कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माधवजी र मैले फेरि नेकपातिरै फर्किनुपर्छ भनेका छौं : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने बताएका छन् । आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

माधवजी र मैले फेरि नेकपातिरै फर्किनुपर्छ भनेका छौं : प्रधानमन्त्री

उनले समाजवादी मोर्चा घोषणाको बेलामा पनि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूले फेरि नेकपातिरै फर्किनुपर्ने र फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्ने कुरा उल्लेख गरेको बताए । उनले त्यसका लागि समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकतावद्ध गर्ने पहल सुरु गरिसकेको पनि बताए ।

‘कम्युनिष्ट शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्न सक्छ भन्ने ठानेर मैले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कम्युनिष्टहरुलाई एकतावद्ध गर्‍यो भने छिटो भन्दा छिटो हामीले आर्थिक समृद्धितिर पनि जान सकिन्छ, समाजवादतिर पनि देशलाइ डोर्‍याउन सकिन्छ, भनेको थिएँ । र कम्युनिष्ट एकता भयो पनि । देशको सबैभन्दा ठूलो शक्ति झन्डै दुई तिहाई प्राप्त पनि भयो । जनतामा ठूलो उत्साह देखापर्‍यो,' उनले भने, 'अब कम्युनिष्टहरुले ४०,५० कति वर्ष लाने हुन्, शासन भनेर भय थियो । तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौँ । त्यो एकतालाई बचाएर राष्ट्र, जनता, समाजवादको हीतमा जो प्रचुर सम्भावना थियो, त्यो बचाउन सकिएन । म अहिले कसैलाई दोषारोपण गर्न उभिएको छैन, कम्रेड नारायणविलास जोशीप्रति श्रद्धा र सम्मान प्रकट गर्दैगर्दा हामीले एक पटक असफल भएपनि हामीले फेरि त्यसबाट शिक्षा लिएर अघि बढ्ने उद्देश्य राख्नुपर्दछ ।'

प्रधानमन्त्री दाहालले तत्कालीन नेकपामा रहेका बेला भएका त्रुटिलाई सच्याएर अघि बढ्न आवश्यक रहेको बताए । एक पटक असफल भयो भन्दैमा विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहास विश्वभरकै समाजवादी आन्दोलनको इतिहास, एकता, संघर्ष, विभाजन, फेरि रुपान्तरण, फेरि एकता फेरि संघर्ष यस्तैमा गुज्रिँदै अघि बढेको उनले उल्लेख गरे ।

'नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यही नियमअनुसार नै अघि बढेको छ । आज हामीले फेरि एक पटक विचार गर्नुपरेको छ । सबैले चिन्तन गर्नुपर्छ,' उनले भने, 'कि हिजो के कारणले एकीकृत भएको कम्युनिष्ट आन्दोलन बच्न सकेन । त्यहाँ विचारमा कहाँ त्रुटि थियो, राजनीतिमा कहाँ त्रुटि थियो, आचरण र संस्कृतिमा भावनामा कहाँ त्रुटि भयो ? के प्रकृतिका कारणले हाम्रो विभाजन भयो भन्नेकुराको गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अघि जाने हामीले जमर्को गर्नुपर्छ ।

अहिले माधवकुमार नेपाल, आफूलगायत नेत्रविक्रम चन्द र उपेन्द्र यादव समेतले फेरि समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकतावद्ध गर्ने पहल सुरु गरेको उनले बताए । 'अहिले कम्रेड माधवकुमार नेपाल, म लगायत कम्रेड विप्लव र कम्रेड उपेन्द्र यादव समेतले फेरि समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकतावद्ध गर्ने पहल सुरु गरेका छौँ,' उनले भने, 'त्यतिबेला हामीले माधवजीले पनि मैले पनि के भनेका छौँ भने फेरि नेकपातिरै फर्किनुपर्छ । फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्छ भन्नेकुरा भनेका छौँ ।’

प्रकाशित : असार १७, २०८० १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?