कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्पेस एक्सका १४ वर्षीय इन्जिनियर

अर्बपति इलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सले ‘फन’ र ‘टेक्निकल्ली च्यालेन्जिङ’ अन्तर्वार्ता प्रक्रिया पूरा गरेपछि कैरान क्वाजीलाई सफ्टवेयर इन्जिनियरमा नियुक्ति दिएको हो ।  

काठमाडौँ — पटक–पटक चर्चामा आइरहने अर्बपति हुन्, इलन मस्क । सामाजिक सञ्जाल ट्वीटर खरिद गरेपछि चर्चासँगै विवादको पनि पर्याय बनेका मस्क फेरि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएका छन् । कारण हो, उनको अर्को कम्पनी स्पेस एक्सले गरेको पछिल्लो निर्णय । 

स्पेस एक्सका १४ वर्षीय इन्जिनियर

अन्तरिक्ष कम्पनी स्पेस एक्सका मालिक मस्कले सोमबार एक १४ वर्षीय किशोरलाई जागिर दिएका छन् । त्यो पनि सफ्टवेयर इन्जिनियरका रूपमा । उनी स्पेस एक्सका हालसम्मकै कम उमेरका कर्मचारी हुन् । र, अर्बपतिको कम्पनीमा जोडिन पाउने ती भाग्यमानी हुन्, अमेरिकाको सान फ्रान्सिस्कोका कैरान क्वाजी ।

११ वर्षको उमेरमा कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ अध्ययनका लागि सान्टा क्लारा विश्वविद्यालय भर्ना भएका थिए क्वाजी । उनी यही महिना ग्य्राजुएट हुँदै छन् । विश्वविद्यालयको १७२ वर्षे इतिहासमा सबैभन्दा कम उमेरमै स्नातक सक्नेमा पर्छन् उनी । अंग्रेजीमा एउटा भनाइ छ– ‘एज इज जस्ट अ नम्बर (उमेर एउटा अंक मात्र त हो) ।’ त्यसैलाई चरितार्थ गरिदिएका छन् क्वाजीले ।

‘फन’ र ‘टेक्निकल्ली च्यालेन्जिङ’ अन्तर्वार्ता प्रक्रिया पूरा गरेपछि उनले कम्पनीसँग जोडिने मौका पाएको स्पेस एक्सले जनाएको छ । कम्पनीका अनुसार उनी मानिसलाई मंगलग्रहमा पठाउने स्पेस एक्सको परियोजनामा आबद्ध हुनेछन् ।

स्पेस एक्सले सोमबार मात्रै ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडेको थियो । स्पेस एक्सको फाल्कोन–९ बुस्टर रकेट ५२ वटा स्टारलिंक स्याटेलाइट बोकेर सोमबार बिहान फ्लोरिडास्थित प्रक्षेपण केन्द्रबाट लन्च गरिएको थियो ।

रकेटको माथिल्लो भागमा रहेको स्टारलिंकका ५२ स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडिएको हो । स्पेस एक्सले हालसम्म ४ हजार ५ सयभन्दा बढी स्टारलिंक स्याटेलाइट कक्षमा राखिसकेको छ । तीमध्ये ४ हजार २ सय वटा सञ्चालनमा रहेको जनाइएको छ । इलन मस्कले स्टारलिंक मेघा कन्स्टिलेसन निर्माणका लागि १२ हजार स्याटेलाइट राख्ने अनुमति पाइसकेका छन् । थप ३० हजार वटा स्याटेलाइट राख्न स्पेस एक्सले अनुमति माग गरेको जनाइएको छ ।

‘म स्टारलिंक इन्जिनियरिङ टिममा सफ्टवेयर इन्जिनियरका रूपमा आबद्ध भएको छु,’ क्वाजीले भनेका छन् । उनले लिंक्डइनमा आफ्नो बायोडाटा अपडेट गर्दै स्पेस एक्सलाई ‘पृथ्वीकै सबैभन्दा उत्कृष्ट कम्पनी’ को संज्ञा दिएका छन् । उमेरभन्दा पनि आफ्नो सीप र क्षमता हेरेर कम्पनीले जागिर दिएको क्वाजीको भनाइ छ ।

समसामयिक गतिविधिमा निकै चासो राख्ने क्वाजी सानै उमेरदेखि निकै जिज्ञासु र बौद्धिक थिए । लस एन्जलस टाइम्सका अनुसार उनले दुई वर्षको उमेरदेखि नै प्रस्टसँग पूरा वाक्य बोल्न थालेका थिए । त्यतिबेलैदेखि उनी सञ्चारमाध्यममा सुनेका समाचार साथीहरू र शिक्षकलाई सुनाउने गर्थे ।

उनी ९ वर्षको उमेरमा कक्षा तीनमा थिए । तर स्कुलको पढाइ उनलाई निकै सहज लाग्यो । १० वर्षको उमेरमा क्वाजीले सामुदायिक कलेजमा भर्ना पाएका थिए । त्यसपछि ११ वर्षको उमेरमा उनी कम्प्युटर साइन्स तथा इन्जिनियरिङ पढ्न सान्टा क्लारा विश्वविद्यालय पुगेका थिए ।

प्रतिष्ठित एसोसिएसन फर कम्प्युटर मेसिनरीको सदस्यसमेत भइसकेका क्वाजीले एसोसिएटेड स्टुडेन्ट गभर्नमेन्टमा सिनेटरको भूमिकासमेत निर्वाह गरिसकेका छन् । उनका शैक्षिक सल्लाहकार अहमेद अमेरले ‘ज्ञानका लागि क्वाजीको तिर्खा अतृप्त’ रहेको बताउँछन् ।

पढाइमा अब्बल उनले फुर्सदको समयमा साइन्स फिक्सन पढ्ने र विभिन्न गेम खेल्ने गर्थे । खासगरी उनले फ्लिप डिक लिखित साइन्स फिक्सन र क्रिड सिरिज गेम निकै रुचाउँछन् । त्यसो त, सामाजिक सञ्जालहरू पनि बाक्लै चलाउँछन् उनले । त्यसै क्रममा २०२३ को सुरुवातमा क्वाजीले एउटा जागिरका लागि अन्तर्वार्ताको तयारी गरिरहेको भन्दै इन्स्टाग्राममा पोस्ट राखेका थिए ।

जागिरमा छनोट भएको केही साताअघि भने उनले आफ्नो आवेदन स्वीकृत भएको उल्लेख गरेका थिए । स्पेस एक्सको जागिरे भए पनि उनले आफ्नी आमा जुलियालाई लिएर क्यालिफोर्नियाबाट वासिङ्टनमा बसाइँ सर्ने जनाएका छन् ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : जेष्ठ ३१, २०८० ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?