१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बजेटका धेरै कुरा राम्रा छन्, कार्यान्वयनमा चिन्ता छ : नेपाल

काठमाडौँ — नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताएका छन् ।

बजेटका धेरै कुरा राम्रा छन्, कार्यान्वयनमा चिन्ता छ : नेपाल

सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आर्थिक वर्ष २०७९/८० को बजेटमा धेरै कुराहरु राम्रो भएको भए पनि कार्यान्वयनको पक्ष फितलो हुनेमा चिन्ता व्यक्त गरेका हुन् ।

उनले बजेटमा उल्लेखित योजनालाई विद्यमान संरचनाले नधान्ने हो कि भन्ने चिन्ता रहेको उल्लेख गरे । उनले विगतदेखि नै कार्यान्वयनको समस्या हुने गरेको भन्दै लेखिएको कुरा कागजमा मात्रै सीमित नगरी व्यवहारमा लागू हुनुपर्नेमा जोड दिए ।

उनले भने– ‘आम रूपमा राम्रो पक्ष के छ भन्दाखेरी विभिन्न कृषि पद्धार्थहरुको उत्पादनमा जोड दिने कुराहरु गरिएको छ । हामीकहाँ कस्तो छ भने कुराहरु धेरै राम्रा हुन्छन् । योजनाहरु बडो राम्रो देखिन्छ । तर कार्यान्वयनको पक्ष बडो फितलो छ । अब योजनाको पाटोमा कुरा गर्दाखेरी हाम्रो संरचनाले त्यसलाई साथ दिन्छ कि दिँदैन ? संरचनाहरु चुस्त, दुरुस्त छन् कि छैनन् ? लेखिएको कुरा मात्रै कागजमा सीमित हुने हो कि व्यवहारमा लागू हुने हो ? भन्ने पक्षमा हाम्रो बढ्ता चिन्ता छ ।’

संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा(एकीकृत समाजवादी)का नेता झलनाथ खनालले बैठकले बजेटको कमिकमजोरीहरुलाई हटाएर अझ समृद्ध बनाएर लागू गर्नु राम्रो हुने निष्कर्ष निकालेको बताए । बैठकमा अध्यक्ष नेपालले बजेटको बुँदाहरु राम्रोसँग अध्ययन गरेर संसद्मा प्रस्तुत हुन सांसदहरुलाई आग्रह गरेका थिए ।

प्रकाशित : जेष्ठ १६, २०७९ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?