कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुगल डिपमाइन्डको जेमिनाई नामक एआईले च्याटजीपीटीलाई छायाँमा पार्ने दाबी

काठमाडौँ — गुगलको डिपमाइन्ड विभागका प्रमुख डेमिस हसाबिसले जेमिनाई नामक एआईले च्याटजीपीटीलाई छायाँमा पार्ने दाबी गरेका छन् । उनले लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) र अल्फा गो नामक प्रविधिको मिश्रणबाट तयार गर्न लागिएको जेमिनाईले सुविधा र प्रयोग दुवै हिसाबले च्याटजीपीटीजस्ता अहिले चल्तीमा रहेका एलएलएम प्लाटफर्महरूलाई उछिन्ने दाबी गरेका हुन् ।

गुगल डिपमाइन्डको जेमिनाई नामक एआईले च्याटजीपीटीलाई छायाँमा पार्ने दाबी

गतवर्ष ओपनएआईले च्याटजीपीटी नामक लार्ज ल्याङ्ग्वेज मोडल जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स प्लाटफर्म सार्वजनिक गरेपछि दबाब महसुस गरेको अल्फाबेट (गुगल) एकपछि अर्को प्रयासमार्फत आक्रामक प्रतिस्पर्धामा उत्रिरहेको छ । सन् २०२३ को सुरूमै बार्ड नामक जेनेरेटिभ एआई सार्वजनिक गरेको गुगलले आफ्ना सर्च इन्जिनलगायत कयौं उत्पादनमा एआईलाई समाहित गर्दै लगेको छ ।

फ्रिकोनोमिक्स रेडियोका स्टिभेन डब्नरसँगको पडकास्टमा माइक्रोसफ्टका प्रमुख सत्य नाडेलाले भनेका थिए, 'प्रतिस्पर्धा र नवीनतम सोच बजारका लागि राम्रो हो, बजारमा अन्य व्यवसायले राम्रो गर्दै लगे भने हामीले पनि कमाउँछौं भन्नेमा हाम्रो व्यावसायिक सोच आधारित छ ।'

माइक्रोसफ्ट च्याटजीपीटीको निर्माता ओपनएआईको प्रमुख लगानीकर्ता हो र यसले पनि आफ्नो सर्च इन्जिन बिङलगायतका उत्पादनमा एआईलाई समावेश गर्न सुरू गरिसकेको छ । तर‚ सर्च इन्जिन, ब्राउजर, क्लाउडलगायत आफ्नो लगभग एकाधिकार रहेको गुगल आफ्नो बजार डगमगाउनेमा सचेत देखिन्छ । बार्डमा सुधार गर्दै लैजाँदा गुगलका वैज्ञानिक, इन्जिनियर र नीति निर्माताहरूको समूह डिपमाइन्डले अझै परिष्कृत एआई प्लाटफर्मको तयारी सुरू गरिसकेको छ ।

यो प्लाटफर्म कहिलेबाट सार्वजनिक प्रयोगका लागि उपलब्ध होला भन्ने विषयमा स्पष्टता नभए पनि मे १० मा गुगल टिमको एक ब्लगमा २०२३ को अक्टोबर वा यो वर्षको अन्त्यसम्ममा सार्वजनिक गर्ने गरी तालिम तथा तयारी सुरू गरिएको उल्लेख छ ।

गुगलले सन् २०१४ मा ४०० देखि ६०० मिलियन अमेरिकी डलरसम्म तिरेर डिपमाइन्डको स्वामित्व खरिद गरेको थियो । त्यसयता गुगलको यो विभाग जेनेरल पर्पस आर्टिफिसियल इन्टेलिजेन्स (एजीआई) सम्बन्धी विभिन्न प्रविधिहरूको खोज र विकासमा केन्द्रित छ ।

चीनमा करिब ४ हजार वर्षअघिदेखि खेलिँदै आएको विकी भनिने गो नामक बोर्ड गेम खेल्नका लागि तयार गरिएको अल्फा गो नामक कम्प्युटर प्रोग्रामलाई अहिलेसम्मकै सबैभन्दा उन्नत एआई प्रोग्राममध्ये एक मानिन्छ । च्याटजीपीटीहरूले प्रयोग गर्ने जेनेरेटिभ एआई प्रविधिलाई समस्या समाधान गर्ने, तत्काल सुझाव दिने र सुरक्षित हुनेगरी अल्फा गोको प्रणालीसँग मिसाएर जेमिनाईको निर्माण हुन लागेको बताउँदै डिपमाइन्डका हसाबिसले तयार हुँदासम्म यो प्रविधि अहिलेसम्मकै उल्लेख्य र उत्कृष्ट एआई प्रविधि हुने बताएका छन् । जेमिनाईमा प्राकृतिक भाषा बुझ्ने र जेनेरेट गर्ने, मसिन अनुवाद, प्रश्नोत्तर, कोड जेनेरेट गर्ने, सिर्जनात्मक लेखाइ, योजना बनाउने र समस्या समाधान गर्ने, रोग पत्ता लगाउने, वित्तीय विश्लेषण र व्यापार गर्ने, ग्राहक सोधपुछ सेवा प्रदान गर्नसक्ने लगायत नयाँ र उपयोगी सुविधा हुने डिपमाइन्डको दाबी छ ।

'यसका लागि सयौं मिलियन अमेरिकी डलर खर्च लाग्न सक्छ, तर जेमिनाईले च्याटजीपीटीभन्दा धेरै परिष्कृत नतिजा दिन सफल हुनेछ,' हसाबिसले वायर्ड नामक अनलाइनमा दिएको अन्तर्वार्तामा भनेका छन्, 'हाल उपलब्ध एआई प्रविधि र प्लाटफर्महरू रूचीकर र उत्साह जगाउनेखालका छन् । हामीले बार्डको अनुभवबाट केही नवीनतम शैली र उपायहरू पनि भेटाएका छौं । जेमिनाई ती सबैको मिश्रण र एआई प्रविधिको उत्कृष्ट नमुना हुनेछ ।' एआई प्रविधिलाई सुरक्षित बनाउन र नियमन गर्न आवश्यक भएको भन्ने विषयमा सहमति जनाउँदै हसाबिसले सही तरिकाले अघि बढेमा एआई प्रविधि मानव इतिहासको सबैभन्दा ठूलो आविष्कार हुनसक्ने धारणा व्यक्त गरेका छन् ।

गुगलले जेमिनाईमा कति लगानी गरेको छ भन्ने खुलेको छैन । तर‚ सन् २०१९ मा गुगलले डिपमाइन्डमा आगामी ५ वर्षका लागि १ अर्ब डलर लगानी गर्न लागेको घोषणा गरेको थियो । सन् २०२२ को अन्त्ययता एआईमा सुरू भएको दौड र प्रतिस्पर्धामा अब्बल रहन जेमिनाईसँगै आफ्ना बार्ड, पाल्मलगायत तस्बिर, भिडियो, संगीत, नक्सा, इमेल, क्लाउड, सर्चलगायतमा एआई सुविधा र प्रविधि बढाउँदै लैजानका लागि गुगलले अर्बौं डलर लगानी गरिसकेको अनुमान छ । हसाबिस भन्छन्, 'एआईको विकासमा साहसपूर्वक र निर्भीकताका साथ अगाडि बढ्नेबाहेक अर्को विकल्प छैन; यो नै भविष्य हो ।' स्वाचालित गाडीसमेतका अन्य एआईमा पनि हिम्मतपूर्वक लगानी गर्दै आएको अल्फाबेट एआईको अहिलेको प्रख्यातिबाट अझै हौसिएको प्रस्ट देख्न सकिन्छ ।

प्रकाशित : असार १३, २०८० ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?