‘नेपालका चराहरू’ को परिमार्जित संस्करण सार्वजनिक- विज्ञान र प्रविधि - कान्तिपुर समाचार

‘नेपालका चराहरू’ को परिमार्जित संस्करण सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका चराबारे चराविद्हरु रिचर्ड ग्रिमेट, क्यारोल इन्स्किप, टिम इन्स्किप र हेमसागर बरालले लेखेको ‘नेपालका चराहरू’को परिमार्जित नेपाली संस्करण मंगलबार विमोचन गरिएको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले परिमार्जित संस्करणको विमोचन गरेका हुन् । उक्त पुस्तकको वरिष्ठ चराविद् हेमसागर बरालले नेपालीमा अनुवाद गरेका हुन् ।

‘हिमालयन नेचर’ले प्रकाशन गरेको उक्त पुस्तकमा नेपालमा सन् २०१८ को जुन महिनासम्म विश्वसनीय ढंगले अभिलेख गरिएका सबै प्रजातिका चराबारे तस्बिरसहित व्याख्या गरिएको छ ।

पुस्तकमा चराका प्रमुख वासस्थान र चरा प्रजातिहरु, चराको बसाइसराइँ, चरा अवलोकनका लागि प्रमुख क्षेत्रहरु, चराहरूको वितरण र अवस्थामा परिवर्तनका बारेमा व्याख्या गरिएको छ ।

त्यस्तै, पुस्तकमा चरा प्रजातिको अवस्था, रैथाने, हिउँदे आगन्तुक, ग्रीष्म आगन्तुक, बटुवा वा धरातलीय आगन्तुकसम्बन्धी वर्णन गरिएको छ । पुस्तकमा वासस्थान विनाश र तिनको विखण्डन चराका लागि सबैभन्दा महत्त्वपूर्ण खतरा भएको उल्लेख छ ।

खतरामा रहेका चरामध्ये ५५ प्रतिशतभन्दा बढी चराहरु तराईका घाँसे मैदानमा आश्रित प्रजाति, २५ प्रतिशत सीमसारमा र २४ प्रतिशत उष्ण र उपोष्ण चौडापाते वनका चरामा रहेका छन् ।

‘ठूलो शरीर भएका चराहरु साना चराहरुभन्दा बढी संकटमा परेका देखिएका छन्’, पुस्तकमा बरालले लेखेका छन्, ‘जसमा ९८ प्रजातिका विरुत चरा र ६७ प्रजातिका गितारु चराहरु पर्दछन् ।’

रासायनिक विषादीको अत्यधिक प्रयोग, प्राकृतिक स्रोतको अत्यधिक दोहन, जलवायु परिवर्तन, जलविद्युत्का लागि बाँध निर्माण र प्रसारण लाइन, मिचाहा प्रजातिका वनस्पति, चोरी सिकार, अवैध व्यापार पनि चराका लागि खतरा हुन् । वनको विनाश, घाँसे मैदानमा परेको दबाबले पनि चरालाई अवरोध गरेको छ ।

पुस्तक विमोचन गर्दै महानिर्देशक कँडेलले समग्र चराबारे सचित्र व्याख्या गरिएकाले पुस्तकले समग्र चराको अवस्थाबारे प्रस्ट्याउने बताए । ‘चराबारे ज्ञान नभएकाहरुका लागि पनि यो पुस्तकले चराबार बुझाउन मद्दत पुर्‍याउने विश्वास छ’ उनले भने ।

नेपाल पन्छी संरक्षण संघ (बीसीएन) का अध्यक्ष प्रा.करनबहादुर शाहले नेपाली चराबारे मिहीन तरिकाले बुझ्न यो पुस्तकले सघाउने बताए । उनले भने, ‘नक्सा र तस्बिरसमेत राखिएकाले जो कसैले चराबारे बुझ्न सक्नेछन् ।’ त्रिविको प्राणीशास्त्र केन्द्रीय विभागका प्रमुख तेजबहादुर थापाले नेपालका चराको अवस्था, पर्यावरण, बसाइसराइँबारे पुस्तकले प्रस्ट्याउने उल्लेख गरे ।

नेपाल पन्छीविद् संघका अध्यक्ष भगवानराज दाहालले पुस्तकले नेपालको पर्यावरणीय अवस्था, जैविक विविधता, चरा पाइने क्षेत्र, चराका प्रजाति र तिनको अवस्थाबारे विश्लेषण गरेको तर्क गरे ।

प्रकाशित : वैशाख १३, २०७९ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वी नवलपरासीमा १५ सय ८६ जनाको उम्मेदवारी     

नारायण शर्मा

पूर्वी नवलपरासी — यहाँका ८ वटा पालिकामा १५ सय ८६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन कार्यालयका अनुसार यहाँका ८ वटा पालिकाको प्रमुखमा ६४ जना, उपप्रमुखमा ४७ जनाको उम्मेदवारी परेको छ । ९२ वटा वडाको अध्यक्षमा ३ सय ५७ जनाले मनोनयन गरेका छन् । 

महिला सदस्य २ सय ६८, दलित सदस्य २ सय ३२ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा धेरै कांग्रेसमा बागी उम्मेदवार परेको छ । बागी उम्मेदवारलाई सम्झाउने र उम्मेदवारी फिर्ता लिन लगाउन पार्टी प्रतिनिधि खटाइएको कांग्रेसले जनाएको छ । यहाँको कावासोती, देवचुली र बुंलिटार गाउँपालिकामा प्रमुख पदमा कांग्रेसका ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको समय दिएको थियो ।

प्रकाशित : वैशाख १३, २०७९ १६:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×