१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

ऐन, निर्देशिका नहुँदा काम गर्न समस्या : विज्ञान सचिव

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी विज्ञान सचिव प्रमिलादेवी बज्राचार्यले सरकारले विज्ञानसँग सम्बन्धित आवश्यक ऐन, निर्देशिका नल्याएका कारण आफूले अपेक्षाअनुरुप काम गर्न नसकेको गुनासो गरेकी छन् ।

ऐन, निर्देशिका नहुँदा काम गर्न समस्या : विज्ञान सचिव

बज्राचार्यले मत्रालयको सचिव पद सम्हालेको दुई महिना पुगेको छ । कानुन, नियम, कार्यविधि र निर्देशिका नहुँदा ‘राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७७’ ले भने बमोजिमका कामहरु गर्न नसकेको उनले बताएकी हुन् ।

आइतबार अन्तरिक्षमा मानव पुगेको दिनको अवसर पारेर अन्तरीक्ष प्रतिष्ठान नेपाल र नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) ले संयुक्त रुपमा आयोजना गरेकोे कार्यक्रममा बोल्दै उनले विज्ञान सम्बन्धी ऐन, नियम, निर्देशिका, कार्यविधि नबन्दा काम गर्न नपाएको त्यस्तो गुनासो गरेकी हुन् । विज्ञान तथा प्रविधि क्षेत्र राज्यको अलिक कम प्राथमिकताको क्षेत्रमा रहेको उनको भनाइ छ ।

‘राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७७ आएको छ । नीतिले मात्रै पर्याप्त नहुँदो रहेछ,’ उनले भनिन्, ‘नीतिले मात्रै पर्याप्त नहुँदो रहेछ । त्यसपछि ऐन, नियम, निर्देशिका जति पनि छन् त्यसपछि कार्यविधि । यी सबै भएपछि मात्रै काम अगाडि बढाउन सकिन्छ ।’

नयाँ प्रविधि, स्थानीय र परम्परागत प्रविधिलाई प्रवद्र्धन गर्ने भनेर धेरै कुरा गरे पनि काम गर्नका लागि ऐन र नियम नभएकाले नीतिहरुलाई कार्यान्वयनमा लग्न नसकेको सचिव बज्राचार्यको भनाई छ ।

विज्ञान तथा प्रविधि मन्त्रालयले नव प्रवर्द्धनका लागि सहयोग गर्न खोजेपछि ऐन, नियम र निर्देशिका नबन्दा समस्या भएको बतइन् । ‘धेरैले प्रविधि क्षेत्रमा केही नयाँ गरौं, अनुसन्धान गरौं भन्नुहुन्छ,’ उनले भनिन्, ‘हामीले बाध्याता के छ भने नियमभन्दा बाहिर गएर काम गर्न सक्दैनौं ।’

आगामी आर्थिक वर्षमा नीतिलाई कार्यान्वयन गर्ने तरिकाले कार्यविधिको मस्यौदा बनाएर पठाइसकेको उनले जानकारी दिइन् । नियम, कानुन स्वीकृत भएर आएपछि कार्यान्वयनमा जान सहज हुने उनको विश्वास छ ।

कार्यक्रममा सचिव बज्राचार्यले विज्ञान प्रविधिको क्षेत्रमा युवा र निजी क्षेत्रबाट भइरहेको प्रयासको प्रशंसा गरेकी थिइन् । उनले पहिलो प्रयासमा नेपाली स्याट–१ अन्तरिक्षमा पुगेको र त्यसले सफलता हासिल गरेको बताउदै दोस्रो स्याटेलाइट मिसनको पनि शुभकामना दिइन् । ‘यो अन्तरिक्षमा स्याटेलाइट रकेट भन्ने कुरा पहिला पहिला रसिया, अमेरिकातिर मात्रै हुन्थ्यो भन्ने थियो,’ उनले भनिन्, ‘हाम्रोमा पनि केही हुन्छ भन्ने लागेको थियो, आजको दिनमा स्याटेलाइट नै बनाउने अनि उडाउने कुरा गर्दा राम्रो लाग्छ । दुई वर्षभित्र नास्टले अर्को स्याटेलाइट मिसन प्रक्षेपणको तयारी गरिरहेको छ ।

सचिव बज्राचार्यले विज्ञान तथा प्रविधि विषय उच्च स्तरका राजनीतिक नेताहरुले बुझ्‍न गाह्रो भएकाले पनि यस क्षेत्रमा उनीहरुको रुची कम भएको बताइन् । विज्ञान क्षेत्रको विकास हुँदा सबै क्षेत्रको उत्पादकत्व पनि बढ्ने उनले जिकिर गरिन् ।

प्रकाशित : चैत्र २९, २०७८ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?