कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३५५ दिन बिताएर पृथ्वी फर्किए अमेरिकी अन्तरिक्षयात्री

काठमाडौँ — नासाका अन्तरिक्षयात्री मार्क भेन्ड हेइ सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बस्ने अमेरिकी बनेका छन् । ३ सय ५५ दिनसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा बिताएर उनी बुधबार दुई रुसी अन्तरिक्ष यात्रीसहित पृथ्वी फर्केका हुन् ।

३५५ दिन बिताएर पृथ्वी फर्किए अमेरिकी अन्तरिक्षयात्री

बुधबार काजकस्तानको स्थानीय समय अनुसार साँझ ५:२८मा रुसी अन्तरिक्षयात्रीद्वय एन्टोन स्कापलेरोभ र प्युटर डुब्रोभसँगै पृथ्वी फर्किएका हुन् । उनीहरु रुसी अन्तरिक्षयान सोयूज एमएस-१९ मार्फत पृथ्वी फर्किएका हुन् ।

मार्कको अन्तरिक्ष मिसनलाई नासाले ऐतिहासिक कीर्तिमान मात्र नभएर भविष्यमा चन्द्रमा, मंगल ग्रह र अन्तरिक्ष अन्वेषणका लागि पनि महत्वपूर्ण भएको नासाका प्रशासक बिल नेल्सनले बताएका छन् । नासाद्वारा जारी सूचनामा प्रशासक नेल्सनले भनेका छन्,'हाम्रा अन्तरिक्षयात्रीहरुले विज्ञान, अन्वेषण, प्रविधि विकासका लागि अनेकौं त्याग गरेका छन् । अन्तरिक्ष केन्द्रमा करिब एक वर्षसम्म बिताउँदा महत्वपूर्ण योगदान गरेका छन् । '

भेन्ड हेईको मिसनले अन्तरिक्षमा लामोसमयसम्म रहँदा मानिसलाई पर्ने प्रभावको अध्ययन र अनुसन्धानमा सघाउ पर्‍याउने नासाले जनाएको छ । नासाले आर्टमिस कार्यक्रम अन्तर्गत चन्द्रामा मिसनको तयारी गरिरहेको छ । नासाले सन् २०२४मा चन्द्राममा आफ्नो मानव मिसन गर्दै छ ।

अन्तरिक्षयात्री मार्क सन् २०२१ को अप्रिल ९मा अन्तरिक्ष गएका थिए । उनीसँगै दुई रुसी कस्मोनट्सहरु: ओलेग नोभिट्सकी र प्योटर डुब्रोभ पनि गएका थिए । उनको यो दोस्रो अन्तरिक्ष मिसन हो । यसअघि उनी ३४० दिन अन्तरिक्षमा बिताएका थिए । मार्कले आफ्नो जीवनकालमा ५२३ दिन अन्तरिक्षमा बिताएको नासाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मार्कले पृथ्वीको ५ हजार ६८० फन्का लगाउँदै १५० मिलियन माइलको यात्रा गरेको नासाले जनाएको छ । यो यात्रा पृथ्वी र चन्द्रामाबीच ३१२ पटकको ओहोरदोहोर हुने छ । उनले १५ वटा अन्तरिक्षयानको आगामन र १४ वटा यानको प्रक्षेपण अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट गरेको नासाले जनाएको छ ।

अन्तरिक्ष केन्द्रमा रहँदा उनले वनस्पतिदेखि भौतिक विज्ञानका विभिन्न प्रयोगशाला अध्ययनहरु गरेका थिए ।

प्रकाशित : चैत्र १६, २०७८ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?