सूर्य नजिक मानव निर्मित यान- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सूर्य नजिक मानव निर्मित यान

सन् २०२४ सम्म रहने यान सूर्यको सतह नजिक २१ पटक पुग्ने
गोविन्द पोखरेल

काठमाडौँ — सूर्यको बाहिरी सतहमा पहिलोपटक मानव निर्मित प्रोभ (यान) पुगेको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाको ‘पार्कर सोलार प्रोभ’ सूर्यको कोरोना (बाहिरी भाग) मा प्रवेश गरेको हो । मानव निर्मित यान सूर्यको यति नजिक पुगेको यो पहिलो घटना हो ।

सूर्यको ४ तहमध्ये कोरोना बाहिरी तह हो । सूर्यमा कोरोना, क्रोमोस्फेयर, फोटोस्फेयर र कोर गरेर मुख्य चार तह छन् । नासाका अनुसार सूर्यको कोरोना यति धेरै तातो हुन्छ कि यसको तापक्रम १७ लाख डिग्री सेल्सियस हुन्छ ।

सन् २०१८ को अगस्ट १५ मा नासाले उक्त यानलाई सूर्यको अनुसन्धान गर्न त्यसतर्फ पठाएको थियो । पार्कर प्रोभ एल्फेन भागभित्र प्रवेश गरेको नासाले मंगलबार पुष्टि गरेको हो । एल्फेन सूर्यको सौर्य आँधी र सूर्यको वायुमण्डलबीचको भाग हो । यानले यही भाग छिचोल्दै सूर्यको कोरोनामा प्रवेश गरेको हो । सूर्य र पृथ्वीबीचको दूरी ९३ मिलियन माइल छ ।

सूर्यको आयतन यति ठूलो छ कि १३ लाख वटा पृथ्वी त्यहाँ अट्न सक्छन् । सौर्यमा पृथ्वीको जस्तो सतह नभएकाले यहाँ प्लाज्मा (विद्युत् शक्ति रहने ग्यासको तह) मात्रै हुन्छ ।

नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान नास्टका सह–प्राज्ञ एवं कस्मोलोजिस्ट विनोद अधिकारीका अनुसार यो तहमा हाइड्रोजन र हिलियमबीचको आणविक प्रतिक्रियाका कारण धेरै ऊर्जा निस्किने उनले बताए ।

सूर्यको विज्ञान अध्ययन गर्न यो मिसन सुरु गरिएको नासाले जनाएको छ । १ अर्ब ८० लाख डलर खर्च गरेर तयार गरिएको यो परियोजनाबाट नासाले सूर्यसँग सम्बन्धित विभिन्न अध्ययन तथा अनुसन्धान गर्ने लक्ष्य राखिएको छ । सूर्य र सौर्य आँधीको उत्पत्ति र कारणहरू यो अध्ययनको मुख्य उद्देश्य रहेको छ । परियोजना प्रोबमार्फत कोरोनामा ऊर्जा र तापको अवस्था र सौर्य आँधी कसरी आउँछ भन्नेमा केन्द्रित हुने बताइएको छ । सौर्य आँधी किन आउँछ यसको अनुसन्धान के हो भन्ने सवालमा पनि अनुसन्धान केन्द्रित हुने भनिएको छ ।

सन् २०२४ सम्म कोरोनामा रहने यान सूर्यको सतह नजिक २१ पटक पुग्ने नासाका वैज्ञानिकको विश्वास छ । बाँकी ३ वर्षमा प्रार्कर प्रोभ सूर्य केन्द्र भागदेखि ३.८३ मिलियन माइल नजिक पुग्ने नासाले जनाएको छ । अन्तरिक्षमा यो दूरी धेरै नजिक हो । ६० वर्ष अघिदेखि नासाले सूर्य मिसन सञ्चालन गर्ने सोचे पनि त्यति तातो थेग्न सक्ने यान बनाउन सकिएको थिएन । थर्मल इन्जिनियरिङका कारण धेरै उच्च तापक्रम थेग्न सक्ने शिल्डहरू निर्माण भएपछि यो परियोजनाले सार्थकता पाएको हो ।

सन् १९५० मा वैज्ञानिक युजिन पार्कले पहिलोपटक सौर्य आँधी पत्ता लगाएका थिए । पार्करकै नाममा नासाले यान निर्माण गरेको हो । सौर्य आँधीबाट निस्किने चार्ज पार्टिकल्स (आयोन) हरूले सौर्यमण्डलका अन्य ग्रहलाई समेत प्रभाव पार्छन् । तीव्र गतिमा निस्किने यी सौर्य आँधीका कारण पृथ्वीको उत्तरी ध्रुवमा विभिन्न रंगका प्रकाश देखिने सह–प्राज्ञ अधिकारी बताउँछन् ।

‘सौर्य आँधीसँगै सौर्य चुम्बकीय शक्ति पनि सँगै निस्कन्छन् । आँधीका आयोनहरू तीव्र रूपमा पृथ्वीसँग ठोकिन खोज्दा पृथ्वीको चुम्बकीय शक्ति कारण उत्तरी ध्रुवतिर जान्छन् । जसका कारण विभिन्न रंगका प्रकाशहरू देखिने गर्छन्,’ अधिकारीले भने । यी सौर्य आँधीका कारण स्याटेलाइट तथा अन्य मानव निर्मित भू–उपग्रहहरूलाई समेत प्रभाव पार्ने उनले बताए ।

पृथ्वीको ध्रुवीय क्षेत्रमा रातको समयमा अकाशतिर हेर्दा विभिन्न रङको प्रकाश देखिन्छ । ‘नर्दन लाइट’ वा अरोरासमेत भेनिने यी रंगचंगी प्रकाश सौर्य आँधीका कारण भएको मानिन्छ । सूर्यबाट निस्कने सौर्य आँधीका परमाणु तीव्र गतिमा पृथ्वीतिर ठोकिने क्रममा पृथ्वीको चुम्बकीय शक्तिले ती कणलाई उत्तरी ध्रुवीय क्षेत्रतिर पुर्‍याइदिन्छ । त्यहाँ उत्पन्न हुने परिवर्तनले विभिन्न रङका प्रकाशहरू देख्न सकिन्छ ।

सौर्य प्लाज्माको सतहमा धेरै तातो छ र आयोनहरूको घनत्व धेरै कम छ । अधिकारी भन्छन्, ‘एउटा अचम्म सूर्यको कोरोनामा छ । १७ लाख डिग्री सेल्सियस तापक्रम यहाँ छ तर थर्मोमिटरले एक डिग्री तापक्रम मापन गर्न लाखौं वर्ष लाग्छ, कारण यहाँ आयोजनहरूबीचको घनत्व धेरै टाढा हुन्छ ।’

सूर्यबाट निस्कने प्रकाश पनि त्यहाँको फोटोस्फेयरबाट निस्कने उनले बताए । फोटोस्फेयरको तापक्रम ६ हजार डिग्री सेल्सियस छ । धेरै चुम्बकीय क्षेत्र हुने र आकारमा नै परिवर्तन हुने जस्ता विभिन्न रासायनिक प्रतिक्रियाका कारण सूर्यमा कालो भाग देखिने गरे पनि यसको खास वैज्ञानिक कारण अहिलेसम्म पत्ता नलागेको अधिकारीले बताए ।

सूर्यको वरिपरि ग्रह, छुद्र ग्रह, उपग्रहलगायतका आकाशीय पिण्डहरू परिक्रमा गर्छन् । सूर्यको गुरुत्व बलले यी ग्रह र पिण्डहरूलाई आफूतिर तान्न खोज्ने क्रममा ग्रह परिक्रमा गर्ने अधिकारीले बताए । सौर्य आँधीले पृथ्वीलाई धेरै हिसाबमा असर गर्ने अधिकारी बताउँछन् । ५ सय किलोमिटर प्रतिसेकेन्डको गतिमा यी आँधी अन्तरिक्षमा पृथ्वी हुँदै अन्यत्र जान्छन् । जसको गतिको प्रभाव पृथ्वीको चुम्बकीय क्षेत्रलाई पर्छ ।

पृथ्वीको चुम्बकीय क्षेत्र हल्लिँदा ऊर्जालाई विकरण बेल्ट बनाइदिन्छ जसका कारण अन्तरिक्षको वातावरणमा प्रभाव पर्छ । अन्तरिक्षको वातावरणमा प्रभाव हुँदा मानव निर्मित स्याटलाइट तथा अन्य विभिन्न उपकरणलाई असर गर्ने अधिकारी बताउँछन् ।

प्रकाशित : पुस २, २०७८ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्

कार्यकारी ‘साँचो’ थापा र शर्माको हातमा

कलेन्द्र सेजुवाल

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनबाट युवा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भएका छन् । यी दुई नेता प्रमुख कार्यकारी पदमा पुगेसँगै कांग्रेस वृत्तमा उत्साह जागेको छ ।

थापा र शर्माको जितपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामात्र होइन, दिनभर राजनीतिक क्षेत्र नै तरंगित बन्यो । यी नेतालाई प्रमुख प्रतिपक्ष दल एमालेलगायत अन्य दलका नेताहरूले पनि बधाई दिए । सामाजिक सञ्जालबाट बधाईको ओइरो लाग्यो ।

यसो हुनुको एउटै कारण हो– पुरानो पार्टीको कार्यकारी पदमा युवा नेता निर्वाचित हुनु । ‘सम्पूर्ण शक्ति एकजुट हुँदा पनि महाधिवेशन प्रतिनिधिले दुवै जनालाई गुट (प्यानल) भन्दा माथि राखेर मतदान गरेको देखियो, हामी केन्द्रमा बस्नेहरू गुटमा फस्यौं, गाउँ–गाउँबाट आएका महाधिवेशन प्रतिनिधि साथीहरूमा भने विवेकको विकास भएको देखियो,’ कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘यसले कांग्रेसमा साँच्चिकै रूपान्तरण र पुनर्जागरणको युग सुरु भएको छ ।’ सधैं विधि र लोकतन्त्रका लागि लडेका युवा नेताद्वयको विजयले पार्टीले सही गति लिने उनले बताए ।

सोमबार सम्पन्न निर्वाचनमा थापा र शर्मासँगै अन्य चार जना प्रतिस्पर्धी थिए । थापा शेखर कोइरालाको प्यानलबाट र शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । बिहीबार सम्पन्न मतगणनामा थापाले ३ हजार २३ मत र शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गरेका छन् । थापाले प्राप्त गरेको मत उनको प्यानलका सभापति उम्मेदवार कोइरालाले पहिलो चरणमा प्राप्त गरेको भन्दा १ हजार ३ सय ३१ ले बढी हो । शर्माले पनि आफ्नो प्यानलका सभापतिका उम्मेदवार सिंहले भन्दा १ हजार ६ सय १३ मत बढी ल्याए ।

शेरबहादुर देउवा पुनः सभापतिमा निर्वाचित हुँदा उनको प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका प्रकाशशरण महत र प्रदीप पौडेल भने पराजित भएका छन् । महतले १ हजार ५ सय ५६ र पौडेलले १ हजार १ सय ९३ मत प्राप्त गरे । कोइराला प्यानलका मीनेन्द्र रिजालले ८ सय ९ र विमलेन्द्र निधि प्यानलका राजाराम कार्कीले १ सय ६ मत ल्याए ।

४५ वर्षीय थापा २०६७ मा सम्पन्न १२ औं महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा प्रवेश गरेका हुन् । उनी उतिबेला सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । १३ औं महाधिवेशनमा महामन्त्री उम्मेदवार बने पनि पराजित भएका थिए । थापा केन्द्रीय सदस्यमा लोकप्रिय मतका साथ निर्वाचित हुँदा शर्मा भने सोही महाधिवेशनमा झापा जिल्ला सभापतिमा पराजित भएका थिए । १३ औं महाधिवेशनमा भने केन्द्रीय सदस्य हुँदै उनले पार्टी प्रवक्ताको जिम्मेवारी पाए । महामन्त्रीमा निर्वाचित भएपछि थापाले पार्टीलाई सबैको साझा बनाएर अघि बढ्ने बताएका छन् । कुनै समूहबाट निर्वाचन लडे पनि आगामी दिनमा त्यसको छनक कहीँ, कतै नदिने उनको भनाइ छ । ‘मैले गलत मान्छेलाई महामन्त्री बनाएछु भन्ने गरी कहिल्यै काम गर्ने छैन,’ उनले भने ।

शर्माले आफ्नो जितसँगै कांग्रेसमा रूपान्तरण अभियान सुरु भएको बताएका छन् । पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘यो कुनै व्यक्ति र गुटको जित होइन, सिंगै कांग्रेसलाई रूपान्तरण गर्ने अभियानको सुरुवात हो ।’ उनले अबको चार वर्ष आफूमाथिको विश्वास डगमगाउन नदिने बताए ।

थापा र शर्मा दुवै जना नेविसंघको पृष्ठभूमिबाट राजनीतिमा उदाएका हुन् । २०५७ मा शर्मा नेविसंघको अध्यक्ष हुँदा थापा मध्यमाञ्चल विकास क्षेत्रबाट प्रतिनिधित्व गर्दै केन्द्रीय उपाध्यक्ष थिए । त्यसको दुई वर्षपछि गुरुराज घिमिरेको कार्यकालमा थापा महामन्त्री बने । पार्टीले गणतन्त्रको लाइन नलिँदै राजतन्त्रविरुद्ध बोल्दा घिमिरे र थापा हिरासत परेका थिए । २०६२/६३ को गणतान्त्रिक आन्दोलनमा थापा गणतन्त्रका ‘आइकन’ बनेका थिए । त्यही आन्दोलनले उनलाई राष्ट्रिय रूपमा स्थापित गर्‍यो ।

थापा २०७० र २०७४ को चुनावमा काठमाडौं–५ बाट निर्वाचित भए । २०७३ मा ९ महिना स्वास्थ्यमन्त्री बनेका उनले छोटो समयमा राम्रो काम गरेर वाहवाही कमाएका थिए । उनको पालामा मिर्गौला प्रत्यारोपण, डायलसिस, मुटु रोगलगायत महँगो उपचार निःशुल्क गरिनुका साथै कलेजो प्रत्यारोपण सुरु भएको थियो । उनको कार्यकाललाई स्वास्थ्य क्षेत्रको स्वर्णिम समय मानिन्छ ।

झापाको मेची क्याम्पसबाट राजनीति थालेका ५१ वर्षीय शर्मा कक्षा ८ पढ्दै गर्दा आन्दोलनमा लागेका कारण हिरासतमा परेका थिए । उनी नेविसंघको झापा जिल्ला अध्यक्ष हुँदै केन्द्रीय अध्यक्ष बने । नेविसंघको इतिहासमा शर्मा एकमात्र अध्यक्ष हुन्, जसले निर्धारित समयमै महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरेका थिए । उनी २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापा–१ बाट चुनाव लडे पनि पराजित भए । शर्माले पार्टी प्रवक्ता र सूचना–सञ्चार तथा प्रचार विभाग प्रमुख भएर आफ्नो क्षमता देखाएका छन् । उनको नेतृत्वमा पार्टी प्रणाली ‘डिजिटलाइज्ड’ भएको छ । क्रियाशील सदस्यदेखि अन्य विवरण वेबसाइटमा सहजै हेर्न सक्ने बनाइएको छ ।

१४ औं महाधिवेशनमा थापाले सुरुदेखि नै कोइराला समूहबाट महामन्त्री लड्ने गरी ‘स्पेस’ गरिसकेका थिए । उनले उक्त समूहबाट सभापतिको उम्मेदवारसमेत साझा बनाउने प्रयास गरेका थिए तर प्रयास सफल भएन । प्रकाशमान सिंहले अलग प्यानल बनाएर सभापतिमा उम्मेदवारी दिए । देउवा समूहमा रहेका शर्माले अन्तिम समयमा सिंह प्यालनबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।

देउवा समूहबाट महामन्त्री उम्मेदवार बन्ने प्रयास असफल भए पनि उनले उक्त समूहका मतदाताको मत भने आफूतिर तान्न सफलता पाए । देउवाले सिटौला समूहका युवा नेता प्रदीप पौडेललाई महामन्त्री उम्मेदवार बनाएपछि उनको समूहमा असन्तुष्टि तीव्र बनेको थियो । शर्माको विजयमा देउवा समूहभित्रको असन्तुष्टिलाई पनि प्रमुख कारक मान्ने गरिन्छ । कांग्रेसमा महत्त्वपूर्ण मानिने सभापति, २ उपसभापति र २ महामन्त्रीमा गुटगत प्रभाव कम परेको छ । सभापतिमा देउवा निर्वाचित भए पनि उनको समूहबाट एकमात्र उपसभापति पूर्णबहादुर खड्का निर्वाचित भएका छन् । अर्को उपसभापतिमा कोइराला समूहका धनराज गुरुङ निर्वाचित भएका छन् । दुइटै महामन्त्रीमा देउवाइतर थापा र शर्मा निर्वाचित भए ।

प्रकाशित : पुस २, २०७८ ०७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×