कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निषेधाज्ञामै झनै फटाफट सुरुङ

करिब ६ हजार आयोजना बन्द हुँदा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको काम एक दिन पनि रोकिएन
नर्स राखेर चौबीसै घण्टा स्वास्थ्य सुविधा उपलब्ध छ । निर्माण कम्पनीले आवश्यक पर्दा डाक्टर र एम्बुलेन्सको व्यवस्था गर्छ ।

काठमाडौँ — देशभर चालु अवस्थाका धेरैजसो आयोजना निषेधाज्ञामा ठप्प बने । कतै कामदार नभएर त कतै निर्माण सामग्री ढुवानी गर्न नसक्दा । कामदारलाई कोभिड भएपछि कतिपय आयोजना बन्द भए । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार निषेधाज्ञा अवधिमा करिब ६ हजार आयोजना प्रभावित बनेका छन् ।तर, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनालाई न निषेधाज्ञाले छोयो न बर्खाले छेक्यो ।

निषेधाज्ञामै झनै फटाफट सुरुङ

आयोजनाका निर्देशक नरेशमान शाक्यका अनुसार क्याम्पमा दैनिक कामदारको ज्वरो नापेर, सेनिटाइजर र मास्क अनिवार्य गरेर काम अघि बढाइयो । क्याम्पमै ३२ जना अट्ने गरी १० वटा आइसोलेसन कोठा निर्माण गरिएको छ । छुट्टै अक्सिजन सिलिन्डरको व्यवस्था छ । नर्स राखेर चौबीसै घण्टा स्वास्थ्य सुविधा उपलब्ध छ । निर्माण कम्पनीले आवश्यक पर्दा डाक्टर र एम्बुलेन्सको व्यवस्था गर्छ ।

‘बाहिर कन्टयाक्ट नहुने गरी सबै कामदारलाई आइसोलेसनमा राख्ने प्रयास गर्‍यौं,’ उनले भने, ‘व्यवस्थित कन्टयाक्ट ट्रेसिङ र प्रत्येक सवारीलाई सेनिटाइज गर्न थाल्यौं ।’ कन्टयाक्ट ट्रेसिङमा ८२ जनासम्म संक्रमित भए । शाक्यका अनुसार स्थानीयको घरसमेत लिएर आइसोलेसन वार्ड थप्नुपरेको थियो । नआत्तिई कन्टयाक्ट ट्रेसिङको मेकानिजम बलियो बनाइएकाले ठूलो समस्या नआएको उनको भनाइ छ । ‘एक जना कामदारलाई कोभिड भयो भने ऊ क–कसको सम्पर्कमा छ, सबैको पीसीआर परीक्षण गर्‍यौं,’ उनले भने, ‘सावधानी अपनाएकैले कोरोना धेरै फैलिन पाएन ।’

यसरी आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर आयोजनाको काम चौबीसै घण्टा जारी रह्यो । सुरुमा ६ सय ५० कामदार खटाएर १२/१२ घण्टाको दुई सिफ्टमा सुरुङ खन्ने काम अघि बढाइएको थियो । प्रशासनिक फाँटका कर्मचारीले घरबाटै काम गरे । संक्रमणपछि डेढ सय जनामा झरे पनि उनीहरूबाटै काम चालु राखिएको शाक्यले बताए । निषेधाज्ञाअघि भौतिक ११ प्रतिशत काम भएकामा आयोजनाले निषेधाज्ञाबीचमै ५ प्रतिशत भौतिक प्रगति गरेको शाक्यको दाबी छ ।

‘हामीसँग जापानिज प्राविधिक सँगै रहेकाले आयोजना बन्द नगर्न आग्रह गर्‍यौं,’ उनले भने, ‘देशका चालु प्राय: सबै प्रोजेक्ट बन्द भए, हामीले भने एक दिन पनि बन्द नगरी काम जारी राख्यौं ।’ कोभिड र निषेधाज्ञाकै कारण आयोजना बन्द गरेको भए तोकिएको समयमा काम सक्न समस्या हुने उनी बताउँछन् । ४२ महिना निर्माण अवधि तोकिएको आयोजनाले २१ महिना पूरा गरिसकेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा सुरुङमार्गको शिलान्यास गरेका थिए । ‘टिमवर्कमा काम गर्दा निषेधाज्ञामा पनि राम्रो प्रगति भयो,’ उनले भने, ‘बन्द गरेर फेरि चालु गर्दा समय बढी लाग्थ्यो ।’ अबदेखि प्रत्येक महिना ४/५ प्रतिशत प्रगति बढाउँदै लैजाने शाक्यले बताए ।

संक्रमण नियन्त्रण गर्न कामदारका लागि स्वास्थ्य सामग्री, आइसोलेसनलगायतमा मात्रै करिब १ करोड रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । उक्त खर्च आयोजनाले नै व्यहोर्नेछ । अहिले फिल्डमा ६ सय जना कामदार छन् । काम जारी रहेकाले कामदारलाई कोभिड भ्याक्सिन उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको उनको भनाइ छ ।

आयोजनाकी इन्जिनियर कल्पना अधिकारीका अनुसार धादिङ र काठमाडौं दुवैतर्फ सुरुङ खन्ने काम जारी छ । ‘करिब १ किमि खनिसकियो,’ उनले भनिन्, ‘सँगसँगै ओभर पास, अन्डर पास, पानी आपूर्तिको काम, एप्रोच सडक निर्माण भइरहेको छ ।’ अहिलेसम्म भौतिक प्रगति १६ प्रतिशत र मोबिलाइजेसन पेस्कीसहित वित्तीय प्रगति २६ प्रतिशत छ । अबको ९ महिनाभित्र आपत्कालीन उद्धार (स्केप्ट टनेल) सुरुङ र ११ महिनाभित्र मुख्य सुरुङ खनिसक्ने आयोजनाले जनाएको छ । ‘यो प्रोजेक्टको महत्त्वपूर्ण पार्ट भनेको टेक्नोलोजी ट्रान्सफर हो, किनकि सडकको सुरुङ नेपालका लागि पहिलो हो,’ अधिकारीले भनिन्, ‘प्रविधि नयाँ भएकाले हामी पनि सिकिरहेका छौं ।’ उनका अनुसार आयोजनामा ८० प्रतिशतभन्दा बढी कामदार नेपाली छन् ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले आयोजनामा इक्विपमेन्ट बढी प्रयोग हुने भएकाले पनि काम नरोकिएको बताए । ‘अरू आयोजनामा कामदार बढी चाहिने हुन्छ, यसमा मेसिन नै बढी प्रयोग गरिएको छ,’ उनले भने, ‘त्यसैले सीमित जनशक्ति र मेसिनबाट काम जारी रह्यो ।’ व्यवस्थित आइसोलेसन वार्ड बनाएर आवश्यक पर्दा डाक्टर उपलब्ध गराएर पनि आयोजना चालु राखेकाले समस्या नआएको उनले बताए ।

सुरुङमार्ग निर्माणको जिम्मा जापानिज कम्पनी हाज्मा एन्डोले लिएको हो । निर्माण ठेक्का साढे २२ अर्ब रुपैयाँ रहेकोमा जापानको साढे १६ अर्ब ऋण सहयोग र ६ अर्ब नेपाल सरकारको रहेको छ । अहिले नागढुंगादेखि सिस्नेखोलासम्मको दूरी साढे ८ किलोमिटर छ  । आयोजना पूरा हुँदा २.६८ किमिको सुरुङमार्ग तयार हुनेछ ।

यसैबीच, धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोलामा ६ घर पहिरोको जोखिममा परेपछि स्थानान्तरणको काम गरिएको आयोजनाले जनाएको छ । सुरुङमार्गको रोड साइड सर्भिस स्टेसनमा रहेका ५ वटा घरटहरा भने स्थानीयले हटाउन अटेर गरेका छन् । जसका कारण निर्माण सामग्री भण्डारण गर्न समस्या भएको छ । सार्वजनिक कि निजी जग्गा भन्ने सम्बन्धमा अख्तियारले छानबिन गरिरहेको जनाइएको छ । त्यस्तै, काठमाडौंको बलम्बुतर्फ फ्लाई ओभर निर्माणका लागि जग्गा अधिग्रहण गर्न उपसमिति गठन भई मूल्य निर्धारण गर्ने प्रक्रिया पूरा भइसकेको जनाइएको छ ।

प्रकाशित : श्रावण १२, २०७८ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?