कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘एआईका कारण रोजगारी गुम्ने’

विश्व श्रम बजारबाट रिसेप्सनिस्ट, लोन अफिसर, रेडियोलोजिस्ट, चालकलगायत ४० प्रतिशत पेसा प्रभावित हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संकेत 
सजना बराल

काठमाडौँ — अबको दिनमा कतिपय कामका अवसर गुम्ने क्रममा रहेको विभिन्न अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनहरूले संकेत गरेका छन् । ग्राहक सेवा उपलब्ध गराउने ‘रिसेप्सनिस्ट’ देखि वित्तीय संस्थामा कर्जा सुविधाका लागि ग्राहकको विश्वसनीयता पहिचान गर्ने ‘लोन अफिसर’, अस्पतालका एक्स–रेलगायत इमेज विश्लेषण गर्ने ‘रेडियोलोजिस्ट’ सँगै तथ्यांक इन्ट्री गर्ने, गाडी चलाउने, लगत राख्नेजस्ता अनेकौं पेसा मानवका लागि हराउँदै जाने जोखिम उच्च रहेको ती प्रतिवेदनले औंल्याएका हुन् । 

‘एआईका कारण रोजगारी गुम्ने’

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आइतबार सार्वजनिक गरेको एक प्रतिवेदनले पनि विश्व श्रम बजारबाट केही रोजगारीहरू गुम्न सक्ने औंल्याएको छ । आईएमएफले यसको कारक भने एआईलाई मानेको छ । हिजोआज हामीले खुब चासो दिइरहेको र प्रविधि क्षेत्रका अगुवा व्यवसायीले भटाभट लगानी बढाइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण हाम्रा कतिपय काम र परिश्रमहरू प्रभावित हुन लागेको आईएमएफको रिपोर्टमा उल्लेख छ । कोषले सार्वजनिक गरेको ‘एआईको युगमा रोजगारीको भविष्य’ सम्बन्धी प्रतिवेदनअनुसार विश्वका करिब ४० प्रतिशत पेसा एआईका कारण प्रभावित हुन सक्छन् । विकसित अर्थतन्त्रमा ६० प्रतिशत र नेपालजस्ता न्यून आय भएका देशहरूको २६ प्रतिशत रोजगारी एआईले प्रभावित पार्ने अनुमान प्रतिवेदनमा गरिएको छ । यस्तो हुँदा श्रमिकको आय र सम्पत्तिमा असमानता र विभेद चुलिँदै जाने कोषको ठहर छ । एआईले नै काम गर्न थालेपछि श्रमिकको माग घट्ने, थोरै पारिश्रमिकमा काम गर्नुपर्ने र योभन्दा पनि गम्भीर चाहिँ रोजगारी नै लोप हुने खतरा रहेको प्रतिवेदनले औंल्याएको छ ।

‘सरसर्ती हेर्दा, एआईका कारण समग्र असमानताहरू अझै बढ्दै जाने सम्भावना देखिन्छ,’ कोषकी प्रमुख क्रिस्टलिना जर्जिओभाले ब्लगमा लेखेकी छन्, ‘सामाजिक असन्तुलन थप बढाउने प्रविधिहरूलाई रोक्ने किसिमका पहल नीतिनिर्माताहरूले बेलैमा गर्नैपर्छ ।’ न्यून आय भएका अधिकांश देशमा एआईबाट लाभ उठाउन सक्ने पूर्वाधार र दक्ष जनशक्ति नभएकाले गर्दा कालान्तरमा प्रविधिले नै विभेद बढाउने जोखिम रहनेतर्फ उनले इंगित गरिन् । प्रविधिसँगको दौडमा कम आय भएका र पाको जनशक्ति पछि पर्न सक्ने उनको भनाइ छ । उच्च आय भएका र प्रविधिमा अभ्यस्त युवा कामदारहरूले एआई अपनाएपछि तिनको आय असमान रूपले वृद्धि हुने र अन्यको कम हुने हुँदा श्रम बजारमा आयको असमानता विकराल हुन सक्ने प्रतिवेदनले जनाएको छ ।

यसअघि सन् २०२३ मा गोल्डम्यान स्यासले सार्वजनिक गरेको प्रतिवेदनले त झन् योभन्दा अझै चिन्ताजनक स्थिति प्रक्षेपण गरेको थियो । उक्त प्रतिवेदनले विश्वभरबाट करिब ३ करोड रोजगारी एआईकै कारण प्रतिस्थापन हुन सक्ने औंल्याएको थियो । प्रतिवेदनमा गरिएको अनुमानअनुसार संयुक्त राज्य अमेरिका र युरोपका करिब दुई तिहाइ पेसाहरू एआईको स्वचालित प्रणालीमा जोडिन थालिसकेका छन् । निकै द्रुत गतिमा विकास भइरहेको एआई प्रविधिले विद्यमान करोडौं जागिरहरू विस्थापित गरिदिने रिपोर्टबारे त्यो बेला निकै चर्चा भएको थियो ।

यद्यपि, एआई र त्यसले रोजगारीका क्षेत्रमा पार्ने असरबारेका अध्ययनहरूले के पनि औंल्याउँदै आएका छन् भने एआईले विद्यमान कतिपय पेसा विस्थापित गरे पनि नयाँ रोजगारीका अवसरहरू पनि सिर्जना गर्नेछ । एआईका कारण कम्पनीहरूको खर्च कटौती हुनुका साथै ज्यालामा जाने ठूलो रकम व्यवसाय विस्तारमा लगाउँदा वार्षिक कुल गार्हस्थ्य उत्पादन ७ प्रतिशतले वृद्धि हुने स्यासको रिपोर्टमा भनिएको थियो । आईएमएफको प्रतिवेदनमा पनि विकसित अर्थतन्त्रमा एआई इन्टिग्रेसनका कारण उत्पादकत्व वृद्धि हुने भएकाले कामदारहरू यसबाट लाभान्वित हुने उल्लेख छ । एआईका निर्माताहरूले तर्क गर्दै आएको कुरा नै के हो भने एआईले मान्छेलाई विस्थापित गर्ने नभई एआईसँग अभ्यस्त मान्छेले एआईसँग अभ्यस्त नभएको मान्छेलाई विस्थापित गर्ने हो । यसको अर्थ, श्रम बजारमा टिकिरहन अब एआईसँग अभ्यस्त हुनैपर्छ ।

पछिल्लो समय दिन प्रतिदिन शक्तिशाली बन्दै गइरहेका ओपेनएआईको च्याटजीपीटी, माइक्रोसफ्टको बिङ, गुगलको जेमिनाइ जस्ता एआई टुल्सले इन्टरनेट दुनियाँमा नयाँ तरंग ल्याइदिएपछि एआईलाई लिएर मानिसहरूमा उत्साह र शंका दुवै छ । कार्यालयका प्रशासनिक क्रियाकलाप, कानुनी परामर्श, वास्तुकला र इन्जिनियरिङ, व्यापार र वित्तीय सञ्चालन, व्यवस्थापन, बिक्री, स्वास्थ्य सेवा, चित्रकला र डिजाइनिङजस्ता क्षेत्रहरू एआईको सहायताले सहजै स्वचालित हुन सक्ने प्रतिवेदनहरूले उल्लेख गरेका छन् । यद्यपि, एआईले विस्थापित नगरेका जनशक्तिसँगै श्रम लागतमा हुने उल्लेखनीय बचत र एआईको युगमा सिर्जना हुने नयाँ रोजगारीहरूको सम्मिश्रणले उत्पादकत्वमा उच्च वृद्धिको सम्भावना बढेर जाने अध्ययनहरूको निष्कर्ष छ ।

विश्व आर्थिक मञ्चको वार्षिक सभाका लागि विश्वभरका राजनीतिक र व्यावसायिक नेताहरू स्विट्जरल्यान्डको डाभोसमा जम्मा भएका बेला आईएमएफले एआईसम्बन्धी यस्तो विश्लेषण सार्वजनिक गर्नुलाई महत्त्वसाथ हेरिएको छ । पछिल्लो समय एआई प्रविधिको नियमनका लागि विश्वभर आवाज उठ्दै आएको छ । गत महिना युरोपेली संघले च्याटजीपीटी र फेसियल रिकग्निसनजस्ता एआईको प्रयोग नियमनसम्बन्धी विश्वकै पहिलो बृहत् कानुन बनाउने विषयमा सहमति जुटाएको थियो । यसअघि जापानको हिरोसिमामा सम्पन्न ग्रुप अफ सेभेन (जी सेभेन) राष्ट्रका प्रमुखहरूको भेलाले पनि एआईलाई विश्वसनीय बनाइरहन प्राविधिक मापदण्डहरूको विकास र अवलम्बनका लागि देशहरूलाई आह्वान गरेको थियो । यसबीच चीनले अल्गोरिदमको विकास र प्रयोग कसरी गर्ने भन्ने उल्लेख भएको एआई कानुन ल्याइसकेको छ ।

एआईले बिथोल्न सक्ने श्रम बजारको सन्तुलन कायम गर्न आईएमएफ प्रमुख जर्जिओभाले सरकारहरूलाई सामाजिक सुरक्षाको प्रबन्धसँगै जोखिममा रहेका जनशक्तिको सीप विकासका लागि प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्नुपर्ने सुझाव दिएकी छन् । ‘यसो गर्न सके आयमा असमानता कम हुनुका साथै मानिसको जीविकोपार्जन जोगाउन र एआईले ल्याउने रूपान्तरणलाई थप समावेशी बनाउन सक्छौं,’ उनी थप्छिन्, ‘एआईले विश्व अर्थतन्त्रलाई रूपान्तरण गर्छ नै, यसले मानव जगत्लाई पनि लाभ पु‍र्‍याओस् भन्ने सुनिश्चित गर्नचाहिँ हामी लाग्नुपर्छ ।’


प्रकाशित : माघ २, २०८० ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?