२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

चीनले हटाइदियो ह्वाट्स्एप, थ्रेड्स, टेलिग्राम र सिग्नल

काठमाडौँ — अमेरिकी कम्पनी, मेटा प्लाटफर्मले बनाएका ह्वाट्स्एप र थ्रेड्स एप चीनमा उपलब्ध नहुने गरी आफ्नो अनलाइन स्टोरबाट हटाउन चीनले एप्पललाई निर्देशन दिएको छ । त्यहाँको इन्टरनेट सेवाको नियामक ‘साइबरस्पेस एड्मिनिस्ट्रेसन’ ले राष्ट्रिय सुरक्षा चासोका कारण ती दुईसँगै टेलिग्राम र सिग्नल एप पनि चीनमा उपलब्ध नहुने बनाउन एप्पललाई निर्देशन दिएको रोयर्टसले जनाएको छ ।

चीनले हटाइदियो ह्वाट्स्एप, थ्रेड्स, टेलिग्राम र सिग्नल

एप्पलले रोयर्टसलाई पठाएको इमेलमा ‘चिनियाँ नियामकको अनुरोध पालना गर्न आफूहरू बाध्य रहेको किनभने एप स्टोर सञ्चालन हुने जुनसुकै देशमा कम्पनीले त्यहाँको कानुन मान्नैपर्ने’ उल्लेख भएको रोयटर्सको समाचारमा जनाएको छ । पश्चिमा कम्पनीहरूले नै बनाएका फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, एक्स, युट्युब लगायत एप भने चीनमा चलिरहेका छन् । ती उपलब्ध भइरहँदा ह्वाट्स्एप र थ्रेड्स मात्रै किन बन्द गर्न खोजिएको भन्ने स्पष्ट छैन ।

एप्पलले शुक्रबारदेखि मेटाका दुई एप चीनको एप स्टोरबाट हटाइसकेको जानकारी दिएको रोयटर्सको दाबी छ । क्युमाइ र एपम्याजिक नामक एप ट्र्याकिङ निकायहरूका अनुसार शुक्रबार नै टेलिग्राम र सिग्नल एप पनि चीनमा उपलब्ध नहुने गरी अनलाइन स्टोरबाट हटाइएका छन् । ‘यी चारवटा एप हटाइनुले चीनको संघीय सरकार आफ्नो नियन्त्रणभन्दा बाहिर रहेका कतिपय विदेशी अनलाइन मेसेजिङ सेवाप्रति असहिष्णु हुँदै गएको देखाउँछ,’ रोयटर्सले लेखेको छ, ‘यसले चीनमा एप्पलाई कम सहुलियत दिइएको पनि संकेत गर्छ ।’

चीनमा ह्वाट्सएप, थ्रेड्स, टेलिग्राम र सिग्नल खासै प्रयोग हुने एप भने होइनन् । त्यहाँ स्थानीय टेन्सेन्ट कम्पनीले बनाएको विच्याट बढी लोकप्रिय छ । कतिपय प्रविधि विज्ञका अनुसार उल्लिखित एपहरू हटाउन लगाउनुको कारण चीनले देशभित्र चल्ने सबै एप सरकारी प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्ने गत अगस्टमा लागू गरेको नयाँ कानुनसँग सम्बन्धित रहेको रोयटर्सलाई बताएका छन् । मार्चभित्रमा एपहरू दर्ता गर्ने समयसीमा थियो ।

यसअघि सन् २०१७ मा पनि एप्पलले द न्यु योर्क टाइम्सको एप चीनमा उपलब्ध नहुने बनाइदिएको थियो । गत वर्ष जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी स्थानीय कानुन बनाउने क्रममा रहेको चीनले च्याटजीपीटी जस्ता एपहरू चिनियाँ अनलाइन स्टोरबाट निकाल्न लगाएको थियो ।

प्रकाशित : वैशाख ८, २०८१ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?