कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नास्टको उपकुलपतिका लागि ३० जनाको आवेदन

गोविन्द पोखरेल

काठमाडौँ — वैज्ञानिक अध्ययन तथा अनुसन्धानमा कमजोर भएको भन्दै आलोचना खेप्‍दै आएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)को उपकुलपति हुनका लागि आकांक्षीहरूको लाइन लागेको छ ।

नास्टको उपकुलपतिका लागि ३० जनाको आवेदन

नास्टको उपकुलपतिमा आफू योग्य रहेको भन्दै ३० जनाले आवेदन दिएका छन् । गत असार ४ गते सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई अध्यक्ष रहेको सिफारिस समितिले ७ दिनको म्याद राखेर इच्छुक हुने व्यक्तिहरूले आफ्नो कार्ययोजना र बायोडाटासहित मन्त्रालयलाई असार १० गतेसम्म आवेदन बुझाउन भनेको थियो । खुल्ला दरखास्त आह्वान गरेर नास्टको उपकुलपति चयनका लागि माग गरिएको यो पहिलो पटक हो ।

शिक्षा मन्त्री राईका स्वकीय सचिव दशरथ मिश्रका अनुसार सोमबार दिउँसो २ बजेसम्म ३० जनाको आवेदन पत्र आइपुगेको पुष्टि गरे । उनले भने, 'अहिलेसम्म सचिवालयमा ३० वटा आवेदन प्राप्त भएको छ ।'

उम्मेदवारी दिनेहरूमा नास्टका प्राज्ञ, विश्वविद्यालयका प्राध्यापक, विदेशबाट फर्किएका वैज्ञानिकहरूलगायत छन् । नास्टमा उपकुलपति रिक्त भएको ७ महिनापछि सरकारले नियुक्ति प्रक्रिया सुरु गरेको हो । २०७९ सालको पुसमा सुनीलबाबु श्रेष्ठको कार्यकाल सकिएपछि नास्टमा उपकुलपति रिक्त छ । यस्तै जेठदेखि नास्ट सचिवविहीन छ ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामन्त्री राईको अध्यक्षतामा नास्टका प्राज्ञसमेत रहेका प्राध्यापकद्वय भरतमणि पोखरेल र शैलेन्द्रकुमार मिश्र सदस्य रहेको सिफारिस समिति गठन गरेका थिए । सिफारिस समितिले सिफारिस गरेका व्यक्तिहरूमध्ये कुनै एक जनालाई कुलपतिले उपकुलपति चयन गर्ने नास्टको ऐनमा व्यवस्था छ ।

नास्टमा यसअघि सिफारिस समिति गठन हुने र उक्त समितिले आफूलाई योग्य लागेको व्यक्तिहरूको सूची बनाउने र दलीय आबद्धताको आधारमा उपकुलपति नियुक्ति हुँदै आएको छ ।

उपकुलपति नियुक्त चाँडै हुन्छ : मन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले नास्टको उपकुलपति नियुक्ति चाँडै नै हुने बताएका छन् । सोमबार साँझ कान्तिपुरसँगको कुराकानीमा उनले उपकुलपति नियुक्ति प्रक्रिया सुरू भएको बताउँदै चाँडै नै टुंगोमा पुर्‍याउने बताए ।

'सिफारिस समितिले आवेदन माग गरेको छ । प्रक्रिया सुरू भइसकेको छ अब छिटै हुन्छ, ' राईले भने ।

नास्टमा नेतृत्व नहुँदा कर्मचारीहरुले जेठ महिनाको तलब समेत खान पाएका छैनन् ।

प्रकाशित : असार ११, २०८० १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?