन गर्न पनि पछि पर्दैनौं ।'

चार दलबीच बनेको मोर्चाले देशलाई स्थिरता र निकास दिने भन्दै उनले आफूहरू पनि मोर्चामा सामेल भएको बताएका थिए । साथै अहिलेसम्मका उपलब्धि रक्षा गर्न आफूहरू मोर्चामा आएको उनले स्पष्टीकरण दिएका छन् ।

'१५ वर्षयता मुलुकमा संसदीय व्यववस्थाको जुन अभ्यास भयो त्यो सफल भएन । यसमा सिंगो देश स्पष्ट छ । सामान्य सुकुम्बासीदेखि बुद्धीजिवीसम्म, राजनीतिक व्यक्तिदेखि उद्योगी व्यवसायीसम्मको बुझाय त्यही छ । त्यही भएर मुलुकलाई अग्रगामी निकास दिएर समाजवादमा पुर्‍याउनुपर्छ । यसले स्थिरता र शान्ति ल्याउन सक्छ भन्ने भएपछि यो मोर्चामा हामी आयौं,' चन्दले भने ।

प्रकाशित : असार १८, २०८० १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?