२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४

होम रोबोट बनाउँदै एप्पल

एप्पलले एआईमा आधारित सेन्सर, क्यामरा र चिपसेटसहितको होम रोबोटसँगै स्वचालित डिस्प्ले भएको ‘टेबलटप होम डिभाइस’ पनि बनाउने 

काठमाडौँ — केही समयअघिसम्म विद्युतीय स्वचालित कार बनाउन तम्सिएको एप्पल कम्पनी अहिले व्यक्तिलाई घरभित्र लुखुरलुखुर पछ्याउने र विभिन्न काममा सघाउनसमेत सक्ने फुच्चे ‘मोबाइल रोबोट’ निर्माणमा लागेको बुझिएको छ । एआईमा आधारित सेन्सर, क्यामरा र चिपसेटसहितको होम रोबोटसँगै एप्पलले स्वचालित रूपमा चल्ने डिस्प्ले भएको ‘टेबलटप होम डिभाइस’ पनि बनाइरहेको अमेरिकी प्रविधि पत्रकारहरूले फेला पारेका हुन् ।

होम रोबोट बनाउँदै एप्पल

ब्लुमबर्गका पत्रकार मार्क गुरम्यानका अनुसार होम रोबोट नै एप्पलको आगामी महत्त्वपूर्ण र विशेष प्रडक्ट हुने अधिक सम्भावना छ । कम्पनीको हार्डवेयर इन्जिनियरिङ विभाग र एआई एवं मेसिन–लर्निङ समूहको संयुक्त पहलमा होम रोबोट निर्माणको काम धमाधम भइरहेको छ । ‘एप्पलले यस्तो रोबोट बनाउन खोज्दै छ, जो प्रयोगकर्ताको साथी र सहयोगीका रूपमा रहन सक्छ,’ मार्कले एक भिडियो अन्तर्वार्तामा भनेका छन्, ‘स्वचालित विद्युतीय कार बनाउन खटाइएका एप्पलका दक्ष इन्जिनियरहरूले नै स्वचालित होम रोबोट बनाइरहेका हुन् ।’ वर्षौंको लामो पहलपछि एप्पलले दुई महिनाअघि मात्रै स्वचालित विद्युतीय कारको परियोजना रद्द गरेको अलजजिराले जनाएको छ । तर उस्तै प्रविधिमा आधारित होम रोबोट बनाउन थालेको बताइन्छ ।

स्वचालित कारभन्दा होम रोबोट कम जोखिमपूर्ण र दुर्घटना भइहाले पनि ठूलो क्षति नहुने भएकाले एप्पलले प्रयोगकर्तालाई घरभित्रको साथीजस्तो र कतिपय कामसमेत गरिदिने रोबोट बनाउन लागेको मार्कको बुझाइ छ । यसबारे लेख्ने उनी नै पहिलो पत्रकार हुन् । स्मार्ट स्पिकरसरह होम रोबोटलाई पनि भ्वाइस कमान्डमार्फत काम अह्राउन सकिन्छ । जस्तो कि, भुँइतलामा बिर्सिएको सामान माथि ल्याउन, भान्सामा तयार भएका खानेकुरा बैठक कोठमा पु‍र्‍याउन वा सरसफाइलगायत सानातिना काममा यस्ता रोबोटले सघाउने छन् ।

एप्पलले तीन वर्षदेखि गोप्य रूपमा बनाइरहेको भनिएको टेबलटप रोबोट डिभाइसबारे पनि अहिले केही जानकारी बाहिर आएका छन् । यो डिभाइसचाहिँ विशेषगरी भिडियो कल गर्न, फिल्म हेर्न, कन्टेन्ट सेयरिङ र अन्य होम डिभाइससँग लिंक गरेर काम छरितो बनाउन बढी उपयुक्त हुने बताइन्छ । रोबोटिक्स प्रयोग गरी बनाइएको यसको स्मार्ट डिस्प्लेले भिडियो कलका क्रममा प्रयोगकर्तालाई फ्रेमभित्र रहन सघाऊने मात्रै होइन, अन्तर्त्रिया गर्दा हातको हाउभावबारे जानकारी पनि दिन्छ ।

यसले प्रस्तुति राम्रो बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

एप्पलका यी डिभाइसबारे कम्पनीले औपचारिक रूपमा जानकारी दिएको छैन । विद्युतीय कारको परियोजना रद्द गरेको हुनाले यी डिभाइस पनि सार्वजनिक हुने/नहुनेमा कतिपयको संशय छ । सार्वजनिक भइहाले पनि यस्ता डिभाइस निकाल्ने एप्पल पहिलो कम्पनी भने हुने छैन । यसअघि ई–कमर्स जायन्ट अमाजनले सन् २०२१ मा एस्ट्रो नामक होम रोबोट सार्वजनिक गरेको थियो । विशेषतः घर वरिपरिको अस्वाभाविक गतिविधि पहिल्याएर पहरेदारी गर्ने प्रयोजनका लागि यो रोबोट विकास गरिएको थियो । प्रयोगकर्ताले आफू घरबाहिर छँदासमेत रिमोट प्रविधिमार्फत एस्ट्रोलाई कोठैपिच्छे कुनाकाप्चा चहार्न लगाएर माहोल बुझ्न सक्छन् ।

हिँडडुल गर्न नसक्ने घरका पाका सदस्य र घरपालुवा पशुको अवस्था बुझ्न र भिडियो कलसमेत गर्न मिल्ने एस्ट्रो होम रोबोटलाई समीक्षकहरूले भने त्यति गजब मानेका छैनन् । इन्डियन एक्सप्रेसका अनुसार आइरोबोट कम्पनीले बनाएको रुम्बा रोबोट भ्याकुम क्लिनर सबैभन्दा सफल र उपयोगी छ । हालसम्म यो रोबोट ४ करोड घरहरूमा पुगिसकेको कम्पनीको दाबी छ ।

यसको शक्तिशाली सेन्सरले सरसफाइका क्रममा चप्पल, मोजा, कार्पेटजस्ता उपयोगी वस्तु र काठको टुक्रा वा मिल्काइएको कागज जस्ता काम नलाग्ने वस्तु दुवै पहिल्याउन सक्ने भएकाले घर बढार्ने कामको जिम्मा ढुक्कैले एस्ट्रोलाई दिन सकिने आइरोबोटको दाबी छ । यसको सफलताकै कारण अमाजनले आइरोबोट खरिद गर्ने प्रयास गरे पनि सम्झौता भने हुन सकेन ।

इकोभ्याक्स रोबोटिक्सले पनि रोबोटिक भ्याकुम क्लिनर बनाउँदै आएको छ । सामसङ इलेक्ट्रोनिक्सले बगैंचाका झार छिमल्ने रोबोटिक डिभाइस बनाइसकेको छ भने साओमी कर्पोरेसनले पनि रोबोट भ्याकुम निर्माण गरिसकेको छ । जापानको प्रिफर्ड नेटवर्क्स कम्पनीले घरभित्रका सामान ओसारपसार गर्ने होम रोबोट डिजाइन गरेको छ । पछिल्लो समय विश्वमै होम रोबोटको बजार बढ्दो क्रममा रहेको अध्ययनले देखाएका छन् ।

गत वर्ष चारवटै त्रैमासमा एप्पलको आम्दानी घटेको द गार्डियनले जनाएको छ । एकै त्रैमासमा गत वर्ष चीनमा आइफोनको बिक्री २३.९ अर्ब डलरबाट घटेर २०.८ अर्ब डलरमा झरेको थियो भने आइप्याडको बिक्री पनि ९ अर्ब डलरबाट ७ अर्बमा झरेपछि कम्पनीले आम्दानीका नयाँ स्रोत खोजी गर्न थालेको विश्लेषक बताउँछन् । प्रयोगकर्ताका घरमा एप्पलको होम रोबोट वा टेबलटप डिभाइस पु‍र्‍याउन सके कम्पनीलाई नयाँ आर्थिक स्रोत मिल्नेमा दुई मत छैन ।

प्रकाशित : चैत्र २९, २०८० ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?