विमान दुर्घटनाबारे विज्ञ भन्छन्- 'उडानमा पूर्वसूचना कार्यान्वयन गरिएन'

कान्तिपुर संवाददाता

काठमाडौँ — मौसमसम्बन्धी पूर्वसूचना प्रणालीको आधारमा विमान उडान नगरे देशले ठूलो दुर्घटना भोग्नुपर्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

जेठ १५ गते भएको तारा एयरको विमान दुर्घटना खराब मौसम हुँदाहुँदै उडान भरेको तथ्यहरु सार्वजनिक भइरहेको र विगतका केही विमान दुर्घटनाहरु पनि पूर्वानुमान विपरीत उडान गर्दा दुर्घटना भएको भन्दै विज्ञहरुले सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले कुनै पनि विमानहरु थ्रेसहोल्ड (सीमा) मा चल्छन् वा चल्दैनन् भन्ने कुरा राष्ट्रिय रुपमा अनुगमन गर्न आवश्यक रहेको बताए ।

उनले विगतमा पनि अधिकांश विमान दुर्घटना मौसम प्रतिकुलका कारण भएको बताएका थिए । जलवायुको अवस्थालाई मध्यनजर गरी विमान उडाउने अन्तर्राष्ट्रिय अभ्यास भएको तर नेपालमा भने आन्तरिक उडानको क्रममा पूर्वसूचना प्रणालीलाई प्राथमिकता नदिएको उनको टिप्पणी थियो ।

उनले आगामी दिनमा पूर्वसूचना प्रणाली कार्यान्वयन भए/नभएको सुक्ष्म नियमन नगरे ठूलो जोखिम निम्तिने चेतावनी दिए । जल तथा मौसम विज्ञान विभाग र निजी एयरलाइन्सबीचको तलमेल नमिल्दा पनि यस्ता दुर्घटना हुनसक्ने डा उप्रेतीले बताए । जलवायु विज्ञ उप्रेतीले एयरलाइन्सले पाइलटलाई दबाब सिर्जना गरेर विमान उडाउन लगाएको हुनसक्नेतर्फ पनि सरकारले नियमन गर्नुपर्ने बताए ।

‘अहिलेको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागले डेली बुलेटिन निकाल्छ । प्रदेशअनुसार आएको बुलेटिनको कार्यान्वयन कस्तो छ भन्ने कुरा महत्वपूर्ण होला । महाशाखाले दिएको मौसमको जानकारीको कार्यान्वयन र निजी क्षेत्रले आफ्नो लाभहानीको विश्लेषणबीचको तादम्यता केही फरक हो कि ? जानैपर्छ हामीलाई घाटा हुन्छ भन्ने हो कि, वा पाइलटले जोखिम हुँदाहुँदै प्रेसरमा उडाएको अवस्था हो कि ? किनभने कुहिरो लागेको अवस्था भनिएको छ । कुहिरो लागिरहेको अवस्थामा पहाडी क्षेत्रमा दिउँसोको अवस्थामा जसरी हावाको वेग त्यो क्षेत्रमा बढी हुने र १० बजेदेखि दिउँसो ३ बजेसम्म हावाको गति बढी हुन्छ । कुनै पनि जहाजको आफ्नो थ्रेसहोल्ड हुन्छ । थ्रेसहोल्ड क्रस भएको हुनसक्छ । त्यसका फरक फरक चरण भनिएको छ । ग्रीन, ट्राफिक लाइन अनुसार नै त्यसलाई चरणबद्ध गरिएको हुन्छ । त्यो थ्रेसहोल्डलाई हामीले जबरजस्ती लान्छौँ वा त्यसलाई मानेर चल्छौं भन्ने कुराको राष्ट्रिय रुपमा नै अनुगमन गर्न जरुरी देख्छु,' जलवायु विज्ञ उप्रेतीले भने ।

विगतमा जलवायुसम्बन्धी भएका विमान दुर्घटनाको स्मरण गराउँदै उनले मौसमलाई आधार मानेर निर्णय लिने प्रक्रिया नभएको पनि औंल्याए । यस्तो निर्णयमा पूर्व सूचना प्रणालीलाई नमानेको देखिने उनको भनाइ थियो । उनले भने, 'संसारमा जहाँ पनि जलवायुको अवस्थालाई मध्यनजर गरेर विमान उडाइन्छ । हामीले यसलाई सुक्ष्म तरिकाले अनुगमन गरेनौं भने यसले जोखिम निम्त्याउँछ ।’

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले विभागले तीन दिनको पूर्वानुमान सम्बन्धित सरोकारवाला निकायहरुलाई सही समयमा गराइरहेको बताएका छन् ।

उनले भने, ‘हाम्रो ग्राउण्डमा हाम्रा अब्जर्भेसन नेटवर्क स्टेशनहरु हुन्छन् । त्यसको आधारमा प्राप्त सूचनाहरुलाई अहिलेको प्रविधि र उपकरणहरुको आधारमा हामीले प्रोसेस गरेर पूर्वानुमान गर्दछौं । सोही आधारमा तीन दिनको पूर्वानुमान बिहान ६ र बेलुका ६ बजे सरोकारवाला निकायहरुको लागि सही समयमा सही सूचना दिने गरेका छौं।'

प्रकाशित : जेष्ठ १७, २०७९ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्

सीमा विवाद मात्रै चीन−भारतको सम्पूर्ण सम्बन्ध होइन : चीन

लक्ष्मी लम्साल

बेइजिङ — चीनले भारतसँगको सीमा विवाद मात्रै सम्पूर्ण सम्बन्धको विषय नभएको जनाएको छ। मंगलबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता चाउ लीच्येनले सीमा मुद्दा मात्रै चीन-भारतको सम्पूर्ण सम्बन्ध नभएको टिप्पणी गरे।


भारतको वाणिज्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार चीनलाई पछि पार्दै अमेरिका भारतका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। यसबाट चीन-भारत सम्बन्धमा कुनै असर नपर्ने प्रतिक्रिया पनि उनले दिए। ‘हाल भारत-चीन सीमास्थिति स्थिर छ र दुवै पक्षबीच कूटनीतिक तथा सैन्य च्यानलमार्फत् घनिष्ठ सम्पर्क भइरहेको छ’, प्रवक्ता चाउले भने, ‘चीनले कहिल्यै पनि सीमा विवादलाई मात्र आपसी सम्बन्धको सम्पूर्णता मान्ने गरेको छैन। यसलाई आपसी सम्पर्कबाट यथास्थानमा राख्नुपर्छ र प्रभावकारी ढंगबाट किनारा लगाउनुपर्छ। आशा छ, भारतले चीनसँग आपसी विश्वास बढाएर व्यावहारिक सहयोगलाई सबल बनाउनेछ।’

सन् २०२१ को चिनियाँ तथ्यांक प्रस्तुत गर्दै प्रवक्ता चाउले चीन भारत द्विपक्षीय व्यापार १ खर्ब २५ अर्ब ६६ करोड डलर रहेको बताए। उनले भने, ‘अझै पनि भारतका लागि चीन नै सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। उपरोक्त तथ्यांक बमोजिम पहिलो पटक चीनसँगको कारोबार १ खर्ब डलरभन्दा माथि पुगेको थियो।’

चीन र भारतबीच फरक फरक तथ्यांकको मानक भएकाले केही तलमाथि हुनसक्ने बताउँदै प्रवक्ता चाउले भारतले अन्य व्यापारिक साझेदार खोज्नुसँग चीनको कुनै चिन्ता नरहेको बताए। उनले भने, ‘भारतको व्यापारिक साझेदारीमा चीनको कुनै आपत्ति छैन र व्यापार मात्रा र्‍याङ्किङमा भएको उतार-चढ़ावमा पनि उति रुचि राख्दैन।’

भारतले द्विपक्षीय आर्थिक तथा व्यापारिक लगानी सहयोगमा निष्पक्ष, पारदर्शी तथा दीगो वातावरण बनाओस् भन्ने चीनको ताकेता रहेको बताउँदै चिनियाँ परराष्ट्र प्रवक्ता चाउले पारस्परिक सहयोग तथा दुवै देशका जनता लाभान्वित हुने विषयमा चीनको चासो रहेको स्पष्ट पारे।

भारत सरकारले आर्थिक अनियमितताको कारण देखाउँदै चिनियाँ कम्पनी जेडटीई र भारतस्थित भिभो मोबाइल फोनका सम्बन्धित विभागहरूमा अनुसन्धान गरिरहेको छ। स्याउमी जस्ता कम्पनीहरूपछि भारतको यो अर्को अनुसन्धान हो। यसबारे टिप्पणी गर्दै प्रवक्ता चाउले चिनियाँ सरकारले यस विषयमा ध्यान दिइरहेको बताए।

चीनले सधैं नै चिनियाँ कम्पनीहरूलाई वैधानिक ढंगले विदेशमा काम गर्न आग्रह गरेको भन्दै चिनियाँ कम्पनीहरूलाई उनीहरूको वैध अधिकार र हितको रक्षाका लागि चीन दृढतापूर्वक उभिने पनि प्रवक्ता चाउले बताए। उनले भने, ‘भारतीय पक्षले कानुन र नियमहरूको पालना गर्नुपर्छ र चिनियाँ कम्पनीहरूलाई भारतमा लगानी गर्नको लागि निष्पक्ष, न्यायिक र भेदभावरहित व्यापारिक वातावरण उपलब्ध गराउनुपर्छ।’

प्रकाशित : जेष्ठ १७, २०७९ १८:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×