कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

अमेरिकी संघीय निकायमा प्रमुख एआई अधिकृत नियुक्त गर्नुपर्ने निर्देशिका जारी

एजेन्सी

काठमाडौँ — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सुरक्षित र विश्वासिलो प्रयोग सम्बन्धमा अमेरिकी सरकारले आफ्ना हरेक संघीय निकायहरूमा प्रमुख एआई अधिकृति नियुक्त गर्न यो साता एक निर्देशिका जारी गरेको छ । संघीय निकायहरूमा वरिष्ठ भूमिकामा रहने गरी प्रमुख एआई अधिकृत नियुक्त गर्न र सोही नेतृत्वमा एआईका विभिन्न प्रविधि अनि प्लाटफर्म प्रयोगको व्यवस्था मिलाउन भनिएको छ । बाध्यात्मक भनिएको सो निर्देशिकामा अमेरिकी सरकारले यो वर्षभित्र नियुक्त गर्ने एआई क्षेत्रका एक सयजना व्यवसायिक व्यक्तिहरूसँग कसरी समन्वय गर्न सकिन्छ भन्नेबारे पनि उल्लेख गरिएको छ ।

अमेरिकी संघीय निकायमा प्रमुख एआई अधिकृत नियुक्त गर्नुपर्ने निर्देशिका जारी

अमेरिकी राष्ट्रपति जो बाइडेनले एआई नियमनका विषयमा एक कार्यकारी आदेश जारी गरेको एक वर्ष पुगेको आसपास हाल सोसम्बन्धी थप नीतिहरू सार्वजनिक गरेका हुन् । उपराष्ट्रपति कमला ह्यारिशले बिहीबार घोषणा गरेबमोजिम अमेरिकी संघीय निकायहरूले एआईको प्रयोग गर्दा 'गर्न मिल्ने र नमिल्ने विषय'बारे उल्लेख गरिएको छ । सो आदेशले सबै संघीय निकायहरूलाई एआई सम्बन्धीसुरक्षण योजना निर्माण र कार्यान्वयन गर्न १ डिसेम्बर २०२४ सम्मको समयसीमा दिएको छ ।

ठूला व्यापारिक र अन्य प्रविधिसम्बन्धी कम्पनीहरूसँगै विश्वका विभिन्न सरकार एआईको बढ्दो प्रयोग र संभावित दुरूपयोगलाई कसरी नियमन गर्ने भन्ने विषयमा प्रयत्नरत रहेको बेला अमेरिकायले यस्तो निर्देशिका ल्याएको हो । यसमा एआईले ल्याउने जोखिम र बढ्दो नवप्रवर्तनबीचको सन्तुलन कायम राख्न पहल गरेको र एआईको प्रयोगलाई विधिपूर्वक गर्नुपर्ने बाटो खोलिदिएको अमेरिकी सरकारको धारणा छ । यो निर्देशिकाको मस्यौदा उपराष्ट्रपति ह्यारिशले नोभेम्बरमै लण्डनमा आयोजना भएको विश्व एआई शिखर सम्मेलनमा भाग लिन जानुअघि नै सार्वजनिक गरेकी थिइन् ।

अमेरिकाको बजेट तथा व्यवस्थापन महाशाखाद्वारा जारी बाइडेन प्रशासनको सो निर्देशिका अमेरिकी निर्वाचनमा एआई प्रविधि र प्लाटफर्मको दुरूपयोगको आशंका बढ्दै गएको समयमा आएको छ । अमेरिकाका झन्डै ३० वटा राज्य संघीय सरकारसँग एआई प्रविधिको नियमन गर्न कानुन बनाउने प्रयत्नमा लागेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

पारदर्शीता र सुरक्षित प्रयोगलाई प्रवर्द्धन गर्न ल्याइएको भनिएको सो निर्देशिकाले एआईको प्रयोग अझै बढाउन र थप विश्वसनीय बनाउन वातावरण तयार गर्ने अमेरिकी सरकारको दाबी छ । यसै साता अमेरिकाको राष्ट्रिय टेलिकम तथा सूचना प्राधिकरण (एनटीआईए)ले एआईको जवाफदेहितासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेर एआई नियमनका लागि थप साधन र प्लाटफर्मसँगै स्वतन्त्र मूल्यांकन गर्ने निकाय र उपयुक्त जोखिम व्यवस्थापनको प्रयास गर्न नसक्नेलाई कारबाहीको व्यवस्था गर्नुपर्ने सिफारिस गरेको थियो ।

यसअघि फेब्रुअरीमा अमेरिकी वाणिज्य मन्त्रालयले पनि एआईको नियमनसम्बन्धी एक कार्यदल बनाइसकेको छ । एनटीआईएले नै एआईको सुरक्षित प्रयोग सम्बन्धमा सर्वसाधारणसँग छलफलको तयारी समेत गरिरहेको रोयटर्सले जनाएको छ ।

साथै बिहीबार मात्रै अमेरिकी सरकारले चिनियाँ एआई प्रविधि उत्पादकहरूले अमेरिकी प्रविधिमा पाउने पहुँचमा गर्दै आएको कडाइलाई थप कस्ने गरी १६६ पृष्‍ठ लामो प्रावधानहरू थपेको छ । एआई कम्पनीहरू प्रविधिले ल्याउनसक्ने जोखिम कम गर्ने छलफलमै रहेका बेला अमेरिकी संसद्मा बारम्बार प्रश्न उठाइने गरिएको विषयमा अमेरिकी सरकारले नियमनको पहल गरेको जानकारहरूको मत छ ।

प्रकाशित : चैत्र १७, २०८० १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?